श्री ५ महाराज धिराज सरकारको पदवीबाट सम्मानित शाह राजाहरू आफूलाई विष्णुकै अवतार ठान्दथे । प्रधानमन्त्रीको पदमा रहे पनि श्री ३ महारज बने/बनाइएका राणाहरू आफूलाई स्वर्गका राजा महा शक्तिशाली इन्द्रभन्दा कम ठान्दैनथे । राज्यसंचालक टिममा रहेका अरू सबैले पनि आफूहरूलाई देवगणकै तहमा गणना गर्दथे ।
यिनले देशलाई आफ्नो निजी सम्पत्ति र देशवासी जनतालाई आफ्ना सेवकहरू (प्रजा वा रैती) ठान्दथे । त्यस बखतका जनताहरू पनि यस मान्यताप्रति सहमत थिए र महाराजा, राजा र अन्य भारदारहरू देव तथा देवदूत नै भएको विश्वाससहित आफूहरू उनीहरूको सेवक नै भएको, उनीहरूको सेवा गर्नु परम धर्म र कर्तव्य ठान्दथे र यसै मान्यतालाई शिरोधार्य गरेका थिए ।
राजकाजको भागबन्डा वा अख्तियारी नमिल्दा यिनीहरू झगडा र मारामार गर्दथे । यसैको उच्च उदाहरण थियो, कोतपर्व र भण्डार खाल पर्व । यिनीहरू जनहितलाई हैन, आफ्ना स्वार्थहरूलाई केन्द्रमा राखेर राजकाज चलाउँथे ।
त्यस बखत त्यस्ता मान्यता, व्यवहार र प्रवृत्ति सर्वमान्य थियो । शासकहरूले ढाँटेका थिएनन् । ‘हाम्रो सेवा नै प्रजाको कर्तव्य हो’ भनी उनीहरू खुल्लमखुल्ला घोषणा गर्दथे । त्यस बखतका ‘प्रजाहरू’ ले यस्तो ‘राजाज्ञा’ लाई सर्वस्वीकार्य ठानेका थिए ।
यस बखतका कम्युनिस्ट शासकहरू
यस बखतका कथित कम्युनिस्ट शासकहरूले आफूहरूलाई लोकतान्त्रिक मात्र हैन, समाजवादी र अझै साम्यवादी (कम्युनिस्ट) नै हौँ भन्दै आएका छन् । “जनताको समृद्धि र देशको विकासमा नै आफूहरू समर्पित रहेको, जनहितलाई केन्द्रमा राखेर मात्र शासन चलाउन प्रतिबद्ध रहेको” आदर्श बखान गर्न पनि छाड्दैनन् । तर, यिनले व्यवहारमा आफ्ना कुतसित सत्ता स्वार्थलाई नै केन्द्रमा राखेर गतिविधिहरू सञ्चालन गर्दै आएको स्पष्टै बुझ्न सकिन्छ ।
तात्त्विक हिसाबले हेर्दा यिनीहरू विगतका शाह र राणाहरूभन्दा फरक देखिँदैनन् । षडयन्त्र, धोखा धडी, चालबाजी, तिकडमबाजी, ढाँट छल आदिमा त यिनले शाह र राणाहरूलाई समेत उछिनेको अनुभव गर्न नसकिने हैन ।
जति बेला यिनीहरू तत्कालीन राज्यसत्ताको विरुद्धमा सङ्घर्षरत थिए, त्यस बखत यिनले समाजमा विद्यमान, शोषण, उत्पीडन, जातीय र लैङ्गिक विभेद, अन्याय अत्याचार, अन्धविश्वासजन्य कुरीति, कुप्रथा आदिको अन्त्यलाई आफ्ना मूल उद्देश्य बनाएका थिए । यिनै उद्देश्यहरू प्राप्तितर्फ लक्षित भएर सङ्घर्ष गर्ने क्रममा यिनका हजारौँ सहकर्मीहरू मारिन पुगेका थिए । ती सहिद र तिनका परिवारजनको रगत र आँसुमा पौडेर जब यी राज्यसत्ताको सिंहासनमा चढ्न पुगे तब यिनले ती प्रतिबद्धताहरूलाई लात मारे ।
श्रमजीवी वर्गका लाखौँ युवा युवतिहरू विदेश (मूलतः खाडीका मुलुकहरू, भारत, मलेसिया आदि) मा नवदासत्वजन्य श्रम गर्न विरस छन्; नवसामन्त साहुहरू र विभिन्न वित्तीय निकायहरूले लाखौँ विपन्न र सोझा सीधा जनतालाई ऋणको पासोमा फसाएर चरम लूट र अत्याचार गरिरहेका छन्; एकातिर भूमिसँग सरोकार नभएका मुट्ठीभर नवधनाड्यहरुले उर्वर भूमिको ठुलो क्षेत्रफल आफ्नो स्वामित्वमा ओटेका छन्, अर्कोतिर एक टुक्रा भूमि पनि आफ्नो स्वामित्वमा नभएका भूमिहीन र आफ्नो स्वामित्वको भूमिबाट २/३ महिना पनि खान नपुग्ने गरिब किसानहरू चम गरिबिको पीडा भोग्न विरस छन्, भ्रष्टाचार, दुराचार, हत्या हिंसा, बलात्कारलगायतका विभिन्न सामाजिक अपराधहरू बढिरहेका छन्; कथित धार्मिक अन्धविश्वास र विभिन्न कुरीति, बेथिति तथा विकृतिहरूले विगतलाई समेत उछिनेका छन्; उद्योग–व्यवसायहरू घट्दै गएका छन् बरु परनिर्भता पराधीनता बढ्दै गएका छन् आदि ।
यस बखत शासक बनेका कथित ‘कम्युनिस्ट’ हरु मुखले आदर्श बकाई बक्ने गरे पनि यस्ता अत्यन्त पीडादायी र गम्भीर दुर्दशाहरू पनि चासो राख्दैनन्, यी त जसरी हुन्छ आफ्ना कुतसित सत्ता स्वार्थका निम्ति नयाँ खाले ‘कोत पर्व’ र ‘भण्डार खाल पर्व’ मच्चाउनमा नै तल्लीन रहेका हुन्छन् ।
फरक यति नै हो कि हिजोका शाह र राणाहरू नडाँटीकन सत्ता स्वार्थमा लिप्त रहन्थे । आजका कथित कम्युनिस्टहरू जनतालाई ढाँटेर सत्ता स्वार्थमा लिप्त भइरहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: