एजेन्सी । सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ ।
आइतबार विश्व क्षयरोग दिवस हो । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हामी क्षयरोगको अन्त्य गर्न सक्छौं’ भन्ने रहेको छ ।
सरकार, उद्योग र दातृ साझेदारहरूले नयाँ निदान, खोप र उपचारमा लगानी गरेपछि अफ्रिकामा क्षयरोगको उच्च बोझलाई उल्लेखनीय रूपमा कम गर्न सम्भव हुने डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले बताए ।
“अफ्रिकामा एचआईभी र एड्सको सङ्ख्यालाई उछिन्दै क्षयरोग एउटा मात्र सङ्क्रामक एजेन्टबाट हुने मृत्युको दोस्रो प्रमुख कारण बनेको छ,” उनले भने । “सन् २०२२ मा अफ्रिकी महाद्वीपमा लगभग २५ लाख व्यक्तिहरू यो रोगको सङ्क्रमणको चपेटामा परेका थिए, जुन प्रत्येक १३ सेकेन्डमा एक व्यक्ति बराबर हो”, केन्याको राजधानी नैरोबीबाट जारी विज्ञप्तिमा मोएतीले भने, “सन् २०२२ मा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख २४ हजार पुगेको छ र यसका कारण क्षयरोग रोकथाम र उपचार गर्न सकिने अवस्थामा पनि हरेक मिनेटमा एक जनाको मृत्यु भएको छ ।”
यी तथ्याङ्कहरूले जारी क्षयरोग महामारीलाई सम्बोधन गर्न हाम्रो सामूहिक कार्यको तात्कालिकतालाई जोड दिन्छ र यसलाई अन्त्य गर्न निरन्तर प्रयासको आवश्यकतालाई उजागर गर्दछ ।
“डब्ल्यूएचओको अफ्रिकी क्षेत्रले अफ्रिकी टीबी स्कोरकार्ड, अत्यधिक सङ्क्रामक फोक्सो रोगलाई उन्मूलन गर्ने दिशामा प्रगतिलाई गति दिन रणनीतिक दिशा र निगरानी उपकरणहरू प्रदान गरेको छ ।
प्रदूषण, अत्यधिक भीडभाड र गरिबीले निम्त्याएको ब्याक्टेरियाबाट सर्ने यो रोग उन्मूलन गर्न सचेतना अभियानलाई पुनर्जीवित गर्ने लक्ष्य राखिएको छ । प्रभावकारी क्षयरोग नियन्त्रण, द्रुत निदानमा सहज पहुँच र क्षेत्रीय सहयोगबारे ज्ञान र सर्वोत्तम अभ्यासहरू आदानप्रदान गर्नु अफ्रिकामा अब यो रोग सार्वजनिक स्वास्थ्य खतरा नभएको सुनिश्चित गर्न महत्वपूर्ण हुने मोएतीले बताए ।
उनले अफ्रिकामा क्षयरोगविरुद्धको लडाईंमा उल्लेखनीय प्रगतिको प्रशंसा गर्दै भने, “अफ्रिकामा सन् २०१५ देखि २०२२ को बीचमा मृत्युदरमा ३८ प्रतिशत कमी आएको थियो भने उक्त महाद्वीपमा सोही अवधिमा नयाँ केसहरूमा २३ प्रतिशतले कमी आएको थियो ।”
अफ्रिकामा क्षयरोग उन्मूलनका लागि बहुऔषधि मल्टिड्रग प्रतिरोधी क्षयरोग, तीव्र निगरानी, पर्याप्त कोष, अनुसन्धान, सामुदायिक संलग्नता र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा कदम चाल्नु महत्वपूर्ण हुने उनको धारणा रहेको छ ।
प्रतिकृया लेख्नुहोस्: