Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

विद्रोही समूहले कब्जा जमाएपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति मस्को पुगे, रुसले शरण दिने

खबरडबली संवाददाता

काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल-असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

रुस असदको सत्ताको प्रमुख साझेदार रहेको थियो। सिरियाका पूर्व राष्ट्रपति र उनको परिवारले त्यहाँ शरण लिएका विवरण आएका छन्।

विद्रोही समूह एचटीएसले यसै सप्ताहान्तमा देशको राजधानीमा कब्जा जमाएको थियो। यसअघि उक्त समूहका नेता अबु मोहम्मद अल-जुलानीले दमास्कसको मस्जिदमा खुसीयाली मनाइरहेको एउटा भीडलाई समर्थन गरेका थिए।

त्यसअघि सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया "मुक्त" भएको घोषणा गरेका थिए। विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको थियो र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका थिए।

रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका थिए। असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको थिएन।

सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको बताएको थियो। असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरिरहेका छन्।

सामाजिक सञ्जालमा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ।

विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई "पूर्ण रूपबाट स्वतन्त्र पारेको" बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका थिए। विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो।

राजधानी कब्जापछि सिरियामा कसले के भने?

सिरियाका विपक्षी नेता हदि अल-बहराले अरबीक समाचार संस्था अल-अरबीयालाई असदको शासन ढलेको र "सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको" बताएका छन्।

सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्।

"हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू - जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ," उनले एक्समा लेखेका छन्।

"त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ।"

देशलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले आफू पदमा रहिरहेर देशमा सरकारको निरन्तरता कायम राख्ने काम "गर्न सघाउन तयार" रहेको बताएका थिए। उनले बशर अल-असद यतिखेर कहाँ छन् भन्ने जानकारी आफूलाई नभएको उल्लेख गरे।

नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।

अबु मोहम्मद अल-जुलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन्। आफ्नो जितलाई ऐतिहासिक क्षण बताउँदै उनले आत्मसमर्पण गर्नेलाई हानि नपुर्‍याउन आफ्ना मानिसहरू आह्वान गरेका छन्।

इरानी दूतावासमा हमला, दमास्कसको अरू अवस्था के छ?

इरानी सञ्चारमाध्यममा आएका विवरणमा दमास्कसस्थित इरानी दूतावासमा हमला भएको जनाइएको छ।

रोयटर्स समाचार संस्थाको तस्बिरमा दूतावासमा टाँगिएको इरानको रिभोलुशनरी गार्डस्‌का जनरल कासिम सुलेमानी र हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको तस्बिर च्यातिएको देखिन्छ। उनीहरू दुवैको यसअघि नै मृत्यु भइसकेको छ।

त्यसैगरी कूटनीतिक स्रोतलाई उल्लेख गर्दै त्यहाँ रहेको इराकी दूतावासलाई खाली पारिएको समाचार संस्था एएफपीले जनाएको छ। दमास्कस पुगेकी बीबीसी संवाददाता बार्बरा प्लेट असरले त्यहाँ सिरियालीहरू खुसीले नाराबाजी गरेको बताएकी छन्।

"धेरै मानिसहरू अब के होला भन्ने कुराले अत्तालिएका छन्। ती खासगरी अल्पसङ्ख्यक समुदायका मानिसहरू, असदको सत्ताका समर्थकहरू, सेनामा रहेका मानिसहरू लगायत छन्," सिरियाको राजधानीबाट असर भन्छिन्।

"मलाई लाग्छ आउँदा केही दिन धेरै मानिसहरू बाहिर धेरै देखा पर्ने वा घुलमिल गर्ने काम गर्नेछैनन्।" सहरमा गोली चलेका र विस्फोटनका आवाज सुनिए तापनि आइतवारको बिहान तुलनात्मक रूपमा शान्त रहेको उनी बताउँछिन्।

अमेरिकी प्रतिक्रिया

अमेरिकी राष्ट्रपति जो बाइडन र उनका अधिकारीहरूले "सिरियाका अभूतपूर्व घटनाक्रम"को निगरानी गरिरहेको ह्वाइटहाउसले जनाएको छ। बाइडन प्रशासन आफ्ना क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा रहेको ह्वाइटहाउसको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले यसअघि सोसल मिडियामा एक पोस्ट लेख्दै सिरियाको युद्धसँग अमेरिकाको कुनै सरोकार नहुनुपर्ने बताएका थिए। उनको भनाइ थियो: "त्यो हुन दिनुस्। यो हाम्रो लडाइँ होइन।"

आधा शताब्दीको पारिवारिक राज अन्त्य

दमास्कसमा नियन्त्रण गुमाएसँगै असद परिवार र सिरियन बाथ पार्टीको झण्डै आधा शताब्दी लामो शासन अन्त्य भएको छ। सन् २००० मा आफ्ना बुवालाई पछ्याउँदै सत्तामा आउँदा बशर अल-असद सुरुमा सुधारवादी नेताका रूपमा थिए।

तर अरब स्प्रिङका बेला सन् २०११ मा प्रदर्शनकारीहरूविरुद्ध निर्मम रूपमा उत्रिएपछि उनको त्यस्तो छवि मेटिएको थियो। सुरुमा नागरिक समाजका तर्फबाट भएको उक्त विरोधमा पछि कट्टर इस्लामवादी समूहहरू हाबी भए र सिरियामा गृहयुद्ध सुरु भयो।

उनी विद्रोही पकडका क्षेत्रमा रासायनिक अस्त्रको प्रयोग र अन्य विभिन्न अत्याचारसँग जोडिएका छन्। असदले यस द्वन्द्व सिरिया टुक्र्याउन चाहने पश्चिमा शक्तिहरूले उक्साहटबाट सिर्जना भएको आरोप लगाउने गर्छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान

महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री ...

झापामा बालेनको भीड सिद्धिसक्यो, भरसक एमालेको बहुमत नै आउँछ : ओली

प्रधानमन्त्री हुनु बाहेक मैले के अपराध गरेँ ? मैले गोली चलाएको हो र ?

पूर्वराजाको सन्देशपछि चुनावविरोधी समूह सक्रिय

दुर्गा प्रसाईंका सहयोगीदेखि शाही युवा शक्तिसम्म प्रहरी निगरानीमा

मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको ‘आत्मनिर्भर सहर’

काठमाडौं । चन्द्रमामा १० वर्षभित्रै एउटा 'आत्मनिर्भर सहर' बसाउन सकिन्छ - इलोन मस्कले हालै घोषणा गरेको योजनाले त्यसो भन्छ। एक्स, टेस्ला र स्...

दुई पालिका प्रमुख र एक उपप्रमुखलाई जसपा नेपालको कारबाही

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्त...

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभ...

मतदाताको गुनासो- चुनावमा बाचा गर्छन्, जितेपछि बिर्सन्छन्

सुदूरपश्चिम । “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, ...

मिथिला माध्यमिकी परिक्रमा: कञ्चनवन पुगेर होली खेलियो

धनुषा । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएक...

गौरको सबगढामा सदभाव भड्काउने २२ जनाविरुद्ध मुद्दा

रौतहट ।  रौतहटको गौर नगरपालिका–६ सबगढामा सदभाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको वि...

वडा वडामा मतदाता शिक्षा

मोरङ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE