माेरङ । विराटनगर विमानस्थल परिसरमा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत चढेको गाडीमा रातो मसी छ्याप्ने प्रयास भएको घटना स्वभावतः निन्दनीय छ ।
कुनै पनि लोकतान्त्रिक समाजमा हिंस्रक वा आक्रमणकारी व्यवहार स्वीकार्य हुँदैन । बस्नेतले सामाजिक सञ्जालमार्फत घटनामा संलग्न युवाहरूलाई नेपाल विद्यार्थी सङ्घसँग जोड्दै यो आचरण लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको टिप्पणी गरेका छन् । उनको भनाइ स्वरूप सही देखिए पनि, यो घटनाले बस्नेतकै अघिल्ला व्यवहार र भाषाशैलीमा उठेका प्रश्नहरूलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ ।
पछिल्ला केही वर्षयता महेश बस्नेत राजनीतिक व्यक्तित्वभन्दा बढी विवादका कारण चर्चामा रहने नेता बनेका छन् । उनी जहिले जहाँ पुगे पनि उत्तेजक भाषण, मनपरी टिप्पणी र युवा पुस्तालाई लक्षित गरेर गरिने तिखा अभिव्यक्ति उनका नियमित पहिचान जस्ता बनेका छन् ।
यस्ता व्यवहारले उनी जेन-जी पुस्तामाझ लोकप्रिय होइन, बरु ‘विरोधी पात्र’ का रूपमा स्थापित हुँदै गएका छन् ।राजनीतिक नेतृत्वले युवालाई प्रेरित गर्ने, लोकतान्त्रिक मूल्यमा उभ्याउने, सहभागितामा प्रोत्साहन गर्ने भूमिका खेल्नुपर्नेमा बस्नेतका शब्द र शैलीले उल्टै विभाजन, चर्काचर्की र असहिष्णुतालाई प्रश्रय दिइरहेको देखिन्छ ।
केही अघि मात्र बारा–सिमरामा देखिएको उदण्ड व्यवहार पनि यसको उदाहरण हो । सार्वजनिक कार्यक्रममा भड्किलो भाषाशैली अपनाउनु, सुरक्षा संयन्त्रलाई चुनौती दिनेजस्ता क्रियाकलाप र समाजलाई धुवाँधारमा पार्ने खालका गतिविधिले उनीमाथि प्रश्न थपिएका छन् । जहाँ पुग्छन्, त्यहीँ विवाद जन्मिने, स्थानीय युवासँग चर्काचर्की हुने, प्रतिपक्ष वा भिन्न मत राख्ने प्रति असहिष्णुता देखिने-यी सबै घटनाले बस्नेतको राजनीतिक परिपक्वतामाथि आङ्कन गर्न बाध्य पार्छ ।
यसरी जब कुनै नेता सार्वजनिक पद र जिम्मेवारीमा बसेर निरन्तर उत्तेजक शैली अपनाउँछन् । त्यसले समाजमा अनावश्यक तनाव र द्वन्द्व बढाउँछ । शान्ति–सुरक्षा जोगाउनुपर्ने नेतृत्व नै पनि विभाजनकारी भाषणमा उत्रिएपछि आम नागरिकमा नेतृत्वप्रतिको विश्वास कमजोर बन्नु स्वाभाविक हो । बस्नेतले प्रतिपक्षी युवाहरूका केही गतिविधिलाई "लोकतान्त्रिक मूल्य मथ्थर बनाउने" भन्दै आलोचना गर्दा पनि, प्रश्न फेरि उनीमै आइपर्छ । के उनको बोली र व्यवहारले लोकतन्त्रको मान्यता मजबुत बनाएको छ त, वा झनै क्षय गरिरहेको छ ?
युवापुस्ताले राजनीतिबाट आशा गर्छ । सम्बोधनको, अवसरको, सकारात्मक नेतृत्वको । तर जेन-जी पुस्ताले बस्नेतलाई भन्न थालेको ‘बेबुनियादी आक्रोशयुक्त नेता’ को पहिचान लोकतन्त्रको भविष्यका लागि शुभ संकेत होइन । युवाहरूले राजनीतिक नेतृत्वलाई अनुकरणको पात्रका रूपमा हेर्न खोज्दा, उनी जस्ताबाट पाउने सन्देश भने निराशा, आक्रोश र नेतृत्वप्रति अविश्वास हो ।
विराटनगरको रातो मसी घटना निन्दनीय छ, तर राजनीतिक आचरण र संस्कार निर्माणमा बस्नेतजस्ता नेताको भूमिकालाई पनि त्यतिकै गम्भीर रूपमा मूल्यांकन गर्न आवश्यक छ । हिंसा गलत नै हो, तर हिंसाको बीउ राजनीतिक अशिष्टता, मनपरी र दमनकारी भाषणले पनि रोपेरै जान्छ । देश सामाजिक रूपमा तनावमुक्त, राजनीतिक रूपमा जिम्मेवार र लोकतान्त्रिक रूपमा समृद्ध बन्न चाहन्छ । त्यसका लागि राजनीतिक नेतृत्वले आफ्नो बोली-व्यवहारमै पहिला सुधार ल्याउनुपर्छ ।
महेश बस्नेतको आवेगशीलता, आक्रामकता र असहिष्णुतामा आधारित शैलीले देशको शान्ति-सुरक्षा र राजनीतिक संस्कारलाई दिगो रूपमा क्षति पुर्याउने जोखिम बढ्दैछ । उनी आफूलाई दुव्र्यवहारको शिकार भएको भन्दै चिन्ता व्यक्त गर्दा, देशले पनि उनीबाट उत्पन्न भइरहेका राजनीतिक तनाव र उदण्डताप्रतिको चिन्ता उतिकै बराबर देखाइरहेको छ । लोकतन्त्रमा संवाद, संयमता र जिम्मेवारीले हुनुपर्छ । आक्रोश र उदण्डताले होइन ।
प्रतिकृया लेख्नुहोस्: