काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एकपछि अर्को राजनीतिक संकटमा छन् ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका नेपालको सांसद पद त निलम्बित छ नै संसदीय दलको नेता र पार्टी अध्यक्ष पदमा समेत नैतिक प्रश्न उठिरहेको छ ।
५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगसँगै आन्दोलनमा उत्रिएका नेपाल ९ भदौ २०७६ मा पार्टी विभाजन गरेर अलग्गै बाटो लिने बाध्यतामा पुगे ।
अलग पार्टी निर्माणपछि निर्वाचनमा नेपाली कांग्रेस नेकपा माओवादीसँग मिल्दै अघि बढ्नुपर्ने अवस्था तथा निर्वाचनपछि पार्टीले थ्रेसहोल्ड कटाउन नसक्दा सिनियरदेखि तल्लो तहका धेरै कार्यकर्ता पुरानो पार्टी नेकपा एमालेमा फर्किए भने पार्टीले पनि नयाँ स्वरूप लिन नसकेको आरोप झेलिरह्यो ।
पार्टी महाधिवेशनमा निर्वाचनको अवस्था बन्न लाग्दा झलनाथ खनालतिर लाग्नसक्ने सम्भावना भएका बलिया नेताहरूलाई आफूतिर आकर्षित गरेका अध्यक्ष नेपालले महाधिवेशन लगत्तैबाट उनीहरूलाई अविश्वास गरेको आरोप लागिरहेको छ ।
अझ जनसंगठन तथा भूगोल कमिटीहरूमा एकलौटी गरेको आरोप थेगिनसक्नु छ । कार्यकर्ताको नर्सरी मानिने अनेरास्ववियु र युवा संघमा त समानान्तर गतिविधि नै छन् । पार्टीको जनपरिचालन करिब ठप्प रहेको पार्टीका शीर्षतहका नेताहरू बताउँछन् ।
संविधान र प्रचलित कानुनअनुसार भ्रष्टाचार मुद्दा दायर भएको मानिस त्यही संविधान र तिनै कानुन मानेर त्यही प्रणालीअन्तर्गत राजनीतिक पार्टी र संसदीय नेतृत्वमा बस्नु उपयुक्त नभएकाले विकल्प खोज्नुपर्ने बहस उठिरहेको एकीकृत समाजवादीका एक पदाधिकारी बताउँछन् ।
विभाजनको आशंका
नेकपा एमालेबाट दल विभाजन गरी निर्माण भएको नेकपा एकीकृत समाजवादी पनि विभाजनको त्रासमा छ । लामै समयदेखि जुनसुकै बेला फुट्नसक्ने आशंका गरिएको यो पार्टी बलियो र साझा नेताको अभावमा विभाजन हुन रोकिएको विद्रोही समूहनिकट स्रोतको दाबी छ ।
पार्टी निर्माणमा माधव नेपाललाई बलियो साथ दिएकी संस्थापक सचिव रामकुमारी झाँक्रीलाई अध्यक्ष नेपालले महाधिवेशनताका खनालतर्फ जानबाट रोक्न ‘भावी नेतृत्व’को आश देखाएर आफूलाई सर्वसम्मत बनाउन निर्णायक परिचालन गरेका थिए ।
तर, महाधिवेशन सकिएलगत्तै झाँक्रीलाई नै निर्वाचन हराउन सक्रिय भएका नेपाललाई अल्पमतमा रहनेगरी पार्टी विभाजन गर्न झाँक्री लागेको सूचना नेपालसमक्ष पुगेको थियो । पछिल्ला केही समयअघि नेकपा एकता केन्द्रसँग पार्टी एकता भएपछि अध्यक्ष नेपालविरुद्ध बलियो मोर्चाबन्दी भइरहेको सूचना अध्यक्ष नेपालसमक्ष पुगेको स्रोतको दाबी छ ।
वामदेव गौतमले एकीकृत समाजवादीसँग एकता गर्न खोजेको अघिल्लोपटक नै करिबकरिब तयारी अन्तिम भएपछि अध्यक्ष नेपालकहाँ एउटा सूचना पुगेको थियो–गौतमको प्रवेशसँगै एकीकृत समाजवादीमा विभाजनको रेखा कोरिन्छ ।
गौतमको नेतृत्वमा बहुमत प्रतिनिधिसभाका बहुमत सांसदसहित विभाजन गरी एमालेलाई संसद्को पहिलो पार्टी बनाउने सर्तमा सम्मानजनक एकता गराउने ‘फर्मुला’सहित पार्टी एकता हुन खोजेको भन्ने सुइँको नेपालसमक्ष पुगेपछि नेपालले आफूनिकट एक विश्वासिला पदाधिकारीमार्फत वामदेवलाई रोकेको चर्चा एकीकृत समाजवादीभित्र चलेको थियो ।
वामदेवको नेतृत्वमा हुने यस्तो गतिविधिलाई सम्मानित नेता झलनाथ खनालको मौन समर्थन रहने विश्वास गर्दै नेपालले त्यतिबेला रोकेका थिए । सम्मानित नेता खनाल चीन भ्रमणमा रहेका बेलामा गौतमसँग संवाद बढाएर पार्टी एकताको तय गरेका थिए । तैपनि गौतमले केही दिनअघि दिएको अभिव्यक्तिले नेपालमा विभाजनको त्रास बढेको छ ।
वाम एकता बहस गञ्जागोल
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रलाई अहिले साझा रूपमा एउटा प्रश्न उठिरहेको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेलामा पार्टी एकता गर्ने भन्दै बनाइएको समाजवादी मोर्चा कहाँ पुग्यो र पार्टी एकताको एजेन्डा कसरी छुट्यो भन्दै कम्युनिस्ट नेता कार्यकर्ताले प्रश्न उठाइरहेका छन् ।
पार्टी एकताको नाममा माओवादी केन्द्रले महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबाट विभाजित गंगानारायण श्रेष्ठ नेतृत्वको समूहसँग एकता ग¥यो । श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिँदै श्रेष्ठ समूहका नेतालाई केन्द्रीय सदस्यमा समेत जिम्मेवारी दियो ।
यस्तै, एकीकृत समाजवादीले नेकपा एकता अभियानका संयोजक वामदेव गौतमसँग पार्टी एकता ग¥यो । गौतमलाई एकीकृत समाजवादीले तेस्रो वरीयताका नेताका रूपमा पार्टीमा जिम्मेवारी दिएको छ ।
साना दलसँगको एकताबाहेक कम्युनिस्ट आन्दोलनलाई ठोस गति दिने र जनमत प्रभावित हुनेगरी एकता अभियान चलाउन नसकेकामा माओवादी र एकीकृत समाजवादीले पार्टीभित्र र बाहिरबाट आलोचना खेपिरहेका छन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: