Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

छठ पर्व- सबैको मन जोड्ने सेतु

खबरडबली संवाददाता

धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय ।

मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।

अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन। छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ।

अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन्। चार दिवसीय छठ पर्वको आज खरना मनाइँदैछ। छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए।

पहिलो दिन चतुर्थीलाई ‘अरबा-अरबाइन’ वा नहा खाय भनिन्छ। यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन्।

आज पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ। जनकपुरधाम किशोरी नगरकी एक बर्तालु ज्योति झा बताउँछिन्, “खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ।”

प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीर लिने चलन छ। खरना विधिको सन्दर्भमा महेन्द्रनगरकी ७५ वर्षीया गीता झा भन्छिन्, “आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ।”

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ। क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरकी ६५ वर्षीया संगीतादेवी यादवले छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्ने बताउँछन्।

उनले भनिन्, “पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गए अनिष्ट हुने जनविश्वास छ।” यस दिन जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अर्ध्य दिइने गरिन्छ।

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ। यस दिन बिहान उषाकालमा व्रत लिने पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याउँछन् र प्रातःकालीन सूर्यलाई अर्ध्य दिई पर्वको समापन गरिन्छ।

पण्डित लालबाबु झाका अनुसार अर्ध्य दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन छ।

जनकपुरका वरिष्ठ पत्रकार तथा मैथिली साहित्यकार रामभरोस कापडी भन्छन्, “सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड हो छठ।” छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरी सिङ्गारिएको छ।

श्रद्धालुले जनकपुरधामको इतिहासमा वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन्।

दीपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।

अहिले तराई मधेसका हाट, बजार, सडक र गल्ली छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीबाट सजिएका छन्।

उखु, केराउ, अदुवा, केरा, मुलालगायतका कृषिउपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खीर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमिसँग जोडिएको जनजीविका र जनस्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ।

छठ पर्वका लागि माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा डोम जातिले बुन्छन्। डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपली, छैटी, बेना (हाते पङ्खा) छठ पर्वका लागि नभई नहुने हस्तकला सामग्री हुन्।

यसरी सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुला सङ्ग्रहालयकै काम गरिरहेको प्रतीत हुने समाजशास्त्री नागेन्द्र दुबे बताउँछन्।

समाजशास्त्री दुबेका अनुसार छठ पर्वमा जात, धर्म, क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी फरक फरक समुदायका अनुहार जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको हुन्छ।

“मूलरुपमा मधेसी समुदायको मुख्य पर्वका रुपमा मानिँदै आएको यस पर्वमा सिउँदोदेखि नाकको टुप्पासमेत ढाकिने गरी सिन्दूर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्यरुपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुन्छ”, मैथिली संस्कृतिका जानकार तथा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल बताउँछन्।

अर्थशास्त्री डा सुरेन्द्र लाभका अनुसार रोजगारीको ठूलो बजार मानिएको संघीय राजधानी काठमाडौंबाट दशैं मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन्।

उनले भने, “जब दसैँ मान्ने सबैतिरबाट काठमाडौं फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागि तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन्।”

सामाजिक विविधताले भरिएको हाम्रो समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैँ यसरी नै यात्रालाई निरन्तरता दिइरहेको उनको कथन छ।

तराईवासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको यस छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ ।

यस पर्वको अर्को विशेषताको रुपमा सबै जातजाति, ठूला साना, धनी, गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजाअर्चना गर्नु पनि हो। यस कारण वर्षौंसम्म भेटघाट नभएका बोलचाल नभएकासँग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ । तसर्थ छठ पर्व सबैको मन जोड्ने सेतुको रुपमा मान्न सकिन्छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending