Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अमेरिकी सेनाका उच्च अधिकारी भारत हुँदै अहिले नेपाल आउनुको कारण के हो ?

अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिमा भारतको भूमिका प्रमुख, चीन प्रतिस्पर्धी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त राज्य अमेरिकाको भ्रमणमा निस्किनुअघि अमेरिकी सेनाको प्यासिफिक कमान्डका एक उच्च कमान्डरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने सैन्य मामिलाका विज्ञहरूले बताएका छन्।

अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जेनरल चार्ल्स ए फ्लिन नयाँदिल्लीको भ्रमण सकेर बिहीवार काठमाण्डू आइपुगेका हुन्।

चार दिन नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने जनाइएको छ।

प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेको जानकारी सैनिक मुख्यालयले यसअघि नै दिइसकेको छ।

नेपाली सेनाको भनाइ के छ?

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार जेनरल फ्लिन "सद्भावना भ्रमणमा" आउन लागेका हुन्।

एशिया प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका उच्च अधिकारी रहेका उनको भ्रमणको मूल उद्देश्य दुई सेनाबीचको सम्बन्ध थप सुदृढ गर्ने रहेको सैनिक अधिकारीहरू बताउँछन्।

यो भ्रमणलाई नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर दुवै देशबाट भइरहेका उच्चस्तरीय भ्रमणहरूको निरन्तरताका रूपमा हेरिएको छ।

नेपाली सेनाका प्रवक्ता सिलवालका अनुसार फ्लिनले शुक्रवार जङ्गी अड्डाको भ्रमण गरी महत्त्वपूर्ण भेटवार्ताहरू गर्ने छन्।

त्यस क्रममा सैनिक मुख्यालय भद्रकालीमा उनलाई गार्ड अफ अनर अर्थात् सम्मान गारद दिने कार्यक्रम छ।

प्रधानसेनापति शर्मासँगको भेटपछि उनलाई नेपाली सेनाको अप्रेशनसम्बन्धी कार्यक्रमहरूबारे ब्रीफिङ गरिने छ।

शनिवार बिहान जेनरल फ्लिन सगरमाथा आधारशिविरको भ्रमणमा जाने कार्यक्रम छ।

आइतवार बिहानै उनले पाँचखालस्थित नेपाली सेनाको शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्ने छन्।

त्यहाँबाट फर्केर उनी काठमाण्डूको शिवपुरीमा रहेको नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज पुग्ने र सम्भवतः शिक्षार्थीहरूलाई सम्बोधन गर्ने बताइएको छ।

भ्रमणको अर्थ के?

कतिपय विश्लेषकहरूले जेनरल फ्लिनको भ्रमणलाई तीन सातापछि हुन लागेको नेपालका प्रधानसेनापतिको पेन्टागन भ्रमणसँग पनि जोडेर हेरेका छन्।

नेपाली सेनाका अवकाशप्राप्त उपरथी बिनोज बस्न्यात चीन अमेरिकाबीच बढ्दो प्रतिद्वन्द्विताका माझ बदलिँदो भूराजनीतिक परिवेशबारे आफ्नातर्फबाट विचारहरूको आदानप्रदान गर्न यी उच्चस्तरीय भ्रमणहरू हुन लागेको ठान्छन्।

उनले भने, "अहिले हुन लागेको अमेरिकी जेनरलको भ्रमण र हाम्रा प्रधानसेनापतिको भ्रमणमा बदलिँदो भूराजनीतिक वातावरणबारे पनि छलफल हुन्छ भन्ने मलाई लाग्छ। अमेरिकाले चीनलाई प्रतिस्पर्धीका रूपमा लिइरहेको छ। चीनको तिब्बतसँग सिमाना जोडिएको हिसाबले पनि भूराजनीतिक हिसाबले नेपाल महत्त्वपूर्ण रहेको त्यसै बुझ्न सकिन्छ।"

"अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिमा यो क्षेत्रमा भारतको प्रमुख भूमिका रहेको भनिएको छ र चीनलाई प्रतिस्पर्धीका रूपमा दर्शाइएकै छ। भारत हुँदै अमेरिकी सैनिक जेनरलको नेपाल भ्रमण हुनुले पनि केही साङ्केतिक अर्थ दिन्छ।"

उनले उच्च अमेरिकी सैनिक अधिकारीको भारत र नेपाल भ्रमणले द्विपक्षीय विषयबाहेक दक्षिण एशियामा चीनको प्रभावबारे जानकारी प्राप्त गर्ने मौका दिने पनि उल्लेख गरे।

दिल्ली वाशिङ्टन डीसीको एउटा प्रमुख रक्षा साझेदार हो।

इन्डो-प्यासिफिकअन्तर्गत क्वाड भनिने सुरक्षा गठबन्धनमा अस्ट्रेलिया, अमेरिका, जापान र भारत सम्मिलित छन्।

तर अहिले युक्रेनमाथि रुसी आक्रमणलाई हेर्ने दृष्टिकोणलाई लिएर अमेरिका र भारतबीच केही मतभिन्नता देखिएको छ।

विगतमा पनि यसरी दिल्ली हुँदै अमेरिकी सेनाका उच्च अधिकारीहरू नेपालको भ्रमणमा आएको पूर्वरथी बस्न्यात बताउँछन्।

"नेपाली सेना र नेपालको राजनीतिक तहबाट दुवैबाट निकट भविष्यमा अमेरिकामा उच्चस्तरीय भ्रमण हुने भनिएको छ। एशियाका दुई शक्तिशाली देशबीचको राष्ट्रका रूपमा हामीले अहिले देखिएको प्रतिद्वन्द्वी अवस्थालाई कसरी सन्तुलनमा राख्ने, हाम्रो सीमाहरू के-के हुन् भन्नेबारे कुराहरू आदानप्रदान गर्‍यौँ र हामीलाई फाइदा कसरी हुन्छ भन्ने तयारी भयो भने त्यसले नेपालको सैनिक क्षमता अभिवृद्धिमा मद्दत पुग्न जान्छ," उनले भने।

बुधवार नयाँदिल्लीमा बोल्दै फ्लिनले चीनले भारतसँगको सीमा क्षेत्र नजिकै पूर्वाधारहरू बनाइरहनु खतरनाक भएको टिप्पणी गरेको भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ।

नेपाली सेनाको महत्त्वपूर्ण साझेदार

नेपाली सेनाका अवकाशप्राप्त उपरथी पूर्णबहादुर सिलवाल नेपाली सेना र संयुक्त राज्य अमेरिकाबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको बताउँछन्।

उनका अनुसार उच्च अमेरिकी सैनिक अधिकारीको भ्रमणलाई दुई देशका सेनाबीचको नियमित आदानप्रदानका रूपमा लिनुपर्छ।

उनले भने, "यस्तो खालको भ्रमणमा तालिम र सहयोगका नयाँ क्षेत्रहरूका विषयहरूमा छलफल हुन्छ। प्यासिफिक कमान्डअन्तर्गत हाम्रा सैनिक अधिकारीहरू अमेरिकाको हवाईमा तालिम लिन जाने गर्छन्। प्यासिफिक कमान्डका उच्च सैनिक अधिकारीहरूले नियमित रूपमा यस्तो भ्रमण गर्ने गर्छन्।"

कोरोनाभाइरसको महामारीका कारण नेपाल र अमेरिकाबीच सैनिक स्तरमा कतिपय उच्चस्तरीय भ्रमणहरू प्रभावित भएका थिए।

यसै वर्ष अमेरिकी संसद्ले अनुमोदन गरेको एउटा कानुनले सशस्त्र द्वन्द्वकालमा भएका मानवाधिकार उल्लङ्घनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह गर्ने भूमिकालाई निगरानीमा राख्ने अमेरिकी सरकारको नीतिलाई निरन्तरता दिएको थियो।

त्यस्ता घटनाको छानबिनमा गैरसैनिक न्यायिक निकायहरूलाई पूर्ण रूपमा सहयोग पुर्‍याइरहेको विषयलाई अमेरिकाले कतिपय सैन्य सहयोगका लागि एउटा ‍सर्त बनाएको थियो।

तर मानवीय तथा विपद् प्रतिकार्य र पुनर्निर्माण गतिविधि, अन्तर्राष्ट्रिय शान्ति अभियान, सैन्य व्यावसायिकीकरण तथा तालिम र सीमा सुरक्षा गतिविधिमा भने सहयोगलाई कायम राखिने जनाइएको थियो।

नेपाल र अमेरिकाबीच सैन्य सहयोग

काठमाण्डूस्थित अमेरिकी राजदूतावासका अनुसार हालैका दशकमा नेपाली सेनालाई अमेरिकी सरकारले करिब साढे १२ अर्ब रुपैयाँ बराबरको सैन्य सहयोग उपलब्ध गराएको छ।

उक्त सहयोग नेपाली सेनाको शान्ति स्थापना सम्बन्धी जिम्मेवारी र विपद् प्रतिकार्यमा केन्द्रित रहेको बताइएको छ।

सन् २०१९ को डिसेम्बरमा अमेरिकी सरकारले नेपाली सेनालाई दुईवटा एम-२८ स्काई ट्रक हेलिकप्टरहरू उपलब्ध गराएको थियो भने नेपाललाई दिन लागिएका थप दुईवटा हेलिकप्टरहरू उत्पादनकै चरणमा रहेको अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकाले उक्त सहयोगलाई नेपाललाई एकमुस्ट दिइएको सबैभन्दा ठूलो सुरक्षा सहयोगका रूपमा उल्लेख गर्दै आएको छ।

सन् २०१८ मा अमेरिकी सेनाको प्यासिफिक कमान्डले नेपाली सेनालाई एमसिक्स्टीन, एफोर र एमफोर कार्बाइन नामक अत्याधुनिक राइफलहरू विक्री गरेको जनाएको थियो।

त्यसबाहेक नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा पूर्वाधार परियोजनाका लागि एक करोड डलरभन्दा बढी सहयोग उपलब्ध गराएको अमेरिकी भनाइ रहेको छ।

राष्ट्रसङ्घको शान्ति अभियानमा खटिने सैनिकहरूलाई तालिम उपलब्ध गराउने उक्त केन्द्रमा विभिन्न किसिमका तालिम र पूर्वाधार परियोजनाका लागि थप ८० लाख डलर अनुदान दिएको जनाएको छ।

नेपाल र अमेरिका दुवै देशका सेनाले विपद् व्यवस्थापनसहितका क्षेत्रमा संयुक्त सैन्य अभ्यास समेत गर्दै आएका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending