खास गरी चुनावको बेलामा हामीकहाँ बृहत् आयोजनाहरूको निकै चर्चा हुने गर्छ । चाक्ला सडक, सुरुङ मार्ग, ठुलो रेल, मोनो रेल, मेट्रो रेल, जल विद्युत्, नदी जोड योजना आदि आदि । तर ठुला आयोजनाहरू बनाउन वैदेशिक मुद्राको ठुलै अंश रहेको हुन्छ भन्ने कुराको त्यति हेक्का राखेको पाइँदैन । अहिले बुढिगण्डकी जल बिद्युत् स्वदेशी लगानीमा बनाउने चर्चा पुनः सुरु भएको छ ।
स्वदेशी लगानीमा निर्माण भएको भनिएता पनि बहुचर्चित भेरी-बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा कुल लागतको ८० प्रतिशत विदेशी मुद्रामा र बाँकी २० प्रतिशत नेपाली मुद्रामा भुक्तानी दिने व्यवस्था थियो । त्यसै गरी निर्माणाधीन काठमाडौँ-निजगढ फास्ट ट्याकको सुरुङ र अग्लो पुल निर्माणको काममा ७० प्रतिशत विदेशी मुद्रा र ३० प्रतिशत नेपाली मुद्रामा भुक्तानी दिनुपर्ने व्यवस्था छ । यस्तै अन्य आयोजनाहरूमा पनि विदेशी मुद्राको अंश कम्तीमा पचास प्रतिशत रहेकै हुन्छ । विदेशी परामर्श सेवामा पनि कुल रकमको सत्तरी/असी प्रतिशत विदेशी मुद्रामा भुक्तानी हुन्छ ।
यस प्रकार हेर्दा नेपालमा ठुला आयोजनाहरूको निर्माण र विदेशी परामर्श सेवा खरिदमा निकै ठुलो विदेशी मुद्राको भुक्तानी आवश्यक हुन्छ । तर देशमा आउने विदेशी मुद्रा सीमित छ । त्यसमा पनि सञ्चितिको अवस्था एकदम नाजुक छ । विदेशी मुद्रा दुर्लभ कुरो हो । ठुला ठुला आयोजनाहरू बनाउन या त देशमा सञ्चित वैदेशिक मुद्रा बाट खर्च गर्न पर्छ, या त विदेशी दातृ निकायहरूबाट ऋण लिनुपर्छ, या त मित्र राष्ट्र हरूबाट अनुदान पाउनु पर्छ । बुढीगण्डकी बनाउने भनेर एक लिटर इन्धनमा एक रुपियाँ कर लगाइएको छ । तर यसो गरेर सङ्कलन हुने भनेको त नेपाली मुद्रा हो, विदेशी मुद्रा होइन । कर कार्यालयले जनताबाट उठाउने करबाट पनि विदेशी मुद्रा सङ्कलन हुँदैन नेपाली रुपियाँ हो । त्यसैले करबाट उठेको यस्तो रकम मुआब्जा वितरणमा काम लाग्ला तर टर्बाइन, जेनेरेटर, पेन स्टक पाइप आदि किन्न काम लाग्दैन । स्वदेशी मुद्राबाट मात्र ठुला आयोजनाहरूको निर्माण सम्भव हुँदैन ।
लाटो हिसाबले यसरी बुझ्न सकिन्छ । मानौँ एउटा वृहत् आयोजनाको लागत एक खर्ब छ । मानौँ सरकारले इन्धनमा प्रति लिटर एक रुपियाँ कर लगाएर एक खर्ब रुपियाँ पनि उठायो रे (बुढी गण्डकी आयोजनामा जस्तो)। यो एक खर्बबाट त्यो योजना बनाउन सकिन्न । कतिपय विद्वानहरूले आइपिओ. निकालेर ठुला आयोजना बनाउने कुरा पनि गरेको सुनिन्छ । आइपिओ बाट उठ्ने पनि स्वदेशी मुद्रा नै हो, विदेशी मुद्रा होइन । आफ्नै स्रोतबाट निर्माण गरिने यस्ता वृहत् आयोजनाहरूको लागि चाहिने विदेशी मुद्राको बन्दोबस्त नेपाल राष्ट्र बैङ्कले गर्नु पर्छ ।
त्यति धेरै विदेशी मुद्रा कहाँबाट ल्याउने ? हामीकहाँ निर्यातबाट अत्यन्तै कम विदेशी मुद्रा आउँछ । पर्यटनबाट पनि केही विदेशी मुद्रा आउँछ; तर देशमा आउने विदेशी मुद्राको मूल स्रोत भनेको हाम्रा युवाहरूले खाडीको पचपन्न डिग्रीको बालुवामा पैताला पोलेपछि मात्र आउने हो । यो विदेशी मुद्रा पनि अत्यावश्यक सामाग्रीहरू जस्तै खाद्यान्न, औषधी किन्दा सकिन्छ भने त्यतिकै मात्रामा अनावश्यक वस्तुहरू जस्तै मदिरा, सवारी साधन, सौन्दर्य प्रसाधन, विदेश भ्रमण, विदेशमा उपचार, विदेशमा पढ्न जानेलाई दिँदैमा सकिन्छ । हामी सधैँ व्यापार घाटाको कुरो गर्छौँ तर ठुला आयोजनाहरूमा चाहिने विदेशी मुद्राको बारेमा निकै कम चर्चा हुने गरेको छ ।
विप्रेषणबाट प्राप्त विदेशी मुद्राबाट अत्यावश्यक/अनावश्यक सामाग्री खरिद गरेपछि ठुला आयोजनालाई खर्च गर्ने विदेशी मुद्रा पुग्दैन । फलस्वरूप विदेशी ऋणको भर पर्नु पर्छ । यस प्रकार हामी सधैँ विदेशी ऋण र व्यापार घाटाको दुष्चक्रमा फस्दै गइरहेका छौँ ।
खाद्यान्नको आयातमा कमी आएको छैन, सवारी साधनको आयातमा कमी आएको छैन; विदेशी सौन्दर्य प्रसाधनको आयात उत्तिकै छ, विदेशी कपडा, विदेशी मदिरा, विदेश भ्रमण, विदेश गएर पढ्ने कुरामा कुनै कमी आएको छैन । यी सबैमा विदेशी मुद्रा नै चाहिने हो । निर्यात नगण्य छ । यस्तो अवस्थामा निर्माणमा लामो समय लाग्ने र प्रतिफल दिन पनि लामो समय लाग्ने बृहत् योजनामा आँखा चिम्लेर खर्च गर्दा कतै देश नै दिवालिया पल्टिने त हैन? श्रीलङ्कामा भएको त्यही हो ।
विदेशी ऋण लिएर बनाएका ठुला आयोजनाहरूले समयमा प्रतिफल दिन सकेनन् भने देश ऋणको दलदलमा फस्न जान्छ । अबको दुई वर्ष पछि मेलम्ची खापा आयोजनाको लागि एसियाली विकास बैङ्कबाट लिएको ऋणको साँवा तिर्ने बेला आउँदै छ (फोटो हेरौँ ) ।
ब्याज त सुरु देखि नै तिरिँदै छ । धारामा पानी आउने कहिले हो थाहा छैन तर देशको ढुकुटीबाट करोडौँको रकम विदेशबाट लिएको ऋण तिर्दा सकिन्छ ।
अन्त्यमा, विदेशी मुद्रा कमाउन दुख हुन्छ । यसलाई फारो गरी खर्च गर्न पर्छ । हाम्रो जस्तो देशले विदेशी ऋण लिँदा होस वा आफूसँग भएको विदेशी मुद्रा खर्च गर्दा होस् निकै बिचार पुर्याउनु पर्छ । एक डलर खर्च गर्ने कुरो गर्दा एक सय पटक सोच्नपर्छ ।
(खाडीको पचपन्न डिग्रीको तातो बालुवामा पाइताला पोलेको हुनाले यति कुरो लेख्ने जाँगर चल्यो ।)
प्रतिकृया लेख्नुहोस्: