Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

सन्तोष पौडेल
सन्तोष पौडेल

काठमाडौं ।  रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो ।

व्यक्ति, समाज, राष्ट्र, दल जुन पक्षको कुरा गर्दा पनि रुपान्तरण एउटा परिवर्तन हो । त्यो परिवर्तन के, कसरी र कति भन्ने प्रश्न प्रधान रहन्छ । सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक पक्षमा पनि त्यही लागू हुन्छ । हामीले नेपालको सन्दर्भमा कुरा गर्दा पटकपटक रूपान्तरणको बारेमा बहस गरिआएका छौँ र अहिलेको रूपान्तरणको मुख्य हिस्सेदार नेपालको माओवादी आन्दोलन हो भन्ने आम निष्कर्ष छ । 

माओवादी आन्दोलन मूलतः परिवर्तनकामी जनताबाट उठेको र तिनै जनताबाटै पोषित र पुष्पित आन्दोलन हो । दशवर्षे जनयुद्धका क्रममा मात्र होइन संविधानसभाको निर्वाचन हुँदै शान्तिपूर्ण राजनीतिमा आएपछि पनि नेकपा माओवादी केन्द्रले २०६४ सालको संविधानसभा चुनावमा झन्डै एकमना सरकार बनाउने स्तरको ऐतिहासिक जन अनुमोदन पाएको थियो ।

संसदीय राजनीतिका विभिन्न उतारचढाव ब्यहोरेको भए पनि नेपालमा स्थापित मूल राजनीतिक एजेन्डाको वाहक र रूपान्तरणको मूल कारक पार्टी भएकाले अहिले नेपाली राजनीतिको केन्द्रीय मियो माओवादी पार्टी र पार्टी नेतृत्व नै रहेको देखिन्छ । सारांशमा नेपालको व्यवस्था रूपान्तरणको संवाहक बनेको माओवादी अब अवस्था परिवर्तनको पनि संवाहक बन्न चाहिरहेको छ । यही चाहनाको प्रकटीकरण हो माओवादीले थालेको रूपान्तरण अभियान ।

जनयुद्धको शङ्खघोष गर्दै गर्दा माओवादीले आफ्नो मूल अवधारणामा लेखेको थियो–वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय, आर्थिक, सामाजिक, सांस्कृतिक र सबैखाले उत्पीडनको अन्त्य गर्दै समाजको आमूल रूपान्तरणसहित साम्यवादको स्थापना गर्न जनयुद्धको बाटोमा अगाडि बढौँ । माओवादीले त्यो नाराले समाजका सबै वर्ग, जाति, क्षेत्र, समुदाय र तप्कामा एउटा तरङ्ग पैदा गरेको थियो । यसको फलस्वरूप लाखौँ जनता त्यसमा लामबद्ध भए आफैँलाई बलिदान गर्न उद्यत भए । यसले समाजको धेरै पक्षमा परिवर्तन ल्यायो । जनयुद्धकै जगमा १९ दिने ऐतिहासिक जनआन्दोलन भयो । 

जनयुद्ध र जनआन्दोलनको बलमा नेपालबाट दुई सय ४० वर्षे एकात्मक राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भयो र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । नेपालमा महिला, दलित, मधेसी, मुस्लिम र गरिबहरुलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिन्थ्यो । छुवाछूत, दाइजोलगायतका प्रथाहरु यति चरम थियो कि जो कल्पनै गर्न सकिन्न ।

माओवादी जनयुद्धले ती विषयहरूमा विभिन्न तरिकाले चेतना जागृत गराइदियो भने महिला भनेका आधा संसार अगोट्ने समूह हो र सबै तहमा सबै निकायमा महिलाको अधिकार आधा हुनुपर्छ भन्ने स्थापित गरायो । जनयुद्धमा पुरुष सरह महिलाहरु होमिए, चुलोचौकोमा र घरको पर्खालभित्र सीमित महिलाहरु हातमा बन्दुक बोकेर निस्के र महिला मात्रै होइन, सिंगै समाज रूपान्तरण र परिवर्तनका लागि सम्पूर्ण बन्धन तोडर होमिए । फलस्वरूप पुरुष र महिला एकै रथका दुई पाङ्ग्रा मात्रै होइन समाज रूपान्तरणका मुख्य द्योतक महिला हुन् भन्ने जनयुद्धले स्थापित गरायो । 

नेपाली सेना र प्रहरीमा पनि महिलाको भर्ती बढ्यो, इन्फेन्ट्रीमा महिलाको सहभागिता हुन थाल्यो, शान्ति सेनामा महिलाको सहभागिता हुन थाल्यो, समाजमा पुरुषभन्दा महिला के कम भन्ने प्रतिस्पर्धाको चेतना जागृत भयो । राजनीतिमा मात्र नभई अहिले राज्यका विभिन्न निकायमा र लोकसेवामार्फत समावेशीकरणको लाभ लिँदै प्रवेश गरेका हजारौँ नागरिकको सपना माओवादी आन्दोलनका कारण सार्थक भएको यथार्थ हो ।

अहिलेसम्म आउँदा संसद्सहित राज्यका सबै नीतिनिर्माण तह र स्थानीय सरकारदेखि सबै कार्यान्वयन तह तथा समितिहरुमा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ र कार्यान्वयन भइरहेको छ ।  दलितमाथिको छुवाछूत अब व्यावहारिक रूपमै अन्त्य हुने चरणमा छ । अत्यन्तै पिछडिएको र राज्यको सधैँ कोपभाजनमा पारिएको कर्णाली र सुदूरपश्चिम जस्ता क्षेत्रहरुले निश्चित कोटा नै छुटाएर राज्यको नीति निर्माण र कार्यन्वयनको इकाइमा आरक्षण पाइरहेको स्थिति छ ।

त्यसैगरी मधेसी, मुस्लिम, आदिवासी जनजाति, अल्पसङ्ख्यक समुदाय र अपाङ्गलगायत समाजका सबै उत्पीडित वर्ग, क्षेत्र, जाति, समुदाय र तप्काले संविधानतः अधिकार प्राप्त गरेका छन् । अब निजामती सेवामा थारू, मुस्लिम र खस आर्य समुदायका लागि पनि आरक्षण दिने प्रस्तावसहितको विधेयक मस्यौदामा छलफल चलिरहेको छ । परिवर्तनको परिभाषाबाट हेर्दा जनयुद्धले समाजमा व्यापक र आमूल रूपान्तरण ल्याएको मान्न सकिन्छ । 

‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’ नाम दिइएको तीनमहिने अभियान भदौ १६ गतेदेखि सुरु भएको र मङ्सिर १५ गतेसम्म चल्ने माओवादीले उद्घोष गरेको छ । मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने छ । अभियानको सुरुआत गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो अभियानले सुशासनसहितको समृद्धिमार्फत रूपान्तरण ल्याउने उद्देश्य सार्वजनिक गर्नुभएको  छ ।

देशका सातै प्रदेशका सात सय ५३ स्थानीय तहअन्तर्गत रहेका छ हजार सात सय ४३ वडाबाट एकसाथ सुरु गरिएको अभियानमा लाखौँ नेता कार्यकर्ता परिचालित भएका छन् । अभियानमा सुरुआत र अन्त्यको निश्चित मात्रै गरिएको छैन, कुन दिन कसले के काम गर्नेसम्मको खाका सार्वजनिक गरिएको छ ।

माओवादी केन्द्रको गत साउनमा सम्पन्न केन्द्रीय समितिको पाँच दिन बैठकमा सहभागी नेता कार्यकर्ताले माओवादी पुरानो विचार, विरासत, शक्ति र सामथ्र्य तथा जनसम्बन्धबाट च्यूत हुन पुगेको प्रतिक्रिया आएपछि यो अभियानको वस्तुगत सुरुआत भएको हो । हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद्घोष गर्नुभएको थियो ।

गत निर्वाचनपछि लगत्तै दुईमहिने एउटा अभियान पनि सञ्चालन भएको थियो । तर त्यो अभियान नाम मात्रैमा सीमित भएको माओवादीको आफ्नै विश्लेषण छ । यस पटकको अभियानको नाम नै विशेष रूपान्तरण अभियान भएकाले यो अभियानले माओवादी नेताको स्वभावमा, सम्बन्धमा, माओवादी कार्यकर्ताको आनीबानीमा, नेता कार्यकर्ताको सम्बन्ध र जनतासँगको सम्बन्धमा रूपान्तरण एवं मूल रूपमा पार्टीको आमूल रूपान्तरण भन्ने ध्येय यो अभियानले राखेको देखिन्छ । 

जनताले यो अभियानबाट के प्राप्त गर्ने हुन त यो प्रश्न भने सबैभन्दा महत्वपूर्ण छ । यतिमात्र नभई यो अभियानले हाम्रो सपना, भावना र विभाजित मनहरुलाई जोड्नेछ भने जनताले हामी उनीहरुको सबैभन्दा नजिकको र प्रगतिशील शक्ति पनि भएको अनुभूत गर्नेछन् । जनयुद्धकालीन सबै माओवादीको एकाकार हुने र युद्धताका देखेका सपनाहरुलाई पुनर्ताजगीकरण गर्दै देश निर्माणको महान अभियानका लागि जनताको भावना बुझ्ने एउटा गतिलो चौतारी हुनेछ यो अभियान । माओवादीले व्यवस्था बदल्न आह्वान गर्दा जनताले बन्दुक बोकेर बलपूर्वक समाज रूपान्तरणका लागि योगदान गरेका थिए । 

अब जनतालाई व्यवस्था होइन अवस्था बदल्ने पार्टी चाहिएको छ । माओवादीबाट अब सुशासन र समृद्धि, बेरोजगारीको अन्त्य, शिक्षाको गुणस्तर, कालाबजारीको अन्त्य, घूसखोरी भ्रष्टाचारको अन्त्य, दलाली, तस्करी र जालझेलको अन्त्य तथा समाजमा बाँकी रहेको सामन्तवादी कुप्रथाको अन्त्यका लागि हस्तक्षेपकारी भूमिका अपेक्षित छ । तीन महिनाका लागि सुरु भएको यो कार्यक्रम व्यावहारिक रूपमा निरन्तर चलिरहनुपर्ने देखिन्छ । पार्टी रूपान्तरण मात्रै होइन, साँच्चिकै जनताको जीवन रूपान्तरण गर्नमा यसले सार्थक भूमिका खेल्नेछ र हामी फेरि जुट्नेछौँ नयाँ जोस र आत्मविश्वासका साथ भन्ने भावना आमकार्यकर्तामा जागृत गर्नुपर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरीले ढलेका रुख, लडेको विद्युत् आपूर्ति

देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय

मधेश सरकारमा सत्ता समीकरणको नयाँ संकट

शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पाँच वर्षदेखि निर्माणमै अल्झिएको अस्पताल भवन नबन्दा बिरामीले भोग्दै भीड, सास्ती र अपूरो उपचार

गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...

ट्रकभित्रको चिच्याहटः बजारसम्म आइपुग्ने मासुको पछाडि लुकेको अमानवीय यात्रा

काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...

बर्खा नलाग्दै विपत्तिको संकेत

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश

भारतमा इन्धनको भाउमा आगो : १० दिनमै चौथो पटक मूल्यवृद्धि, दिल्लीमा पेट्रोल १०२ रुपैयाँ नाघ्यो

काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक : गोलभेँडा ८० रुपैयाँसम्म, सिताके च्याउ १ हजार !

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...

खेतमा भैँसी गएको निहुँमा ६० वर्षीया दलित महिलामाथि निर्घात कुटपिट

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending