काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू आजैदेखि नियमित कामकाजमा फर्किने बताएका छन् । प्रधानन्यायाधीश जबराले महाभियोग निष्प्रभावी भएसँगै आफू सर्वोच्च जान लागेको बताएका हुन् ।
बुधबार संसदका महासचिव डा। भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका छन् । यसले न्यायको अनुभूति भएको भन्दै जबराले आजैदेखि काममा फर्कने बताए ।
‘म खुसी छु, न्याय अनुभूत भएको छ,’ उनले भने, ‘आजदेखि म मेरो नियमित काम काजमा फर्किन्छु । २७ गतेबाट मैले अवकाश पाउने हो ।’
उनले अगाडि भने, ‘सुरक्षाकर्मी आउँदैछन्, सुरक्षा व्यवस्थाको तयारी हुँदैछ । म पनि आफ्नो व्यवस्था गर्दैछु ।’
गत वर्षको फागुन १ गते संघीय संसदका ९८ सांसदले प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाभियोग प्रक्रियामै रहेको समयमा संसदको कार्यकाल समाप्त भएपछि पूर्ववत् महाभियोग सिफारिस समितिले महाभियोग निरन्तर रहने र अर्को संसदले टुंगो लगाउने भन्दै संसदमा सिफारिस गरेको थियो ।
पूर्ववत् संसदको कार्यकाल सकिएसँगै जबरा सर्वोच्च अदालत जान खोजेपनि सरकारले उनलाई प्रधानन्यायाधीशको निवासबाट बाहिर निस्कन दिएको थिएन । मंगलबार जबराले संघीय संसद सचिवालयमा आफ्नो महाअभियोगको सम्बन्धमा के कसो भएको हो र महाभियोग अझै बाँकी नै हो कि सकियो भनेर निवेदन दिएका थिए । उक्त निवेदनमाथि बुधबार संघीय संसद सचिवालयले जबरासहित ५ वटा संवैधानिक निकाय र सर्वोच्च अदालतलाई पत्र पठाएर महाभियोग निष्प्रभावी रहेको पत्र दिएका थिए ।
त्यसपछि जबरा बुधबार नै सर्वोच्च अदालतमा पत्रसहित उपस्थित हुन लागेका हुन् ।
प्रतिकृया लेख्नुहोस्: