Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

खबरडबली संवाददाता

गोरखा । अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा व्यस्त । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर ।

आफूजस्तै दिनरात श्रम गरेर खाने दौँतरीसँग उनको समय बित्छ । लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एउटा मात्रै घर छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्छन् । सम्पत्तिको नाममा घरले चर्चेको यही जग्गा हो उनको । त्यसले असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के !

“योभन्दा बाहेक टेक्ने जग्गा पनि छैन । सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गा हो । यसैमा सरकारले बनाइदिएको सानो घर र दुईचारवटा कुखुरा छन् । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छन्”, कुसुन्डाले भने ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ मात्रै छ । यसैमा पर्छ चेतबहादुरको आठ सदस्यीय परिवार । उनको परिवार विगत ४५ वर्षदेखि गोनपा–११ स्थित तेह्रकिलोमा बसोबास गर्दै हो । विसं २०३८ मा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ । उनी आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना सुनाउँछन् । 

“१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, चेतबहादुरले भने, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’भनेपछि जानै प¥यो !”

आमा सुमित्रा वनकिरानीले आफू र दुई छोरीलाई कहिले यता, कहिले उता सारेको कष्टकर दिनको सम्झिँदा चेतबहादुर अहिले पनि गम्भीर बन्छन् । दिदीबहिनी दुवैले तेह्रकिलोबजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उनले सुनाए । “दुवै जनाले क्षेत्रीसँग बिहे गरे । दिदीको बुढा ड्राइभर थिए, हामी पनि दिदीकै रेखदेखमा यही बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर खलासीको काम गरेँ”, चेतबहादुरले भने ।

खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उनले बताए । “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेछन् । हामी आमाछोरा नै जग्गा पाउने आसमा त्यही गयौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्थिन् । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन अनि एक वर्षपछि तेह्रकिलोमै फर्किएँ । आमा पनि म यहाँ आएको केही वर्षपछि फर्किइन्”, चेतबहादुरले भने ।

उनले २०–२२ वर्षको उमेरमा नजिकै पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गरे । बिहेपछि दुईपटक कतार र एक पटक साउदी पनि पुगे । उनका दुई भाइछोरा र एक छोरी छन् । जेठो छोरो ३२ वर्षीय अनिल कुसुन्डा हाल ड्राइभर छन् । अनिलले भच्चेककी बिमाया गुरुङसँग बिहे गरेका छन् । उनको दुईभाइ छोरा छन् ।

छोरी अनिता कुसुन्डाले तेह्रकिलोमै बिहे गरेकी छन् । कान्छो छोरो २८ वर्षीय अशोक कुसुन्डा हाल वैदेशिक रोजगारीमा छन् । भोगटेनीकी आशा गुरुङसँग विवाह गरेका अशोकका एक छोरा र एक छोरी छन् ।

आफ्ना तीनैजना छोराछोरीले ४–५ कक्षा पढ्दै छोडेको उनले बताए । “नपढ्नेलाई जति कराए पनि लाग्दैन रहेछ । सानैमा बिहे गरेर अहिले छोराछोरीको धनी भएका छन्”, चेतबहादुरले भने, “म पनि अक्षर चिन्दिनँ । छोराछोरीले के पढ्थे ।”

चेतबहादुरकी श्रीमतीको भने मृत्यु भइसकेको छ । “बुडिया बितेको त चार वर्ष भयो । आमा पनि पोहोरको चैतमा खसेकी हुन्”, उनले भने, “आफन्तका नाममा दिदीबहिनी र ससुराली छन् । आमाको माइती लमजुङको भोटेओडार हो । मावली टाढा भयो, आउजाउ छैन ।”

आफू १० वर्षको हुँदा बितेका बुबा गनबहादुर कुसुन्डा को थिए ? कहाँबाट आएका थिए ? र उहाँको परिवार को हुन् भन्नेबारे चेतबहादुर बेखबर छन् । उनलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । उनले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ पनि गरेका छैनन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखपछि आफू खुसी हुने गरेको उनको भनाइ छ ।

“अन्ततिरको कुसुन्डाहरूले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिबारे केही थाहा हुन्थ्यो होला”, उनले भने । आफूहरूले अरू हिन्दूसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताए । उनी भन्छन्, “दसैँ, तिहार सबै मनाउँछौँ । अरूले जस्तै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामाचाहिँ भाले चढाउनु पर्छ ।”

सरकारले उहाँको आठ जना परिवारलाई प्रतिव्यक्ति मासिक चार हजारका दरले भत्ता दिँदै आएको छ । हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको हो । अब सरकारले लोपोन्मुख कुसुन्डा जातिको उत्थान र संरक्षणका लागि थप कार्यक्रम ल्याउनुपर्ने चेतबहादुरको भनाइ छ । सरकारले आफूहरूको लागि उचित बासस्थानको व्यवस्था मिलाउनुपर्ने उनको माग छ ।  रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending