Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

नेपाल समूहमा दुई धार : कुन धारमा को-को ?

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहभित्र जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर अगाडि जानुपर्ने प्रस्ट दुई थरी मत देखिएको छ । नेपाल समूहका केन्द्रीय सदस्यहरूको शुक्रबार सकिएको बैठकमा दोस्रो तहका नेताहरूले पार्टी एकता निर्विकल्प रहेको बताएका छन् भने केही सांसदसहित अधिकांशले विकल्पमा जानुपर्ने धारणा राखेका छन् । एकताबारे निर्णय गर्ने जिम्मा भने स्थायी कमिटी सदस्यलाई दिइएको छ ।

नेता नेपालले एकता कि विद्रोह भन्‍नेमा निर्णायक कदम चाल्न परामर्शका लागि आफ्नो समूहका केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । बैठकको सुरुमा नेता नेपालले एकताका लागि विश्वासको संकट रहेको बताएका थिए । बैठकमा ५५ सदस्यले धारणा राखेका थिए । धेरैजसो केन्द्रीय सदस्यहरूले सम्मानजनक एकता र नेतृत्वबीचको शक्ति बाँडफाँटबाहेक ओलीको उधारो आश्वासनमा एकता नगर्न सुझाएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । ‘एकताका नाममा लामो समय अनिर्णयको बन्दी बन्‍न नहुने मत धेरैबाट आएको थियो,’ उनले भने ।

आजको कान्तिपुरमा खबर छ- बैठकमा विवाद समाधानका लागि गठित कार्यदलका सदस्यको भूमिकामाथि पनि प्रश्न उठेको थियो । कार्यदलका सदस्यहरूले दसबुँदे सहमतिको प्रस्ताव उपलब्धिमूलक रहेको तर्क गरेका थिए । भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम आचार्यलगायत नेताले दसबुँदे सहमति कार्यान्वयन गरेर एकतामा जानुपर्ने मत राखेका थिए । बिहीबारको बैठकमा रावलले दसबुँदे सहमति र पछिल्ला दिनमा एकताका लागि भएका प्रयासबारे ब्रिफिङ गरेका थिए । ‘दसबुँदे उपलब्धि हो । यसलाई कार्यान्वयन गरेर जानुपर्छ । एकतामा जोड दिनुपर्छ,’ नेता पाण्डेले बैठकमा भनेका थिए । नेता भुसालले दसबुँदे सहमति कार्यान्वयनमा समस्या आएको बताए । ‘हामीले दसबुँदेलाई उपलब्धि मान्यौं तर दस बुँदेकै सन्दर्भमा जे हुन्छ भनेर सहमत भएका थियौं । सहमति भइसकेको कुराबाट पछाडि हट्ने काम भएको छ । त्यसलाई राम्रो मान्‍न सकिँदैन । यो कार्यान्वयन नभई अगाडि बढ्न सक्दैनौं,’ उनले भनेका थिए ।

दसबुँदे सहमति उपलब्धि भए पनि पर्याप्त नरहेको मत राख्ने केन्द्रीय सदस्यहरूको संख्या ठूलो छ । ‘दसबुँदेमा कमी छ, यसलाई जस्ताको तस्तै स्वीकार गरेर जान सकिँदैन भन्‍ने मत बलियो देखियो,’ एक केन्द्रीय सदस्यले भने । यस्तो मत राख्ने नेताहरूले ओली पक्षले अघि बढाएका सदस्यता नवीकरण, विधान महाधिवेशनलगायत गतिविधि नरोकिए विकल्प सोच्‍नुपर्ने बताएका थिए । उनीहरूले धेरै समय नअल्झिन पनि नेतृत्वलाई आग्रह गरेका छन् । ‘ओलीले आफ्ना गतिविधि रोकेनन् भने हामीले पनि समानान्तर गतिविधि रोक्नु हुन्‍न । त्यसका लागि २४ गतेसम्म पर्खिनुपर्छ । २४ गतेको बैठक ओली पक्षले रोक्छन् कि रोक्दैनन् हेर्नुपर्छ । गतिविधि नरोकिए आफ्नो ढंगले अगाडि बढ्ने विकल्प हुनुपर्छ,’ एक केन्द्रीय सदस्यले भनेका थिए । बिहीबारको बैठकमा नेता नेपालले पनि साउन २४ भित्र हेरेर निर्णय लिने बताएका थिए ।

निर्विकल्प एकताको पक्षमा सचिव भीम आचार्य, केन्द्रीय सदस्यहरू निरज आचार्य, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रवीन्द्र अधिकारी, यज्ञ सुनुवार, बलदेव चौधरीलगायतले मत राखेका छन् । उनीहरूले एमाले विभाजन भए देश र संविधानमा क्षति हुने तर्क गरेका थिए । कार्यकर्ता विभाजनको पक्षमा नरहेको उल्लेख गर्दै उनले पार्टी विभाजनको पक्षमा हस्ताक्षर गर्न नहुने बताएका थिए । तर, अधिकांश केन्द्रीय सदस्यले एकतालाई निर्विकल्प मान्‍न नसकिने धारणा राखेको भुसालको भनाइ छ । ‘हामीले एकतामा जोड दिने हो तर एकतालाई निर्विकल्प भनेर जानु हुँदैन भन्‍नेमा अधिकांश कमरेडको मत छ,’ उनले भने ।

अर्का एक केन्द्रीय सदस्यले ओली पक्षसँग एकता हुने सम्भावना कम रहेकाले आफ्नो ढंगले अगाडि बढ्नुपर्ने मत अधिकांश केन्द्रीय सदस्यबाट आएको बताए । ‘आफ्नो ढंगले अगाडि बढौं भन्‍नुको मतलब प्रकारान्तरले अर्को पार्टी बनाउने भन्‍ने नै हो,’ उनले भने । यस्तो मत मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामकुमारी झाँक्री, विरोध खतिवडा, जगन्‍नाथ खतिवडा, घनेन्द्र बस्नेत, विजय पौडेल, बलराम बाँस्कोटा, वसन्त मानन्धर, रामचन्द्र यादवलगायतको थियो । ती सदस्यका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुनुपर्छ भन्‍ने मत राख्नेमा केन्द्रीय सदस्य मेटमणि चौधरी र प्रेम आले मात्रै छन् । विश्वासको मत दिएर संसद् जोगाएको भन्दै सरकारमा जानुपर्ने तर्क उनीहरूले गरेका थिए । पार्टी एकता वा नयाँ पार्टी भन्‍नेमा नेपाल समूहमा दुई धार देखिए पनि दसबुँदे सहमतिलाई उपलब्धि मान्‍ने तर यसकै आधारमा मात्र एकता गर्न नसकिने साझा धारणा रहेको भुसालले बताए ।

‘एकता भनेको हाम्रा अडान छाडेर लत्रेर गर्ने भन्‍ने हुँदैन । सम्मानजनक हुनुपर्छ । त्यो भएको खण्डमा एकतामा जोड गरौं भन्‍ने जोड छ,’ उनले भने । एमालेको २ सय ३ सदस्यीय केन्द्रीय कमिटी रहेकामा १२ जनाको राजनीतिक नियुक्ति र निधनले अहिले १ सय ९१ सदस्यीय भएको छ । त्यसमा नेपाल पक्षका ८६ सदस्य छन् । माओवादी केन्द्रसँग तीन वर्षअघि पार्टी एकता हुँदा ४५ सदस्य थपिएको थियो । त्यसमा पनि १४ जना सदस्य आफ्नो पक्षमा रहेको नेपाल समूहको दाबी छ ।

नेपाल समूहको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको असार २८ गतेको फैसलालाई स्वागत गरेको छ । स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार केन्द्रीय कमिटीको म्यान्डेटका आधारमा स्थायी कमिटीले उपयुक्त समयमा निर्णय लिने बताए । बैठकले पार्टी एकताका लागि संवाद भइरहेका बेला सांगठनिक गतिविधि रोक्न अध्यक्ष ओलीको ध्यानाकर्षण पनि गराएको छ । पार्टी एकताका लागि कुरा चलिरहेको अवस्थामा एकपक्षीय ढंगले सदस्यता नवीकरण, अधिवेशन, पुनर्गठन र सम्मेलन गर्नॅ एकतालाई भाँजो हाल्ने काम हुन जाने निष्कर्ष बैठकले निकालेको पन्तले बताए । ओली पक्षलाई यस्ता गतिविधि रोक्न माग पनि बैठकले गरेको छ ।

पार्टीका विभिन्‍न नेतालाई लाञ्छना लगाउन र आरोपित नगर्न दुवै पक्षलाई बैठकले ध्यानाकर्षण गराएको छ । ‘पार्टी एकताका लागि दसबुँदे सहमति भएको र वार्ता चलिरहेका बेला पार्टीका वरिष्ठ नेता नेपाललगायत विभिन्‍न नेतामाथि अनेक प्रकारका टिप्प्णी र लाञ्छना लगाउने काम उचित र मर्यादित होइन । त्यसप्रति बैठकले दुःख व्यक्त गरेको छ,’ पन्तले भने । बैठकमा नेता नेपालले आफू एकताको पक्षमा रहेको बताएका छन् । ‘हामीले पनि आलोचना गर्दा संयमित र जिम्मेवार बन्‍नुपर्छ । ओलीले जति नै गाली गरे पनि म पार्टी एकता होस् भन्‍ने पक्षमा छु,’ नेपालले भनेका थिए ।

एमालेको ओली पक्षले पार्टी एकताका नाममा गतिविधि नरोक्ने भएको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्थानीय तहको चुनाव नजिक आइरहेको र महाधिवेशन गर्नॅपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने बताए । ‘पार्टीका नियमित काम अघि बढ्छन् । छलफलका नाममा पार्टी कामलाई रोक्ने गतिरोधमा जाने भन्‍ने हुन्‍न,’ उनले भने ।

विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी सदस्य, प्रदेशका नेता, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समिति सदस्यहरूको बैठक शुक्रबार पनि बसेको थियो । एमालेले भदौ २७–२८ मा काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । विधान महाधिवेशनबारे थप छलफल गर्न २४ गते केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी  । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending