जुुम्ला । जुम्लाको तातोपानी–४ हाँकु गाउँका चन्द्रबहादुर डाँगी एसएलसी उत्तीर्णपछि २०५८ जेठ १९ गते भूमिगत भए । कम्युनिस्ट आन्दोलन र माओवादीको पार्टी नीतिबारे केही थाहा नभएका उनले परिवारलाई चटक्कै छाडेर माओवादी लडाकुु बने ।
कम्युनिस्ट आन्दोलन र माओवादीको पार्टी नीतिबारे त उनले भूमिगत भएपछि मात्रै बुझ्ने अवसर पाएकाके बताउँँछन् । १५ १६ वर्षको उमेरमा माओवादीले रातो र कालो व्यवस्थामध्ये एक रोज्न दबाब दिएपछि आफू माओवादी पार्टीमा आबद्ध हुन बाध्य भएको उनले सुनाए ।
‘कालो व्यवस्था भनेको तत्कालीन राज्य व्यवस्था थियो,’ उनले भने, ‘कालो रोज्नेबित्तिकै विस्थापित हुनुपर्थ्यो, गाउँ छोड्नुपर्ने डरले माओवादी रोजें ।’ रातो व्यवस्था रोजेर सुनौलो भविष्यको यात्रामा हिँडेको अनुभूति गरेका चन्द्रबहादुर पछिल्लो समय भने पछुतो र पश्चात्तापले पिरोलिरहेको सुनाउँछन् । जनताको मुक्तिको भविष्य बोकेकाले त्यसबेला आफ्नो भविष्यबारे त्यति वास्ता नगरेको उनले बताए ।
‘ब्रिगेडियर कमान्डर बन्ने सपना देखेको म अहिले अटो चलाएर जीविका चलाइरहेको छु,’ उनले भने । यहाँको तातोपानीको ऐरेनीदेखि चन्दननाथ बसपार्कसम्म उनी अटोरिक्सा चलाइरहेका भेटिन्छन् । ‘दैनिक ५ सयदेखि हजारसम्म कमाइ छ,’ उनले सुनाए ।
भूमिगत भएपछि माओवादीको सांस्कृतिक समूहमा जोडिएका उनले वाद्यवादन कला र गाउन थोरबहुत सिके । जनताको गीत गाएर माओवादी जागरण फैलाउने काममा निकै खटिएको उनले बताए ।
जिल्ला कलाकार संघमा आबद्ध भएर काञ्जिरोवा सांस्कृतिक परिवार गठन गरी जनताको घरदैलोमा जनमुक्तिका गीत गुन्जाइरहेका उनलाई त्यतिबेला एकाएक जनमुक्ति सेनामा समाहित भएर काम गर्ने रहर जाग्यो । २०५९ सालमा जनमुक्ति सेनामा भर्ती भए ।
तत्कालीन माओवादी पार्टीले ‘राज्यविरुद्ध ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति’ ल्यायो । यसको मुख्य मोर्चा पूर्वतिर तोकियो । एफजीएल, सेक्सन कमान्डर हुँदै उनी प्लाटुन कमान्डर बने । स्याङ्जाको मनकामना, पाल्पाको तानसेन, नवलपरासीको सुनवललगायतका झन्डै आधा दर्जन मोर्चामा सहभागी बने । स्याङ्जाको मनकामना भिडन्तमा पाखुरामा छर्रा लाग्यो, उनी थलिए । छर्रा त निकाले तर अहिले चिसोमा घाउ दुखिरहन्छ । गर्मीमा पोलिरहन्छ । ‘न औषधि गर्न सकेका छन्, न त पार्टीले घाइतेहरूको व्यवस्थापनमा चासो राखेको छ,’ चन्द्रबहादुरले गुनासो गरे, ‘ठूलो सपना बोकेर माओवादी भइएको थियो । अहिले अलमलमा परियो । अलपत्र बनियो । पूर्वलडाकुलाई न परिवारले साथ दिन्छन्, न समाजले नै सम्मान गरिरहेको छ ।’ अपमानजनक जीन्दगी जिउन बाध्य हुनुपरेको उनको अनुभव छ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा अन्तिम चरणसम्म पुगे पनि उनी सेनामा छनोट हुन पाएनन् । पाँच लाख लिएर घर फर्किए । चन्द्रबहादुर घर फर्किंदा उनको घर थिएन । जग्गा–जमिन बाँझिएको थियो । समायोजन हुन नसकेका लडाकुलाई दिइएको त्यो पाँच लाख रुपैयाँले घर बनाउन खर्चे । तर त्यतिले के पुग्थ्यो रु घर बनाउँदा लागेको ऋण तिर्न नसकिने अवस्था रह्यो । परिवारसहित कालापहाड हानिए । तीन वर्ष भारतमै बसेर ५ लाख रुपैयाँ कमाए । ऋण तिरेर बाँकी पैसाले अटो किने । अटो किनेर चलाउनुबाहेक उनीसँग विकल्प थिएन । किनभने लेखपढ गर्ने उमेरमा उनी माओवादी भइसकेका थिए ।
अहिले उनका दुई बच्चा र श्रीमतीसहित चार जनाको परिवार छ । अटो किनेको किस्ता हालै तिरिसकेका उनले परिवार पाल्न निकै सास्ती भागिरहनुपरेको सुनाए । उनले भने, ‘माओवादीमा जाँदा नाम फेरिएर उनी चन्द्रबहादुरबाट रक्तबिज बने । मुलुकमा गणतन्त्र आयो, तर गाउँ फेरिएन । मानिसहरूको दैनिकी बदलिएन । ‘विगतका क्रियाकलाप सम्झिएर विरक्त लाग्छ,’ उनले भने, ‘पहिले एसएलआर बोकिन्थ्यो, ४० देखि ५० जनासम्मको नेतृत्व गरिन्थ्यो । अहिले अटो चलाइन्छ, लाउनखान जुटाइन्छ ।’
माओवादी पार्टी र तिनका नेताको क्रियाकलाप देखेर वाक्कदिक्क भइसकेका चन्द्रबहादुरले भने, ‘माओवादीको उतिबेलाको लक्ष्य समाजवाद हुँदै साम्यवादको थियो । अहिले सबै नेताहरू शान्ति प्रक्रियासँगै पुँजीवादमा फर्किए । नेताहरूमा जनवादी विचार नै छैन ।’ उनी अहिले माओवादीको सम्पर्कमा छैनन् । माओवादी नेताहरूले पनि उनलाई वास्ता गर्न छाडेका छन् । उनले भने, ‘धोकेबाज नेताहरूको चरित्रप्रति सहमत हुन सकिरहेको छैन ।’कान्तिपुरबाट
प्रतिकृया लेख्नुहोस्: