Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

भूकम्पपीडितको दैनीकी खुला आकाशमै कट्छ रात, सरकारले त्रिपालसमेत दिएन

खबरडबली संवाददाता
बझाङ  । गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना–५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि उहाँको परिवार हप्ता दिनसम्मै अस्थायी छानो (गाउँबाट टाढा वस्तुभाउका लागि बनाएको घर/गोठ) मा बस्न थाल्यो ।
पराकम्प कम भएपछि फेरि गाउँमा आएर चिरा परेको घरको तल्लो कोठामा उहाँहरु बस्न थाल्नुभयो । अर्कोपटक भूकम्प आएपछि मथिल्लो तला बस्नै नमिल्ने भयो । केही दिन नजिकैको खलो (अन्नबाली सुकाउने ठाउँ) मा बास बसे पनि बिहान शीत पर्न थालेपछि फेरि त्यही कोठा बस्न थालेको अम्भिकाले बताए । भूकम्प आएको एक सातापछि वडा नं ५ का वडाध्यक्ष रामबहादुर सिंहको टोली गाउँगाउँमा अनुगमनमा आएको उनको भनाइ थियो ।
 
“अनुगमनमा विवरण सङ्कलन गर्‍यो भन्ने सुनेका थियौँ,” अम्भिकाले भने, “विवरण लिएको पनि एक महिना हुन लाग्यो । तर, अहिलेसम्म कसैले त्रिपालसमेत दिएको छैन ।” त्रिपाल पाए खुला ठाउँमै भए पनि बस्ने उनले बताए  ।
 
“हरेक दिन दातृ निकायले राहत सामग्री वितरण गरिएको भन्ने सुनिन्छ,” अम्भिकाले भने, “सरकारले पनि राहत दिने भन्ने रेडियोमा सुनेका थियौँ । तर, अहिलेसम्म पिठातोलामा कसैले पनि राहतको सानो अनुभूतिसमेत गर्न पाएका छैनन् ।” 
सरकारले एउटा÷एउटा त्रिपाल मात्रै दिए पनि गाउँलेहरू पाल टाँगेर बस्ने उनको भनाइ थियो । “अब यस्तो घरमा त कसरी ज्यान जोगाउने ?,” उनले प्रश्न गरे  ।
 
पिठातोलामा अम्भिकाको मात्रै होइन, हरेक घर जोखिममा छन् । “पाँण (माथिल्लो तला) बाट मुज्याला (बीचका कोठा) धेक्किन लाग्यो भनेर फाटेका त्रिपाल जम्मा गर्दै शीत छेक्ने सानो टहरा बनाएर बसेका छौँ । त्यसमा टोलभरकै बस्छौँ”, सोही ठाउँका तिलक जोशीले भने । उनका अनुसार गत महिना आएको भूकम्पले धैरैको घरमा क्षति पुर्याएको छ । “घरमा बस्दा निकै जोखिम भएपछि लेकतिर गएर गोठमा बस्न थाल्यौँ । त्योसमेत आधा भत्किने जस्तो भएपछि कपाल लुकाउने त्रिपाल टाँगेर बसेका छौँ”, उनले भने ।
 
भूकम्प गएपछि अनुगमनमा आएको टोली आफ्नो घरसम्म नआएको तिलकले बताउनुभयो । “यति घरमा क्षति भएको भनेर समाचार सुनिन्छ । तर, हाम्रो घरतिर÷गोठतिर भने कोही आएनन्,” उहाँले गुनासो पोखे । 
 
तिलकका अनुसार अहिलेसम्म गाउँमा कसैले पनि त्रिपालसमेत पाएका छैनन् । उहाँले भन्नुभयो, “एकपटक वडासदस्य वसन्त आग्रीले गाउँमा दुई÷तीन परिवारलाई दाताले दिएको स्लिपिङ ब्याग दिएको भन्ने सुनेका थियौँ । उहाँले पनि त्यो स्लिपिङ ब्याग आफ्नैलाई दिनुभएछ । अरू भने केही सुनिएन ।”
 
थलारा गाउँपालिका–३ का श्याम नेपाली गत महिनादेखि चुहिने त्रिपालमा हुनुहुन्छ । एकसरो त्रिपाल त्यसैमा चुहिने भएपछि उनी रातभर जाग्रामजस्तै बस्छन् । “चिसोले रातभरि सुत्न सकिँदैन । छोराछोरीलाई पनि रुघाखोकी लाग्न थालेको छ । सरकारले केही राहत दिएमा त बाँच्न सकिएला नत्र भन्न सकिँदैन,” उनले भने ।
 
खप्तडछान्ना–१ का मानबहादुर खातीको घर ढल्न मात्रै बाँकी छ । भित्र पूरै चिरा परेर जानै नसकिने अवस्थामा छ । स्थानीय सरकारको नजरमा ‘प्रभावित’ भनेरसमेत नपरेको उनले बताए  । “राति घरभित्र जाउँ कति बेला च्यापिन्छौँ भन्ने डर लाग्छ । बाहिर जाउँ पनि माथिल्लो घरहरू भत्केर ढुङ्गा आउँलान् भन्ने पीर छ । खुला ठाउँमा जान रित्तै आकाश छ । पीडा सुनिदिने कोही छैन,” खातीले भने । 
 
यो समस्या खप्तडछान्नाको मात्रै नभएर हरेक पालिकाको हो । पहुँच भएकाहरूले सबै किसिमको राहत पाउने र पहुँच नहुनेले त्रिपालसमेत पाउन नसकेको बताए ।
 
यता खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशीले राहत वितरणमा राजनीति नगरेको दाबी गरे । वडाध्यक्षको सिफारिसबाट आएका पीडितलाई पालिकाले सके जति सहयोग गरेको उहाँले बताए । “दातृ निकायले दिएको त्रिपाल तथा कम्मल वडाको सिफारिसमा आएका पीडितलाई अवस्था हेरेर वितरण गरेका छौँ”, जोशीले भने, “पीडितको अवस्था छनौट पनि वडाले गरेको हो ।” कुनै पीडितलाई त्रिपालसमेत नपुगेको खबर आए फेरि अनुगमन गरेर राहत दिनेबताए  ।
भिआइपीको तामझाम मात्रै
बझाङमा भूकम्प आएको एक सातासम्म राज्यको ध्यान बझाङ केन्द्रित थियो । राज्यका सबै निकाय गाउँदेखि जिल्लासम्म पुगे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसहितको टोली भूकम्प आएको तेस्रो दिन दर्जनौँ गाडीसहित बझाङ पुग्यो । दुर्गाथली, थलारा गाउँपालिकामा अनुगमन गरेको प्रदेश सरकारले पीडितका घर बनाइदिने आश्वासनसमेत दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको टोली पनि पीडितलाई भेट्न आएर केही राहत सामग्रीसहित घर निर्माणका लागि सरकारलाई दबाब दिने आश्वासनसहित फिर्ता भयो ।
 
केन्द्र सरकारको टोली आएर पनि राहत घोषणा ग¥यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी सावद, प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसहितको टोलीले भ्रमण गर्‍यो र पीडितलाई राहत दिने आश्वासन मात्रै दियो ।
 
प्रधानमन्त्रीको घोषणा अधुरै
 
असोज २० गते अर्थात् भूकम्प गएको चौथो दिन प्रधानमन्त्री प्रचण्ड भूकम्पपीडितलाई भेट्न बझाङ पुग्नुभएको थियो । उहाँले सदरमुकाम चैनपुरमा रहेको विक टोलको अनुगमनसमेत गर्नुभयो । लगत्तै जिल्ला प्रशासनमा आएर सर्वपक्षीय बैठक बसालेर राहत घोषणा गरे  ।
 
अस्थायी आवास निर्माणका लागि तत्काल टिनको टहरा बनाउन ५० हजार दिने उनको घोषणा थियो । चर्किएका घरको १५ देखि २० हजार रूपैयाँसम्म राहत दिने घोषणा गरेका प्रधानमन्त्रीले अहिले भने बझाङका भूकम्पपीडितबारे कतै बोलेका छैनन् । यता भूकम्पपीडितहरू भने त्रिपालकै आस गरिरहेका छन्  ।
 
विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा बझाङमा १२ हजार पाँच सय ५९ घरमा क्षति पुगेको थियो । आठ हजार पाँच सय २९ घर बस्न नमिल्ने गरी क्षति भएका थिए भने तीन हजार पाँच सय २४ घरमा सामान्य क्षति भएको थियो । जिल्लाका जयपृथ्वी र बुङ्गल नगरपालिका, मष्टा, छविसपाथिभेरा, दुर्गाथली, खप्तडछान्ना र केदारस्यूँ गाउँपालिकामा बढी क्षति भएको समितिले जनाएको छ । क्षति भएको एक महिनासम्म पनि आधाजसो पीडितले त्रिपालसमेत नपाएको गुनासो गरेका छन् ।
 
समितिका सम्पर्क व्यक्ति नन्दबहादुर धामी पीडितको तथ्याङ्कै यकिन नभएकाले राहत वितरणमा ढिलाइ भएको बताए । प्रहरीको तथ्याङ्कसँग पालिकाको तथ्याङ्क नमिलेका ढिलाइ भएको उहाँको भनाइ थियो । उनले भने, “विश्वास गर्न गाह्रो भएकाले वास्तविक पीडितको पहिचान गरेपछि मात्रै अस्थायी आवास निर्माणका लागि राहत वितरण गरिन्छ ।”
 
ऐडीको समाजसेवा निरन्तर
 
नेपाल तरूण दलका केन्द्रीय सदस्य विष्णु ऐडीको टोली फेरि टहरा निर्माणमा निरन्तर खटिएको छ । भूकम्पले क्षति पुर्याएका निजी संरचनामा अति पीडितका लागि टहरा निर्माणमा जुटेका छन् ।
 
घर भत्केर खुल्ला आकाशमा रात बिताउन बाध्य बेसहारा परिवारको बझाङ तरुण दलले अस्थायी टहरा निर्माण गरिरहेको छ । दसैँअगावै टहरा निर्माण गर्न सुरु गरेको ऐडीको टोलीले फेरि टहरा निर्माणमा जुटेको हो । उहाँको टोलीले दर्जनभन्दा बढी अस्थायी टहरा निर्माण गरिसकेको छ । 
 
“गाउँमा सरकारको उपस्थिति नै छैनजस्तो भएको छ,” ऐडीले भने, “हरेक गाउँको अवस्था चौपट छ । हुनेखानेले आफ्नो व्यवस्था गरिसकेका छन् । कोही नहुनेलाई रोग, शोक, विपद्ले ठगिरहेको छ । त्यस्तै पीडितहरूको घाउमा मल्हम लगाउन हामीले टहरा बनाइरहेका छौँ ।”
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending