काठमाडौं । राजनीतिमा निरन्तरता र प्रतिबद्धता दुबै कुरा महत्त्वपूर्ण हुन्छन् । तर नेपाली वाम राजनीतिमा कहिलेकाहीँ विचारभन्दा स्वार्थ र अवसरको खेल बढी हावी हुने गरेको देखिन्छ । अहिले नेकपा (माओवादी केन्द्र)भित्रको विवाद त्यसकै नवीन उदाहरण हो ।
पार्टीले हालै विभिन्न वाम समूहसँग एकता गर्दै नाम र चुनाव चिन्ह परिवर्तन गर्ने निर्णय गरेको छ । यो निर्णयलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “समयको माग” भन्दै समर्थन गरेका छन् । तर यही प्रस्ताव एक वर्षअघि राख्ने नेता जनार्दन शर्मा ‘प्रभाकर’ नै अहिले त्यसको कट्टर विरोधी बनेका छन् ।
केही समय अघि बसेको माओवादी केन्द्रकाे स्थायी समिति बैठकमा प्रभाकरले “पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार” शीर्षकमा विस्तृत लिखित प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमा उनले स्पष्ट रूपमा भनेका थिए-“वर्तमान परिवेश र काम अनुसार तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्न, साथै आम जनताले सहज रूपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने ।”
त्यो समय उनले पार्टीलाई नयाँ युगअनुरूप ढाल्न नाम र चिन्ह फेर्नुपर्ने जोड दिएका थिए । तर अहिले, जब त्यही विचारलाई नेतृत्वले संस्थागत रूप दिन लागेको छ, उनी त्यसको विरोधमा उत्रिएका छन् । यसले उनको राजनीतिक स्थिरताभन्दा व्यक्तिगत स्वार्थ र असन्तुष्टिको झल्को दिएको छ ।
सिद्धान्तमा होइन, स्वार्थमा राजनीति
प्रभाकर अहिले भन्छन्-“आदर्शविहीन एकता पार्टीका लागि विनाशकारी हुन सक्छ ।” तर प्रश्न उठ्छऔ-जब उनले स्वयं यही एकताको बाटो अघि सारेका थिए, त्यसबेला यो ‘आदर्शविहीन’ किन लागेन ? पार्टीभित्र सानो अल्पमतमा रहे पनि नेतृत्व र जिम्मेवारी पाउँदा एकता ‘आवश्यक’ देख्ने, तर आफू निर्णय प्रक्रियाबाट टाढा हुँदा त्यसैलाई ‘विनाशकारी’ ठहर्याउने प्रवृत्तिले उनको राजनीतिक सोचमा असंगति देखाउँछ ।
यो विरोध सिद्धान्तगत होइन । यो असन्तुष्टि व्यक्तिगत असहजता र प्रभाव गुमाउने डरमा आधारित देखिन्छ । प्रचण्ड नेतृत्वप्रति असहमति राख्न सकिन्छ, तर विचारको निरन्तरता तोडेर राजनीतिक विरोध गर्नु नै जनतामा भ्रम फैलाउने काम हो ।
दुई दशकभन्दा बढीको संघर्षपछि माओवादी आन्दोलन आज एउटा मोडमा छ । जहाँ विचारको रक्षा र संगठनको पुनर्संरचना दुबै जरुरी छन् । यही सन्दर्भमा प्रचण्डको अहिलेको कदमलाई ‘सामयिक पुनर्गठन’को रूपमा बुझ्नुपर्छ ।
उनले भनेझैं, “विभिन्न वामशक्ति एउटै छातामुनि आउनु नै क्रान्तिकारी पुनर्गठनको सुरुवात हो ।” विगतका विभाजन र आन्तरिक अविश्वासका कारण कमजोर बनेको वाम राजनीति फेरि एउटै धारमा फर्कन सक्ने सम्भावना अहिले देखिएको छ ।
एकता नै व्यवहारिक क्रान्ति
वाम आन्दोलन विचार र सिद्धान्तमा मात्र होइन, व्यवहारमा पनि जनतासँग नजिक हुनुपर्छ । त्यसका लागि संगठनात्मक एकता अनिवार्य छ । नाम र चिन्ह परिवर्तनले त्यसैको प्रतीकात्मक र मनोवैज्ञानिक प्रभाव जनतामाझ ल्याउन सक्छ ।
प्रभाकरको विरोधले त्यो सम्भावनामा अवरोध सिर्जना गर्छ । साँचो क्रान्तिकारीपन विचारको कठोर उच्चारणमा होइन, समयको मागअनुसार दिशानिर्देशन गर्न सक्ने क्षमतामा निहित हुन्छ । अहिले प्रचण्डले त्यही नेतृत्व क्षमता देखाएका छन् ।
माओवादी आन्दोलन अहिले पुनर्जागरणको मोडमा उभिएको छ । यही समयमा प्रभाकरको विरोधले पार्टीभित्रको वैचारिक बहसलाई होइन, व्यक्तिगत असन्तुष्टिलाई मात्रै उजागर गरेको छ । प्रचण्डको एकताको पहलले वाम शक्तिलाई पुनः एउटै दिशामा ल्याउने, जनताको विश्वास पुनर्स्थापित गर्ने र समाजवादी आन्दोलनलाई नयाँ ऊर्जा दिने सम्भावना बोकेको छ । बरु प्रभाकरजस्ता नेताहरूले व्यक्तिगत गुनासोभन्दा माथि उठेर पार्टीको दीर्घकालीन हितमा ध्यान दिनु समयको माग हो ।
समयले फेरि एकपटक पुष्टि गरिदिएको छ । स्थायी राजनीति विचारको कठोरताबाट होइन, व्यवहारिक एकताबाट टिक्छ । प्रचण्ड अहिले त्यसै दिशामा अघि बढिरहेका छन् । प्रभाकरकाे विराेध स्वार्थमा केन्द्रित प्रष्ट रुपमा देखिएकाे छ । माओवादी केन्द्रमा हुँदा पनि प्रचण्डसँग नजिक भएर धेरै लाभ लिने नेतामध्ये पनि प्रभाकर एकमा पर्दछन् ।
प्रतिकृया लेख्नुहोस्: