बेथान रामेछाप जिल्लाको सुदुर पश्चिमी गाउँ हो । सैपुबाट बेथानसम्मको पैदल दुरी दुई दिन हो । गोविन्द खड्काजी र मेरो सानैदेखि चिनाजान हुनु सम्भवै थिएन । मेरो किशोरावस्थादेखि नै राजनीतिमा चासो भएका कारण राजनीतिक हिसावले सचेत गाउँ बेथानका बारेमा थोरै जानकारी थियो । खड्का, चालिसे, तामाङ, राय, पाण्डेआदि परिवारसँग गहिरै हिमचिम थियो ।
माओवादी द्वन्द्वकाल (२०५३ पौष १९) मा प्रहरी चौकी पानीघाट भिडन्तको घटना चर्चित छ । त्यस भिडन्तमा माओवादीहरू तर्फका तीन (काभ्रेपलाञ्चोक जिल्ला, चौरी गाउँका तीर्थप्रसाद गौतम, वाल्टिङ काभ्रेकै फत्तबहादुर स्माली र लखनपुर कामा रामेछापकी दिलमाया योञ्जन) को मृत्यु भएको थियो । प्रहरीतर्फ (खोटाङ्ग जिल्ला च्यास्मिटार गा।वि।स। घर भएका पानीघाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुमार राउत र मोरङ्ग जिल्ला झोराहाट गाविस घर भएका प्रहरी हवल्दार भरतकुमार अधिकारी) समेत दुई जनाको मृत्यु भएको थियो ।
त्यसरात बेथानमा आक्रमण हुँदैछ भन्ने रामेछाप प्रशासनलाई पूर्वजानकारी थियो, भन्ने बजार हल्ला व्यापक भयो । त्यसबेलाको प्रशासनले हेलचेक्र्याइ गर्नाले यो घटना घट्न पुग्यो भन्ने आरोप पनि लाग्यो । सायद उसले पाएको सूचना पत्याएन होला । प्रशासनको तर्फबाट कुनै खण्डन भएको पाइएन । बेथान, पानीघाट घटनापछि रामेछापका जोदाहाहरूले मृत्युखेलको आरम्भ गरेका थिए । त्यसपछि रामेछापले कैयौँ मृत्यु व्यहोर्नु पर्यो । यो शृङ्खला देशैभरी फैलियो ।
पानीघाटको 'वीरतापूर्ण आक्रमण' पछि माओवादी सङ्गठन व्यक्ति हत्यामा ओर्लियो । गाउँगाउँमा गएर अनेकौँ व्यक्तिव्यक्तिको निर्मम हत्या गर्नतिर लाग्यो । सरकार पनि उही व्यहोरा देखाउन थाल्यो । उनीहरूका प्रतिस्पर्धात्मक जुहारीले सर्वसाधारण जनता विस्थापित हुनेक्रम तीब्र भयो । मानिसहरूले गाउँ छाडेर सहर पस्ने, पाए र भ्याएसम्म विदेश जानेको शृङ्खला निरन्तर चल्न थाल्यो, गाउँ खाली हुँदै गयो ।
यही सिलसिलामा वि.सं. २०५८ साल फागुन ४ गते बेथानका गोविन्द खड्का मारिए । त्यसरात खड्का बहिनी (पर्शुराम? ) का घरमा देवालीका पाहुनासँग गफिन गएका थिए । सुत्नेवेला भएपछि राती अवेर घर फर्किएका खड्कालाई बेथानको पैँयुबोट भन्ने ठाउँमा विद्रोहीहरूले कव्जामा लिए । त्यहाँबाट यातना दिँदै पिपलडाँडासम्म पुर्याए ।
विहान उनको लास हेर्दा ढुङ्गैढुङ्गाले कुटिकुटी मारिएजस्तो थिल्थिलो अवस्थामा देखिन्थ्यो । कुट्दाकुट्दै मर्ने अवस्थामा पुग्दा कुट्ने मानिसका हृदयको मानवताको सामान्य मापन गर्न कठिन छ । कुटाई खाएर पनि बाँच्नेहरूले सामान्य अनुमानसम्म गर्न सक्दाहुन् । लास यति विभत्स थियो कि यस्तो क्रुर कुटाई सायद पौराणिक मिथकमा वर्णित राक्षसी राजमा समेत कल्पना गरिएन होला !!
बिहान आफन्तहरूले गोविन्द खड्कालाई पिपलका फेदमा सुतिरहेको अवस्थामा देखे । छिनछिनको समाचार सुनिरहने भएर रेडियो साथैमा बोकेर हिँड्ने गर्थे । ढल्किरहेको पार्थिव शरीरमा उनको निजी रेडियोले सरस्वतीस्तोत्र पाठ गरिरहेको थियो । नजिकै पुग्दा गोविन्द त मरिसकेका रहेछन् । गोविन्दको प्राण गएपछि उनीहरूलाई ठट्टा गर्ने मन भएछ । इच्छा पनि अचम्मको हुन्छ ।
उनिहरूले लासलाई आरामसँग पिपल चौतारामा सुस्ताएको जस्तो अवस्थामा राखिदिए । उनले बोक्ने गरेको रेडियो खोलेर एरियल समेत तानेर आराम लिएर सुन्दै निदाइरहे झैँ पारे । गोविन्दको लास माथि निर्दयी ठट्टा गरेर उनीहरू आफ्नो बाटो लागे । उहाँलाई मार्नुको कारण के थियो ? अहिलेसम्म सार्वजनिक भएन ।
(प्रस्तुत लेख, त्यसबेलाको पाैडेलकाे डायरीबाट साभार । )
प्रतिकृया लेख्नुहोस्: