Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

जेन–जी विद्रोह : पहिलो दिनका सबैजसो मृतकको छाती र टाउकोमै गोली

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा काठमाडौंमा मारिएकामध्ये सोमबारसम्म २८ जनाको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएकामा सबैजसोको टाउको र छातीमा गोली लागेको पाइएको छ । 

पहिलो दिन २३ भदौमा प्रहरीले जथाभावी गोली प्रहार गर्दा २१ जना मारिएका थिए, जसमा १७ जना ३० वर्षमुनिका थिए । दोस्रो दिन प्रदर्शनका क्रममा देशभर ३९ जनाको ज्यान गएको थियो । तीमध्ये १५ जना विभिन्न व्यापारिक भवन र निजी घरमा जलेको अवस्थामा भेटिएका थिए ।

भाग्ने क्रममा थप ५ बालबन्दी र ५ कैदीबन्दीको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार ७ शव चिन्न नसकिने अवस्थामा छन् । ‘त्यसका लागि डीएनए परीक्षण गर्नुपर्छ । दाँत, फिंगर प्रिन्टबाट शव परीक्षण हुन्छ,’ उनले भने । काठमाडौं उपत्यकामा दुई दिनमा मारिएका ४७ मध्ये २८ जनाको पोस्टमार्टम भएको छ । त्यसमध्ये २३ शव परिवारले बुझिसकेका छन् ।

सुरुमा प्रहरी मुचुल्का नभएर पोस्टमार्टम रोकिएको थियो । पछि प्रहरीले सिफारिस दिएपछि पोस्टमार्टम हुन थालेको थियो । तर मृतक तथा घाइते परिवार संघर्ष समितिले सरकारसँग १४ बुँदे माग अघि सार्दै सुनुवाइ नभई शव नउठाउने अडान लिएको थियो । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअघि भेला भएर पीडित परिवारले नाराबाजी गरेका थिए ।

मृतकका परिवारको माग सम्बोधन नगरी मन्त्रीहरू नियुक्त हुन थालेपछि आफन्त आक्रोशित बनेको हामी नेपाल समूहका सुदन गुरुङले बताएका थिए । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले मागपत्र बुझ्दै कार्यान्वयनका लागि मुख्य सचिव एकनारायण अर्याललाई निर्देशन दिएपछि आफन्त शव उठाउन राजी भएका हुन् ।

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पनि अस्पताल पुगेर माग पूरा गर्ने वाचा गर्दै मृतक र घाइतेका परिवारलाई सान्त्वना दिएका थिए । त्यसो त यसअघि पनि छिटपुट शव उठाइएको थियो ।

प्रधानमन्त्री कार्कीले नै आइतबार जेन–जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने र १० लाखका दरले राहत दिने घोषणा गरेकी थिइन् । सोमबार भने मन्त्रिपरिषद् बैठकले १० लाख राहत र थप खर्च ५ लाख गरी १५ लाखका दरले उपलब्ध गराउने निर्णय गरेको छ । मृतकलाई सहिद घोषणा गर्ने, राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्ने, शव लैजान गाडी र दुर्गममा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

मन्त्रिपरिषद्ले १ असोजमा राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । दोषीलाई कारबाही गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

मागपत्रमा भने मृतकका आफन्तलाई शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता, संसद् भवनको प्रवेशद्वार र सम्बन्धित जिल्लामा सहिदहरूको सालिक निर्माण गर्नुपर्नेलगायत माग पनि उल्लेख छन् ।

यसरी संगठित भए पीडित परिवार

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुन थालेपछि परिवारजनले शव बुझ्दै लान थालेका थिए । स्नेहा केसीको मनले भने दिदी रचनाका छोरा रसिक खतिवडाको शव त्यत्तिकै लिएर जान मानेन । यसमा स्नेहालाई बहिनीले भर दिइन् । त्यसपछि न्यायको माग गर्दै त्रिवि शिक्षण अस्पतालमै धर्ना बस्न थालिन् । स्नेहाका अनुसार उनीहरू रसिकको फोटो हातमा लिएर धर्ना बसेका थिए । पहिलो दिन अरू कोही आएनन् ।

अर्को दिनदेखि धर्ना बस्ने परिवार थपिन थाले । ‘हामीले नेसनल हिरो भनेर समूह बनायौं । मेरो दाइ रसिक केसीले ह््वाट्सएपमा समूह बनाउनुभयो । त्यसपछि हामीलाई भेट्ने विभिन्न मान्छे आउन थाल्नुभयो,’ उनले सुनाइन्, ‘उहाँहरूले हाम्रो मागमा चासो राख्नुभयो ।’ समूहमा आबद्ध भएकाहरू आइतबार साँझ प्रधानमन्त्री भेट्न बालुवाटार पुगे । ‘हामीले चार घण्टा कुर्‍यौं, १० बजेपछि त लखेट्न थाले । त्यसपछि हामी चर्कियौं,’ स्नेहाले भनिन्, ‘राति १२ बजिसकेको थियो । राति कोहीले सुन्दैन भन्ने भएपछि हामी फर्कियौं ।’

सोमबार पनि माग पूरा नभए कालोपट्टी बाँधेर शव उठाउने योजनामा थिए उनीहरू । ‘तर आज (सोमबार) हाम्रो माग सुनुवाइ भयो,’ स्नेहाले भनिन् । २२ वर्षीय रसिक खतिवडालाई २३ भदौमा गोली लागेको थियो । मृतक तथा घाइते परिवार संघर्ष समितिका सदस्य कमल सुवेदीले सहिद परिवार एकीकृत भएका कारण माग सम्बोधन गराउन सफल भएको बताए । 

उनका अनुसार सुरुमा पीडित परिवार एकीकृत थिएनन् । सबै जना आत्तिएका थिए । भावविह्वल थिए । कतिपय अचेत थिए । ‘साथीहरू सबै जुट्यौं । सहिद परिवार खोज्दै फोन नम्बर माग्दै एकीकृत भयौं । सामाजिक सञ्जालमा ग्रुप बनायौं । ग्रुपमा सहिदका परिवारलाई जोड्दै गयौं । त्यसपछि संघर्ष समिति गठन गर्‍यौं,’ उनले भने ।

काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । पीडित परिवारले त्रिवि शिक्षण अस्पताल परिसरमा सहिदको आत्माको शान्तिको कामना गरेर हरेक दिन दीप प्रज्वलन गर्न थाले । सुवेदीका अनुसार सुरुमै जंगीअड्डामा माग ईमेल गरेर पठाइए पनि केही प्रतिक्रिया आएन । शुक्रबार पत्रकार सम्मेलन गरियो । त्यसपछि काठमाडौं महानगरपालिकाले विज्ञप्ति निकालेर शव व्यवस्थापनको जिम्मेवारी लियो ।

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार सहिद परिवारसँग भेटेर माग सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएकी थिइन् । आइतबार लिखित सम्झौता गर्ने उनको भनाइ थियो । आइतबार सम्झौता हुने आसमा उनीहरूले बालुवाटार गएर कुरे । त्यहाँ प्रधानमन्त्रीसँग भेट भएन ।

साँझ प्रधानमन्त्रीका स्वकीय सचिवले मृतक तथा घाइतेको माग सम्बोधन गर्न प्रक्रियागत रूपमा जानुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गर्न सुझाए । सुवेदीले सुनाए, ‘प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई फोनमार्फत कार्यालयमा बोलाई दर्ता गरेर सम्झौता गर्न बालुवाटारमा पुग्यौं ।’ तर राति ११ बजेसम्म पनि सम्झौता भएन । सैनिकले राति अबेर भइसकेको भन्दै प्रधानमन्त्री निवासबाट बाहिरिन आग्रह गरेपछि उनीहरूले नाराबाजी गरे ।

त्यसपछि हामी नेपाल समूहका सुदन गुरुङले माग सम्बोधन गराउने जिम्मेवारी लिएको संघर्ष समितिका सदस्य सुवेदीले जानकारी दिए । ‘अब शव व्यवस्थापन गर्छौं । सेनासँग समन्वय गरेर काठमाडौं उपत्यकाबाहिर पठाउनुपर्ने शव हेलिकोप्टरमार्फत पठाउँछौं,’ उनले भने, ‘माग पूरा नभएसम्म सरकारलाई घचघच्याइरहनेछौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending