काठमाडौं । अनलाइनमा काम गर्ने बहानामा तीन लाख गुमाएपछि रमा मिश्र (नाम परिवर्तन) हस्याङफस्याङ गर्दै झन्डै एक महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । त्यहाँ पुगेर पिल्लर नम्बर ३ मा गई आफ्नो घटनाको बेलीविस्तार लगाइन् ।
खासमा भएको के रहेछ भने उनले फेसबुकमा ‘घरमै बसेर मनग्गे आम्दानी गर्न सकिने’ कामको विज्ञापन देखिन् । आम्दानी हुने कामका लागि भौँतारिएकी गृहिणी उनलाई यो गज्जबको अवसर लाग्यो । त्यसपछि उनले उक्त लिङ्कमा क्लिक गरिन् । विज्ञापनको लिङ्क क्लिक गर्नासाथ उनी एक नाइजेरियाली नम्बरको ह्वाट्सएप अकाउन्टमा पुगिन् । जानी नजानी अङ्ग्रेजी टाइप गर्न जान्ने उनले कसरी आम्दानी गर्न सकिन्छ भनेर सोधिन् । उनलाई काम गर्ने प्लेटफर्म ‘जुमिया’ भएको र त्यसमा आम्दानी गर्न चाहने व्यक्तिले ग्राहक र कम्पनीबिच मध्यस्थकर्ताको भूमिका खेल्नुपर्ने बताइयो ।
रमालाई त्यस प्लेटफर्मबारे बुझ्ने चाहना बढ्यो । र, थप प्रश्न गर्न थालिन् । जुमियाबारे अझ बढी जान्न उनलाई एउटा टेलिग्राम आईडी दिइयो । अनि त्यसैमा च्याट गरेर बुझ्न भनियो । टेलिग्राम के हो भन्ने समेत थाहा नपाएकी रमाले उक्त एप इन्स्टल गरिन् । र, ह्वाट्सएपबाट पाएको टेलिग्राम अकाउन्टमा च्याट गर्न थालिन् । “त्यसमा बाहिरबाट प्रोडक्ट किन्न आएका मान्छेलाई हामीले केही सहयोग गर्नुपर्ने हुन्छ । त्यो सहयोग गरेबापत हामीलाई कमिसन आउँछ,” उक्त टेलिग्रामबाट जवाफ आयो ।
राम्रो आम्दानी हुने आश्वासन पाएपछि उनले ‘हुन्छ, म गर्छु’ भनिन् । त्यसपछि टेलिग्रामका एजेन्टले एउटा लिङ्क पठाएर अकाउन्ट बनाउन लगाए । रमाले पनि भने अनुसार नै अकाउन्ट बनाइन् । र, त्यसमा आफ्नो बैंक अकाउन्टको विवरण राखिन् । अकाउन्ट बनाउना साथ एउटा बैंक अकाउन्ट पठाएर त्यसमा एक हजार रुपैयाँ जम्मा गर्न लगाइयो । अनि रमाले एक हजार रुपैयाँ त आउँछ, जान्छ भन्ने मनसायले जम्मा गरिन् । तर, त्यही मनसाय उनका लागि तीन लाख गुमाउने दशा बन्यो ।
भनिएको अकाउन्टमा एक हजार रुपैयाँ पठाएर स्क्रिनशट टेलिग्राम च्यानलमा राखेपछि उक्त रकम जुमिया वेबसाइटमा रहेको उनको अकाउन्टमा देखियो । अनि उनलाई पहिलो पटक दुई ओटा टास्क गर्न लगाइयो । पहिलो टास्क अन्तर्गत उनले १०० रुपैयाँको सामान अर्डर गर्नुपर्ने थियो । उनले अर्डर गर्नसाथ १०० रुपैयाँ काटियो । र, अर्को टास्क आइपुग्यो । अर्को टास्क अन्तर्गत उनले ९०० रुपैयाँको सामान अर्डर गर्नुपर्ने थियो । रमाले पहिले जस्तै त्यो सामान पनि अर्डर गरिन् । त्यस लगत्तै बाँकी ९०० रुपैयाँ काटियो । सबै टास्क पूरा भइसकेपछि उनको कमिसनसहित जोडिएर २१०० रुपैयाँ बैंक खातामा आइपुग्यो ।
अर्थात् पाँच मिनेटभन्दा पनि कम समयमा उनले ११०० रुपैयाँ आम्दानी गरिन् । तर, यो माछा जालमा पार्ने चारो हो भन्ने रमालाई थाहै थिएन । उनको पहिलो दिनको काम सकियो । त्यसपछि उनी दोस्रो दिनको प्रतीक्षामा रहिन् ।
दोस्रो दिन उनलाई तीन हजार रुपैयाँ जम्मा गर्न भनियो । र, रमाले त्यसरी नै जम्मा गरिन् । अनि दिइएका टास्क पूरा गर्न थालिन् । यस पटक १००, ५००, १००० हुँदै १४०० रुपैयाँसम्मको टास्क आयो । रमाले सबै टास्क पूरा गरिन् । त्यस लगतै उनको खातामा पाँच हजार रुपैयाँ आयो । अर्थात् दोस्रो दिन उनले १० मिनेटमै दुई हजार आम्दानी गरिन् ।
उनलाई तेस्रो दिनको कामको प्रतीक्षामा राखियो । रमा दङ्ग थिइन् । पहिले फेसबुकको ‘विज्ञापन देख्दा घरमै बसेर मनग्गे आम्दानी कसरी गर्छन् होला’ भन्ने सोच्ने उनलाई पछि ‘यसरी पो रहेछ’ भन्ने लाग्न थाल्यो । तेस्रो दिन पनि एवम् रीतले रमालाई मेसेज आयो । तर, त्यस दिन उनलाई एउटा कमिसनको लिस्ट सहितको सूची पठाइएको थियो । त्यसमा कति लगानी गर्दा कति आम्दानी गर्न सकिन्छ भन्ने उल्लेख थियो । ३० हजारदेखि आठ लाख रुपैयाँसम्म लगानी गर्न सकिने भनिएको थियो । रमालाई ‘लगानी गरे फाइदा हुन्छ’ भन्ने थाहा भइसकेको थियो । तर भित्रभित्रै डर पनि थियो । त्यसैले उनले ५० हजार लगानी गर्ने बताइन् । ५० हजार लगानी गर्दा उनले ४० हजार थप कमिसन सहित ९० हजार पाउने भनिएको थियो ।
रमालाई एजेन्टले ५० हजार रुपैयाँ विभिन्न खातामा पठाउन लगाए । रमाले भने अनुसारको बैंक खातामा सरासर रकम जम्मा गरी दिइन् । त्यसपछि उनलाई टेलिग्रामकै एउटा भीआईपी क्लबमा जोडियो । त्यस ग्रुपमा कतिपय व्यक्तिहरू आफूले राम्रै रकम पाएको भन्दै स्क्रिनशट पठाइरहेका देखिन्थे । पहिले ५० हजार डुब्छ कि भन्ने डरमा रहेकी रमा स्क्रिनशटको बाढी देख्दा ढुक्क भइन् ।
यस पटक उनलाई १५ ओटा टास्क पूरा गर्नुपर्ने भनिएको थियो । तर, पहिले एउटा टास्कमा एउटा अर्डर पूरा गर्नुपर्नेमा अहिले भने एउटा टास्कमा कति बेला दुई ओटा त कति बेला पाँच ओटासम्म टास्क पूरा गर्नुपर्ने थियो । उनले जम्मा गरेको ५० हजार ५ ओटा टास्क पूरा गर्दा सकियो । त्यसपछि बाँकी १० ओटा टास्कका लागि रकम अभाव भयो ।
उनलाई थप एक लाख जम्मा गर्न भनियो । उनले एजेन्टलाई पहिले ‘५० हजार जम्मा गरे हुन्छ भन्नुभयो अहिले फेरि एक लाख भन्नुहुन्छ’ भन्दै आक्रोश पोखिन् । तर, एजेन्टले ‘नियम यस्तै छ’ भन्दै ५,००० शब्दको ‘टर्म्स एन्ड कन्डिसन’ देखाइदिए । त्यतिका टर्म्स एन्ड कन्डिसन कसले पढोस् । ‘होला त नि’ भन्ने आशयले उनले पहिले जस्तै विभिन्न अकाउन्टमा गरी कूल एक लाख रुपैयाँ जम्मा गरिन् । थप सात ओटा टास्क अर्थात् १२ नम्बरसम्मको टास्क पूरा गर्दा त्यो एक लाख रुपैयाँ पनि सकियो । अब उनले तीन ओटा टास्क पूरा गर्न बाँकी थियो । त्यसका लागि उनले थप तीन लाख रुपैयाँभन्दा बढी जम्मा गर्नुपर्ने थियो । त्यति रकम रमासँग थिएन । त्यसैले उनले एजेन्टलाई आफ्नो समस्या राखिन् । र, जम्मा गरेको रकम फिर्ता गराइ दिन अनुरोध गरिन् । त्यसपछि एजेन्टले पनि अन्तिम ५० हजार रुपैयाँ जम्मा गरे पहिले लगानी गरेको रकम पनि आउने र थप दुई लाख कमिसन आउने आश्वासन दिए । जम्मा गरेको रकम मात्र आए पनि हुन्छ भन्ने मनस्थितिमा रमा पुगिसकेकी थिइन् । त्यसैले रमाले सापटी मागेर भए पनि अन्तिम ५० हजार रुपैयाँ जम्मा गरी दिइन् अनि टास्क पनि पूरा गरिन् । उनको जुमिया अकाउन्टमा कूल पाँच लाख रुपैयाँ निकाल्न मिल्ने देखियो । रमाले उक्त रकम आफ्नो खातामा पठाइदिन अनुरोध गरिन् । तर, एजेन्टले त्यसको कर तिर्नुपर्ने भन्दै थप एक लाख पठाउन भने ।
जम्मा भएको सबै रकम ह्वाट्सएप र टेलिग्राममार्फत जुमियालाई बुझाएकी रमालाई अब भने शङ्का लाग्न थाल्यो । र, बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेकी थिइन् । अनुसन्धान अधिकृतले ‘तपाईँ जुमिया नामक नक्कली प्लेटफर्मबाट अनलाइन ठगीको शिकार हुनुभयो’ भनेपछि झसङ्ग भइन् । र, पुर्पुरोमा हात राखी आँसु झार्न थालिन् । अनुसन्धानमा खटिने प्रहरीले रमालाई उनीसँग भएका सबै प्रमाण उपलब्ध गराएर निवेदन लेख्न लगाए । र, आवश्यक परेको खण्डमा सम्पर्क गर्ने भन्दै उनलाई घर जान अनुरोध गरे ।
कहाँ जान्छ यस्तो ठगिको रकम ?
रमाले निवेदन दिएपछि अनुसन्धानमा खटिएका प्रहरीले बैंकबाट कारोबारको स्टेटमेन्ट मगाए । रमाले जुन जुन खातामा रकम पठाएकी थिइन्, त्यसको विश्लेषण हुन थाल्यो । जसमध्ये एउटा सम्झना राई (नाम परिवर्तन) को अकाउन्टमा पटक पटक गरी २५ हजार रुपैयाँ पठाइएको पत्ता लाग्यो । प्रहरीले बैंकलाई पत्र लेखी उक्त खाता रोक्का गर्न लगायो । र, सम्झनालाई सम्पर्कमा ल्यायो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार सम्झना मोरङमा बस्दै आएकी युवती हुन् । घरमा उनी र उनकी हजुरआमा मात्र बस्छन् । अर्थात् सम्झना हजुरआमाकी एक मात्र सहारा हुन् । सम्पर्कमा आएकी सम्झनालाई प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय आउन अनुरोध गर्यो । उनी प्रहरीको अनुरोध स्वीकार्दै काठमाडौं आइन् । उनको खातामा कसरी रकम आइपुग्यो भनेर प्रहरीले सोधखोज गर्यो । त्यस क्रममा सम्झनाले जे जवाफ दिइन्, त्यसले अनुसन्धानमा खटिएका प्रहरीलाई चकित बनाइ दियो ।
सम्झनाका अनुसार उनले पनि फेसबुक प्रयोग गर्दै गर्दा एक विज्ञापन देखेकी थिइन् । त्यसैमा कुरा गर्दै जाँदा उनी पनि टेलिग्राममा पुगिन् । तर, रमालाई जस्तो सम्झनालाई लगानी गर्नुपर्छ भनिएन । उनलाई टेलिग्रामका एजेन्टले भने, “तपाईंले घरमै बसेर गर्नुपर्ने काम हो । त्यसका लागि मोबाइल बैंकिङ र इन्टरनेट आवश्यक पर्छ । त्यो त छ नि ?”
सम्झनाले भएको जवाफ दिइन् । त्यसपछि उनलाई बैंकको क्यूआर पठाउन भनियो । सम्झनाले क्यूआर कोड पठाइन् । अनि उनको खातामा रकम आउन थाल्यो । उनको काम आफ्नो बैंक अकाउन्टमा आएको रकम एजेन्टले दिएको खातामा ट्रान्सफर गरी दिने मात्र थियो । यसरी उनले कारोबार गरे बापत प्रति कारोबार केही रकम पाउँथिन् । तर, त्यो कमिसनको रकम अन्तिममा उपलब्ध गराउने भनिएको थियो । यसरी दुई सातामा सम्झनाले आफ्नो बैंक खातामा आएको १० लाख रुपैयाँ एजेन्टले भनेको खातामा पठाइसकेकी थिइन् । उनले यति गरे वापत १५ हजार रुपैयाँ पाउनुपर्ने थियो । तर, एजेन्टले सो रकम उधारो राखेका थिए ।
सम्झनालाई प्रहरीले अनलाइन ठगीको आरोप त पहिलो चरणमा तपाईँमाथि लाग्छ भन्दा उनी जङ्गिन थालिन् । “मैले के गरेको छु र ? मेरो खातामा पैसा आयो, अनि मैले अरूको खातामा पठाइ दिएँ । मैले कसैसँग मागेको पनि होइन । मलाई त उनीहरूले पैसा पाउने र पठाउने जागिर दिएका हुन् । म किन फस्छु,” आफूले केही नगरेको दाबी गर्दै सम्झना जङ्गिन थालिन् ।
उनको खातामा आएको पैसाको लागि आफू जिम्मेवार हुनु नपर्ने उनको तर्क थियो । किनभने उनले त्यो पैसा केवल अरूलाई पठाइ दिएकी थिइन् । साथै, उनले उक्त पैसा अनलाइन ठगीको अपराधसँग सम्बन्धित रहेको थाहा नपाएको दाबी गरिन् ।
जति रकम उनको खातामा आएको थियो, त्यो सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्छ भन्दा सम्झनाले रकम पठाउन अस्वीकार गरिन् । आफूले गलत नगरेको र त्यति पैसा आफूसँग नभएकाले दिन पनि नसक्ने बताइन् । यदि चौकीमा थुन्ने भए आफू थुनिन पनि तयार भएको उनले सुनाइन् । यत्तिमै उनको काम सकिएको थिएन । उनलाई टेलिग्रामका एजेन्टले क्रिप्टो करेन्सी साट्ने प्लेटफर्म बाइनान्सको अकाउन्ट बनाउन लगाएका थिए । प्रहरीले सोधखोज गर्ने बेला पनि सम्झनाको फोनमा बाइनान्स एप थियो र त्यसमा अकाउन्ट लगइन भएको अवस्था थियो । तर, सम्झनाले उक्त अकाउन्टको पहुँच पनि तिनै एजेन्टसँग रहेको दाबी गरिन् । प्रहरीले सम्झनाले खोलेको बाइनान्स अकाउन्ट विश्लेषण गर्न थाल्यो ।
बाइनान्सपछि खुल्यो अस्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीको रहस्य । अनुसन्धानमा खटिएको प्रहरी टोलीले उक्त बाइनान्स अकाउन्टबाट कहाँकहाँ कारोबार भएको छ भन्ने खोज्न थाल्यो । त्यही बेला उक्त अकाउन्टबाट प्रायः सबै रकम मन्दिपा खड्का (नाम परिवर्तन) को बैंक अकाउन्टमा गएको फेला पर्यो ।
प्रहरीका अनुसार मन्दिपा खड्काको वास्तविक घर दोलखा हो । पछि उनले काठमाडौंबाट नागरिकता लिएकी थिइन् । चार्टर अकाउन्टेन्ट उनी एनएमबी बैंकमा राम्रै पदमा काम गर्थिन् । अहिले भने उनी अस्ट्रेलियामा छिन् । र, त्यहीँ बसेर क्रिप्टो ट्रेडिङ गर्छिन् । जुमियामार्फत ठगीमा परेका पीडितको रकम अन्तिममा क्रिप्टोमार्फत मन्दिपाको खातामा पुगेको छ । यस विषयमा थप बुझ्न प्रहरीले मन्दिपाका अभिभावकलाई कार्यालय उपस्थित हुन अनुरोध गरेको थियो । तर, मन्दिपाले अनुसन्धानमा सहयोग गरिनन् । उनले बाइनान्सबाट साथीले आफ्नो खातामा रकम पठाइएको दाबी गर्दै आएकी छिन् । प्रहरीले मन्दिपाको साथीको विवरण पनि मागेको थियो । तर, उनले ‘जे गर्छौ, गर भन्दै’ अस्वीकार गरिन् ।
सयौँ नेपालीलाई ठग्ने जुमिया प्लेटफर्ममा मन्दिपाको संलग्नता छ वा छैन भन्ने स्पष्ट भइसकेको छैन । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मन्दिपासँग आवश्यक विवरण माग्न प्रहरीलाई नै सकस परेको छ ।
विभिन्न देशमा रहेका व्यक्तिहरूको संलग्नताले अनुसन्धानलाई झन् जटिल बनाएको छ । उदाहरणका लागि मन्दिपा अस्ट्रेलियामा रहेकी छन्, जसले उनलाई सोधपुछ गर्न र न्यायको प्रक्रियामा ल्याउन थप कठिनाइ भएको छ । नेपाल बाहिरबाट यस्ता गतिविधि सञ्चालन गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न पनि उठेको छ । यस्तो अन्तर्राष्ट्रिय प्रकृतिको ठगीले अनुसन्धानमा कानुनी, प्राविधिक र समन्वयसम्बन्धी चुनौती खडा गरेको छ ।
यस किसिमको ठगीको अनुसन्धान कसरी अगाडि बढाउने भन्नेमा अनुसन्धान अधिकृतहरू अध्ययन गरिरहेका छन् । सम्भवतः अबको बाटो राष्ट्र बैंक हुने उनीहरूले बताएका छन् । विदेशमा बसेर क्रिप्टो ट्रेडिङमा लागि ठगीको रकम व्यवस्थापन गर्ने मन्दिपा एक पात्र मात्र होइनन् । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार यस्ता सयौँ युवा युवती विदेशमा छन्, जसले नेपालमा विभिन्न तवरबाट ठगी गरेको रकम क्रिप्टो ट्रेडिङ भन्दै अन्य विभिन्न खातामा पठाउने गर्छन् ।
प्रतिकृया लेख्नुहोस्: