Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कर्मचारी सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले पनि उपचार खर्च पाउने

खबरडबली संवाददाता

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलब्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुने गरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउने गरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ ।

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु एक लाखसम्म र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्म स्वास्थ्योपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

अहिले यो कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नीसमेतलाई समावेश गर्ने व्यवस्था मिलाइएको कोषका प्रशासक जितेन्द्र धितालले जानकारी दिए ।

‘यसअघि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति वा पत्नीलाई समेत समावेश गरिएको छ’, उनले भने, ‘सञ्चयकर्ताको परिवारमा थप राहत पुग्ने अपेक्षासहित यो सुविधाको दायरा विस्तार गरिएको हो ।’

गत पुसमा ‘कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा योजना सञ्चालन विनियम, २०८०’ स्वीकृत भएसँगै स्वास्थ्योपचार सुविधा विस्तारको बाटो खुलेको थियो । फागुन १ गतेदेखि कार्यान्वयनमा जाने विनियमावलीले स्वास्थ्योपचार गर्दा शोधभर्ना पाउने अस्पतालहरूको सूचीमा पनि संशोधन गरेको प्रशासक धितालले बताए । विनियमको सूचीमा समेटिएका अस्पतालहरूमा उपचार गराएको हकमा मात्र कोषबाट स्वास्थ्योपचार सुविधा उपलब्ध गराइनेछ ।

हाल सञ्चयकर्तालाई जुनसुकै अस्पतालमा उपचार गराउँदा शोधभर्ना उपलब्ध गराउँदै आएकामा अबदेखि सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिकास्तरका सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य केन्द्रहरू, नेपाल सरकारको स्वामित्वमा सञ्चालित अस्पताल, सबै शिक्षण अस्पतालबाट यो सुविधा उपलब्ध हुनेछ । साथै विनियमको अनुसूचीमा उल्लेखित एक सय २० वटा अस्पतालमा उपचार गराएको अवस्थामा मात्र शोधभर्ना उपलब्ध हुने कोषले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत मङ्सिरमा ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८०’ जारी गर्दै विपन्न नागरिकलाई विभिन्न आठ प्रकारका घातक रोगको उपचारका लागि देशभरिका एक सय २० वटा अस्पताल तोकेको थियो ।

सञ्चय कोषले पनि तिनै अस्पतालमा उपचार गराए मात्र उपचार रकम शोधभर्ना दिने व्यवस्था ल्याएको हो । त्यस्तै यसअघि नेपालमा उपचार सम्भव नभएको अवस्थामा भारतका अस्पतालमा गएर उपचार गर्ने योगदानकर्तालाई पनि कोषले शोधभर्ना दिने गरेकामा हाल त्यस्तो व्यवस्थासमेत हटाइएको प्रशासक धितालले बताए ।

कर्मचारी सञ्चय कोषको स्वास्थ्योपचार सुविधाअन्तर्गत रोगलाई साधारण रोग र प्राणघातक रोगका रूपमा वर्गीकरण गरी सोहीअनुसार शोधभर्ना रकम निर्धारण गरिएको छ । साधारण रोगको हकमा एक आर्थिक वर्षमा अधिकतम रु एक लाखसम्मको स्वास्थ्योपचार सेवा उपलब्ध गराइँदै आएको छ भने विभिन्न १२ प्रकारका प्राणघातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्मको स्वास्थ्योपचारको शोधभर्ना कोषले दिइरहेको छ । क्यान्सर, हृदयाघात, मस्तिष्क घात, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, प्यारालाइसिस, पार्किन्सन्स, सिकलसेल एनिमिया, अल्जाइमर्सलगायतका बाह्र प्रकारका रोगलाई घातक रोगका रूपमा वर्गीकरण गरिएको छ ।

स्वास्थ्योपचार रकमको शोधभर्ना दाबीका लागि अस्पताल भर्ना भएको मितिमा कम्तीमा छ महिना कोषकट्टी भएको हुनुपर्नेछ । त्यस्तै अस्पतालबाट डिस्चार्ज भएको मितिले दुई महिनाभित्र दाबी पेस गरिसक्नुपर्नेछ । बिरामीको मृत्यु भएको हकमा दाबीको म्याद तीन महिना हुने व्यवस्था कोषले गरेको छ ।

कोषले २०७० सालदेखि स्वास्थ्योपचार सुविधा कार्यान्वयनमा ल्याएको थियो । विसं २०७५ मङ्सिरदेखि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत शोधभर्ना दिने व्यवस्था गरिएकामा २०७६ मङ्सिरदेखि यसलाई परिमार्जन गरी कोष आफैँले नै स्वास्थ्योपचार कार्यक्रम व्यवस्थापन गर्दै आएको छ । आगामी फागुन १ गतेदेखि स्वास्थ्योपचारसहितको कोषले हाल सञ्चालन गरिरहेको सबै सामाजिक सुरक्षा कार्यक्रम एकीकृत विनियमबमोजिम सञ्चालन हुनेछन् । कोषले आफ्नै स्रोतबाट सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी विभिन्न कोष खडा गरी सञ्चयकर्ताको हितमा यस्ता सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा यो योजनाबाट कोषले दुई हजार चार सय ५७ सञ्चयकर्तालाई रु १६ करोड ६७ लाख रकम बराबरको स्वास्थ्योपचार सेवा उपलब्ध गराएको थियो । यसमध्ये साधारण रोगबापत एक हजार नौ सय १७ जना सञ्चयकर्तालाई रु सात करोड सात लाख र प्राणघातक रोगबापत पाँच सय ४० सञ्चयकर्तालाई रु नौ करोड ६० लाख बराबर शोधभर्ना रकम भुक्तानी भएको कोषले जनाएको छ ।

चालु आव २०८०/८१ को पुस मसान्तसम्ममा स्वास्थ्योपचार योजनातर्फ दुई हजार छ सय ८२ जना सञ्चयकर्तालाई रु १५ करोड ५६ लाख बराबर स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ । यसमध्ये साधारण रोगबापत दुई हजार दुई सय १२ सञ्चयकर्तालाई रु आठ करोड १२ लाख तथा घातक रोगबापत चार सय ७० सञ्चयकर्तालाई रु सात करोड ४४ लाख बराबर शोधभर्ना भुक्तानी भएको हो ।

त्यस्तै कोषले गत आवमा काज किरिया अनुदान योजनातर्फ सात सय ९० जना सञ्चयकर्तालाई रु तीन करोड १६ लाख र सुत्केरी तथा शिशु स्याहार योजनातर्फ १९ हजार ८७ जना सञ्चयकर्तालाई रु १४ करोड ३२ लाख भुक्तानी गरेको छ । दुर्घटना क्षतिपूर्ति योजनातर्फ एक सय ६४ जना सञ्चयकर्तालाई रु तीन करोड २८ लाख भुक्तानी भएको पनि कोषले जनाएको छ ।

चालु आवको छ महिनामा काज किरिया अनुदान योजनातर्फ तीन सय ४६ जना सञ्चयकर्तालाई रु एक करोड ३९ लाख, सुत्केरी तथा शिशु स्याहार योजनातर्फ नौ हजार छ सय ९१ जना सञ्चयकर्तालाई रु सात करोड २७ लाख र दुर्घटना क्षतिपूर्ति योजनातर्फ ५६ जना सञ्चयकर्तालाई रु एक करोड १२ लाख भुक्तानी भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending