Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

अनेकोट हत्याकाण्डः सम्झनाका तरेलीमा ती सुन्दर अनुहार

खबरडबली संवाददाता

काठमाडौं । चैत ५ गते तत्कालिन सत्ताले ७ जना कलाकारलाई हत्या गरेको दिन ।  तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घेरा हालेर निःशस्त्र अवस्थामा रहेका ७ जना कलाकारको राज्य पक्षबाट नृशंस हत्या भएको थियो ।

सोही दिनको स्मरणमा माओवादी घटकहरुले सांस्कृतिक प्रतिरोध दिवसका रुपमा अनेकोट हत्याकाण्डलाई स्मरण गर्दै आएका छन् । उक्त घटनामा जनकलाकारहरू च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनिमाया लामालाई जिउँदै जलाएर हत्या गरिएको थियो । उनीहरुको सम्झनामा र सम्मानमा आज सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाइँदै आइएको छ  । 

‘काभ्रेको अनेकोटमा ७ जना संदिग्ध माओवादीहरूको दोहोरो भिडन्तमा हत्या‘’, चैत ५ गते राति पौने ९ बजे बीबीसी नेपाली सेवाले समाचार प्रसारण गर्यो । मृत्युको खबरले मुटुलाई बारम्बार गिजोलिरहेको बेला बीबीसीको समाचारले मुटुलाई झन् नराम्रोसँग चपायो । स्तब्ध भएँ म । ‘दोहोरो भिडन्त’ नाटक, केवल नाटक, यस्तै लाग्यो मलाई ।

दोहोरो भिडन्तमा माओवादीतर्फ सातसातजना मारिनु तर प्रहरीतर्फ भने एकजना पनि नमारिनु, के यस्तो घटना पनि सम्भव छ ? कसरी पत्याउने दोहोरो भिडन्त भनेर ? रक्तपिपासु बगरेहरूले जब निर्दोष जीवनहरूलाई जथाभाबी चपाउन थाल्छन्, तब लाज ढाक्नका लागि ‘दोहोरो भिडन्त’ को नाटक प्रहसन गर्छन् । तर, वास्तविक भिडन्त हुँदाचाहिँ बगरेहरू चुँसम्म बोल्ने हिम्मत नै गर्दैनन् । बबुराहरूले हिम्मत गरून् नै कसरी ? जब वास्तविक भिडन्तहरूको इतिहासमा शर्मनाक हार खाँदै आइरहेका थिए । 

आततायीहरूप्रति मभित्र आक्रोश र जुगुप्सा एकैचोटि जागेर आयो । सहयात्रीहरूका असङ्ख्य अनुहारहरू मानसपटलमा छाल बनेर तरङ्गिन थाले । सोच्दासोच्दै सोचाइमै चुर्लुम्म डुबेँ म । असङ्ख्य जीवनहरूका साथमा थुप्रै बस्तीहरू रक्तमुच्छेल भएको देखेँ मैले, घायलघायल भएको पाएँ मैले । असङ्ख्य परिचित–अपरिचित अनुहारहरूको भीडमा हराएँ म । अहँ, किनारामा उत्रिन सक्दैसकिनँ । नाइल नदीजस्तै लामो रातमा रातको आयुले थिच्दै जाँदा प्रतीक्षा कति धेरै पीडादायी हुन्छ होला सोच्नुस् त एकपटक ।

साँच्चै पीडादायी हुँदोरै’छ प्रतीक्षा । रातको आयु त समाप्त भयो नै तर मभित्र छट्पटी भने जस्ताको तस्तै रहिरह्यो । आतुर थिएँ म अनेकोटमा जिउँदै पोलिएका सातजना अनुहार चिन्नलाई । करिब १० बजेतिर पर्खालभित्र अखबारहरू आइपुगे । अखबारको पानाभरि हुत्याएँ दुवै आँखाहरू । आँखाहरू अखबारका पानाभरि पैmलिए । 

एकाएक धमिला भए आँखा । अखबारका अक्षरहरू आगो बनेर उडे, ज्वाला बनेर छातीभरि फैलियो । म ह्वारह्वार्ती बल्न थालेँ आक्रोशले । ‘ एमालेको सुराकीमा सातसातजना जनकलाकारहरूको दिनदहाडै बीभत्स सामूहिक हत्या‘’ ओहो कति भयानक यथार्थ, कति तीतो सत्य, पत्याउन मन नलाग्दानलाग्दै पनि जबर्जस्ती पत्याउनैपर्ने, विश्वास नगरूँ भन्दाभन्दै पनि विश्वास गर्नैपर्ने ।

कति प्यारा थिए ती नामहरू, कति सुन्दर थिए ती जीवनहरू । ती सुन्दर जीवनहरू, लालुपातेझैँ भर्भराउँदा ती अनुहारहरू पोले आततायीहरूले, जिउँदै पोले । भत्कँदै नभत्कने पहरे छातीहरूमा विषालु गोलीहरू दागे । समवेदनाले भरिएका कोमल मुटुहरू क्षतविक्षत पारे । च्याङ्बा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनीमायाँ लामा, गुम्बासिंह लामा, डम्बर श्रेष्ठ, मञ्जु कुँवर‘। 

ती प्यारा नामहरू आज झन्झन् प्यारा बनेका छन् । प्यारा मात्रै होइन, सदासदाका लागि इतिहासमा मेटिँदैनमेटिने गरी कुँदिएका छन् । शब्दश्रद्धा ती प्यारा नामहरूलाई, ती प्यारा जीवनहरूलाई, ती अमर जीवनहरूलाई । च्याङ्बा लामा काभ्रेली जनताको मुटुको धड्कन, जनताको गीत गाउने एउटा रातो गायक, जनताको गीत लेख्ने एउटा प्यारो लेखक, सुतेका बस्तीहरूलाई ब्युँझाउने एउटा जनवादी कलाकार, समरको एउटा भरोसायोग्य सिपाही, मेरो प्यारो साथी, यात्राको एउटा सहयात्री । छैन, आज यस धर्तीमा भौतिक रूपमा छैन ।

 हामीभन्दा धेरै टाढा, क्षितिजभन्दा पनि टाढा, खै कता हो कता हराएका छन् । प्यारो साथी, भन तिमी कहाँ छौ ? हामी तिमीलाई नै धुइँधुइँती खोजिरहेका छौँ । तिम्रो अनुपस्थितिमा हामी घाइते बाघ भएका छौँ साथी, घाइते बाघ भएका छौँ । हाम्रो घाइते मनलाई थुम्थुम्याउन तिमी आउँदैनौ त ? हिजो सिन्धुलीका बस्तीहरूमा, काभ्रेका गाउँहरूमा महान् उद्देश्य बोकेर सँसगै यात्रा नापेका ती क्षणहरूलाई कसरी भुल्न सक्छु र प्यारो साथी ।  तिमालका चौँरीका बथानसँगै कस्तरी रमाएका थियौँ हामी । सिन्धुलीको महाभारतमा पाखैभरि राताम्मे फुलेका राता गुराँसहरूसँगै हामीले पनि बैँसालु लालीगुराँसजस्तै सपनाहरू कस्तरी आँखा भरिभरि फुलाएका थियौँ । 

शिशिरको कठ्याङ्ग्रिँदो जाडोमा एउटै सिरक ओडेर, एउटै थालमा खाएर केन्द्रीय कारागार, वीरगन्जमा लडाइँ लडेका ती सङ्गीन पलहरूलाई बिर्सन खोज्दा बिर्सन सकिन्छ र ? सकिँदैन साथी, सकिँदैन । बिर्सन खोजेर पनि बिर्सन सकिने कुरा पनि त होइन । यतिखेर म मेरो अर्को प्यारो साथी कान्छा लामालाई पनि झल्झली सम्झिरहेको छु । पर्खालभित्र कैद हुनुअघि कान्छा लामा मेरा एक अजनबी साथी थिए ।

जब म रूपान्तरण भई केन्द्रीय कारागार काठमाडौँमा आएँ, तब ती अजनबी सहयात्रीसँग परिचय भयो । सधैँ हँसमुख रहने, अत्यन्तै अनुशासित, लगनशील, होचो कद, कलिला तर झर्झराउँदो गोलो अनुहार भएका ती व्यक्ति आज हामीसँग छैनन् । छ त केवल सम्झना छ, स्मृतिको छाया छ । पर्खालभित्र पनि कति सक्रिय थिए च्याङ्बा र कान्छा । उनीहरू दुवैलाई यात्राप्रति पूरापूर विश्वास थियो । 

प्रायजसो राति अबेरसम्म थाङ्काहरू कोर्थे । दुवैजना कविताहरू लेख्थे, गीतहरू लेख्थे । लेखिसकेपछि हतारहतार मलाई देखाउँथे । म मेरा प्रिय साथीहरूलाई नयाँनयाँ कुराहरू लेख्न प्रोत्साहित गर्थें । कमजोरीहरू बिनाहिचकिचाहट औँल्याइदिन्थेँ ।

कान्छा लामाका एक दर्जनभन्दा बढी गीतहरू र कविताहरू ताजै छन् आजतक । प्यारा साथीहरूले लेखेका ती कविता र गीतहरू सुरक्षित छन् कि छैनन् ? मलाई अहिले थाहा छैन । मीठामीठा कविता र गीत लेख्ने मेरा प्यारा साथीहरू आज आफैँ सुन्दर कविता बनेका छन्, मीठा गीतमा रूपान्तरण भएका छन् । 

कविहरू आज साथीहरूको सम्झनामा निरन्तर कविता जन्माइरहेका छन्, गीतहरू साथीहरूको सम्मानमा सुन्दर गीतहरू लेखिरहेका छन् । बेथान कारबाहीमा सहादत प्राप्त गर्ने सहिद तीर्थ गौतम र सहिद दिलमाया बम्जनको सुन्दर तस्बिरहरू कोर्ने कान्छा लामा आज स्वयम् सहिदमा अनुवाद भएका छन् । ती कल्कलाउँदा परिश्रमी हातहरूले थुप्रै सहिदहरूका तस्बिरहरू कोर्न बाँकी नै थिए तर यो आततायी सरकारलाई यो सह्य भएन । त्यसैले कान्छा लामाहरूको कलम भाँच्यो, कुची र ब्रस खोस्यो । च्याङ्बा लामाहरूको सारङ्गीको तार चुँडायो, बाँसुरी र मादल फुटायो ।

आततायीहरूलाई यत्तिले मात्र चित्त बुझेन र कान्छा लामाहरूमाथि गोली बर्सायो, च्याङ्बा लामाहरूलाई जिउँदै डढायो । म थुक्छु यो कायर, आततायी सरकारलाई, खुबसँग थुक्छु– थुः, थुः थुः, थुः । प्यारो साथी कान्छा, मसँग तिम्रो तस्बिर कोर्ने सुन्दर कला त छैन तैपनि तिम्रो तस्बिर मृत्युपर्यन्त छातीको देब्रे कुनामा मुटुसँगै सजाइराख्नेछु ।

प्यारो साथी च्याङ्बा, मसँग तिम्रोजस्तो कला र गला त छैन तर पनि तिमीले छाडेर गएका गीतहरू गुन्गुनाइरहनेछु– जीवनभरि । तिमीहरूको अनुपस्थितिमा कति विक्षिप्त छु, म । आऊ, साथीहरू आऊ, मलाई हेर्न आऊ । मेरा आँखाको साउने झरी हेर्न आऊ । मेरो छातीमा दन्किरहेको आगो हेर्न आऊ । निर्मला देवकोटा सिन्धुलीकी छोरी, रातो गीत गाउने राती गायिका, जनताकी प्यारी कलाकार । जवानीमा पाइला टेक्दै गरेकी एक सम्भ्रमी, मेरी आँखाकी नानी । हो, उनीसँग अब मेरो भेट कहिल्यै हुँदैन ।

मेरो आँखाकी नानीको त्यो जूनभन्दा पनि शीतल अनुहार स्मृतिको छायामा मात्रै बाँचिरहेको छ अब तर मेरी प्यारी बहिनीको त्यो घामभन्दा पनि तातो विचार, मरुभूमिमा दुबो फैलिएझैँ फैलिरहनेछ– युगयुगान्तर । प्यारी बहिनी, तिम्रो सहादतको खबरले गुराँसैगुराँस फुल्ने मेरा आँखा आँसु बनेर बिजाइरहेछ ।

कोसीको पानीजस्तो सपना काँडाको झ्याङमा अल्मल्लिएको चराझैँ रङ्भङ्गिएको छ । मन पनि भँगालाले खाएजस्तै अनुभूत भइरहेछ । यो मन फुल्याउन साह्रै गाह्रो परेको छ बैनी, साह्रै गाह्रो १ अमलेको सिम्लेकिनारमा तिमी जुन घरमा जन्मियौ, त्यसले नै तिमीलाई आगोसँग खेल्न सिकायो, ज्वालामुखीमा यात्रा गर्न उत्साहित गरायो । 

प्यारी बहिनी, यति सानो उमेरमा तिमीले जति लामो यात्रा गर्न सफल भयौ, त्यसले नै तिमीलाई युगयुगान्तरका लागि जिउँदो बनायो । जुन बेला तिमी सानी थियौ, त्यतिबबेला पनि कति आँटिला कुरा गथ्र्यौ तिमी, कति साहसिला कुरा गथ्र्यौ तिमी । साँच्चै तिमी भरासिली थियौ बैनी । त्यही बेलादेखि नै हामीले तिमीमाथि एउटा जिउँदो सपना हुर्काएका थियौँ । हाम्रो त्यो जिउँदो सपना आफू जिउँदै डढेर आज पूरा गराएकी छ्यौ । धन्य छ्यौ बैनी, तिमी धन्य छ्यौ । तिमीसँग हामी नतमस्तक छौँ । हाम्रो प्यारो बस्ती उजाड छ रे आजकल ।

सिम्ले र खानीखोला विरहलाग्दो भएका छन् रे । भ्वाँसेडाँडामा पनि एकतार हावा चलिरहन्छ रे, झल्कने पाखोमा बस्ने न्याउली र कोइलीले गाउँ छोडेर गएका गाउँलेहरूलाई ‘गाउँ फर्क‘, गाउँ फर्क‘’ भन्दै आह्वान गरिरहेका छन् रे । छर्छरेको चुचुरो पनि श्रद्धाले इन्द्रेणीझैँ नुहेका छन् रे । बस्तीभरि हूलका हूल बगरे मात्रै भेटिन्छन् रे । हाम्रो सिम्लेकिनारको छाप्रो पनि खरानी बनायो रे बैनी, खरानी ।

तिमी गयौ, कहिल्यै नफर्किने गरेर गयौ । हामीलाई धरधरी रुवाएर गयौ । यस्तो वियोगमा पनि हामीले अघाउन्जेल रुन पाएका छैनौँ । मेरी आँखाकी रानी १ हाम्रो बस्तीमा बगरेहरूले चिहानको पहाड नै किन नबनाऊन्, तैपनि आततायीहरूको बन्दुकले वीर हरूको छाती भेदन गर्न सक्नेछैन, सुनौलो बिहानीको आयु कालो रातले लुट्न सक्नेछैन । प्यारी बहिनी, कहिलेकहिले म ‘माइली’ भनेर बोलाउँथेँ तिमीलाई । कति मन पर्दैनथ्यो है तिमीलाई ‘माइली’ भनेर बोलाएको । अनुहारमा हल्का रिस पोत्दै तत्कालै प्रतिवाद गथ्र्यौ– ‘मलाई माइली हैन, साइँली भन्नुस् ।’

मैले एक दिन तिमीलाई सोधेको थिएँ– किन तिमीलाई माइली भनेको मन पर्दैन र ? मेरो प्रश्नको उत्तरमा तिमीले कति दह्रो तर्क पेस गरेकी थियौ– माइली शब्द मन नपरेर साइँली भन्नुस् भनेकी हैन मैले । मलाई माइली शब्द पनि मनपर्छ, रोलक्रमअनुसार म माइली होइन, साइँली हो । मभन्दा माथि एउटी दिदी र एउटा दाजु भएपछि म कसरी माइली हुन्छु ? नारी–पुरुष बराबरी पनि भन्ने अनि फेरि यति सानो कुरामा पनि पक्षपात गर्ने ? यो त सामन्ती चिन्तन भयो नि दाइ । 

साँच्चै बहिनी तिमीले कति गजबसँग चुकुल ठोकिदिएकी थियौ मेरो मुखमा । तिम्रो तर्कलाई धेरै दिनसम्म चिन्तनमनन गरेँ मैले । तर्क त सानै थियो तर यो सानै तर्कबाट पनि म खुब प्रभावित भएँ र ‘माइली’ भनेर तिम्रो चित्त दुखाउने काम कहिल्यै गरिनँ । अब म बहिनी, तिम्रो चित्त दुखाउँछु भनेर पनि पाउँदिनँ । 

साइँली बैनी, करिब एक वर्षअघि तिम्रो र मेरो भेट सिन्धुली कारागारमा भएको थियो । गेटअगाडिको किलामा उभिएर ‘अब त म पनि ठूली भइसकेँ दाइ’ भन्दा तिम्रो कुरामा पटक्कै विश्वास लागेको थिएन मलाई । त्यतिखेर तिमीले हामीलाई चाँडै लिन आउने वचन पनि दिएकी थियौ तर बैनी, तिम्रो त्यो सपना पूरा गराउन दिएनन् दुष्टहरूले । तिम्रो त्यो सपनाको सुन्दर संसारमा आततायीहरूले एकाएक आगो झोसिदिए । जिउँदै पोलियौ तिमी दुष्टहरूको हातबाट । 

तिमीले आफू ठूली भएको जानकारी गराउँदा मैले पत्याएको थिइनँ तर बैनी, तिमी त साँच्चै ठूली भइसकेकी रहिछ्यौ । तिम्रो उचाइ त सगरमाथाभन्दा उच्च भइसकेको रहेछ । सगरमाथाभन्दा उच्च तिम्रो उचाइलाई मेरो रातो सलाम । ‘आइपुग्यो छापामार खुकुरी भिरेर‘’ जस्ता रगत उमाल्ने गीतहरू जेलका गेटहरूमा पनि कति निर्धक्कसँग गाएकी थियौ तिमीले, त्यतिखेर कति खुसी भएका थियौँ हामी । त्यो खुसीलाई हाम्राबीचबाट आततायीहरूले सदासदाका लागि खोसेका छन् । हामी अझ प्यारी बहिनीले गाएका धेरैधेरै गीतहरू सुन्न चाहन्थ्यौँ । धेरैधेरै खुसीमा रमाउन चाहन्थ्यौँ तर आततायीहरू तिम्रो गीतदेखि डराए, तिम्रा आवाजदेखि डराए र डराए तिमीदेखि नै र जिउँदै सुतायो दन्कँदो चितामाथि तिमीलाई । 

तिमी चितामाथि जलेको खबर सुन्दा कति विक्षिप्त भएँ म, खै कसरी अभिव्यक्त गरौँ र यहाँ ? साँच्चै बहिनी, तिम्रो अनुपस्थितिमा म पागल बनेको छु, पागल । नपत्याए हेर्न आऊ मलाई । मेरी प्यारी बहिनी । मेरो आँखाको साउने झरी हेर्न आऊ, मेरो छातीभित्र दन्केको आगो हेर्न आऊ । आऊ, बहिनी आऊ, मलाई हेर्न आऊ ।

चौध वर्षीया मञ्जु कुँवरको कलिलो मुहार स्मृतिमा धमिलो भएर प्रतिबिम्बित भइरहेको छ । मञ्जुको घरमा धेरैचोटि गएको छु म, दर्जनौँपटक घरको आँगन कुल्चिएर ओहोरदोहोर गरेको छु तैपनि किशोरी मञ्जुको तस्बिर प्रस्ट भइरहेको छैन । सुभद्रा सापकोटा, चिनीमाया लामा, डम्बर श्रेष्ठ र गुम्बासिंह लामालाई व्यक्तिगत रूपमा म चिन्दिनँ । यसको मतलब ती आदरणीय नामहरूप्रति, ती राता यात्रीहरूप्रति, ती झर्झराउँदा जीवनहरूप्रति मेरो श्रद्धा छैन भन्ने हैन । 

ती आदरणीय नामहरूप्रति, यात्रीहरूप्रति, ती झर्झराउँदा जीवनहरूप्रति मेरो असीम श्रद्धा छ, लाखौँ रातो सलाम छ । यतिखेर हामी हाँस्दाहाँस्दै रोएका छौँ र रुँदारुँदै हाँसेका छौँ । आफन्तजनहरूको र वर्गीयजनहरूको बीभत्स मृत्युले हामी हतप्रभ भएका छौँ । सुखद भविष्यको कल्पना हामीले मस्तिष्कमा सजाएका पनि छौँ । काभ्रेको इतिहासमा मात्रै हैन, सिङ्गो नेपालको इतिहासमा नयाँ र अत्यन्तै दुःखद् घटनाका रूपमा चैत ५ को अनेकोटको हत्याकाण्ड नेपाली इतिहासमा जीवित रहनेछ ।

जब सरकार जनताबाट एक्लिन्छ, निरङ्कुश, फासिस्ट र आततायी सत्ता रङदेखि डराउँछ, सारङ्गी र बाँसुरीदेखि डराउँछ, मादल र हार्मोनियमदेखि डराउँछ, डराउँदाडराउँदा ऊ हाम्रो हातदेखि डराउँछ, हाम्रो आवाजदेखि डराउँछ । अन्ततः ऊ आज सुत्केरी आमादेखि डराएको छ । कोक्रामा मुस्कुराइरहेका अबोध नानीहरूको निश्छल मुस्कानदेखि डराएको छ । यो आततायी सरकारलाई आजकाल डराउने रोग लागेको छ ।

त्यसैले जताततै मृत्यु रोप्दै हिँडेको छ । आततायीहरूलाई के थाहा, चिहानबाट अजस्र जीवनहरू पलाउँदै गएको कुरा । हिजो रुकुममा मस्त ढले, सिन्धुलीमा जयाहरू ढले, काभ्रेमा कान्छा लामाहरू ढले तर के ती राता मान्छेहरूले गाउने गीत उनीहरूसँगै चिहानमा पुरिए त ? पुरिएनन् । अझ ती राता गीतहरू झन् सिम्रिक बन्दै, लालुपाते र लालीगुराँस बन्दै गाउँबस्तीमा पैmलिए । 

चौध वर्षीया किशोरी मञ्जुले समेत बस्तीमा ढलेका आफन्तहरूको जीवन खोज्दै गीत गाए । चिहानको पहाडमाथि रोइरहेका गाउँहरू खोज्दै सङ्गीत सुनाए । पर्खालभित्र जन्जिरले कसिएका आफन्तहरूका हातहरू माग्दै आफ्ना कलिला हातहरू आततायीहरूले टुक्राटुक्रा पारेर छप्काएका छन् । 

कलकलाउँदा जीवनहरूलाई जिउँदै डढाएका छन् तर किशोरी मञ्जुका कलिला एकजोर हात लाखौँ हात बनेर उठिसकेका छन् । ती जिउँदै पोलिएका कलकलाउँदा जीवनहरू लाखौँ जीवन बनेर यात्रामा जुटिसकेका छन् । आततायीहरूको इतिहास भनेको हत्या, बलात्कार र लुटपाटको इतिहास हो । अमेरिकी आततायीहरूले जनताका प्यारा गायक पल रब्सनलाई, जनताका प्यारा लेखक अबु जमाललाई चपाउन खोजेको इतिहास हाम्रासामु ताजै छ ।

तसलिमा नसरिन र सलमान रुस्दीले आजसम्म भोगिरहेको नियतिबाट हामी अपरिचित छैनौँ । फासिस्ट राणाहरूले सुब्बा कृष्णलाललाई जेलभित्र नै कुहाएको इतिहास पनि हाम्रासामु चिसिएको छैन । आततायीहरूले इतिहासलाई अझ कठोर र अझ तीव्र बनाएका छन् । बनाओ आततायीहरू, जतिसक्दो कठोर बनाओ । जतिसक्दो तीव्र बनाओ तर हामी हाम्रो गीत गाइरहनेछौँ, हाम्रो सङ्गीत बजाइरहनेछौँ, हामी हाम्रो यात्रामा अघि बढिरहनेछौँ, निरन्तर‘निरन्तर‘ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy