काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकहरूसँग गरेको भेटवार्तामा पार्टीभित्रै बढ्दै गएको अस्थिरता, अविश्वास र द्वन्द्वको मूल कारक ‘वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल’ नै भएको संकेत प्रष्ट रुपमा दिएका छन् ।
ओलीका कथन र उपकथनले पार्टीलाई विचलित बनाउने, नेतृत्वलाई कमजोर पार्ने र बाह्य शक्तिलाई फाइदा पुग्ने वातावरण सिर्जना गर्ने व्यक्तिमै पोखरेल भएकाे बताएका छन् ।
अध्यक्ष ओलीले आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई आयोगमा गएर बयान दिनुपर्छ भनेर दिएको अभिव्यक्तिको प्रतिवाद गरेका छन् । त्यस्तो अभिव्यक्तिलाई उनले ‘वैरभाव’ को संज्ञा दिए ।
‘उहाँलाई के भएको छ, किन सञ्चो भएन मलाई थाहा भएन । बयान दिन जाने नजाने मेरो कुरा हो, के गर्नुपर्छ त्यो मलाई थाहा छ,’ ओलीले भने । बुधबार मात्र पोखरेलले अध्यक्ष ओली जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा गएर बयान दिनुपर्ने बताएका थिए ।
ओलीले समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै २२ गते आउने कुरा ख्याल गर्न कार्कीलाई चेतावनी दिए । ‘ध्यान राखेर र होस सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु,’ ओलीले भने ।
जेनजी आन्दोलनसम्बन्धी घटनामा ओलीले आयोगमा बयान दिनुपर्छ भन्ने पोखरेलको टिप्पणीप्रति ओली कडा र स्पष्ट देखिए । यस्तो टिप्पणी बाहिरबाट होइन, उपाध्यक्षकै तहबाट आउनु ओलीले ‘राजनीतिक अवसरवाद’ र ‘आन्तरिक युद्ध’ को संकेतका रूपमा व्याख्या गरे ।
उनको बुझाइमा पोखरेलको उद्देश्य पार्टीलाई संस्थागत बलियो बनाउनु होइन, नेतृत्वलाई कमजोर पार्दै व्यक्तिगत महत्त्वाकाङ्क्षा अघि सार्नु हो ।
महाधिवेशनलाई ‘दबाबको राजनीति’ बनाउन ओली चुनाैती
महाधिवेशनमा सहमति हुन ओलीले छाड्नुपर्छ भन्ने पोखरेलको भनाइप्रति अध्यक्ष ओलीले तीव्र प्रहार गर्दै भने- ‘म दबाबमा काम गर्ने मान्छे होइन ।’
यो भनाइ केवल राजनैतिक अस्वीकार मात्रै होइन-पोखरेलले महाधिवेशनलाई ‘ब्ल्याकमेलिङ’ को ठाउँ बनाएको आरोपको संकेत थियो । बाहिर–बाहिर उम्मेदवारी घोषणा गर्दै घुम्ने शैली, नेतृत्वलाई कमजोर देखाउने अभियान, र ‘ओली भए सहमति हुँदैन’ भन्ने पुनरावृत्त वाक्यांश-यी सबैलाई ओलीले पार्टी फुटाउने संकेतका रूपमा चित्रित गरे ।
ओलीको बुझाइमा पोखरेल सहमतिका नाममा ‘पूर्वसर्त राखेर’ महाधिवेशनलाई बन्धक बनाउने, अनि सहमति भाँडिए नेतृत्वलाई दोष दिने रणनीति अपनाइरहेका छन् ।
मेरा राजनीतिक सन्देश कमजोर पार्ने पोखरेल
ओलीले सम्पादकहरूसँग तीन मुख्य राजनीतिक सन्देश दिए—प्रतिनिधिसभा पुनर्स्थापना हुने, कांग्रेस–एमाले भविष्यको मुख्य शक्ति बन्ने, र आफू तेस्रोपटक अध्यक्ष बन्न तयार रहेको ।
तर यी सबै राजनीतिक संदेशहरू भित्रैबाट कमजोर पार्ने काम भएको उनको संकेत स्पष्ट थियो ।
एमालेभित्र १४३ पार्टीको तमासा भन्दाहरूसँगै ओलीले सांकेतिक रूपमा पोखरेल नेतृत्वलाई ‘अन्तरिक विघटन केन्द्र’ का रूपमा उतारेका छन् । ओलीका अनुसार बाहिरभन्दा भित्रकै अविश्वास, जनभावनालाई कमजोर पार्ने नक्कली नैतिकता, सहमतिको नाममा राखिने पूर्वसर्त, नेतृत्वविरुद्ध टिप्पणीमार्फत प्रचार बनाउने प्रवृत्ति छन् । यी सबै पाेखरेलप्रति लक्षित छन । यी सबैले एमालेको सामूहिक शक्ति कमजोर पार्दै गएका छन् । र यी गतिविधि अघि सार्ने ‘मुख्य व्यक्ति’ पोखरेल नै हुन् भन्ने सन्देश ओलीले बारम्बार दिएका छन् ।
सम्पादकहरूसँगको कुराकानीमा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुने, भोलीका दिनमा नेपाली कांग्रेस र एमालेले नै देश चलाउने, आफू पुनः तेस्रो पटक एमाले अध्यक्ष बन्ने तीनवटा सन्देश दिन भ्याएका छन् ।
प्रतिकृया लेख्नुहोस्: