काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ ।
यो विशेष पोलियो खोप अभियान हो । अभियान साउन ९ गते सुरु हुनेछ । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन अनुरोध गरिएको छ । पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन - ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन-आइपीभी) दिइन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् । यी घरहरुमा ५ बर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ ।विभागको तथ्याङ्कमा वडागत रुपमा हेर्दा सबैभन्दा धेरै वडा नं. ६ मा ६ हजार १२ जना बालबालिका छन् । सबैभन्दा कम वडा नं. १ मा ४६२ जना छन् । यो खोप जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाका लागि हो ।
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीसहितको टोली घर घरमा ग्एर पोलियो थोपा खुवाउनेछ ।
विशेष अभियान किन ?
नेपालमा सन् २०१० पछि व्यक्तिमा पोलियोको भाइरस देखिएको छैन । श्रेष्ठ भन्छन्, ‘पोलियो उन्मुलन रणनीतिअनुरुप सन् २०१७ देखि वातावरणीय निगरानी भइरहेको थियो । उपत्यकाका विभिन्न ५ ठाउँको ढलबाट महिनाको २ पटक नमूना लिएर पोलियोको भाइरस भए नभएको हेर्ने गरिन्थ्यो । यही क्रममा सन् २०२४ (२०८१ जेठ १३ गते) काठमाडौंको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) लिइएको नमूनामा डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटियो । यसको रिपोर्ट २०८१ असार २९ गते आएको थियो । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।’ उनका अनुसार यही ठाउँमा जेठ २२ गते पनि नमूना लिइएको थियो । यसमा भने भाइरस देखिएन ।
यसका अनेक कारण हुन सक्छन् । यसको अध्ययन भइरहेको श्रेष्ठको भनाइ छ । प्रयोगशाला परीक्षणको नतिजाअनुसार सो पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । पोलियो मुक्त देश घोषणा भएको २० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनुले चिन्ता उब्जाएको छ । वातावरणीय निगरानीका लागि काठमाडौं उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराका एक एक ठाउँबाट महिनाको १ पटक नमूना लिने गरिएको छ ।
नेपालमा पोलियो उन्मुलन रणनीति २०२२–२०२६ का कार्यक्रम सञ्चालन भइरहेका छन् । सन् २०१० बाट व्यक्तिमा पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियो मुक्त देश घोषणा गरिएको थियो । बालबालिकाहरुका अतिशीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ बर्षमुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ ।
पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दुषित खाना र दुषित पानीबाट सर्छ । यसकारण खाना र पानीको सफाइसँगै वातावरणीय स्वच्छतामा ध्यान दिन आवश्यक छ ।
पहिलो खोप बच्चा जन्मिने वित्तिकै बिसीजी खोप लगाइन्छ । दोस्रो खोप ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेब बी-हिब खोप दिइन्छ । तेस्रो खोप जन्मेको १० महिनामा दिइन्छ । यसमा ६ महिनामा दिइएको खोपको दोस्रो मात्रा दिइन्छ । चौधौँ हप्तामा चौथो खोप दिइन्छ । यसमा पोलियो, एफआइपीभी, डीपीटी र हेब वी-हिब खोप लगाइन्छ । ९ महिनामा पाँचौँ खोप लगाइन्छ । यसमा एफआइपीभी, पीसीभी र रुवेला दादुरा खोप लगाइन्छ । १२ महिनामा छैटौँ पटक खोप दिइन्छ ।
यस पटक दिइने खोप जापानीज इन्सेफालाइटिस हो । १५ महिनामा सातौँ खोप दिइन्छ । यो खोप रुवेला दादुराको दोस्रो मात्रा हो । यसैबेला टाइफाइडको खोप पनि लगाइन्छ ।
प्रतिकृया लेख्नुहोस्: