Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व, कसरी मनाइयो ?

खबरडबली संवाददाता

बागलुङ । भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो त ?

झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भने, ‘पितृ उद्धारका लागि गरिने हाम्रो कूलपूजा हो, यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजिन्छ, भदौबाहेक अरु महिनामा मनाउन नमिल्ने भएकाले यसलाई भदौरे पर्व भनिएको हो ।”

प्रकृति पूजक मगरहरूले यो पर्वलाई धुमधामसँग मनाउने गरेको उनले सुनाए । अरु जातजातिमाभन्दा अनौठो गरी कूल पुज्ने परम्परा रहेकाले पनि भदौरे सिस्नो खोस्ने पर्वले धरैको ध्यान खिच्ने गरेको तारागाउँका अगुवा घर्तीको अनुभव छ । भदौ त्यसमाथि बार पनि एउटै पारेर भदौरे पर्व मनाउने गरिन्छ ।

सचिव घर्तीका अनुसार शनिबारदेखि सुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने चलन छ । सधैँझैँ यसपालि पनि पर्वको पहिलो दिन गाउँका बूढापाकाले घर र बाटोघाटो सफाइ गरे । दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवायुवतीसमेत मिसिए । तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए ।

सोही ठाउँमा उहिले–उहिले लेकका गोठालाले ठेकीमा नौनी घिउ र मही लिएर आउने गरेको बताइन्छ । “सोमबार साँझदेखि विधिवतरूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ”, सचिव घर्तीले भने, “सुँगुरको साँप्रोलाई हरियो सिस्नाको मुठ्ठाभित्र बाँधेर अविवाहित युवायुवतीले खोसाखोस गर्ने अनौठो चलन यस पर्वसँग गाँसिएको छ ।”

सोमबार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम मगर जातिको हेम्थो (कूल) घरमा हुन्छ । राँगाको बलि पनि कूलघरकै आँगनमा दिने गरिन्छ । स्थानीय रिमबहादुर घर्तीको घरलाई गाउँलेले कूलघर मान्दै आएका छन् । घर्तीका बुवा मुखिया भएकाले सोही घरलाई पछि कूलघरका रूपमा लिइएको हो ।

पूजापाठ, बलि र सिस्नो खोस्ने काम कूलघरकै पछाडिको बारीमा हुन्छ । बारीमा देउता पुज्दा रनवन पुर्कादै ढ्याङ्ग्राको तालमा गीत गाउने चलन छ । उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ । पूजा र बलि दिने ढुङ्गालाई गाउँलेले डम्मरु (उखुरधुम) पूजास्थलमा कुटस र अम्रिसोको लिङ्गो गाडिएको हुन्छ ।

लिङ्गोलाई गाउँलेले ‘सितम सेउला’ र ‘बजा सल्ला’ भनेर चिन्छन् । लिङ्गोमुनि पूजा, धुपबत्तीसहित गुरुबा र पुजारीले पूजापाठ चलाउँछन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध–सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ ।

गीतलाई बूढापाकाले बाचा बाँधेको रूपमा पनि लिन्छन् । खाम भाषामा गाइने भएकाले जो–कोहीलाई गीत बुझ्न कठिन पर्छ । पुर्खा, कूलपितृ र देवी–देउतालाई गीतबाटै घुमाएर कूल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगाको बलि दिने बेला हुन्छ । बलि दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ ।

जिउँदो राँगाको सात करङ भाँचेपछि मुटु निकालेर कूलघरको सिरानमा चढाउने परम्परा रहेको स्थानीय झकबहादुर घर्तीले बताए । बिहानै राँगाको बलि दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) सुरु हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कूलघरमा ल्याएपछि दिउँसोपख सुँगुरको बलि दिने बेला हुन्छ ।

कूलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बलि दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी सुरु हुन्छ ।

बलि दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरू हुन्छन् । समूहमा ‘आयो, आयो’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लो छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न य्वती तम्तयार हुन्छन् । हातमा सिस्नो समातेका युवक युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । युवतीहरू पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । कोही घोडा र सिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जिते पनि सुँगुरको साँप्रोको मासु प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन् ।

युवतीले जिते युवकहरूले दण्ड तिर्नुपर्ने चलन छ । अन्तिममा फेरि कूलघरको आँगनमा आएर सिस्नो खोसाखोस गरेपछि भदौरे पर्व सकिन्छ । यसरी नै सदियौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन् । पर्वको आयोजना र व्यवस्थापन मगर समाजले गर्दै आएको छ ।

समाजले पर्वको खर्च जोहोका लागि छुट्टै कोषसमेत बनाएको छ । गाउँलेको भलो, सुख, ऐश्वर्यसहित पशुचौपायामा रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाइन्छ । छिमेकी गाउँबाट समेत पर्व अवलोकनका लागि आउने गरेको ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले बताए ।

“भदौरे मगर समुदायको सांस्कृतिक पर्व हो, पछिल्लो समय यो मेलाकै रूपमा आयोजना हुन थालेको छ, पर्व हेर्न मानिसको घुइँचो लाग्छ”, उनले भने, “परम्परागत संस्कृतिको जगेर्नाका लागि वडा र गाउँपालिकाले पनि सक्दो सहयोग गर्दै आएको छ ।”

पहिले ताराखोला–४ र ५ को साझा पर्वका रूपमा भदोरैलाई लिने गरिए पनि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो पर्व जोडिएको छ । परम्परा धान्न बूढापाकादेखि युवापुस्ताको सक्रियता र सहभागिता रहँदै आएको वडाध्यक्ष खत्रीले बताए । विवाहितले सिस्नो खोस्न नमिल्ने भएकाले पनि युवापुस्ताको सहभागिता यो पर्वमा अनिवार्यजस्तै छ ।

सिस्नो खोस्ने पर्वलाई अविवाहित युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । घरदेखि टाढा रहेका पनि भदौरे मान्न गाउँ फर्किने गर्छन् । आफन्त भेटघाट हुने, सुखदुःख साट्ने मेसो पनि यो पर्वले जुटाउँछ ।

सदियौँअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले यो पर्वको प्रचलन बसालेको संस्कृतिकर्मी बिर्बलाल घर्तीले बताए । “भदौरे पर्व किन र कहिलेदेखि मनाउन सुरु गरियो भन्ने यकिन तथ्य त कसैसँग छैन”, उनले भने, “कृषियुग सुरु भएपछि यस्ता पर्व, परम्परा सुरु भएको मानिन्छ ।”

भदौरे पर्वको कथामा पनि वनपाखा, पशुचौपाया र गोठालाको प्रसङ्ग रहेको संस्कृतिकर्मी घर्तीले बताए । उनका अनुसार ताराखोला–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कूलपूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ ।

हिलमा गत साता सो पर्व मनाइएको थियो । अर्गलमा भने मङ्सिरमा सिस्नो खोस्ने पर्व मनाउने चलन छ । “भदौरैजस्ता ऐतिहासिक र सांस्कृतिक पर्व, परम्पराको जगेर्ना हुनुपर्छ”, संस्कृतिकर्मी घर्तीले भने, “यी कुनै जातजातिको मात्र नभएर समाज र राष्ट्रका धरोहर हुन्, चिनारी हुन् ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: