Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

रचना रिमालको त्यो सुन्दर उडान

आमा कमला भन्छिन् : आफूभित्र दबेको आवाज छोरीको गीतमा सुन्छु

खबरडबली संवाददाता

काठमाडौं । माटोको गारो भएको घर भत्काइयो। वरपर छर छिमेकको जस्तै उनीहरूको पनि पक्की घर बन्दै छ। घरबाहिर चटपटे बेच्न बनाएको टहरो पनि छैन अब त।

कमाइ खाने भाँडो अर्थात् अटो रिक्साको किस्ता तिर्न पनि बाँकी रहेन। समग्रमा- अभाव बाँकी रहेन गायिका रचना रिमालको घरमा।

छोरीले गाएरै घरको नक्सा अनि जिन्दगीको आयाम बदल्छिन् भन्ने सोचेकी थिइनन् उनकी आमा कमलाले। तर, गायकीले नै रचनालाई डोर्‍यायो गायन रियालिटी शो- नेपाल आइडलको मञ्चसम्म।

हुनत उनी प्रतिस्पर्धाको उत्कृष्ट आठबाटै बाहिरिइन् तर उनको गायन यात्रा भने त्यहीँ रोकिएन।

दुई वर्षको अवधिमा आफूले आठ सयभन्दा बढी गीतमा स्वर दिएको रचना बताउँछिन्। देश विदेशको कार्यक्रममा पुग्न उनलाई भ्याइ नभ्याइ भएको छ। फेसबुकमा उनलाई पछ्याउनेको सङ्ख्या तीन लाख छ र उनको यूट्यूब च्यानललाई करिब २ लाखले सब्सक्राइब गरेका छन्।

सारमा भन्नुपर्दा उपलब्धि बढ्दो छ। “पहिले स्टुडियोमा गाउनु मेरी छोरीको रहर थियो। अहिले काम बनेको छ,” कमलाले बीबीसीसँग गौरवान्वित हुँदै भनिन्।

उमेरले १९ वर्ष मात्र लागेकी छोरीले उनलाई भनेको दिन अझै सम्झिन्छिन् – ‘मम्मी अब म कमाउने भएँ। तपाईँ चटपटे बेच्न छाडिदिनुस्।‘

आँगनको त्यस घुम्ती पसलबाट हुने आम्दानीले तीन छोरीका लागि कापी कलमदेखि तरकारी र मरमसलासम्म जुटाएको कमला सम्झन्छिन्। अहिले छोरीले दिलाएको भरोसाकै कारण त्यो पसल बन्द गरिदिइन्।

छोरीमाथिको विश्वासले जित्यो। रचनालाई कमला र परिवारले दिएको साथ र सहयोगले जित्यो।

“मेरी छोरी पढाइमा निकै अब्बल छे। पढेरै केही गर्छे भन्ने लाग्थ्यो। तर, गाएर सफल भई,” उनले भनिन्,”नाम कमाएकी छ। पैसा त आज हुन्छ भोलि नहुन पनि सक्छ। उसले गाएका गीत र शुभचिन्तक सधैँ रहनेछन्।”

कसैले पनि रहर मार्न नपरोस्

रेडियो नेपालमा तारादेवी, अरुणा लामालगायतको गीत गुञ्जँदा टक्क अडिएर शब्द र लय कण्ठ पार्न आफूले निकै मिहेनत गरेको कमला सुनाउँछिन्। रेडियोमा सुनेको गीत साथी सङ्गीसँग विद्यालय जाँदा आउँदा वा घाँस दाउरा गर्न पुग्दा सुनाउने गरेको सम्झन्छिन्।

उनका बुवा पण्डित थिए। बुवासँगै पूजा आरतीमा सामेल हुन पाउँदा दङ्ग पर्थिन्। किनकि त्यही एउटा ठाउँ हुन्थ्यो जहाँ उनी निर्धक्क भजन गाउन पाउँथिन्।

“छोरी मान्छे भएर गाउँदै हिँड्नुलाई लाजको विषय मानिन्थ्यो। निशङ्कोच गाउन मिल्ने ठाउँ भजन कीर्तनस्थल मात्र थियो। तर भजन पनि प्राय राति हुन्थ्यो त्यसैले जानै मुस्किल,” उनी आफूले गाउने रहर दबाउनुको बाध्यता सुनाउँछिन्,”त्यो समय नै त्यस्तै थियो। रहरभन्दा माथि परिवार र समाज हुन्थ्यो।“

हुर्कँदै जाँदा समाजले गर्ने रोकटोक पनि बढ्दै गयो। बिस्तारै उनले रेडियोमा अन्य गायिकासँगै आफ्नो आवाज गुञ्जिएको कल्पन छाडिन्। बरु अठोट लिइन् – पढेर सरकारी जागिरे बन्छु।

कक्षा १० सम्मको पढाइ त पूरा भयो। तर, झापा जलथलस्थित उनको घरबाट नजिक कुनै क्याम्पस थिएन। छोरीलाई एक्लै टाढाको क्याम्पस पठाउन बुवाआमा तयार भएनन्। बरु विवाहलाई पढाइको विकल्पका रूपमा अघि सारे। र, अन्माएर पठाए तेह्रथुम।

“छोरी भएर जन्मिए पछि अनेक सम्झौता गर्नु पर्दो रहेछ। समाज नै त्यस्तै थियो। हामीले पनि स्वीकार्दै गयौँ। तर मनमनै अठोट लिएकी थिएँ। मेरा सन्तानलाई चाहिँ कहिल्यै पनि पढ्नबाट वञ्चित गर्दिन अनि रहर मार्न दिनेछैन,” उनले सुनाइन्।

विवाह गरेको दुई वर्षपछि जेठी छोरी कामना जन्मिइन्। त्यसको ठिक दुई वर्षपछि रचना जन्मिइन्। गाउँमा घर नजिकै विद्यालय थिएन। अलि परको विद्यालयमा पनि पढाउने मान्छेको अभाव थियो। उनी आफूले भोगेको नियति आफ्ना छोरीहरूले पनि भोगुन् भन्ने पक्षमा थिइनन्। उनीहरूलाई गुणस्तरीय शिक्षा दिलाउनकै लागि पुनः झापा झरिन्।

त्यसपछि सुरु भएको हो सङ्घर्षको शृङ्खला। श्रीमानले अटो चलाएर कमाउँथे। तर, उनलाई थाहा थियो छोरीहरूको उमेर बढ्दै जाँदा आवश्यकता, भोक र रहरहरू पनि सँगै बढ्छन्। एक जनाको कमाइ पर्याप्त हुँदैन। त्यसैले आफू स्वयं पनि कहिले सिलाइ गरेर आम्दानीको बाटो खोजिन्, कहिले चटपटे बेचेर।

“जसरी हुन्छ छोरीहरूले राम्रो शिक्षा पाउनु पर्छ भन्ने लाग्छ। पढे सक्षम बन्छन्। भोलि जागिर नखालान् तर समयसँगै चल्न सक्ने हुन्छन्,” उनी केही बेर सोचेर बोल्छिन्,”शिक्षित मानिसको बुझाइको स्तर नै माथि हुन्छ।”

झापा सरेको नौ वर्षपछि उनकी कान्छी छोरी जन्मिइन्। घरमा खुसीसँगै खाने पेट बढ्यो। उमेरले सानै भए पनि जेठी र माइली छोरीलाई घरको अवस्थाले जिम्मेवार बनाएको थियो। आमा नसक्ने हुँदा वा बिरामी पर्दा उनीहरू नै पसलमा बसिदिन्थे।

यूट्यूबमा केही वर्ष पुराना भिडियो भेटिन्छन् जसमा रचनाले चटपटे बनाउँदै, बेच्दै अन्तर्वार्ता दिएकी छन्।

रचनाले भनिन्,”मम्मीले गाएको सुनेर हो मैले गाउन थालेको। उहाँ पुराना गीतहरू गुन्गुनाउनु हुन्थ्यो। म सिको गर्न खोज्थेँ। बिग्रिँदा सम्झाउनु हुन्थ्यो। गीतमा प्रयोग भएका शब्द शुद्ध उच्चारण गर्न सिकाउनु हुन्थ्यो।”

छोरीले गायन सुरु गर्नुको श्रेय आफूलाई दिएको सुन्दा कमला केही भावुक भइन्। र, भनिन्,”उसमा क्षमता थियो। समयमा पहिचान भयो र त्यही अनुसार बाटो बन्दै गयो। ऊ त्यसैमा हिँडी। हामीले त सघाउने न हो।”

कक्षा ४ मा पढ्दा जिल्लास्तरीय गायन प्रतियोगिता जितेपछि रचना गाउन झनै प्रोत्साहित भएको कमला सुनाउँछिन्। सुनेरै सिकेको भरमा विद्यालयदेखि गाउँघरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन्थिन्।

तर, रेडियो वा यूट्यूबमा सुनेर सिक्नु र औपचारिक ज्ञान हुनुको भेद उनलाई थाहा थियो। त्यसैले छोरीलाई सङ्गीत सिक्न पठाउनेबारे श्रीमानसँग सल्लाह गरिन्।

तर, उनीहरूको गाउँ भद्रपुर आसपास सङ्गीत विद्यालय थिएन। करिब १७ किलोमिटर पर बिर्तामोडमा पठाउन सुरुमा त अनकनाइन्। किनकि सार्वजनिक सवारी साधनको सहज आवतजावत थिएन। सँगै पढाइमा सधैँ उत्कृष्ट नतिजा ल्याउने छोरी अलमलिन्छिन् कि भन्ने डर पनि उस्तै थियो।

“मैले आफूले गाउन र पढ्न छोडेको दिनहरू सम्झिएँ। ओहो! मेरा छोरीहरूले पनि त्यही अवस्था भोग्नु परे, म झापा आउनु र सङ्घर्ष गर्नुको औचित्य के? मनमा धेरै कुरा खेलाएर बसिनँ। टाढै भए पनि सङ्गीत सिक्न पठाएँ,” कमलाले सुनाइन्।

रचना कक्षा ९ मा पढ्दा सङ्गीत विद्यालयमा भर्ना भइन्। सङ्गीतको कखरा घरमै आमाले सिकाएकी थिइन्, ती कखरामा सुर र ताल भर्न सङ्गीतकर्मी सरोज दाहालसँग सिकिन्।

त्यस्तैमा एसईई परीक्षा नजिकियो। विद्यालयले धमाधम परीक्षाको तयारी गराउँदै थियो। त्यस अवधिमा उनी सङ्गीत विद्यालय जान छाडेकी थिइन्। तर, इच्छालाई लामो समय दबाएर राख्न सकिनन्।

नेपाल आइडलको अडिशनबारे थाहा पाएपछि, एकपटक कोसिस गर्ने जमर्को गरिन्।थाहा पाउनेले अनेक भनेका थिए – ‘एसईई बिग्रिन्छ।' ‘समय भएको छैन।’ ‘सङ्गीत सिक। तयारी गर र अर्को वर्ष जाऊ' तर उनको मन कहाँ मान्थ्यो र?

“रहर मार्नु पर्दाको पीडा भोगेकाले होला मैले उसलाई नाइँ भन्न सकिनँ। बरु उसको हात समातेर अडिशनमा लगेँ,” कमलाले भनिन्,”त्यहाँ उपस्थित सयौँ मानिससँग प्रतिस्पर्धा गर्ने आँट नै मेरा लागि छोरीको जीत थियो। प्रतिस्पर्धाबाट बाहिरिए पनि अनुभव सँगाल्थी।”

ती सयौँबाट छानिएर- प्रस्तुति दिँदै, तारिफ बटुल्दै उत्कृष्ट आठसम्म पुगिन्।

“हरेक अङ्क छायाङ्कन हुनु अघि मलाई फोन गर्थी र सोध्थी – मम्मी अब कुन गीत गाउँ?,” कमला दङ्ग पर्दै भन्छिन्,”म दुई चारवटा गीतको सूची दिन्थेँ। हरेक पटक मैले रोजेकै गीत गाएको सुन्दा गर्वले आँखा रसाउँथ्यो। लाग्थ्यो- अब दुःखका कारण रुने दिन गए।”

आफूभित्र दबेको आवाज छोरीको गीतमा सुन्छु

हाल रचना काठमाण्डूमा बस्छिन्। कमला झापामै छिन्। यस दूरीबीच र व्यस्तताबीच सम्बन्धको सेतु बनेको छ रचनाका गीतहरू।

हरेक दिन जसो उनका गीत सार्वजनिक भइरहेका छन्। कहिले काहीँ त दैनिक दुईदेखि चार वटासम्म गीत आउँछन्। ती सबैलाई नछुटाइ सुन्ने श्रोता हुन् कमला। सुनिसकेर फेसबुकमा सेयर गर्न पनि भुल्दिनन्। कार्यक्रम, रेकर्डिङ वा छायाङ्कनमा व्यस्त छोरीलाई प्रतिक्रिया जनाउँदै मेसेज समेत लेख्ने कुरा हर्षित हुँदै उनले सुनाइन्।

ती गीतहरूमा आफूले वर्षौँअघि देखि दबाएको आवाज अनुभूत गर्ने उनी बताउँछिन्।

“उसले आफ्ना कार्यक्रमहरू पाँच सेकेन्डका लागि भए पनि भिडियो कल गरेर देखाउँछे। मलाई उसको कार्यक्रम प्रत्यक्ष हेर्ने मन छ,” उनले रहरको पोको फुकाइन्।

कुराकानीकै क्रममा कमलालाई रचनाको फोन आउँछ। भोजपुरमा कार्यक्रम सकेर काठमान्डू एयरपोर्ट पुगेकी उनी आमासँग खुसी साट्छिन् – मम्मी कक्षा १२ को रिजल्ट आयो। म ए ग्रेडमा पास भएँ। ३.४४ जिपिए आएछ।

छोरीको परिश्रम र प्राप्तिको बखान गरिरहेकी कमलाको खुसी थप चुलियो। केही बेर मौन रहिन् र बोलिन्,”ऊ तीक्ष्ण छे। पढाइलाई चाहिँ जसरी पनि निरन्तरता दिए हुन्थ्यो। पढाइ भए अवसरहरू झनै फराकिलो भएर आउँछन्।”

कमलाका आशाहरू मसिना छन्। अटो चलाएर फर्किएका उनका श्रीमान, रचनाको बुबा हुनुका कारण पाएको प्रशंसा र सम्मानको खात बोकेर फर्कन्छन्। बाटोमा हिँड्दा देख्नेले ‘रचनाको आमा वा रचनाको बुबा’ भनेर सम्बोधन गर्छन्। यस्तै कुरामा शान्ति र सन्तुष्टि भेट्छन् उनीहरू।

किशोरावस्था पनि नकटेकी छोरीले कुनै दिन आफूहरूको अघिल्तिर आएर – ‘बाबा कतिन्जेल साँघुरोमा बस्ने। अब हामी पनि नयाँ घर बनाऔँ। सकिन्छ।‘ भन्नुले दिलाएको खुसी त झन् कति हो कति।

कमला विगतमा फर्कन्छिन् जब रचना सानातिना कार्यक्रममा गाउन पुग्थिन्। उनले गाएको सुनेर केही मानिस खुसी हुन्थे र पाँच सय, हजारको नोट दिएर पठाउँथे। रचना ती पैसा आमालाई खर्चका लागि दिन्थिन्।

“तर त्यो सबै पैसा उसको डायरीका पानाहरूमा च्यापेर सुरक्षित राखिदिएकी छु। ती नोट मात्र होइनन् याद हुन् र मेरी छोरीलाई गीत गाउन हौसला दिने पदक हुन्।”

कमला चाहन्छिन्, चर्चा र सफलताले छोरीलाई पुराना पल नबिर्साइदेओस् जसको जगमा टेकेर उसले अहिले सुन्दर उडान भरिरहेकी छ।

रचना चाहिँ चाहन्छिन्, उनकी आमा एक पटक विगतमा फर्किउन्। पुनः हृदय खोलेर गीत गाउन्।

“मैले उहाँको स्वरमा एउटा गीत रेकर्ड गराउने योजना बनाएकी छु। किनकि श्रोताले थाहा पाउनु पर्छ मेरो प्रेरणाको स्रोत को हो।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE