बाजुरा । भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ ।
भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ । यहाँ भगवान् शिवले लामो समय बसोवास गरेकाे धार्मिक विश्वास रहिआएको बडिमालिकाका पुजारी भानुभक्त पाध्यायले जानकारी दिए ।
हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थल पछिल्ला केही वर्षयता स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रूपले यो क्षेत्र पर्यटक र भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका अनुपम उपहार हुन् ।
यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्दा जोकोही आकर्षित र मोहित हुन्छन् । समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गिचङ्गी फूल, विष्णुपानी, धर्मद्वार प्रसिद्ध स्थल हुन् ।
स्थानीयको भनाइअनुसार परापूर्वकालमा भगवती र महिसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा आजसम्म पनि देख्न पाइन्छ । यहाँ डाँफे, मुनाल, कस्तुरी, झालरलगायत दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् । सफा मौसमका बेला बडिमालिकाबाट उत्तरतर्फका अपूर्व हिमश्रृङ्खलासहित अपी, सैपाल हिमाल स्पष्ट देख्न सकिन्छ ।
सवारी साधन सञ्चालन हुने सडक पूर्वाधारको अभावमा घोडेटो बाटो हुँदै पैदल हिँडेर यहाँ पुग्न केही कठिनाइ भएपनि पुगेपछि आध्यात्मिक शान्ति, मनोरम हरियाली पाटन, हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यका अगाडि यात्राका क्रममा हुने कठिनाइ गौण हुने बताइन्छ । धार्मिक र पर्यटकीय दृष्टिले यो क्षेत्रको महत्त्व अत्यधिक भएपनि पूर्वाधार जुटाउने विषयमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो भक्तजनको छ । स्तरीय बाटो, खानेपानी र शौचालयको अभाव, धर्मशाला एवं बासस्थानको कमीले तीर्थालुलाई कठिनाइ हुने गरेको छ ।
सुरक्षित पैदल मार्ग बन्न नसकेका कारण बाटोमा चिप्लिएर दर्शनार्थीले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर चिप्लिएर कतिपयले अकालमा ज्यान गुमाउनु परेको तथ्य पनि छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश पर्यटन विकास कार्यक्रम एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार चालु वर्षमा बडिमालिकामा शौचालयसहितको अतिथि गृह र विश्राम गृह निर्माणको योजना रहेको छ । उनले भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण बजेट विनियोजन भए पनि सबै काम समयमै सम्पन्न हुन नसकेको बताए ।
आगामी वर्ष एसियाली विकास बैंकको सहयोगमा थप पूर्वाधार विस्तारको तयारी भइरहेको उनले जानकारी दिए । उच्च भूभाग भएकाले अक्सिजनको कमीले ‘लेक लागेर’ बेहोस हुने समस्या पनि कतिपय तीर्थयात्रुले भोग्नुपरेको उल्लेख गरियो ।
यस वर्ष लागेको मेलामा ४५ हजार बढी भक्तजनले बडिमालिका माताको पूजा तथा दर्शन गरेका छन् । नेपाल स्काउट, सुदूरपश्चिम प्रदेशका प्रमुख आयुक्त नरेन्द्र थापाका अनुसार साउन १४ गतेदेखि सुरु भएको नवाह यज्ञसहितको मेला साउन २३ गते मुख्य पूजा गरेर सम्पन्न भएको हो । नेपाली सेनाले करिब दुई करोडको लगानीमा परम्परागत मन्दिरलाई नयाँ शैलीमा कलात्मक रूपमा जीर्णोद्धार गरेको अवसरमा यसपालि मेलाको अवधि बढाइएको थियो ।
नव ब्राह्मणद्वारा नौ दिनसम्म गरिएको पूजा–पाठले वातावरणलाई अझ पवित्र र भव्य बनाएको थियो । विगतमा जनैपूर्णिमाको अघिल्लो दिन मात्र पूजासहित मेला लाग्ने परम्परा रहे पनि अहिले यहाँ वर्षभरि नै पर्यटक आउन थालेका छन् ।
बाजुरा, डोटी, जुम्ला, कालिकोटका साथै भारतका श्रद्धालु पनि यहाँ आउने गरेका छन् । प्रत्येक वर्ष सरकारी टोलीसहित पूजा सामग्री ल्याउने परम्परा अझै जीवित छ । परम्परागत बाजागाजासहितको सांस्कृतिक कार्यक्रमले मेलाको वातावरणलाई उत्साहपूर्ण बनाएको थियो । बडिमालिका माताको दर्शन र पूजा गर्नाले मनोकामना पूरा हुने, रोगव्याधी निको हुने, निसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वासले यहाँको धार्मिक महत्वलाई अझ गहिरो बनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: