काठमाडौं । आगामी कात्तिक २६ गते भिम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा समाहित हुँदैछ । यो घटनालाई नेपाली वाम राजनीतिमा नयाँ एकताको संकेतका रूपमा लिइएको छ । तर, यो एकता केवल रणनीतिक कदम हो वा गहिरो वैचारिक सहमति—त्यसमा प्रश्नचिन्ह पनि देखिन्छ ।
भिम रावल लामो समयदेखि वाम राजनीतिका दृढ अनुयायी र राष्ट्रवादी धारका नेता मानिन्छन् । नेकपा (एमाले) भित्रको असन्तुष्टि, नेतृत्वको केन्द्रीकरण र वैचारिक विचलनका कारण उनी अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालनमा जुटेका थिए । रावलले बारम्बार “राष्ट्रको स्वाभिमानमा सम्झौता हुँदैन” भन्ने नारा अघि सार्दै आएका नेता हुन् ।
उनले एमालेबाट अलग हुनुको मुख्य कारण केपी शर्मा ओलीको व्यक्तिवादी प्रवृत्ति र आन्तरिक लोकतन्त्रको कमी थियो । तर लामो समयसम्म स्वतन्त्र अभियानले जनस्तरमा ठूलो संगठनात्मक आधार निर्माण गर्न नसकेको वास्तविकता पनि देखियो । यस्तो परिस्थितिमा, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले ‘एकीकृत वाम धारा निर्माण’ को प्रस्ताव अघि सारेपछि रावलको समूहले त्यसलाई अवसरका रूपमा हेरेको देखिन्छ ।
रावलको दृष्टिकोणमा यो कदम राष्ट्र, राष्ट्रियता र समाजवादका साझा एजेन्डा अगाडि बढाउन ‘एकीकृत मोर्चा’ निर्माण गर्ने प्रयास हो । उनको राजनीतिक यात्राले प्रष्ट देखाउँछ-उनी वैचारिक रूपमा अझै पनि वाम, राष्ट्रियतावादी र समाजवादी दिशामा स्थिर छन् ।
रावलको आगमनले नेपाली कम्युनिस्ट पार्टीलाई वैचारिक गहिराइ र संगठनात्मक सन्तुलन दिने अपेक्षा गरिएको छ ।
पहिलो, रावलसँग वाम राजनीतिमा लामो अनुभव र ‘राष्ट्रवादी छवि’ छ । उनको प्रवेशले पार्टीलाई मध्यम वर्ग, बौद्धिक समुदाय र राष्ट्रियता प्रति सचेत जनताबीच सन्देश पुर्याउन मद्दत गर्न सक्छ ।
दोस्रो, प्रचण्ड–नेपाल नेतृत्वमा निर्माण भएको नयाँ पार्टीमा विश्वसनीय नेतृत्वको अभाव भएको आरोप लाग्दै आएको छ । त्यस्तो अवस्थामा रावल जस्ता अनुशासित र नीतिगत नेता भित्रिनुले पार्टीको विश्वसनीयता र वैचारिक स्थायित्व बढ्ने सम्भावना छ । दाेस्रो, रावलको संयमित र तर्कपूर्ण राजनीतिक शैलीले वाम दलहरूबीच संवाद र सहकार्यको वातावरण सृजना गर्न सक्छ । यसले वाम एकता पुनर्जीवनको मार्ग पनि खुलाउन सक्छ ।
तर यो एकता केवल फाइदामात्र होइन, चुनौतीपुर्ण पनि छ ।
पहिलो, नेपाली कम्युनिस्ट पार्टी आफैंले अहिले सम्म ठोस नीति र संगठनात्मक संरचना पूर्ण रूपमा स्पष्ट गर्न सकेको छैन । यस्तो अस्पष्ट दलमा रावलको समावेश व्यावहारिकभन्दा बढी प्रतीकात्मक बन्न सक्ने खतरा छ ।
दोस्रो, प्रचण्ड, माधव नेपाल र रावलबीचको विगतका राजनीतिक मतभेद गहिरा छन् । सत्ता र संगठनमा कसको भूमिका कस्तो हुने भन्ने विषयले फेरि विवाद जन्माउन सक्छ ।
तेस्रो, रावलले विगतमा बारम्बार “राष्ट्रवादमा सम्झौता हुँदैन” भनेका थिए । तर अब त्यही वाक्यांशलाई व्यवहारमा कसरी रूपान्तरण गर्छन् भन्ने चुनौती उनको व्यक्तिगत छवि र विश्वसनीयतासँग जोडिएको विषय हुनेछ ।
चौथो, रावलको समूहले आफ्नै स्वतन्त्र पहिचान गुमाउने र ठूला नेताको छायाँमा हराउने जोखिम पनि छ । यदि नयाँ पार्टीले आन्तरिक लोकतन्त्र र नीति–निर्णयमा सामूहिकता कायम गर्न सकेन भने, यो एकता दीर्घकालीन हुन सक्दैन ।
भिम रावलको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेशलाई वाम राजनीतिमा संभावनाको झिल्को मान्न सकिन्छ । यो कदमले विगतका विभाजन र असन्तुष्टिलाई केही हदसम्म मलम लगाउने अपेक्षा छ । तर यो एकता साँचो अर्थमा “वैचारिक मिलन” बन्न नसकेर “राजनीतिक समीकरण” मा सीमित रह्यो भने, रावलको राष्ट्रवादी छवि र नेपाली वाम आन्दोलन दुवै फिक्का हुन सक्छन् ।
यसैले, अबको प्रश्न-रावलले राष्ट्रको स्वाभिमानको नारा प्रचण्ड–नेपालसँगको गठबन्धनमा पनि कायम राख्न सक्छन् कि सक्दैनन् ? उत्तर त्यहीबाट तय हुनेछ-यो एकता वाम पुनरुत्थानको सुरुवात हो कि अर्को सम्झौतामात्र । त्याे भने हेर्न बाँकी छ ।
प्रतिकृया लेख्नुहोस्: