जीवनमा मानिसले धेरै अनुभूति गर्छ खुसी, पीडा, सफलताका क्षण र हारका पलहरू। तर, पिता गुमाएको पीडा भने ती सबैभन्दा गहिरो र अविस्मरणीय अनुभवमध्ये एक हुन्छ। स्वर्गीय पिताको स्मृतिले मनमा एउटा अनन्त खालीपन छोड्छ, जुन कसैले पनि भरिदिन सक्दैन।
पिता केवल परिवारका अभिभावक मात्र होइन, उनी जीवनका पहिलो शिक्षक, साथी, र मार्गदर्शक पनि हुन्। सानैदेखि हात समातेर हिँड्न सिकाउने, गल्ती गर्दा नरम तरिकाले सम्झाउने, नमाने गालि गर्ने, अझ नटेरे पिट्ने र कठिनाइमा आत्मबल दिन सक्ने व्यक्तित्व नै पिता हुन्।
पिता यो शब्द आफैंमा एक विशाल भाव हो, जसमा अनुशासन, माया, त्याग र आत्मबल मिसिएको हुन्छ। मेरो जीवनको आधारस्तम्भ बन्नु भएका स्वर्गीय पिताको सम्झना आज पनि मेरो मनमा निरन्तर गुञ्जिरहन्छ।
म मेरो जीवनको मूल आधार खोज्दा सधैं एउटा छायाँ देख्छु मेरो पिता। उहाँसँग बिताएका दिनहरू अब सम्झनामा मात्र बाँकी छन् तर ती स्मृतिहरू आज पनि मेरो आँखा रसाउने र मनलाई बलियो बनाउने शक्ति बनेर बसेका छन्।
पिता भन्नासाथ मेरो आँखासामु उभिन्छ मौन रहि कर्म गर्ने, परिवारलाई ढाल जस्तै जोगाउने, र जीवनलाई सरल तरिकाले हेर्न सिकाउने अनुहार। उहाँले मलाई कहिल्यै ठूलो सपना मात्र देखाउनुभएन, त्यो सपना पुरा गर्ने बाटो पनि देखाइदिनुभयो। उहाँका शब्दहरू आज पनि कानमा गुञ्जिन्छन् “साँचो भएर बाँच, कठिनाइलाई डर होइन अवसर ठान”।
बाल्यकालको त्यो सानो हात समातेर क ख सिकाउने उहाँको स्पर्श अझै मेरो छालामा जिबितै छ। स्कुलबाट म घर फर्किँदा उहाँको कामले थाकेको शरीर देखिन्थ्यो, तर मसँग बोल्दा कहिल्यै थकाइ देखाउनुहुन्नथ्यो। कहिल्यै आफ्नो दुःख सुनाउनुभएन, तर मेरो सानो चोटपटकमा उहाँको आँसु बन्ने गर्थ्यो।
म आज पनि सम्झन्छु आफ्नो पेट खाली हुँदाहुँदै पनि, हामीलाई तृप्त पार्नुभएको मुस्कान। आफ्नो सपना भुलेर, हाम्रो सपना पूरा गर्नुभएको समर्पण। आफ्नो पीडा लुकाएर, हाम्रो खुसीलाई पहिलो प्राथमिकता दिनुभएको माया।
जीवनको बाटोमा जब(जब म ठोक्किन्छु र निशासिन्छु उहाँका भनाइहरू कानमा गुन्जिन्छन् “साँचो बाटो सजिलो हुँदैन, तर त्यही बाटोले तिमीलाई सही गन्तव्यमा पुर्याउँछ।”
आज पिता, तपाईं शारीरिक रूपमा मसँग हुनुहुन्न। तर तपाईंको शिक्षा, अनुशासन र माया मेरो हरेक साससँग जोडिएको छ। तपाईंलाई सम्झिँदा आँसु पोखिन्छन्, तर त्यही आँसुले मलाई अझ दृढ बनाउँछ।
पिता, तपाईंलाई सम्झँदा म आफैंलाई सम्झाउँछु तपाईंले ममा बोकेको सपना, तपाईंले सिकाएको धैर्य, तपाईंले छोडेको अमूल्य आशीर्वाद र जिम्मेवारी निभाउन निरन्तर जिवनको गोरेटोमा हिडिरहेको छु, आज धमिला छन् सबै कुरा तर सङ्लिएको छ तपाईंको याद ।
आज पिताजी शारीरिक रूपमा यहाँ हुनुहुन्न, तर उहाँको शिक्षाले जीवनमा अझै उज्यालो छरेको छ। उहाँले देखाएको इमानदारी, अनुशासन र प्रेमले अझै पनि बाटो देखाइरहेको छ। हरेक निर्णयको पृष्ठभूमिमा उहाँको सम्झना हुन्छ, हरेक सफलतामा उहाँको आशीर्वाद महसुस हुन्छ।
स्वर्गीय पिता अब सम्झनाको संसारमा मात्र हुनुहुन्छ, तर स्मृतिहरू सजीव छन्। हरेक हाँसोमा उहाँको अनुहार झल्किन्छ, हरेक आँसुलाई पुछ्ने शब्द उहाँकै जस्तो लाग्छ। जीवनले सिकाएको सबैभन्दा ठुलो पाठ नै यो हो शरीर छुट्छ, तर मायाले बाँधिएको सम्बन्ध कहिल्यै मर्दैन।
त्यसैले, बुबा अब परलोकमा भए पनि, उहाँको माया, सम्झना र आशीर्वाद सधैं सँगै रहिरहन्छ। म सम्झन्छु, कठिन परिस्थितिमा उहाँले कति धैर्यका साथ परिवारलाई सम्हाल्नुभयो। कहिल्यै आफ्नो दुःख देखाउनुभएन, तर सधैं हाम्रो लागि मुस्कान बाँड्नुभयो। उहाँकै हातले दिइएको शिक्षाले आज म जीवनको झड्का सहन सक्ने बल पाएको छु।
स्वर्गीय पिताको सम्झना केवल पीडाको कथा होइन, त्यो एउटा प्रेरणाको यात्रा हो। उहाँ मेरो जीवनमा आज पनि उपस्थित हुनुहुन्छ मेरो निर्णयमा, मेरो सोचमा, मेरो बाटो रोजाइमा।
शरीर अब सँगै छैन, तर आत्मा सदैव मेरो वरिपरि अनुभूत हुन्छ। उहाँको सम्झनामा आँसु झर्छ, तर त्यही आँसु समेटेर हिड्ने आँट पलाउँछ । आज जब म पिताको स्मृतिमा ढोग्छु, मन भन्छ “पिता, तपाईं मेरो लागि केवल एक अभिभावक मात्रै होइन, एउटा शाश्वत मार्गदर्शक हुनुहुन्छ। तपाईंको माया र शिक्षा सदैव मेरो जीवनको उज्यालो बन्नेछ।”
आज तपाईं स्मृतिमा मात्र हुनुहुन्छ, तर मेरो आत्मामा सदैव जिउँदै हुनुहुन्छ। मेरो सफलताको हरेक सानो क्षण तपाईं प्रति समर्पित छ, र मेरो असफलताको हरेक क्षणमा तपाईंको सम्झनाले नै मलाई फेरि उठाउँछ।
जसले हामीलाई जीवनका पहिलो पाठ पढाए, प्रेम र साहसको शिक्षा दिए, आज यहाँ नभए पनि हाम्रो हृदयमा सदैव जीवित रहिरहन्छन् । यस चराचर जगतका सम्पूर्ण पिताहरुलाई कुसे औंसी तथा “बुबाको मुख हेर्ने दिन” को हार्दिक शुभकामना । साथै परलोकमा रहेका मेरा प्रिय पितृ तथा सबै पिताहरुको स्मृतिमा हार्दिक श्रद्धाञ्जली । तपाईंहरुको आदर्श, ममता र संरक्षणको स्मरण सधैं हाम्रो जीवनको मार्गदर्शक रहिरहोस् ।
प्रतिकृया लेख्नुहोस्: