Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता

खबरडबली संवाददाता

म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजिकको जङ्गलमा बास बस्छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेतसहित करिब ३० जनाको टोली दुई महिनादेखि जङ्गलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धवलागिरि आइसफल ट्रेकमा दुई वर्षदेखि पदमार्ग निर्माण भइरहेको छ ।

पर्यटन विभागसँग दुईवटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो । गत वर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकूल मौसम र बाढी, पहिरोका कारण योजनालाई सम्पन्न गर्न दुई वर्ष लागेको जनाएको छ । बस्तीदेखि टाढा र हिमालको नजिकका भूभागमा पदमार्ग बनाउन मजदुर र व्यवस्थापकहरू वनजङ्गलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन् । हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जङ्गलमै बसेर काम गर्नुपरेको बस्नेतले बताए । 

आर्थिक वर्ष २०७९/८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजनाअन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ । निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल रु एक करोड ५४ लाख बजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म आठ किलोमिटर बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए ।

“यो वर्षमात्रै तीन किलोमिटर बढी पदमार्ग बनाएका छौँ, असारभित्रमा योजनालाई सम्पन्न गर्ने गरी काम भैरहेको छ, अक्करे भिरबाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने हाम्रो लक्ष्य हो, विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था बाहेकका अन्य सबै अप्ठेरो ठाउँमा सहज रूपमा आवतजावत गर्न सक्ने गरी काम गरिरहेका छौँ”, उनले भने ।

यसवर्ष छिस, कछुवा ओढार हुँदै धवलागिरि भ्यू प्वाइन्ट हिलसम्मको नदी किनार र घना जङ्गलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ । पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवालगायतका जिल्लाबाट मजदुरहरू यहाँ आएका छन् । 

दुई समूहमा बाँडिएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताए । जङ्गल, भिर पहाड र खोला किनारमा दुई मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरूलाई धवलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ । परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ ।

उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा वर्षाको प्रतिकुलताका बीच पदमार्ग बनाउने कामलाई तीब्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताए । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत बर्षदेखि पदमार्ग निर्माण थालिएको थियो । यस पदमार्गअन्तर्गत कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ । 

यसअघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरे पनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ । धवलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरी अध्ययन गरिरहेको जनाएको छ । गत वर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस वर्ष कालीबराह दोभान अघिदेखि काम भैरहेको छ । 

चिमखोलादेखि घ्यासीखर्क हुँदै आधार शिविर जाने बाटोमा कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको भिरबाहेक अन्य सबै ठाउँमा सुविधाजनक पदमार्ग निर्माण हुन लागेको वडा नं ७ अध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए ।

“आइसफल पदमार्ग सहज बन्दै गएको छ, हामीले पदमार्गसँगै खोलाहरू पुल र ठाउँ–ठाउँमा आश्रयस्थल पनि बनाउनपर्छ भनेर पहल गरिरहेका छौँ, दुई ठाउँको भिरमा पदमार्ग छिचोलियो भने एक दिनमै सहजै आधार शिविर पुग्ने पूर्वाधार तयार हुन्छ” वडाध्यक्ष पाइजाले भने । उनले पदमार्ग निर्माणसँगै कालीबराह खोला र रघुगङ्गा नदी समेतमा झोलुङ्गे पुलहरू बनाउन आवश्यक रहेको बताए ।

म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरी २०६८ सालमा पहिलोपटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार गरिसकेको छ । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ । 

नेपाल सरकारले धवलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन । 

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि नयाँ वैकल्पिक पदमार्गको रुपमा धवलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भैरहे पनि सूचनामूलक सङ्केतबोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लजहरू निर्माण हुन सकेका छैनन् ।

धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् ।

पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा, भुरुङ, दानालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending