Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भारतदेखि युरोप-अमेरिकासम्मका पर्यटक पुग्ने घान्द्रुक, छैन पहिलेजस्तो

खबरडबली संवाददाता

पोखरा । विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउँथे। गाउँको तल विद्यालय थियो। उनी विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे। उनीहरु को हुन्, किन आएका हुन्? कसैलाई पत्तो थिएन। पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए। 

उतिबेला घरगाउँमा कोही नचिनेको मान्छे आयो भने ‘जासुसी गर्न’ आएको भनेर शङ्काको  दृष्टिले हेरिन्थ्यो। विदेशी आउने क्रम बढेपछि शिक्षक गुरुङले सोधखोज गर्न थाले। अनि थाहा भयो- उनीहरु त घुमफिरका लागि आएका पर्यटक पो रहेछन्। त्योबेला घान्दु्रुकमा होटल, रेस्टुराँको कल्पना नै थिएन। 

पर्यटकले खाने र बस्ने ठाउँ खोज्दै हिँडेको देखेपछि उनले आफ्नै घरमा लैजान थाले। ‘घरमा जे पाक्छ, उनीहरु त्यही खान्थे, सामान्य कोठामा सुत्थे’, शिक्षक गुरुङले विगत कोट्याए, ‘गाउँका अरुले राख्न मानेनन्, मैले राखेँ, अङ्ग्रेजी भाषाको अलिअलि ज्ञान भएकाले पनि मलाई सजिलो भयो।’

व्यापार गर्ने नभई घरमा आएका पाहुनालाई सेवा–सत्कार गर्ने संस्कार गुरुङहरुमा थियो। शिक्षक गुरुङले पनि सुरुसुरुमा त्यसै गरे। ‘विदेशीलाई राखेर यतिउती पैसा लिनुपर्छ भन्ने हामीलाई थाहा नै थिएन, न हाम्रो संस्कारमा पर्थ्यो’, उनले भने, ‘हाम्रो आतिथ्यट खुसी भएर उनीहरु आफैँले केही पैसा छाडेर जान्थे।’

बिस्तारै शिक्षक गुरुङको घरमा बास बस्न आउने पर्यटकको सङ्ख्या बढ्दै गयो। अरु गाउँलेले पनि पर्यटक भेटेपछि शिक्षककै   घरमा पठाउन थाले। ‘घान्दु्रक आएका पर्यटकलाई पहिलोपटक घरमै राखेर सेवा दिएको हामीले नै हो’, उनले सुनाए, ‘पछि मैरे नाता पर्ने कुलबहादुर गुरुङले घान्द्रुकमा पहिलो होटल खोल्नुभयो।’

पर्यटकलाई लक्ष्य गरी खोलिएको उक्त होटलको नाम फिस्टेल थियो। जुन अहिले बन्द छ। विसं २०२७ तिर फिस्टेल होटल खुलेपछि अर्को वर्ष शिक्षक गुरुङले कोटगाउँमा होटल अन्नपूर्ण खोले। उनले कान्छो बुबाको घरमा होटल चलाए। पछि त्यही घर किनेर विसं २०५० सम्म अन्नपूर्णकै नाममा होटललाई निरन्तरता दिए। 

अठहत्तर वर्षीय शिक्षक गुरुङ अहिले पनि होटल व्यवसायमै छन्। चौहत्तर वर्षीया श्रीमती बेलकुमारीको दरिलो साथ पनि उनले पाइरहेका छन्। गुरुङका छोरा मिलन भने सपरिवार बेलायत बस्छन्। विसं २०५० पछि छोराको नाममा मिलन होटल चलाइरहेका छन्, गुरुङ दम्पतीले। ‘पहिलेको भन्दा अझ राम्रो भ्यु प्वाइन्ट भेटाएपछि होटल त्यहीँ बनायौँ, नाम पनि नयाँ राख्यौँ’, उनले भने। 

विसं २०५० मै शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि गुरुङले पुरै समय होटललाई दिन थाले। झण्डै ५४ वर्षदेखि आतिथ्य सेवामा सक्रिय उनलाई घान्द्रुककै पहिलो पर्यटन व्यवसायीका रुपमा चिनिन्छ। घान्द्रुकको पर्यटनको कुरा गर्दा शिक्षक गुरुङको नाम जहिल्यै पनि अघि आउँछ। 

‘मैले होटल सुरु गर्दा बाटोको छेउमा बसेर के गरेको होला भनेर मान्छेले भन्थे’, उनले भने, ‘कमाइ हुन्छ भन्ने थाहा पाएपछि पछि गाउँका अरु पनि होटल व्यवसायमा लागे।’ विसं २०४०/२०४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले। पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो। 

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रूपमा देशीविदेशी माझ परिचित छ। बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन्। प्रकृति र संस्कृतिमा रमाउँछन्। पर्यटकीय चहलपहल बढे पनि घान्द्रुकको असली पहिचान गुम्ने हो कि भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ।

घान्द्रुक उहिलेको जस्तो छैन। जीवनशैली, रहनसहन फेरिँदो छ। नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ। ‘विदेशीले यहाँ सडक नल्याउनू, ठूला सुविधासम्पन्न होटल पनि नखोल्नु भन्थे’, शिक्षक गुरुङले सुनाए, ‘तर जमानाअनुसार चल्नुपर्ने व्यवसायीलाई पनि बाध्यता छ, अहिले ठूल्ठूला भवन बने, गाउँमा मोटरबाटो पनि आयो।’

सडकले पदमार्ग भत्केका छन्। पर्यटक धूलो–हिलो सहँदै सडकबाटै पर्यटक हिँडेका भेटिन्छन्। हिमालको काखमा पहाडे शैलीका लहरै घर। ग्रामीण परिवेश र हावापानी। गुरुङ समुदायको कला, संस्कृति र रहनसहन। पाहुनाको सत्कारका लागि खुलेका घरबास। गाउँकै उब्जनीबाट बनेका परिकार। पहिले-पहिले घान्द्रकुमा पर्यटक लोभ्याउने चिज यिनै थिए। अहिले घान्द्रुक बिस्तारै कङ्क्रिटले ढाकिँदै छ। 

पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन्। आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दै छ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको बताए। ‘यो विषय हामी सबैलाई महसुस भएको छ, नयाँ संरचना बनाउँदा मौलिकता झल्कने गरी बनाउनेतिर जोड दिएका छौँ’, उनले भने, ‘कतिपय व्यक्तिले पुराना र जीर्ण घरलाई पनि संरक्षण गर्न थालेका  छन्।’

मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि सङ्कटमा पर्ने स्थिति देखिएको स्वयं पर्यटन व्यवसायी बताउँछन्। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले घान्द्रुकमा बनिरहेका ठूल्ठूला संरचनाबारे पर्यटकबाटै गुनासो आइरहेको बताए। ‘हुन त व्यवसायीको पनि बाध्यता होला, जग्गा अभाव भएका कारण धेरै तला थपेको हुनसक्छ’, उनले भने, ‘पक्कै हो- घान्द्रुक पहिलेजस्तो छैन, परम्परागत घर धेरै हटिसके।’

स्थानीय पहिचान दिन सकिएन भने हिमाल हेर्न मात्रै पर्यटक नआउन पनि सक्ने उनको  भनाइ छ। घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्यले जोकोहीलाई पनि लोभ्याउँछ। देश-विदेशसम्म चिनिएको गन्तव्य भएकाले घान्द्रुकको एकीकृत र पर्यटनमैत्री हिसाबले पूर्वाधार विकास गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड छ। घान्द्रुकको पर्यटन प्रवर्द्धनका लागि समितिले बर्सेनि अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव गर्ने गरेको छ। 

स्थानीय धनसुबा गुरुङले ढुङ्गामाटाले बनेका पुराना घर भत्काउँदै नयाँ बनाउने क्रम बढेको बताए। ‘काठ किराले खायो भन्छन्, सिमेन्टका अग्लाअग्ला घर बनिरहेका छन्, यस्तै छ खै कसलाई के भन्ने’, उनले भने, ‘गाउँमा खेतीपाती गर्ने पनि छैनन्, सबै बजारको ल्याएर खानुपर्छ।’ डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ। केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रुपमा चलाएका छन्। 

गाउँमा आउने पर्यटकलाई देखाउने गुरुङ संस्कृतिका गीत-नाच पनि लोपन्मुख अवस्थामा पुगेका छन्। पर्यटक लोभ्याउने घरबास बिस्तारै खस्किँदै जान थालेका छन्। कतिपयले घरबासलाई होटलमा परिणत गरिसकेका छन्। स्थानीय उत्पादन नभएपछि घरबासमा पनि बजारकै परिकार पाक्छन्। 

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले घान्द्रुकमा आयोजित पर्यटन महोत्सवमा पहिचान नमेटिनेगरी भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताए। उनले घान्द्रुकको मौलिकता बिस्तारै ह्रास हुँदै गएकामा चिन्तासमेत व्यक्त गरे। ‘पर्यटक घान्द्रुकको गाउँले परिवेश र संस्कृति हेर्न आउँछन्, यसलाई जोगाइएन भने भोलि यहाँको पर्यटन खस्किनसक्छ’, मुख्यमन्त्री पाण्डेले भने। 

पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन्। अठारवटा घरबास छन्। पर्यटकस्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन्। पर्यटन व्यवसायमा अर्बौँको लगानी छ। सयौँले रोजगारी पाएका छन्। पर्यटकीय याममा एकैदिनमा दुई/तीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन्।

स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्द्रुकलाई गन्तव्य बनाउँछन्। भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक त्यहाँ पुग्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ। पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै ५/६ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ। मोटरमा जाँदा एक/डेढ घण्टामै पुग्न सकिन्छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: