काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशन औपचारिक रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया भए पनि यसको राजनीतिक अर्थ त्यसभन्दा धेरै गहिरो छ । यो महाधिवेशन एमालेको संगठनात्मक चरित्र, नेतृत्व संस्कार र भविष्यको दिशा तय गर्ने ऐतिहासिक मोडमा उभिएको छ ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको प्रतिस्पर्धाले पार्टीभित्र वर्षौंदेखि जमेर बसेका असन्तुष्टि, अपेक्षा र प्रश्नहरूलाई सतहमा ल्याइदिएको छ ।
भृकुटीमण्डपभित्र प्रतिनिधिहरू मत हाल्ने तयारीमा छन्, तर महाधिवेशनस्थल बाहिर देखिएको दृश्यले एमालेभित्रको वास्तविक मनोविज्ञान झल्काउँछ । युवा कार्यकर्ताहरू नेतृत्व परिवर्तन, पुस्तान्तरण, आचरण सुधार र संस्थागत पार्टी निर्माणको माग गर्दै खुलेर बोलिरहेका छन् । उनीहरूको आवाज कुनै व्यक्तिविरुद्ध लक्षित होइन, प्रवृत्तिविरुद्ध केन्द्रित छ ।
ओली–पोखरेलकाे सहयात्रा
केपी शर्मा ओली र ईश्वर पोखरेलको सम्बन्ध एमालेको इतिहाससँग अभिन्न रूपमा गाँसिएको छ । नवौँ महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन पोखरेलले खेलेको भूमिका एमालेभित्र सर्वविदित छ । पार्टी विभाजनका कठिन घडीमा पनि पोखरेल ओलीको ढाल बनेर उभिए । माधव नेपाल, झलनाथ खनाल छुट्टिँदा पोखरेल ओलीकै पक्षमा उभिनु कार्यकर्ताले ‘निष्ठाको उदाहरण’ का रूपमा लिएका थिए ।
यही कारण आज पोखरेल ओलीका लागि कुनै बाह्य चुनौती होइनन् । उनी ओलीकै राजनीतिक यात्राबाट तयार भएको नेतृत्व विकल्प हुन् । यही पक्षले पोखरेलको उम्मेदवारीलाई नैतिक र राजनीतिक दुवै अर्थमा गहिरो बनाएको छ ।
तर यही निकटता क्रमशः तिक्ततामा बदलिँदै गएको अनुभूति कार्यकर्ता तहमा बलियो छ । मन्त्रिपरिषद् गठनदेखि नेकपा एकता, सचिवालय गठन, जिम्मेवारी खोसिने घटनासम्म पोखरेललाई पटक-पटक बेवास्ता गरिएको स्मृति आज कार्यकर्ताको मानसपटलमा ताजा छ । ती घटनाहरूले एउटा प्रश्न जन्मायो-के एमाले योगदान, अनुभव र संगठनात्मक क्षमताभन्दा पनि अध्यक्षको ‘घेरो’ बाट चल्न थालेको हो ? यही प्रश्न आज पोखरेलको उम्मेदवारीसँग गाँसिएको छ ।
महाधिवेशनस्थल बाहिर बोलिरहेका युवाहरूको साझा भावना छ । पार्टी बलियो व्यक्ति होइन, बलियो प्रणालीबाट चल्नुपर्छ । उनीहरूका लागि पोखरेलको उम्मेदवारी व्यक्तिगत महत्त्वाकांक्षा होइन, पार्टीभित्र शक्ति सन्तुलन र सामूहिक निर्णयको माग हो ।
कार्यकर्ताहरू भन्छन्-पोखरेलले कहिल्यै गुटबन्दी गरेनन्, कहिल्यै पदका लागि हतार देखाएनन् । उनले सधैं संगठन निर्माणलाई प्राथमिकता दिए । तर ओली नेतृत्वको पछिल्लो कालखण्डमा निर्णय प्रक्रिया संकुचित हुँदै गएको, आलोचना असह्य बन्दै गएको र शक्ति केही व्यक्तिमा केन्द्रित भएको अनुभूति कार्यकर्तामा गहिरिँदै गयो ।
यसैले ओलीका सबैभन्दा नजिकका सहकर्मी नै आज विकल्प बनेर उभिनु कार्यकर्ताका लागि अस्वाभाविक होइन । बरु उनीहरू यसलाई पार्टीभित्रको आत्मसमीक्षा प्रक्रिया ठानिरहेका छन् । युवा कार्यकर्ताको बुझाइमा पोखरेल ओलीविरुद्धको ‘विद्रोह’ होइनन् । उनी ओलीको शैलीप्रति उठेको संस्थागत प्रश्न हुन् । कार्यकर्ता पनि ओलीकाे व्यक्तबादी चिन्तनबाट मुक्त हुन चाहेकाे देखिएकाे छ । तर त्याे निर्णय गर्ने अधिकार महाधिवेशन प्रतिनिधिकाे हातमा रहेकाे छ ।
पुस्तान्तरणकाे भाषण र व्यवहार
एमालेले विगतमा पुस्तान्तरण, ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा जस्ता विषयमा ठूला राजनीतिक घोषणाहरू गरेको पार्टी हो । ती प्रस्ताव पारित हुँदा पोखरेल तिनका समर्थक थिए । तर आज ती नै व्यवस्था संशोधन गरेर फेरि उही नेतृत्व दोहोर्याउने प्रयासलाई कार्यकर्ताले आत्मविरोधी कदमका रूपमा हेरेका छन् ।
कार्यकर्ताको प्रश्न स्पष्ट छ-यदि पार्टी आफैंले बनाएको विधान आफैंले मिच्ने हो भने विधानको अर्थ के रहन्छ ? यही प्रश्नले पोखरेलको उम्मेदवारीलाई थप राजनीतिक वजन दिएको छ । उनी परिवर्तनको भाषण मात्र होइन, व्यवहारिक विकल्पका रूपमा प्रस्तुत भएका छन् ।
ओली समर्थक कार्यकर्ता के भन्छन् ?
महत्त्वपूर्ण कुरा के छ भने, पोखरेलको पक्षमा उभिनेहरू मात्र होइन, ओली समर्थक कार्यकर्तासमेत नेतृत्वको शैली र आचरणमा सुधार अपरिहार्य भएको स्वीकार गर्छन् । उनीहरू ओलीलाई संकटको बेला ‘हक्की र आँटिलो नेता’ मान्छन्, तर शक्तिकेन्द्रीकरण र घेराबन्दीको राजनीतिले पार्टी कमजोर बनाएको अनुभव उनीहरूकै छ ।
यसले देखाउँछ भने एमालेको समस्या पात्रमा मात्र सीमित छैन, प्रवृत्तिमा छ । र, त्यो प्रवृत्ति बदल्ने संकेत पोखरेलको उम्मेदवारीले दिएको विश्लेषकहरुकाे भनाइ छ ।
ईश्वर पोखरेलकाे किन आवश्यकता ?
ईश्वर पोखरेल पार्टीभित्र संवादको पक्षधर नेता हुन् । उनी प्रश्नलाई अनुशासनहीनता ठान्दैनन् । आलोचनालाई शत्रु ठान्ने प्रवृत्तिबाट टाढा छन् । उनको नेतृत्व शैली ‘सबै कुरा अध्यक्षको मुखबाट’ होइन, ‘संस्थागत निर्णय’ मा विश्वास गर्ने खालको छ ।
आज एमालेले बाह्य प्रतिस्पर्धाभन्दा बढी आन्तरिक विश्वास पुनःस्थापना गर्नुपर्ने अवस्थामा छ । कार्यकर्तामा भरोसा जगाउन, युवालाई पार्टीप्रति आकर्षित गर्न र विधानअनुसार चल्ने संगठन बनाउन नेतृत्वको शैली बदलिनै पर्छ ।
त्यसैले यो महाधिवेशन केवल ओली दोहोरिन्छन् कि हुँदैनन् भन्ने प्रश्नमा सीमित हुनु हुँदैन । यो एमाले कस्तो पार्टी बन्ने भन्ने निर्णायक घडी हो । यदि एमालेले व्यक्तिवादको घेराबाट बाहिर निस्केर संस्थागत पार्टी बन्ने हो भने, आजको आवश्यकता स्पष्ट छ- ईश्वर पोखरेल । त्याे सबैकाे निर्णय गर्ने अधिकार महाधिवेशन प्रतिनिधिलाई मात्र छ ।
प्रतिकृया लेख्नुहोस्: