चुनाव नै सर्वेसर्वा भन्ने पनि हुँदैन । मूल कुरा देशको राजनीतिक एजेण्डाले निर्धारण गर्छ । त्यति धेरै आत्तिनुपर्ने अवस्था छैन । अरुको भन्दा मिलेको पार्टी हाम्रो छ । एजेण्डा हामीसँग मात्रै छ ।
काइते कुरा बादल, रायमाझी जस्ता भगौडाहरुको कुरा हो । ओली जस्ता व्यक्तिहरु माओवादीलाई कसरी सिध्याउने भनेर लागेका छन् । उनीहरु किन यसरी हात धोएर लागेका छन् ? माओवादीको भविष्य देखेरै होइन ? त्यसैले को सिध्दिन्छ, को रहन्छ ? यी सबै समयले बताउँछ ।
०५२ सालको सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको नेकपा माओवादी केन्द्र संसदीय राजनीतिमा आएको १४ वर्षमा निकै उथलपुथल भयो । माओवादी १० वर्षे जनयुद्धको जगमा स्थापित संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी व्यवस्था संसदीय अंकगणितमा माओवादी कमजोर हुँदा कतै प्राप्त उपलब्धिनै गुम्ने हो कि भन्ने चिन्ता उसमा रहेको देखियो।
०७४ को चुनावमा एमालेसंग पार्टी एकता गरेर एशियाकै शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा बनाउन सफल भए पनि चार वर्ष नपुग्दै विगठन भएपछि आगामी चुनावमा देशकै पहिलो पार्टी बन्ने लक्ष्यका साथ माओवादी केन्द्र देशभर संगठन निर्माणमा लागेको छ ।
माओवादी केन्द्रको आगामी भविष्य, संसदीय अंक गणितमा उसको रणनीति र आगामी राजनीतिक कार्यदिशाको सम्बन्धमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वागमती प्रदेशका पूर्वआन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेलसंग खबरडबलीका संवाददाताले गरेको कुराकानीको सम्पादित अंश :
१० वर्षे सशस्त्र युद्धको जगमा ०६४ सालको संविधानसभा चुनावबाट जनअनोमोदित शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र संसदीय राजनीतिको १४ वर्षमै किन यति धेरै कमजोर भयो ?
तपाईंले भनेको जस्तो माओवादी कमजोर छैन । समग्र हाम्रो राजनीतिक विकासक्रमबाट हेर्नुपर्छ । एमालेको हेर्नुभयो भने ०३५–०३६ सालदेखि नै एउटै कोर्सबाट अगाडि बढेको देखिन्छ । उसमा कुनै राजनीतिक उतारचढाव छैन । वैचारीक मतभेद पनि छैन । एउटै ढंगले कार्यकर्तालाई प्रशिक्षित गरेर लगेको छ । कांग्रेसले पनि ००७ साल देखि एउटै रेखामा कार्यकर्तालाई प्रशिक्षित गराएर लगेको छ । हाम्रो हकमा जनयुद्धबाट शन्ति प्रकृयामा आएको धेरै भएको छैन ।
सशस्त्र युद्धबाट शान्तिप्रकृयामा आउँदा केही असहज भएको सत्य हो । मूल एजेण्डामा त हामी सफल भएका छौं तर संगठनभित्र वैचारिक हिसाबले मतभिन्नता देखिए । पार्टी विभाजन भयो । यस बिचमा विभिन्न खालका उतारचढाव देखा परे । हाम्रो दृष्टिकोण के हुने भन्ने कुरामा हामी अलमलियौं । जनाधारमा हामी कमजोर होइनौं । आन्दोलनमा जाने हो भने सबैभन्दा जनाधार हाम्रै छ । चुनावी अंकगणितबाट नाप्दा कमजोर भएको सत्य हो । हाम्रो हिजोको नारा चुनाव थिएन । संसदीय अभ्यासलाई हामीले सर्वशक्तिमान मानेनौं । अहिले चाहीँ हामीले विस्तारै कार्यदिशा स्पष्ट पारेका छौं । अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टी नयाँ ढंगले बढ्दैछ । हाम्रो जुन जनाधार छ, त्यसलाई राम्रोसंग परिचालन गरेर शक्तिशाली पार्टी बनाउँछौं । माओवादी कमजोर भएको होइन, उसले चुनावलाई केन्द्रविन्दुमा राखेर आफ्नो तयारी नगरेको मात्र हो ।
कतिपयले माओवादी पार्टीलाई अहिले सेनाविनाको सेनापतिको रुपमा चित्रण गरेका छन् ? पार्टी र संगठन के त्यस्तै अवस्थामा पुगेको हो र?
होइन । माओवादीसंग जनता पनि छ । कार्यकर्ता पनि छ । अहिले जुलुस निकाल्ने हो भने सबै भन्दा ठुलो जुलुस हाम्रै निस्कन्छ । तपाईले ओली प्रतिगमन विरुद्धको आन्दोलन हेर्नुभयो भने ड्रोनबाट टाउकै गन्दा पनि दुई लाखमाथि उपस्थित थिए । त्यस हिसाबले हामी कमजोर होइन । यति कुरा हो कि हामीले हाम्रो कार्यदिशा ठोस नहुँदा हाम्रो संगठन मजबुद बनाउन सकेनौं । कार्यदिशा अनुसार कार्यकर्तालाई प्रशिक्षित गर्न सकेनौं । अघि मैले भने जस्तै एमाले ०३६ सालदेखि र कांग्रेस ००७ सालदेखि एउटै ट्रेनमा आयो नि, हो त्यो कोर्स हाम्रो भएन । एजेण्डाको हिसाबले हामी बलियो छौं । कार्यदिशा प्रष्ट हुन सकेन । समस्या यहि भएको हो । हाम्रो अध्यक्ष प्रचण्ड कमाण्डर हुनुहुन्छ । हामी कार्यकर्ता उहाँको साथमा छौं । जनतापनि हाम्रै पक्षमा छन् । जनाधार पनि छ । एजेण्डा पनि छ । आगामी बाटो पनि प्रष्ट छ । अबको हाम्रो लक्ष समाजवाद हो । हामीले जनाधारलाई संगठनमा ढाल्न नसकेको हो । यसमा हामी सफल हुनेवित्तिकै हामीलाई अन्य पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन ।
जनयुद्ध लडेको कोर टिम अहिले तपाईहरुसंग छैनन् । सबै छिन्नभिन्न भएका छन् । यस्तो अवस्थामा तपाईहरु कांग्रेस र एमाले जस्ता संसदीय अभ्यासमा माहिर पार्टीसंग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
तपाईले जिज्ञासा राख्नुभएको कुरामा हामीले पनि समिक्षा गरेका छौं । पहिला त हामीले जनाधारलाई व्यवस्थित गराउँछौं । दोस्रो कुरा हामीले कांग्रेस–एमालेको नाडी राम्रैसंग छामेका छौं । अब हामी प्रष्ट कार्यदिशासंगै जनाधार र कार्यकर्तालाई प्रशिक्षित गर्छौ । पार्टीभित्र हिजोको जस्तो उतारचढाव अब हुदैन । एक हिसाबले हाम्रो बाटो पनि क्लियर भएको छ । विगतको ८ /१० वर्ष हाम्रो बाटो नै क्लियर भएन । उतारचढावकाबीच हाम्रो एजेण्डा कसरी बचाउने भन्नेमा हाम्रो ध्यान गयो । अब त्यस्तो हुदैन । आगामि चुनावमा कांग्रेस–एमालेभन्दा कमजोर हुदैनौं ।
तपाईको पार्टी नेतृत्वले प्रष्ट अडान, एजेण्डा र सिद्धान्तबीना एमालेसंग पार्टी एकता गर्नुभयो । यसमा उपलब्धि भन्दा पार्टी झन क्षयीकरण हुँदै गयो । यस विषयमा पार्टी नेतृत्वको ध्यान नपुगेको हो ?
यसमा माओवादी र हाम्रो नेतृत्व प्रचण्ड प्रष्ट नै थिए । एकता गर्दा हाम्रो घोषणापत्र हेर्नुहोस् । विधान हेर्नुहोस् । राजनीतिक प्रतिवेदन हेर्नुहोस् । त्यहाँ हामीले कहाँ सम्झौता गरेका छौं ? हाम्रो लाइन प्रष्टै थियो । त्यतिबेला हामीले उठाउँदै आएको एजेण्डा केपी ओलीले पनि स्वीकार गरेकै हुन् । कुरा के हो भने केपी ओली पार्टी एकताप्रति इमान्दार देखिएनन् । उहाँले सत्तामा पुग्नमात्र एकता गर्नुभयो । हामीले कम्युनष्टि आन्दोलन बलियो बनाउन एकता गर्यौं । केही वैचारिक दृष्टिकोणमा पनि उहाँसंग संघर्ष पर्यो । त्यसकारण नेकपा विघठन जस्तो कतै नभएको अवस्था सिर्जना भयो । उहाँहरु दीपावली गर्न लाग्नुभयो । धोखा हामीले होइन, हाम्रो भन्दा बढि धोखा उहाँहरुले खानुभएको छ । अहिले नेपालको राजनीतिमा सबैभन्दा घाटा केपी ओलीलाई भएको छ ।
उहाँले त अब माओवादी केन्द्रले वडा तहमा पनि जित्दैनन्, एमाले दुईतिहाइका साथ पुन: सत्ताको नेतृत्व गर्छ भनिरहनुभएको छ, उहाँलाई कसरी घाटा भयो ?
चुनाव अघिसम्म त भन्न पाइयो । त्यस्तो भन्न उहाँलाई छुट छ । त्यो त आगामी चुनावको परिणामले देखाइहाल्छ नि ।
तपाईका विपक्षी शक्तिहरुले अबको १० वर्षमा माओवादी पार्टी इतिहासको पानामा सिमित रहन्छ भनेर टिप्पणी गरेका छन् , ती आरोप कति सत्य हुन् ?
त्यो त माओवादी छोडेर जाने भगौडाहरुले लगाउने आरोप हो । त्यसमा कुनै दम छैन । अर्को, केपी ओली जस्ताले लगाउने आरोप हो । नेपालको राजनीतिमा माओवादीको भविष्य छैन भन्नेले यो व्यवस्थाकै भविष्य छैन भन्न पर्यो । अध्यक्ष प्रचण्डको भविष्य छैन भन्नु पर्यो । देशमा राजनीतिक संकट उत्पन्न हुँदा प्रचण्ड नै अघि सर्नुपर्छ । उहाँकै एजेण्डामा देशको राजनीति घुमिरहेको छ । यस्ता फाल्तु कुराको कुनै अर्थै छैन ।
राजनीतिक तर्क गर्नुपर्यो नि । हामीले संविधानमा नै समाजवादी व्यवस्था स्थापना गर्ने भनेर लेखेका छौं । अब समाजवादमा जाने कार्यदिशा जसले लिड गर्छ उसकै नेतृत्वमा देश अघि बढ्छ । अहिलेको यहि संसदीय व्यवस्थामै सिमित रहने हो भने जनताले अर्को विकल्प खोज्छन् । त्यसैले यो कुरा कुनै राजनीतिक कुरा होइन । यो पूर्वाग्रही कुरा हो । यस्ता काइते कुरा बादल, रायमाझी जस्ता भगौडाहरुको कुरा हो । ओली जस्ता व्यक्तिहरु माओवादीलाई कसरी सिध्याउने भनेर लागेका छन् । उनीहरु किन यसरी हात धोएर लागेका छन् ? माओवादीको भविष्य देखेरै होइन ? त्यसैले को सिध्दिन्छ, को रहन्छ ? यी सबै समयले बताउँछ । अझैपनि माओवादी जस्तो एजेण्ड क्लियर र आगाडिको बाटो प्रष्ट भएको पार्टी अन्य कुनै छैन ।
माओवादी जनयुद्धमा नेतृत्वलाई विश्वास गरेर हजारौंले वलिदानी दिए । हजारौं अंगभंग भएर बसेका छन् । मुलुक र उनीहरुले के पाए ?
यसमा पहिला कुरा राजनीतिक कोर्स क्लियर हुनुपर्यो । हामीलाई राजनीतिक रुपान्तरण गर्न कति समय लाग्यो ? माओवादी जत्तिको सामाजिक–आर्थिक रुपान्तणमा क्लियर भएको पार्टी कुन छ ? कुनै पनि छैन । त्यसैले माओवादीले केही गरेन भन्ने कुरा सत्य होइन । हामीले केही नगरेको भए कुन पार्टीले गर्यो त ? काँग्रेसले गरे ? एमालेले गरे ? एजेण्डा हाम्रै, स्पष्ट छ नि ।
एजेण्डाको हिसाबले माओवादी जतिसुकै फरक भएको दावी गरेता पनि शान्तिप्रकृयमा आएपछि काँग्रेस–एमालेजस्तै भए भन्ने धेरैको आरोप छ नि ?
संसदीय अभ्यासमा माओवादी प्रतिस्पर्धी शक्तिकोरुपमा आएको सत्य हो । पुरै संसदीय पार्टीमा रुपान्तरण भएको त होइन । संसदीय अभ्यासबाट अगाडि बढ्न नचाहेको होइन । यो भन्दा अघि जाने लक्ष र उदेश्य छ । त्यसैले अहिले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण जुन नेपालमा भएको छ, यो माओवादीले गर्दा भएको हो । त्यसैले यी आरोप माओवादीलाई बदनाम गराउन लगाइएको आरोप मात्र हो । नेपालमा भएको सबै परिवर्तनको जग भनेको माओवादी होइन र ? लड्नेले त गर्व गर्ने हो । चीनमा क्रान्ति सफल भएपछि माओवादी कार्यकर्तालाई व्यवस्थापन गर्न माओलाई कति वर्ष लाग्यो ? जहाँ क्रान्ति सफल भएको थियो । त्यहाँ हाम्रो जस्तो सम्झौता गरेर आएको होइन । त्यसैले यो राजनीति नबुझ्नेहरु, तत्काल बेनिफिट लिनेहरुले भन्ने कुरा हो । जसले राजनीति बुझेका छन्, अध्ययन गरेका छन् उसले यस्ता कुरा गर्दैनन् ।
अब माओवादीले गुमेको आफ्नो साख फिर्ता गर्न युद्धमा होमिएका सबै सारथीहरुलाई एक ठाउँमा ल्याउनुहुन्छ कि एक्लै अगाडि बढ्नुहुन्छ, के छ योजना ?
हाम्रो पार्टीको प्रष्ट नीति आइसकेको छ । त्यसमा माओवादी धारमा रहेका, अहिलेको कार्यदिशालाई आत्मसाथ गर्ने, अहिलेको व्यवस्था, संविधानलाई मान्ने र समाजवाद स्थापना लागि संगै हिड्ने वामपन्थी शक्तिहरु सबै एकठाउँमा आउँछौं । त्यसका लागि छलफल चलिराखेको छ । त्यस अनुकुल वातावरण पनि बनिराखेको छ ।
हिजो प्रचण्ड बिग्रिनुभयो भनेर बैद्य फुट्नु भयो । उहाँको हविगत के भयो त अहिले ? विप्लब जानुभयो, उनको अस्वस्था के भयो ? अरुकुरा के भन्नु अब १०/१५ वर्ष ओलीको शासन चल्छ, त्यसकै वरीपरी सत्ताको स्वाद चाख्न पाइन्छ भनेर बादल लगायतका गएका होइनन् । तीनीहरुको हालत के भयो ? टोपबहादुरले अब अर्घाखाँचीबाट चुनाव जित्लान ? एमालेले जिताएर ल्याउलान् ? हिजो प्रचण्ड बिग्रियो, माओवादी बिग्रियो भनेर आरोप लगाउनेहरुले समिक्षा गर्नुपर्यो नि । मूल एजेण्डा बचाउनका लागि जति काम भएका छन्, त्यो उपलब्धिपूर्ण छ ।
झट्ट हेर्दा माओवादी संसदीय व्यवस्थामा अलमलिएको जस्तो लागेता पनि सारमा त्यस्तो होइन । अहिले प्रचण्ड र माओवादी नहुने हो भने वर्तमान व्यवस्था के हुन्थ्यो ? संविधान के हुन्थ्यो ? केपी ओलीले यो व्यवस्था मास्न प्रतिगमन गरेका होइनन् ? उहाँले चुनाव गराउन संसद विघटन गरेका हुन् र ? उनको उदेश्य द्वन्द बढाउने र यो व्यवस्थालाई खारेज गरेर २०४७ सालको राजसंस्था सहितको व्यवस्था ल्याउन लागेका हुन नि ।
तपाईको आफ्नो ठाउँमा तर्क ठीक होला तर अहिलेको व्यवस्थालाई बचाउन पनि संसदमा आवश्यक संख्या त चाहिएला नि ? संसदमा ओली इतरका आवश्यक संख्या भएको भए उनले त्यसरी संसद भंग गर्ने आँट गर्थे होला र ?
त्यसका लागि त हामी मेहनत गर्छौं नि । पहिला कुरा एजेण्डा मिल्ने सबै शक्तिसंग एकता गर्छौं । अर्को कुरा प्रतिगमन विरुद्ध लागेका सबै शक्तिहरुसंग तालमेल गरेर अघि बढ्छौं । ओलीले माओवादीसंग तालमेल नगरेको भए एमालेको ५० सिट भन्दा आउँदैनथ्यो भनेर उनीहरुकै नेताहरुले भनिराखेका छन् । त्यहाँपनि हामीले इमान्दारिपूर्वक भोट हालेर एमालेलाई जिताएका छौं । उहाँहरुले हाम्रा मान्छेलाई छानि छानि हराएका छन् ।
त्यसको फाइदा ओलीलाई बाहेक तपाईहरुलाई के भयो त ?
फाइदा भयो कि घाटा भयो त्यो उहाँहरुले अहिले हिसाब गरिहनुभएको होला । ओली किन अहिले चिच्याइ चिच्याइ कराइराछन् ? किन दुनियाँलाई गालि गरिरहेका छन् । जित्ने शक्ति वा दुईतिहाइ ल्याउने शक्तिले चुपलागेर बसे भइगो नि । किनकी उहाँमा छटपटाहट छ । हो, ओलीलाई हामीले शक्तिशाली पनि बनायौं । काम नलाग्ने पनि बनाइदियौं । अब सधैंलाई कमजोर पनि हुन सक्लान् ? हेर्दै जाउँ ।
खासगरी ०७० को चुनावपछि माओवादीको भूमिका काँग्रेस–एमालेका नेताहरुलाई मन्त्री, प्रधानमन्त्री बनाउने बाहेक केही देखिएन भन्ने आरोप छ, के त्यस्तै हो अवस्था ?
रुपमा हेर्ने अनि सारमा राजनीति नबुझ्नेले त्यस्ता कुरा गर्छन् । संविधान घोषणा कसको पहलले भयो ? भूकम्पपछि पुर्ननिर्माणको काममा राष्ट्रिय वातावरण बनाउने काम कसको पहलमा भयो ? काँग्रेको पहलमा भयो ? ओलीको पहलमा भयो ? त्यसैले यी सबै कुरा राजनीति राम्रोसंग नबुझ्नेले सार्वजनिक खपतका लागि गर्ने कु तर्क हुन् । यसमा कुनै सत्यता छैन । आफ्नो एजेण्डा माओवादीले बचाएर ल्यायो । एजेण्डमा उ अडिग छ । माओवादीकै एजेण्डाले मुलुकमा अग्रगामी परिवर्तन भयो । अब माओवादीकै रणनीति र कार्यनीतिले नेपालमा समाजवाद स्थापना हुन्छ । त्यसैले हाम्रो पार्टीको दस्तावेज हेर्नुस । नीति तथा कार्यक्रम हेर्नुस् । अध्यक्ष प्रचण्डले पनि प्रष्टरुपमा भनिसक्नुभएको छ । यसमा हामी प्रष्ट छौं । सशक्तरुपमा माओवादी पुन: देशको नेतृत्व लिने गरी आउँछ ।
सशस्त्र युद्धमा माओवादी जसरी सफल भएको थियो त्यसरी नै संसदीय राजनीतिमा त्यो उचाइ कायम रहन सकेन । यसमा नेतृत्व असफल भएको हो ?
केलाई असफलता भन्ने ? केलाई सफलता भन्ने ? ०६४ को चुनावमा काँग्रेस–एमाले असफल भएको होइन ? ०७४ मा कम्युनिष्टबीच एकता हुँदा काँग्रेस असफल भयो भनियो । अहिले शेरबहादुर देउवा कसरी प्रधानमन्त्री भए ? असफल भएको भए प्रधानमन्त्री हुन सम्भव थियो ? के यी पार्टीहरु माओवादीको सहयोगबिना अगाडि बढ्न सक्छन् ? किनभने हामीलाई सत्ता भन्दा पनि एजेण्डा बचाउनु छ ।
गणतन्त्र, संघीयता र यो व्यवस्था बचाउनु छ । चुनाव हार्नु र जित्नुमात्रै सफल र असफल हो भन्ने कुरा गर्ने हो भने हामी ०४८ मा चुनाव लड्दा जम्म ९ सिट ल्याएका थियौं । काँग्रेसले बहुमत ल्याएको थियो । एमाले ५९ सिट जितेको थियो । के यसैलाई सफल र असफल भन्ने हो, तपाईले भनेको जस्तै अंकगणीतीय हिसाले संख्या पनि चाहिन्छ ।
तर, त्यो मात्रै सर्वेसर्वा होइन । एक वा दुई चुनाव हार्दैमा कमजोर भयो भन्न मिल्दैन । सफल वा असफल भन्ने कुरा त रणनीति के बनाउनुहुन्छ ?
राजनीतिक उदेश्य के छ ? त्यसमा भर पर्छ । अहिले जनताको तिव्र आर्थिक वृद्धिको चाहना यही व्यवस्थाभित्र अहिलेकै अवस्थामा पुरा होला त ? यहि अवस्थामा एजेण्डा कार्यन्वयन हुन्छ ? त्यसका लागि कसैले नेतृत्व लिनुपर्ने हुन्छ । त्यो स्टेप अब माओवादीले लिन्छ । चुनाव हारजित ठुलो कुरा होइन । चुनाव हारेको पार्टीले पनि संसारमा सत्ता चलाएका छन् । ०५२ सालमा माओवादीको सानो टिमले युद्ध चलाएको हो । अब आउने चुनावमा माओावादी सबैभन्दा शक्तिशाली पार्टीमा पुर्नस्थापित हुन्छ ।
तपाईंको दावी अनुसार आगामी चुनावमा ठुलो हुनुहोला वा नहुनुहोला त्यो चुनावी परिणामले देखाउला तर अध्यक्ष प्रचण्डले बारम्बार पार्टी विघटन गर्ने धम्की दिइरहनुभएको छ, त्यसो किन भन्नुभयो होला ?
अध्यक्ष प्रचण्डले पार्टी नै विघटन गरौं भन्न खोजेका होइनन् । उहाँले पार्टी रुपान्तरण गर्नुपर्यो भन्न खोज्नुभएको हो । पार्टी समाजवादी आन्दोलनमा तयार हुनपर्यो । यहि संसदीय व्यवस्थामा मात्र सिमित रहन भएन । कार्यकर्ताले आमरुपमा सोचाइ बदल्नुपर्यो । कार्यदिशा बदल्नुपर्यो । जनतामा गएर दु:ख गर्नुपर्यो भनेका हुन् । त्यो नराम्रो कुरा होइन । राम्रै कुरा हुन् ।
अहिलेको नेतृत्व र संगठनबाट समाजवादी आन्दोलन गर्न सम्भव छ ?
किन सम्भव छैन ? ओली प्रतिगमन आन्दोलनमा लाखौं जनता सडकमा कसरी आए होलान् ? पार्टी ठुलो सानो भन्दा पनि एजेण्डाले जनमत प्रभावित पार्ने हो । चुनाव हामी पनि लड्छौं । चुनाव लडेपछि तपाईले भनेको जस्तै जित्नुपनि पर्छ । तर, चुनाव नै सर्वेसर्वा भन्ने पनि हुँदैन । मूल कुरा देशको राजनीतिक एजेण्डाले निर्धारण गर्छ । त्यति धेरै आत्तिनुपर्ने अवस्था छैन । अरुको भन्दा मिलेको पार्टी हाम्रो छ । एजेण्डा हामीसँग मात्रै छ ।
अन्त्यमा, आगामी दिनमा माओवादी पार्टी नम्बर १ हुने आधार तपाईँको विचारमा के के छन् ?
पहिलो पार्टी बन्ने आधार भनेको विचार हो । हामीले मालेमावाद नेपालमा प्रयोग र विकास गरेका छौं । विचारलाई विश्लेषण र संस्लेषण गर्नुपर्छ भन्नेमा हाम्रो ध्यान केन्द्रीत छ । दोस्रो कुरा, समाजवाद स्थापना गर्ने स्पष्ट कार्यदिशा हामीसंग छ । संविधानले त्यसलाई मार्ग निर्देश गरेको छ ।
१० वर्षे जनयुद्ध संविधानमा गएर लिपिबद्ध भएको छ । त्यस्तै रणनीति र कार्यनीति छ । तेस्रो, हाम्रो बलियो जनाधार छ । अहिले हामीले वडा स्तरमा गरिएको भेलामा उपस्थित जनमानस कुनै पार्टीको पनि छैन । काँग्रेसलाई धौधौ परिराखेको छ । जनता तथा कार्यकर्तामा त्यो उत्साह अझै मरेको छैन । त्यसलाई हामी संगठित गरेर जान्छौं । चौंथो, आधार भनेको सामाजिक–आर्थिक एजेण्डा माओवादीमा जस्तो स्पष्ट अरु कोही पनि छैन । यहि चारवटा आधारमा आगामी चुनावमा हामी पहिलो पार्टी बन्छौं ।
प्रतिकृया लेख्नुहोस्: