Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

रुस-युक्रेन युद्धको एक वर्ष : पुटिनले लक्ष्य विफल भएको हो ?

खबरडबली संवाददाता

काठमाडौं । गत वर्ष फेब्रुएरी २४ मा भ्लादिमिर पुटिनले युक्रेनमा दुई लाख सैनिक पठाउँदा उनलाई केही दिनमै रुसी सेना किएभभित्र छिर्ने र त्यहाँको सत्ता ढाल्न सकिने गलत अनुमान गरेका थिए।

एक वर्षको अवधिमा रुस कैयौँ पटक पछि हट्नुपर्ने लाजमर्दो अवस्था उत्पन्न भयो। त्यसले उनको युक्रेनमा अतिक्रमण गर्ने प्रारम्भिक योजना विफल भएको देखिन्छ। तर रुसले लडाइँ हारिसकेको भने छैन।

पुटिनको लक्ष्य

अहिले पनि रुसी नेताहरू दोस्रो विश्वयुद्ध सकिएपछी भएको सबैभन्दा ठूलो आक्रमणलाई ‘विशेष सैन्य कारबाही’ का रूपमा व्याख्या गरिरहेका छन्। 

पूर्ण स्तरको युद्ध नभनिएको भए पनि युक्रेनभरि गैरसैनिक क्षेत्रहरूमा पनि हमला गरिएको सो कारबाहीमा आफ्नै देशभित्र विस्थापित गरिएका वा बाहिर शरण लिन बाध्य पारिएका मानिसको सङ्ख्या करिब एक करोड ३० लाख छ।

सन् २०२२ को फेब्रुएरी २४ मा युक्रेनलाई ‘असैनिकीकरण र नाजीमुक्त” गर्नु आफ्नो उद्देश्य रहेको उनले बताएका थिए। रुससमर्थित समूहहरूले सन् २०१४ यता कब्जा गरेका पूर्वी युक्रेनी भूभागको स्वतन्त्रतालाई समर्थन गर्ने निर्णय गरिएको केही दिनपछि पुटिनले बल प्रयोग गरेर युक्रेन कब्जा गर्ने आफ्नो लक्ष्य नरहेको बताएका थिए।

उनले मानिसहरूलाई आठ वर्षदेखिको युक्रेनी अत्याचार र नरसंहारबाट जोगाउने प्रतिबद्धता व्यक्त पनि गरेका थिए। रुसले गरेको त्यस्तो प्रचारको कुनै वास्तविक आधार भने छैन। उनले युक्रेनमा नेटोको उपस्थिति रोक्ने उल्लेख गर्दै अर्को उद्देश्य युक्रेनको तटस्थ हैसियत कायम राख्नु भएको बताए।

राष्ट्रपति पुटिनले कहिल्यै पनि सार्वजनिक रूपमा नबोलेको भए पनि उनको एउटा प्रमुख प्राथमिकता युक्रेनका निर्वाचित राष्ट्रपतिलाई अपदस्थ गर्नु थियो।

“शत्रुले मलाई पहिलो निसाना र मेरो परिवारलाई दोस्रो निसाना बनाएको छ,” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका थिए। उनका सल्लाहकारका अनुसार रुसी सैनिकहरूले राष्ट्रपति निवास परिसरमा हमला गर्ने प्रयास दुई पटक गरेका थिए।

नाजीहरूले युद्धअपराध गरेको भन्ने रुसी दाबी कहिल्यै पनि प्रमाणित भएन। तर रुसी सरकारी सञ्चार संस्थाले ‘गैरनाजीकरण अन्ततः गैरयुक्रेनीकरण” भएको उल्लेख गर्‍यो। त्यसको अर्थ उक्त कदमको व्यावहारिक अर्थ आधुनिक युक्रेन राज्यको अस्तित्व मेटाउनु हुन जान्छ।

वर्षौँसम्म रुसी राष्ट्रपतिले युक्रेनको स्वतन्त्र हैसियत अस्वीकार गर्दै आएका छन्। सन् २०२१ मा एउटा लामो लेख लेख्दै उनले नवौँ शताब्दीयता ‘रुसी र युक्रेनीहरू एकै मानिस’ भएको बताएका थिए।

पुटिन

पुटिनले कसरी लक्ष्य फेरे?

आक्रमणको एक महिनापछि किएभ र चेर्निभबाट पछि हट्नुपर्ने अवस्था आएसँगै उनको अभियानको लक्ष्य नाटकीय रूपमा बदलियो।

त्यसपछिको मुख्य उद्देश्य ‘डोन्बासको स्वतन्त्रता’ बन्न पुग्यो। त्यो क्षेत्रमा लुहान्स्क पूर्वको र डोनेट्स्कस्थित दुई प्रमुख औद्योगिक क्षेत्रहरू पर्छन्।

उत्तरपूर्वको खार्किभ र दक्षिणको खेअर्सनमा पनि पछि हट्न बाध्य भएको भए रुसको लक्ष्य बदलिएको छैन। तर ऊ आफ्नो लक्ष्यसम्म पुग्न सकेको छैन।

लडाइँमा त्यस्तो अवस्था हुँदा गत सेप्टेम्बरमा रुसका नेताहरूले चारवटा युक्रेनी प्रान्त गाभ्ने निर्णय गरे। तर लुहान्स्क, डोनेट्स्क, खेअर्सन र जापोरिजामा उसको पूर्ण नियन्त्रण थिएन।

राष्ट्रपति पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सैनिक परिचालन गर्ने घोषणा गरेका थिए। तर त्यो आंशिक थियो र जगेडामा रहेका झन्डै तीन लाख सैनिक मात्र पठाइएको थियो। अहिले ८५० किलोमिटर क्षेत्रमा फैलिएको अग्रमोर्चामा युद्ध जारी छ र रुसको जित सीमित र दुर्लभ छ।

चाँडै सकिनुपर्ने ठानिएको कारबाही अहिले युद्ध बन्न पुगेको छ। पश्चिमा नेताहरू युक्रेनले यो युद्ध जित्नुपर्ने पक्षमा छन्। यसमा कोही पनि तटस्थ बस्न सक्ने सम्भावना छैन।

राष्ट्रपति पुटिनले गत डिसेम्बरमा यो युद्ध लम्बिने चेतावनी दिएका थिए। तर पछि उनले रुसको लक्ष्य ‘सैन्य द्वन्द्वको चक्का घुमाइराख्नु नभएको’ बरु त्यसको अन्त्य गर्नु भएको टिप्पणी गरेका थिए।

उपलब्धि 

राष्ट्रपति पुटिनले आफूले हात पारेको सबैभन्दा ठूलो उपलब्धिका रूपमा दाबी गर्न सक्ने भनेको रुसको सीमादेखि क्राइमियासम्म जमिनमा पुल निर्माण गर्नु हो।

क्राइमियालाई सन् २०१४ मा रुसमा गाभिएको थियो। त्यही भएर केर्स स्ट्रेटमाथि बनेको पुलमा अब मस्को निर्भर छैन। उनले मारिऊपोल र मेलिटोपोल अवस्थित उक्त भूभाग कब्जा गरिएको घटना ‘रुसका लागि महत्त्वपूर्ण’ परिणाम भएको बताए।

केर्च स्ट्रेटमा अवस्थित आजोभ सागर ‘रुसको आन्तरिक समुद्र बन्न’ पुगेको भन्दै पुटिनले रुसी शासक पिटर द ग्रेटले समेत त्यस्तो गर्न नसकेको टिप्पणी गरेका थिए।

एउटा र्‍यालीमा सम्बोधन गर्दै पुटिन

के पुटिन विफल भएका हुन्?

क्राइमिया प्रवेश गर्ने क्षेत्र कब्जा गर्नुबाहेक रुसको रक्तपातपूर्ण र उत्तेजनात्मक युद्ध मस्को स्वयं र एउटा देशका रूपमा रुसका लागि पनि ठूलो क्षति बनेको छ। हालसम्म उक्त युद्धले रुसी सेनाको क्रूरता र अयोग्यता झल्काउनेबाहेक खासै केही उपलब्धि हासिल गर्न सकेको छैन।

मारिऊपोलजस्ता सहर भग्नावशेषमा परिणत हुँदा किएभनजिकैको बुचामा युद्धअपराधका घटनाहरू भएका विस्तृत विवरणहरू आए। एउटा स्वतन्त्र प्रतिवेदनले रुस स्वयंले त्यस्तो नरसंहारलाई प्रोत्साहन दिएको जनाएको थियो। तर सैन्य विफलताका तथ्याङ्कले रुसलाई सबैभन्दा कमजोर देखाइरहेको छ।

  • गत नोभेम्बरमा खेअर्सननजिकै को ड्निप्रो नदीबाट ३० हजार सैनिक फिर्ता हुनु रणनीतिक विफलता थियो
  • युद्धको प्रारम्भिक अवस्थामा बख्तरबन्द गाडीहरूको ६४ किलोमिटर लामो लस्कर किएभनजिकै रोकिने अवस्था आउनु बन्दोबस्तीको विफलता थियो
  • युक्रेनी नववर्षमा माकिइभ्कामा गरिएका क्षेप्यास्त्र हमलामा भर्खरै परिचालित सैनिकहरूको ठूलो सङ्ख्यामा ज्यान जानु गुप्तचरी असफलता थियो
  • कृष्णसागरमा सीमारक्षा गर्ने परिचालित मस्क्भा युद्धपोत डुब्नु रणनीतिक विफलता थियो।
  • सन् २०२२ को अक्टोबरमा केर्च स्ट्रेट पुलमा गरिएको हमलालाई पनि महत्त्वपूर्ण विफलताका रूपमा लिने गरिएको छ। उक्त हमलापछि सो पुल दुई हप्ता बन्द भएको थियो।

युक्रेनलाई अस्त्रशस्त्र नदिन रुसले दिएको चेतावनीलाई कैयौँ पश्चिमा देशहरूले नसुनेको जस्तै गरिदिएका छन्। बरु उनीहरूले ‘चाहिएको समयसम्म’ युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

शक्तिशाली हिमार्स क्षेप्यास्त्रको प्राप्ति र जर्मनीमा निर्मित लेपार्ड ट्याङ्क दिने प्रतिबद्धताले युक्रेनको अस्त्रभण्डार थप बलियो बनेको छ। तर यो युद्ध अझै पनि टुङ्गिने छाँटकाँट देखिँदैन।

युक्रेन

डोन्बास क्षेत्रमा अझै पनि लडाइँ चलिरहेको छ। रुसले यसै वर्ष सोलेडार नगर कब्जा गरेको छ। उसले पूर्वको सहर बख्मुट र गत शरद्‌याममा गुमाएका भूभाग कब्जा गर्ने आशा कायम राखेको छ।

पुटिनलाई नजिकबाट नियालिरहेकाहरूको विश्वास के छ भने उनले रुसको भूभागका रूपमा घोषणा गरेका डोन्बासबाहेक जापोरिजातिर पनि नियन्त्रण कायम गर्ने प्रयास गर्नेछन्। आवश्यक पर्‍यो भने राष्ट्रपति पुटिनले सैन्य परिचालन बढाउन सक्छन् र युद्धलाई लम्ब्याउन सक्छन्।

रुस परमाणुशक्तिसम्पन्न राष्ट्र हो र उसले आफ्नो देशको रक्षाका लागि र आफूले कब्जा गरेका युक्रेनी भूभागमा नियन्त्रण कायम राखिराख्न आवश्यक परेको खण्डमा परमाणुअस्त्र प्रयोग गर्नसक्नेसम्मको चेतावनी दिएको छ।

“हामीले आफूसँग उपलब्ध सम्पूर्ण अस्त्रहरू प्रयोगमा ल्याउनेछौँ। यो झुट्टो बोलेको होइन,” उनले चेतावनी दिएका थिए। किएभले रुसले मोल्डोभामा युरोपलाई समर्थन गर्ने सरकार ढाल्ने प्रयास पनि गरिरहेको छ। त्यहाँ रुसी सैनिकहरू युक्रेनी सीमासँग जोडिएको ट्रान्स्निस्ट्रिया क्षेत्रमा तैनाथ छन्।

के पुटिनलाई क्षति पुगेको छ?

सत्तरी वर्ष पुगेका राष्ट्रपति पुटिनले सैन्य विफलताबाट आफूलाई टाढै राख्न खोजेका छन्। तर उनको शक्ति क्षीण भएको देखिन्छ - कम्तीमा पनि रुसबाहिर। उनी देशबाहिर खासै गएका छैनन्।

देशभित्र रुसको अर्थतन्त्र बाहिरबाट हेर्दा शृङ्खलाबद्ध रूपमा लगाइएका पश्चिमा प्रतिबन्धहरूले प्रभावित भएको देखिन्छ। बजेट अभाव बढेको छ र तेल तथा ग्यासको कर नाटकीय रूपमा घटेको छ। उनको लोकप्रियता नाप्न सजिलो छैन।

रुसमा फरक विचार राख्नु एकदमै जोखिमपूर्ण छ। देशको सेनाविरुद्ध ‘मिथ्या समाचार’ फैलाउने जो कोहीलाई कारबाही गरिन्छ। रुसी नेतृत्वको विरोध गर्ने जो कोही या त भागेका छन् या प्रमुख विपक्षी नेता एलेक्से नाभाल्नीजस्तै जेल परेका छन्।

पश्चिमसँग युक्रेनको निकटता 

सन् २०१३ मा युक्रेनमा रुसलाई समर्थन गर्ने नेतालाई युरोपेली सङ्घसँग योजना गरिएको एउटा सम्झौता खारेज गर्न मस्कोले मनाउन सफल भएको थियो। त्यसपछि अहिलेको युद्धको बीजारोपण भएको थियो।

त्यसपछि भएको विरोधप्रदर्शनका कारण ती नेता सत्ताच्युत भए तर रुसले क्राइमियामा नियन्त्रण कायम गर्‍यो। सन् २०२२ मा रुसले आक्रमण गरेको चार महिनामा नै ईयूले युक्रेनलाई सदस्यको उम्मेदवारको हैसियत प्रदान गर्‍यो र किएभले आफूलाई जतिसक्दो चाँडो स्वीकार गर्न दबाव दिइरहेको छ।

रुसी नेता युक्रेनलाई नेटोको नजिक पुग्न रोक्न दृढ देखिन्थे। तर पश्चिमा प्रतिरक्षा गठबन्धनलाई युद्धका लागि दोष दिने उनको प्रयास गलत हो। युद्धअघि युक्रेनले रुससँग सर्तसहित एउटा सहमति गरेको थियो जसमा नेटोभन्दा बाहिरै बस्ने उल्लेख थियो। 

मार्च महिनामा राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई असंलग्न र परमाणुअस्त्ररहित राज्य कायम राख्ने जनाएका थिए। “त्यो वास्तविकता हो र त्यसलाई स्वीकार गरिनुपर्छ,” उनले भनेका थिए।

जेलेन्स्की

नेटो दोषी

नेटोका सदस्यराष्ट्रहरूले युक्रेनी सहरहरू जोगाउन युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र प्रणाली, गोलीगट्ठा र ड्रोनहरू उपलब्ध गराएका छन्।

त्यसले रुसी आक्रमणलाई विफल बनाउन युक्रेनलाई सघाउ पुर्‍याइरहेको छ। तर युद्धका लागि उसलाई आरोपित गर्नु सही हुँदैन। नेटोको विस्तार रुसी धम्कीपछि आएको थियो।

स्वीडन र फिनल्यान्डले उक्त रुसी अतिक्रमणकै कारण आफू नेटोमा आबद्ध हुन निवेदन दिए। नेटोले पूर्वतर्फ आफूलाई विस्तार गरिरहेको आरोप रुसले लगाउँदै आएको छ। यो भाष्यले युरोपमा केही बल पाएको पनि छ।

युद्धअघि राष्ट्रपति पुटिनले नेटोलाई सन् १९९७ को अवस्थाभन्दा पछाडि फर्किन भनेका थिए। उनले उसलाई मध्य र पूर्वी युरोप अनि बाल्टिक क्षेत्रबाट फौज र सैन्य संरचना हटाउन भनेका थिए।

उनको दृष्टिमा पश्चिमा विश्वले सन् १९९० को दशकमा नेटोले ‘पूर्वतर्फ एक इन्च’ पनि विस्तार नगर्ने वाचा गरेको थियो तर उसले कसरी कसरी त्यो गरेरै छाड्यो।

यो सोभियत सङ्घको विघटनभन्दा अघिको कुरा थियो। अनि तात्कालिक सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोफसँग गरिएको वाचाले एकताबद्ध जर्मनीको सन्दर्भमा पूर्वी जर्मनीलाई मात्रै उल्लेख गरेको थियो।

पछि गोर्बाचोफले त्यो समयमा ‘नेटो विस्तारको विषयमा कहिल्यै छलफल नभएको’ बताएका थिए। नेटो आफूले कहिल्यै पनि पूर्वतर्फ फौज राख्ने सोच नबनाएको तर सन् २०१४ मा रुसले गैरकानुनी ढङ्गले क्राइमिया आफूमा गाभेपछि अवस्था फेरिएको बताउने गरेको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE