काठमाडौं । बानेश्वरस्थित संसद् भवन प्रवेश गर्ने गेटहरूदेखि बैठक कक्षसम्म पुग्न सांसदहरूले कम्तीमा तीन सुरक्षा घेरा पार गर्नुपर्छ । प्रायः सबै प्रहरीले सबै सांसदलाई चिनेका पनि हुन्छन् । तर, शुक्रबार आठ महिनादेखि फरार एक कांग्रेस सांसद सरासर संसद्भित्र पुगिन्, हाजिरी गरिन् र फर्किइन् । प्रहरीले ‘नदेखेझैँ’ गर्यो ।
सहकारी ठगीमा प्रहरीको खोजी सूचीमा रहेकी कांग्रेसकी फरार सांसद माया राई आठ महिनापछि संसद्मा उपस्थित भएकी हुन् । संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार नेपालका अनुसार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा सदस्य राईले संसद्मै पुगेर हाजिर गरेकी छिन् ।
हाजिरलगत्तै उनी हिँडेकी थिइन् । पक्राउ पुर्जी जारी गरेको प्रहरीले भने उनलाई संसद् भवनपरिसरमा भेट्टाएन । अहिले गृह प्रशासनकै संरक्षणमा राईलाई संसद्मा उपस्थित गराइएको संसद्का पदाधिकारी बताउँछन् । उनले संसद्को तलब–भत्ता पनि नियमित बुझेकी छिन् ।
भोजपुरबाट आदिवासी जनजाति कोटातर्फ समानुपातिक सांसद राई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा पक्राउ पुर्जी जारी भएपछि फरार थिइन् । उनी भदौयता सदन र समितिमा अनुपस्थित रहँदै आएकी थिइन् ।
पक्राउ पुर्जी जारी भएर प्रहरीको गिरफ्तारी छल्दै हिँडेकी राई १८ माघदेखि १९ चैतसम्म २७ वटा बैठक चलेको हिउँदे अधिवेशनमा एक दिन पनि उपस्थित भइनन् । राईले अनुपस्थितिको सूचना पनि दिइनन् ।
अधिवेशन सकिएको भोलिपल्ट संविधान र नियमावलीविपरीत पद जोगाउन संसद् सचिवालयको कार्यव्यवस्था तथा परामर्श महाशाखामा बिरामी रहेको भनेर अनुपस्थितिको सूचना दिएकी थिइन् । अग्रिम सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भए स्थान रिक्त हुने संविधानको धारा ८९ (घ)अनुसार राईलाई पदमुक्त गर्नुपर्नेमा सरकार र सभामुखको योजनामा पद जोगाउनका लागि संसद्मा उपस्थित गराई हाजिर गराइएको एक पदाधिकारीले बताए ।
‘पहिलो सहकारी ठगीमा फरार हुनुहुन्छ । गृह प्रशासनकै संरक्षणमा उहाँलाई संसद्मा उपस्थित गराइयो,’ ती पदाधिकारीले भने, ‘दोस्रो उहाँ सूचना नदिएर १० भन्दा बढी बैठकमा अनुपस्थित हुनुभएको छ । यो भनेको स्थान रिक्तताको अवस्था हो । सरकारले गिरफ्तार नगरेको र सभामुखले स्थान रिक्तताको सूचना नटाँसेका वेला उच्च तहकै संरक्षणमा पद जोगाउन हाजिर गराइयो । कानुन बनाउने ठाउँमै विधिको उल्लंघन भयो ।’
यसअघि फरार अवस्थामा एमाले सांसद लक्ष्मी कोइरी महतो संसद्मा उपस्थित हुँदा चर्काे विरोध भएको थियो । फरार अवस्थामा कोइरीको बिरामी बिदा स्वीकृत गराउँदा विपक्षीले सदनमै विरोध गरेका थिए । यद्यपि, कोइरीले पछि अभियोगबाट सफाइ पाएका थिए । अहिले कांग्रेस सांसद राई पनि राज्यकै संरक्षणमा सुटुक्क उपस्थित भई हाजिर गरेर हिँडेकी हुन् ।
त्यस्तै, नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ६९ लाख बचत अपचलनमा राप्रपा सांसद गीता बस्नेतविरुद्ध एक वर्षअघि नै पक्राउ पुर्जी जारी भए पनि प्रहरीले नियन्त्रणमा लिएको छैन । १२ महिनादेखि संसद्मा अनुपस्थित राईको दुईपटक बिरामी बिदा स्वीकृत गरिदिएर सभामुख देवराज घिमिरेले पद जोगाइदिएका छन् ।
सहकारी ठगीमा संलग्नता पुष्टि हुँदा पनि सत्तारूढ दल कांग्रेसकी सांसद भएकाले उनलाई पक्राउ गर्न गृह मन्त्रालयले स्वीकृति नदिएको प्रहरी स्रोत बताउँछ । पद जोगाउनकै लागि गृह मन्त्रालयसमेतको मिलेमतोमा फरार रहेकै अवस्थामा उनलाई सुटुक्क संसद्मा हाजिर गर्ने वातावरण मिलाइएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले पहिलो चरणमा अनुसन्धान गरी गत २१ पुसमा ३९ जनाविरुद्ध मुद्दा दायर गरी थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गर्ने बताएको थियो । तर, त्यसमा फरार सांसद संसद्मा हाजिर गर्न जाँदा पनि प्रहरीले चासो नदिनुले प्रहरी अनुसन्धान सत्ताको छायामा परेको प्रस्ट भएको छ ।
काठमाडौं परिसरका एसएसपी विश्व अधिकारी सांसद राईले संसद्मा हाजिर गरेको विषयमा जानकारी नभएको बताउँछन् । ‘स्वर्णलक्ष्मी सहकारीको ठगीमा थप अनुसन्धान चलिरहेकै छ,’ उनले भने, ‘फरारहरूको खोजीको काम भइरहेको छ ।’
प्रहरी अनुसन्धानका क्रममा सहकारीमा गरेका निर्णयका माइन्युट भेटिएका छन् । ऋण प्रवाह गर्नेलगायत निर्णयमा सांसद राईको हस्ताक्षर भेटिएको स्रोत बताउँछ । उनी दुई कार्यकाल स्वर्णलक्ष्मीको सञ्चालक समितिमा बसेकी थिइन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीका अनुसार सहकारीका माइन्युट र संसद्मा उनले गरेको हस्ताक्षरसमेत ‘म्याच’ भइसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: