Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

दक्षिण कोरियाले होटल र रेस्टुराँमा पनि नेपाली कामदार लिने- २५ हजार लागत, १० वर्षसम्म रोजगारीको अवसर

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाले यसै वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लैजाने भएको अधिकारीहरूले बताएका छन्। कोरियाले लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको छ।

केहीअघिदेखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लान थालेको उसले अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने भएको हो।

नेपालका लागि कोरियाली राजदूतले बुधवार सञ्चारकर्मीहरूसँग बोल्दै नयाँ क्षेत्रमा यसै वर्षभित्र कामदारहरू लान थालिने जानकारी दिएको विवरण पनि आएका छन्।

उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

सेवा क्षेत्रमा जान पाँच हजारको आवेदन

नेपालस्थित ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलका अनुसार नयाँ दुईवटा क्षेत्रमा कामदार लिने जानकारी उक्त देशले केहीअघि पठाएको थियो।

ती क्षेत्रका लागि कोरियाली भाषा परीक्षा पास गरेर बसेकाहरूलाई नै क्षेत्र परिवर्तन गरेर जान दिने उसले जनाएको थियो। सोही अनुरूप ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले तीन साताअघि एउटा सूचना प्रकाशित गर्दै इच्छुकहरूलाई क्षेत्र परिवर्तनका लागि निवेदन दिन भनेको थियो।

कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षा उत्तीर्ण भएकाहरूलाई कोरियामा सेवा क्षेत्रमा जानका लागि आवेदन दिन भनिएको कँडेलले बताइन्।

उनले भनिन्, "करिब पाँच हजार जनाले क्षेत्र परिवर्तनका लागि निवेदन दिनु भएको छ। अब उहाँहरूलाई नै सेवा क्षेत्रमा क्रमश: लाने भनिएको छ। यसमा भाषा परीक्षा पास गरेका र डिसेम्बर अन्तिमसम्म म्याद भएकाहरूको आवेदन लिएकाले यसै वर्षभित्र लैजाने भनिएको होला।"

ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूलाई दक्षिण कोरियाले दुई वर्षसम्म रोस्टरमा राख्ने गरेको छ। त्यो अवधिभित्र दक्षिण कोरियाली रोजगारदाताबाट छनोटमा नपरेकाहरू दक्षिण कोरिया जान पाउँदैनन्।

एक अनुमानित सङ्ख्याअनुसार करिब १५ हजार नेपालीहरू भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्।

कृषि क्षेत्रमा माग कम आएको कारण देखाउँदै दक्षिण कोरियाले कृषि र उत्पादनमूलक क्षेत्रमा कम माग पठाएपछि भाषा परीक्षा उत्तीर्ण गरेका करिब ११ हजार जना नेपाली युवाहरू दक्षिण कोरिया जाने पर्खाइमा थिए।

शाखाका अनुसार कोरियाली पक्षले त्यसमध्ये सेवा क्षेत्र परिवर्तनका लागि योग्य रहेका ९ हजार चार सय २८ जना नेपाली युवाहरूको सूची पठाएको थियो। क्षेत्र परिवर्तनका लागि उनीहरूलाई वैशाख १८ गतेभित्र आवेदन दिइसक्न भनिएको थियो।

सेवा क्षेत्रमा कस्ता काम गर्नुपर्छ?

कँडेलले दिएको जानकारी अनुसार सेवा क्षेत्रमा नेपाली कामदारहरूले विभिन्न खालका कामहरू गर्नुपर्ने हुन्छ।
त्यसमा विशेषगरी होटल, रेस्टुराँ र सफाइ कर्मचारीका रूपमा काम गर्नुपर्ने हुन सक्छ।

त्यस्तै विभिन्न व्यापारहरूमा पनि सेवाकर्मीका रूपमा नेपालीहरूले काम पाउन सक्छन्। यद्यपि पाँच हजारले इच्छा देखाएको उक्त क्षेत्रमा कोरियाले कति कामदारहरू लिन्छ भन्ने अझै यकिन भइसकेको छैन।

उनले भनिन्, "उहाँहरूले ईपीएसअन्तर्गत १६ वटै देशबाट त्यस्ता कामदार लिने हुन सक्छ त्यसैले हामीले कति पाउँछौँ भन्ने यकिन भइसकेको छैन।"

त्यस्तै वन क्षेत्रका हकमा भने "त्यस अन्तर्गत के के पर्छ" भन्ने नै थाहा नभएको उनको भनाइ छ। "त्यो भनेको नर्सरी मात्र हो वा अन्य क्षेत्र पनि हो भन्ने खुलिसकेको छैन," उनले भनिन्।

कामदार सङ्ख्या थप

कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा पनि वृद्धि गरेको छ। यसअघि उक्त क्षेत्रमा झन्डै १६ हजार जना कामदार लैजाने कोरियाको तयारी थियो।

त्यसमा उसले थप १३.४ प्रतिशत कामदार लैजाने जानकारी दिएको कँडेलले बताइन्। त्योसँगै अब नेपालबाट १८ हजार जना जति कामदार उक्त क्षेत्रमा जान पाउने भएका छन्।

दक्षिण कोरियाले सामान्य लेखपढ जानेका युवाहरूलाई पनि उत्पादनमूलक क्षेत्रमा लैजाने गरेको छ। "यसबाट भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूमध्ये थप केहीले रोजगारीको अवसर पाउनेछन्," उनले भनिन्।

कोटा तोक्ने तयारी

कोरियाले ईपीएस मामिलामा हालै नेपाललाई तीनवटा पत्रहरू पठाएको कँडेलले जानकारी दिइन्। त्यसमा नयाँ दुई वटा क्षेत्रहरू थप गर्ने, उत्पादनमूलक क्षेत्रमा कामदार सङ्ख्या बढाउने र अर्को परीक्षा तथा आवेदन प्रणालीसँगसम्बन्धित रहेको उनले जानकारी दिइन्।

कोरिया जान चाहने नेपालीहरूको सङ्ख्या अत्यधिक भएर आवेदन धेरै परेपछि वर्ष दिनभरि नै परीक्षा लिनुपर्ने परिस्थिति बनेको भन्दै कोरियाले कोटा तोक्न सुझाव दिँदै पत्र पठाएको उनले बताइन्।

उक्त पत्रमा माग भएको कामदार सङ्ख्याको तेबर सङ्ख्या रोस्टरमा राख्नुपर्ने र माग भएको कामदारको नौ गुणा सङ्ख्यामा मात्र आवेदन खुलाउनु पर्ने उल्लेख भएको उनले बताइन्।

त्यसलाई उदाहरण दिएर बुझाउँदै उनले भनिन्, "मानौँ एक हजार जनालाई उसले लिने हो भने हामीले तीन हजार जनालाई मात्र रोस्टरमा राख्नुपर्‍यो। अब तीन हजार जनालाई रोस्टरमा राख्नका लागि त्यसको तेबर अर्थात् ९ हजार जनाको मात्र आवेदन लिनुपर्‍यो।"

उनले निश्चित सङ्ख्यापछि आवेदन लिन नमिल्ने र जसले पहिले आवेदन फारम भर्छ उसले नै अवसर पाउने गरी त्यस्तो व्यवस्था मिलाउन लागिएको बताइन्।

परीक्षा लिन बाँकी कति छन्?

ईपीएस शाखाका अनुसार अहिले पनि आवेदन दिएका एक लाख जना भन्दा बढीको भाषा परीक्षा लिन बाँकी रहेको छ। उनका अनुसार गत वर्ष कुल एक लाख ६३ हजार जनाको आवेदन परेको थियो।

पहिलो चरणको परीक्षामा सहभागी भएका ४० हजार परीक्षार्थीमध्ये ६ हजार ३ सयभन्दा बढी उत्तीर्ण भएका छन्। उनीहरूको सीपसम्बन्धी ज्ञानको परीक्षण पनि भइसकेको छ।

झन्डै ८० हजार जनाको भने अबको केही दिनबाटै परीक्षा सुरु हुनेछ। उनीहरूको परीक्षा आगामी साउन महिनासम्म चल्नेछ।

त्यस्तै बाँकी ३६ हजार जनाको चाहिँ आगामी कार्तिकको २६ गतेदेखि पुसको २ गतेसम्म परीक्षा लिने तय गरिएको छ।

अघिल्लो पटक सम्पन्न परीक्षामा अनुत्तीर्ण भएकाहरूले पुन: सहभागी हुन पाउनु पर्ने माग गर्दै केही महिनाअघि गरेको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो।

त्यसपछि उक्त मामिलामा कोरियाले संवेदनशील हुँदै कोटा निर्धारण गरेर अघि बढ्न सुझाव दिएको बताइएको थियो।

लागत कति लाग्छ?

पछिल्लो सात वर्षमा ३ लाख ८१ हजार जनाले दक्षिण कोरियामा रोजगारीको लागि आवेदन दिएको विवरण पाइन्छ। त्यसमध्ये भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने कामदारको सङ्ख्या झन्डै ६० हजार जना देखिन्छ।

कोरिया जानका लागि कामदारहरूले प्रतिव्यक्ति दुई लाख रुपैयाँ भन्दा कम खर्च गर्दा हुन्छ। ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरिया गएका कामदारहरूले १० वर्षसम्म उक्त देशमा रोजगारीको अवसर पाउने बताइन्छ।

भाषासम्बन्धी कक्षाहरू सञ्चालन गर्ने केन्द्रहरूले पाठ्यक्रम हेरेर २५ हजार रुपैयाँसम्म लिने गरेको कतिपय सञ्चालकहरू बताउँछन्। ईपीएस भाषा परीक्षाको जाँच ललितपुरको भैँसेपाटीस्थित सीबीटी भवनमा हुने गरेको छ।

ईपीएस के हो?

ईपीएस दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली हो। यो प्रणालीअन्तर्गत नेपालबाट कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा समझदारी गरेको थियो।

उक्त प्रणालीअन्तर्गत सन् २००८ बाट कोरियाले नेपाली कामदार लान सुरु गरेको हो। ईपीएस नेपालका अनुसार भाषा परीक्षा पास गरेका १८ देखि ३९ वर्षका व्यक्तिले उक्त प्रणालीबाट रोजगारीको अवसर पाउन सक्छन्।

तर त्यसको लागि विगतमा गैरकानुनी रूपमा नबसेको, स्वास्थ्य परीक्षा पास भएको, नेपालबाट बाहिर यात्रा गर्न प्रतिबन्ध नभएको र आपराधिक कसुर नगरेको प्रमाणित हुनुपर्छ।

गत वर्ष अर्थात् सन् २०२३ मा २० हजार जनाभन्दा बढी नेपाली कोरिया गएका थिए। कोरियामा अहिले नेपाली कामदारको सङ्ख्या ५५ हजार जनाभन्दा धेरै रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending