Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

बैंकहरू किन घटाउँदै छन् ब्याजदर, कर्जा लिने र बचत गर्नेलाई के फाइदा ?

खबरडबली संवाददाता

काठमाडौं । नेपालका अधिकांश वाणिज्य ब्याङ्कहरूले माघ १ गतेदेखि कर्जा र निक्षेप दुवैको नयाँ ब्याजदर लागु गरेका छन्। निक्षेप बढिरहेको तर कर्जा प्रवाहमा उल्लेख वृद्धि नभएकाले अधिकांश वाणिज्य ब्याङ्कहरूले कर्जाको ब्याजदर घटाएको बताइन्छ।

त्यस्तै निक्षेपको ब्याजदर पनि केही मात्रामा कम भएको ब्याङ्कहरूले सार्वजनिक गरेका विवरणले देखाएका छन्।नेपालको अर्थतन्त्रमा अझै पनि ‘शिथिलता’ रहेको तथा कर्जा प्रवाह उच्च रूपमा बढिहाल्ने अवस्था नभएका कारण आगामी महिनाहरूमा ब्याजदरमा थप कमी आउन सक्ने कतिपय जानकारहरू बताउँछन्।

उनीहरूका भनाइमा घट्दो ब्याजदरले लगानीकर्तालाई फाइदा पुग्न सक्छ भने छोटो अवधिका निक्षेपकर्ताले ब्याज कम पाउने अवस्था बन्छ।

ब्याजदर घट्नुको कारण के?

नेपाल राष्ट्र ब्याङ्कका अधिकारी तथा ब्याङ्किङ क्षेत्रका जानकारहरूका भनाइमा अहिले निक्षेप अधिक भएर ब्याङ्कहरूसँग लगानीयोग्य रकम धेरै भएकाले ब्याजदर कम भएको हो।

अहिले ब्याङ्कहरूले प्रत्येक महिनाजस्तो ब्याजदरमा हेरफेर गरिरहेका छन्। “यो भनेको माग र आपूर्तिकै कुरा हो। अहिले ब्याङ्कहरूसँग लगानीका लागि पर्याप्त पैसा छ तर कर्जा प्रवाह खासै भइरहेको छैन,” एकजना पूर्व ब्याङ्कर पर्शुराम कुँवर क्षेत्रीले भने।

“त्यसले गर्दा ब्याङ्कहरूले कर्जाको ब्याजदर घटाइरहेका छन्। कर्जा घटाउनका लागि आधारदर कम गर्नुपर्‍यो त्यो भनेको फेरि निक्षेपसँग जोडिएको हुनाले निक्षेपको पनि दर घटेको हो।” राष्ट्र ब्याङ्कका सहप्रवक्ता डिल्लीराम पोख्रेल पनि अहिले लगानीयोग्य रकम बढेकाले ब्याजदर घटेको बताउँछन्।

“निक्षेप र कर्जा दुवै बढिरहेको छ तर निक्षेप बढे अनुरूप कर्जामा धेरै वृद्धि नहुँदा लगानीयोग्य रकम पर्याप्त छ। त्यसले ब्याजदर कम हुन थालेको हो,” उनले भने।

निक्षेप कतिले बढ्यो?

नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्क अनुसार गत मङ्सिरसम्ममा नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूमा ४.६ प्रतिशतले निक्षेप बढेको छ।

त्यो भनेको कुल २ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँको वृद्धि हो। गत आर्थिक वर्षको सोही अवधिमा त्यस्तो वृद्धिदर २.२ प्रतिशत मात्र रहेको थियो। त्यो भनेको १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ हुन आउँछ।

वार्षिक बिन्दुगत आधारमा भने गत मङ्सिर मसान्तसम्म वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ प्रतिशतले बढेको विवरण त्यसमा रहेको छ। ब्याङ्कहरूमा बचत गर्नेमध्ये सबैभन्दा धेरै मुद्दती बचतकर्ता रहेका छन्।

राष्ट्र ब्याङ्कको विवरण अनुसार अहिले ब्याङ्क तथा वित्तीय सस्थाहरूको कुल निक्षेपमध्ये ६०.७ प्रतिशत मुद्दती निक्षेपको अंश रहेको छ। त्यस्तै २६.७ प्रतिशत बचत र ६.३ प्रतिशत निक्षेप चल्ती खातामा रहेको छ।

कर्जा प्रवाहको अवस्था

नेपाल राष्ट्र ब्याङ्कका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब १० अर्ब ६ करोड रुपैयाँले बढेको छ। त्यो भनेको २.३ प्रतिशतको वृद्धि हो।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा भने मात्र ७३ अर्ब ३० करोड अर्थात् १.६ प्रतिशतले मात्र कर्जा बढेको थियो। राष्ट्र ब्याङ्कका अनुसार वार्षिक विन्दुगत आधारमा गत मङ्सिरसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.५ प्रतिशतले बढेको छ।

ब्याङ्कहरूबाट गएको कर्जामध्ये सबैभन्दा धेरै गैरवित्तीय संस्थागत क्षेत्रतर्फ गएको देखिन्छ। त्यसको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घर परिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ।

गत वर्ष भने संस्थागततर्फ ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारतर्फ ३५.९ प्रतिशत रहेको थियो।

निक्षेपको ब्याजदर घट्यो

गत महिनाको तुलनामा माघ महिनामा नेपाली वाणिज्य ब्याङ्कहरूले निक्षेपको ब्याजदर केही कम गरेका छन्। सबै ब्याङ्कहरूले घटाएको ब्याजदरलाई औसत मान्दा ब्याजदर करिब एक प्रतिशतले कम भएको देखिन्छ।

पुस महिनामा ब्याङ्कहरूले एक वर्ष अवधिको निक्षेपमा औसतमा झन्डै ९ प्रतिशत ब्याज दिइरहेकामा यो महिना त्यो करिब ८ प्रतिशतमा झरेको छ।

बचत खातामा पनि गत महिनाको तुलनामा झन्डै आधा प्रतिशत ब्याजदर कम भएको ब्याङ्कहरूले सार्वजनिक गरेका विवरणहरूले देखाउँछन्। यद्यपि केही ब्याङ्कहरूले गत महिनाकै ब्याजदर कायम पनि राखेका छन्।

कर्जामा पनि घट्यो

निक्षेपसँगै कर्जाको ब्याजदर पनि केही कम भएको ब्याङ्कहरूले सार्वजनिक गरेका विवरणले देखाउँछन्। माघ महिनामा वाणिज्य ब्याङ्कहरूको कर्जाको औसत आधारदर करिब १० प्रतिशत (९.६४%) को हाराहारीमा रहेको छ।

औसत आधारदर १० प्रतिशतको हाराहारी भए पनि केही ब्याङ्कहरूले १० प्रतिशतभन्दा कम आधारदर पनि राखेका छन्। ब्याङ्कहरूले आधारदरभन्दा दुई प्रतिशतभन्दा अधिक ब्याज लिन नपाउने राष्ट्र ब्याङ्कका पोख्रेल बताउँछन्।

पूर्व ब्याङ्कर कुँवर क्षेत्री चाहिँ ब्याङ्कहरूले विस्तारै ब्याजदर कम हुँदै जाने सङ्केत दिएको बताउँछन्।

ब्याङ्कमा करिब ६ खर्ब लगानीयोग्य रकम

नेपाल राष्ट्र ब्याङ्कको विवरण अनुसार हाल ब्याङ्कमा लगानीयोग्य रकम ठूलो मात्रामा रहेको छ। नियम अनुसार निक्षेप कर्जाको अनुपात (सीडी रेसिओ) ९० प्रतिशतसम्म पुर्‍याउन पाइन्छ।

तर अहिले सीडी रेसिओ ८० प्रतिशत हाराहारी झरेको छ। त्यसले गर्दा लगानीयोग्य रकम ६ खर्ब रुपैयाँ जति रहेको हो। “ब्याङ्कहरूसँग लगानीयोग्य रकम धेरै छ तर आर्थिक गतिविधि सुस्त भएकाले माग छैन,” कुँवर क्षेत्री भन्छन्।

यद्यपि अझै पनि नेपालमा कर्जाको ब्याजदर भारतका तुलनामा महँगो नै भएको उनको भनाइ छ। त्यो भारतको भन्दा सस्तो नहुन्जेल नेपाली लगानीकर्ताले तुलनात्मक रूपमा लाभ पाउन नसक्ने भएकाले कर्जा बढ्ने अवस्था आउन अझै केही समय लाग्ने उनको भनाइ छ।

“गत नोभेम्बरमा भारतमा कर्जाको औसत ब्याजदर ९.७८ प्रतिशत थियो। हाम्रोमा मङ्सिरमा ११.८५ थियो। अझै पनि हाम्रो तीन प्रतिशत फरक छ,” उनले भने। “त्यो भारतकोभन्दा सस्तो नभइकन नेपालमा कर्जा वृद्धि होला भन्ने मलाई लाग्दैन।”

कर्जा लिने र बचत गर्नेलाई के फाइदा?

राष्ट्र ब्याङ्कका अधिकारीहरू तथा ब्याङ्किङ क्षेत्रका जानकारहरूका अनुसार कर्जाको ब्याजदरमा कमी आउँदा ऋण लिइसकेका वा लिनेहरूलाई पनि ब्याज कम पर्न जान्छ।

तर छोटो अवधिका लागि निक्षेप गर्नेहरूका लागि भने घाटा हुनसक्छ। “ब्याज बढेका बेलामा पाँच वर्षे वा दश वर्षे खालका मुद्दतीमा रकम राख्नेलाई यसले असर पर्दैन तर छोटो समयका लागि मुद्दतीमा राख्नेहरूलाई पनि असर पर्छ,” पूर्व ब्याङ्कर कुँवर क्षेत्रीले भने।

त्यस्तै बचत खाता वा चल्ती खातामा रकम राख्नेले ब्याज कम पाउने अवस्था हुन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...

सहकारी प्रकरणले सदन मुठभेडतर्फ, धकेलाधकेलपछि बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...

सहकारी प्रकरण पेचिलो भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथौं पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies