काठमाडौं । राजावादीहरूले 'जनआन्दोलन'को रूप दिने भन्दै सुरु गरेको प्रदर्शन पहिलो दिनमै दुई जनाको ज्यान जानेगरी हिंसात्मक भएपछि राजसंस्था पक्षधर शक्तिले आगामी गतिविधि अब कसरी अघि बढाउलान् भन्ने चासो र चिन्ता व्यक्त भइरहेको छ।
सुरक्षा अधिकारीहरूका अनुसार राजावादीहरूको आन्दोलनका जनकमाण्डर तोकिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई प्रहरीको खोजी सूचीमा रहेका छन् भने जनआन्दोलनका संयोजक नवराज सुवेदीलाई 'घरमै नियन्त्रणमा' राखिएको अवस्था छ। परम्परागत राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई वरिष्ठ नेताहरू शुक्रवारै पक्राउ परिसकेका छन्।
यस्तो परिस्थितिमा झन्डै दुई दशकअघि जनआन्दोलन र त्यसको बलमा गठित संविधानसभाबाट गद्दीच्यूत गराइएका ज्ञानेन्द्र शाहलाई पुन: नारायणहिटी फर्काउने भन्दै राजावादीहरूले चलाएको अभियानको नेतृत्व अब कसले गर्ला भन्ने प्रश्न उब्जिएको हो।
शनिवार बीबीसीले कुराकानी गरेका राजसंस्था पक्षधरहरू नेताहरूले आन्दोलन जारी रहने बताए पनि आगामी आन्दोलनको प्रमुख नेतृत्वकर्ता को हो भन्नेमा उनीहरू स्पष्ट देखिएनन्।
नेपालमा हिन्दूराष्ट्र र राजसंस्था फर्काउने अभियान चलाउने समूहहरू कैयौँ छन् तर उनीहरूबीच एकमत नहुँदा एकल नेतृत्वको सम्भावना न्यून रहेको जानकारहरू बताउँछन्।
शुक्रवार आन्दोलनका नाममा भएको हिंसात्मक तथा ध्वंसात्मक गतिविधिको स्वामित्त्व लिन स्वयं नेतृत्वकर्ताहरू तयार देखिएका छैनन् र सार्वजनिक रूपमै उनीहरूले 'आन्दोलन नेताको नियन्त्रणमा नहुने' अभिव्यक्ति दिइसकेका छन्।
यो परिस्थितिमा शुक्रवारको आन्दोलनकोसमेत स्वामित्व ग्रहण गर्दै परम्परागत राजावादी शक्ति राप्रपाले समेत आगामी अभियानको नेतृत्व सम्हाल्छ कि सम्हाल्दैन भन्ने धेरैको चासो छ।
उसले यही चैत २६ गते काठमाण्डूमा बाग्मती प्रदेशस्तरीय प्रदर्शन तथा आमसभा र आगामी वैशाख ७ गते राजधानी केन्द्रित आन्दोलन भने घोषणा गरिसकेको छ।
आन्दोलन र आफ्ना वरिष्ठ नेताहरूको पक्राउबारे समीक्षा गर्न शनिवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बीबीसीसँग भने, "राप्रपाले पहिले नै उद्घोष गरेको कुरा हो- राजसंस्थाको पुनर्स्थापनाका लागि जोसुकैले गर्ने शान्तिपूर्ण आन्दोलनको समर्थन गर्छ। तर जोसुकैले जेसुकैका नाममा गरेको हिंसाको समर्थन गर्दैन।"
यद्यपि उनले शुक्रवार तीनकुनेमा राज्य पक्षले नै हिंसा भड्काउने काम गरेको र त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।
लिङ्देनले आफ्ना पक्राउ परेका वरिष्ठ नेताहरू हिंसात्मक गतिविधिमा संलग्न नभएको दाबी गर्दै "हिंसात्मक गतिवधिमा जोसुकै संलग्न भएको भए पनि छानबिन हुनुपर्ने" बताए।
उनले उक्त आन्दोलनका क्रममा पक्राउ गरिएका "निर्दोष नागरिकलाई नछाडे आन्दोलन जारी राख्ने" चेतावनी पनि दिए।
राप्रपामा दुई धार
राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि भन्दै पछिल्लो आन्दोलनको खाका कोरिँदै गर्दादेखि राप्रपाभित्र दुई धार देखापरेको थियो र त्यो सार्वजनिक रूपमा पनि प्रकट भइरहेको थियो।
खबरहरूमा जनाइए अनुसार ज्ञानेन्द्र शाहकै चाहनामा राजावादी आन्दोलनका निम्ति राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष एवं झन्डै चार दशकदेखि सक्रिय राजनीतिमा कमै देखिएका सुवेदीलाई आन्दोलनको नेता बनाइएको हो। यद्यपि त्यसलाई उनले सार्वजनिक रूपमा खण्डन गर्दै आएका छन्।
आन्दोलन अघि बढाउन सुवेदीलाई नेतृत्वकर्ता बन्न सबैभन्दा पहिले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र नेता हरिबहादुर बस्नेतले प्रस्ताव गरेको सुवेदीले इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा बताएका थिए।
उनका भनाइमा "सबै पक्षलाई समेटेर आन्दोलन अघि बढाउन सर्वमान्य नेतृत्व" आवश्यक परेको भन्दै राप्रपाका ती नेताहरूबाट प्रस्ताव आएको थियो।
त्यसमा राप्रपाका अन्य नेताहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको पनि समर्थन रहेको र उनीहरू सबै एक ठाउँमा उभिएको सुवेदीले खुलाएका छन्।
तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित अन्य कैयौँ नेताहरूले सुवेदीको नेतृत्व स्वीकार गरेनन्।
उनीहरूले राप्रपाको नेतृत्वमा आन्दोलन गर्ने भन्दै त्यसका लागि परिचालन समिति बनाए र त्यसको संयोजक लिङ्देनलाई तोके।
यद्यपि शुक्रवार हुने भनिएको आन्दोलनको पूर्वसन्ध्यामा राप्रपाले 'जोसुकैले गरेको राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको आन्दोलनलाई नैतिक समर्थन गर्ने' जनाएको थियो।
यद्यपि त्यसमा वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणाबाहेक राप्रपाका अन्य वरिष्ठ नेताहरू प्रदर्शनमा देखा परेनन्।
लिङ्देनको डर निर्मलनिवाससँग
सुवेदीलाई आन्दोलनको नेतृत्वकर्ता तोक्ने कार्य पूर्वराजाको चाहनामा भएको बताइने गरेको छ। सबै राजावादीलाई मान्य हुने नेतृत्व खोज्ने क्रममा ८६ वर्ष सुवेदीलाई नेता चुनिएको धेरैको बुझाइ छ।
शुक्रवारको प्रदर्शनअघि सुवेदी र दुर्गा प्रसाईले निर्मल निवास पुगेर पूर्वराजा शाहलाई छुट्टाछुट्टै भेटेका थिए। ती भेटलाई लिएर पनि मानिसहरूले सुवेदी र प्रसाई ज्ञानेन्द्र शाहद्वारा रुचाइएका नेता रहेको हुन सक्ने ठानेका छन्।
बिहीवार निर्मल निवासमा लामो छलफल गरेर फर्केपछि नै प्रसाईलाई आन्दोलनको जनकमाण्डर तोकिएको थियो।
त्यसैलाई उल्लेख गर्दै कतिपय गणतन्त्रवादीहरूले शुक्रवारको हिंसा शाहकै निर्देशनमा भएको आरोप समेत लगाइरहेका छन्।
ज्ञानेन्द्रलाई भेटर फर्किएपछि र आन्दोलनको जनकमाण्डर तोकिएपछि सञ्चारकर्मीहरूसँग प्रसाईले पनि पूर्वराजासँग आन्दोलनबारे छलफल भएको तर उनीसँग भएको "सबै कुरा खुलाउन नमिल्ने" बताएका थिए।
उनले राप्रपाप्रति सङ्केत गर्दै "राजसंस्थालाई आफूले भजाएर चुनाव नलडेको" र श्रीपेच खुस्किएपछि शाहले पहिलो पटक आफ्नै कार्यक्रममा "दीयो बालेर राजसंस्था पुनर्स्थापना अभियानमा सहभागिता जनाएको" बताएका थिए।
राप्रपाका कतिपय नेताहरूका अनुसार सुवेदी र प्रसाई ज्ञानेन्द्र शाहको चाहनामा राजावादी आन्दोलनको नेतृत्वकर्ता तोकिएको ठानिएकाले पार्टी अध्यक्ष लिङ्देन निर्मलनिवासका कारण दल विभाजन हुने हो कि भन्ने चिन्तामा परेका छन्।
त्यसको मुख्य कारण हो भने- पछिल्लो महाधिवेशनमा निर्मलनिवासको साथ पाएर उनी अध्यक्ष बन्नु र कमल थापाले पराजय भोग्नु।
सार्वजनिक रूपमा लिङ्गदेनले त्यस्तो आरोपको खण्डन गरेका थिए। तर आफ्नो हारलगत्तै कमल थापाले चाहिँ निर्मलनिवासलाई दोष लगाएका थिए।
त्यस लगत्तै राप्रपा नेपाल गठन गरेका थापाले राजसंस्था पुनर्स्थापनाको आफ्नो पुरानो अजेन्डा छाडेका थिए। यद्यपि अहिले उनी पुन: राजसंस्था पुनर्स्थापनाको मागमा फर्किएका छन्।
राप्रपाकै कतिपय नेताका अनुसार लिङ्देनलाई "जसरी कमल थापालाई हराएर आफूलाई जिताउन निर्मलनिवासले भूमिका खेल्यो त्यसैगरी अहिले दल विभाजन गराइदिने हो कि भन्ने" भय उत्पन्न भएको छ।
"तपाईँलाई निर्मलनिवासले दल विभाजन गरिदेला भन्ने डर छ रे नि त?" भन्ने बीबीसीको प्रश्नमा लिङ्देनले हाँस्दै भने, "यो बिलकुलै गलत कुरा हो र त्यस्तो हुँदा पनि होइन र छँदा पनि छैन। यो गलत सूचना हो।"
उनले शुक्रवारको घटनालाई लिएर पूर्वराजालाई राजनीतिमा तान्ने काम नगर्न पनि सबैलाई आग्रह गरे।
राप्रपाले अब के गर्ला?
नेपालमा गणतन्त्र स्थापना भए पनि राजतन्त्रका पक्षमा सधैँ अभियान चलाइरहेको परम्परागत दल राप्रपाले बेलाबेला हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्ने गरेको छ।
उक्त दलका अध्यक्ष लिङ्देनले "कुनै रक्तपातबिना सहमतिबाटै" वा "दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधनमार्फत्" राजसंस्था पुनर्स्थापना गर्ने बताउँदै आएका छन्।
तर पछिल्ला वर्षहरूमा दुर्गा प्रसाई पूर्वराजा निकट बनेको र उनीसहित विभिन्न समूहले सडकमा गतिविधि गर्न थालेपछि तथा लिङ्देन इतरसमूहका नेताले पार्टीभित्रै सडकमा जानुपर्ने आवाज उठाएपछि उनी दबाबमा परेको ठान्नेहरू धेरै छन्।
सुवेदी नेतृत्वमा राजावादीहरूले सडक आन्दोलनको घोषणा गरेपछि अहिले पनि राप्रपा आन्दोलनमा जानुपर्ने अवस्थामा पुगेको बताइन्छ।
गत वर्ष सरकारलाई राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना, सङ्घीयता खारेजीजस्ता ४० बुँदे माग राखेर राप्रपाले एउटा मागपत्र पनि बुझाएको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला उनलाई भेटेर मागपत्र बुझाएका लिङ्देनले त्यस बेला पनि "कुनै रक्तपातबिना सल्लाह र सहमतिबाट" दलहरूबीच "नयाँ सम्झौता" गरेर अघि बढ्ने सम्भावना आफूले देखेको बताएका थिए।
उनका भनाइमा त्यस्तो सम्झौता "सबै अटाउने, कोही उपेक्षित महसुस नगर्ने" प्रकारको हुन सक्छ।
प्रतिनिधिसभामा १४ सांसद रहेको संसद्को पाँचौँ ठूलो दल राप्रपाका सांसदहरूले संसद्मा पनि बेलाबेला राजसंस्था पुनर्स्थापनाको विषयमा बोल्ने गर्छन्।
शनिवारको बैठकमा राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई निरन्तरता दिनेमा आफूहरू सहमत बनेको लिङ्देनले बताए। उनले भने, "यो आन्दोलन त अब निरन्तर हुन्छ। परिस्थिति अनुसार अघि बढ्दै जान्छ।"
नवराज सुवेदी नेतृत्वको आन्दोलन के होला?
सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन जारी रहने जनाएको छ।
हाल घरैमा सुरक्षा नियन्त्रणमा रहेका सुवेदीले शनिवार एउटा विज्ञप्ति निकाल्दै भनेका छन्, "...जनआन्दोलन जनताले देशैभरि शान्तिपूर्ण तवरले गर्नु हुनेछ भन्ने अनुरोधसहित जनता अघि लागेर गर्ने आन्दोलन र जनचाहनाको हामी सदैव पक्षमा रहने छौँ, साथ दिनेछौँ।"
"स्मरण रहोस् यस्तो किसिमको विषम परिस्थितिमा कसैबाट धमिलो पानीमा माछा मार्ने प्रयास नगरियोस् । देशभक्त जनताको आन्दोलन जारी छ।"
उनले पूर्वराजालाई बदनाम गराउने काम भइरहेको भन्दै "जनताद्वारा गरिने जनआन्दोलन कुनै पनि नेताको इसारामा नचल्ने" र "जनचाहना र जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्ने" दाबी गरेका छन्।
राजसंस्था पुनर्स्थापना अभियानमा सुवेदी समूहमा सल्लाहकारको भूमिकामा रहेका संस्कृतिविद् जगमान गुरुङलाई "तपाईँहरूको संयोजक नजरबन्दमा र कमाण्डर सम्पर्कविहीन भएपछि अब आन्दोलन के हुन्छ?" भनेर बीबीसीले सोधेको थियो।
त्यसको उत्तर दिँदै उनले भने, "हाम्रो नेता नवराज सुवेदी नै हो र नजरबन्दमा भए पनि अब आन्दोलन रोकिँदैन। कुनै नेता बेपत्ता भयो भनेर जनता चुप लागेर बस्दैनन्। उनीहरू आफैँ नेतृत्व गर्छन्।"
यद्यपि उनले शुक्रवार भएको हिंसाको घटनामा आयोजकहरू पनि दोषी रहेको बताए। गुरुङले भने, "त्यस्तो घटना आयोजकको अकर्मण्यताका कारण हुन गयो। अब आयोजकले आत्मालोचना गर्दै आन्दोलनलाई अघि बढाउनु पर्छ।"
यद्यपि तीनकुने घटनापछि आफ्नो दुर्गा प्रसाई, नवराज सुवेदी र राजेन्द्र लिङ्देनसहित कुनै पनि राप्रपा नेताहरूसँग कुराकानी नभएको उनको भनाइ छ। बीबीसी
प्रतिकृया लेख्नुहोस्: