Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

प्रधानमन्त्री कार्कीको १०० दिने दाबी: सुशासन र निर्वाचन सरकारको अर्जुन दृष्टि

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी छिन् । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा जारी गरेको भिडियो सन्देशमार्फत उनले यस्तो दाबी गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले लोकतन्त्र र राष्ट्रियताको विजय नै सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै चुनावी जित–हारलाई गौण विषयका रूपमा लिनुपर्ने धारणा राखिन् ।

‘चुनावमा कसले जित्छ वा कसले हार्छ भन्ने कुरा गौण हो । हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठूलो कुरा हो,’ सन्देशमा भनिएको छ, ‘अराजकताले कसैलाई खुसी दिँदैन । शान्ति र स्थिरताले मात्र समृद्धिको ढोका खोल्छ । हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन, यो त लामो र अभिराम यात्रा हो ।’

उनले ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न सबैबाट निरन्तर परिश्रम, समय र धैर्य आवश्यक पर्ने उल्लेख गरेकी छिन् ।

सुरक्षाका विषयमा सरकारले कुनै कसर बाँकी नराखेको दाबी गर्दै प्रधानमन्त्री कार्कीले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालनसमेत सुनिश्चित गरिएको जानकारी दिइन् ।

उनका अनुसार आन्दोलनका क्रममा लुटिएका १ हजार ३४२ थान हतियारमध्ये अधिकांश बरामद भइसकेका छन् भने थप ३२ थान हतियार प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, क्षतिग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको पनि जानकारी दिइन् ।
 
यस्तो छ प्रधानमन्त्रीको सन्देश:
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु नमस्कार
 
आज म हाम्रा स्वाभिमानी र गौरवशाली नागरिकहरुका सामु एउटा विशेष र दृढ संकल्पका साथ उपस्थित भएकी छु। हामी सबैलाई थाहा छ केही समय अघिको जेन्जी आन्दोलनले हाम्रा सडकहरुमा एउटा फरक कम्पन पैदा गर्यो। त्यो छटपटी र त्यो आक्रोशले हाम्रो समाजलाई केही हदसम्म विथोल्ने प्रयास गरे पनि त्यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन संवाद र जनताको मतबाट खोज्छ। आदरणीय देशवासीहरु भदौ २३ र २४ को त्यो दुखद घटनापछि देश फेरि शान्तिको बाटोमा फर्किएको छ। ती घटनामा ज्यान गुमाउने योद्धाहरुलाई शहीद घोषणा गरेका छौं। घाइते योद्धाहरुको उपचारका साथै जीवितका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएका छौं। क्षति ग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष मार्फत काम थालिएको छ। अब हामीले ती नमिठा पलहरुलाई बिर्सेर एउटा सुन्दर र स्थिर भविष्य निर्माण तर्फ हातमा हात मिलाएर अघि बढ्नुपर्छ।

 
अहिले कतिपयको मनमा एउटा जिज्ञासा र केही ठाउँमा भ्रम पनि छ। प्रश्न गर्नेहरुले भन्ने गर्नुभएको छ के देश साँच्चै चुनावतिर बढेको हो? तर के सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छ? आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन। यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्ग हो। म तपाईहरुलाई आश्वस्त पार्न चाहन्छु चुनाव सार्ने वा रोक्ने जस्ता हल्लाहरु पूर्णत निराधार र भ्रमपूर्ण छन्। यो सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ छ।

मेरा प्यारा देशवासीहरु निर्वाचनका लागि सरकारले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरेको छ। सुरक्षाको सवालमा हामीले कुनै कसर बाँकी राखेका छैनौ। एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका १३४२ थान मध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ। यस अतिरिक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। क्षति ग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयहरुलाई पुन संचालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको छ। निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।

हामीले यसपटक अर्को ऐतिहासिक फड्को मारेका छौं। मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणा पछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेका छौं। आज १ करोड ८१ लाख भन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो छ। ११४ वटा राजनीतिक दलहरु यस प्रक्रियामा सहभागी हुनुले हाम्रो लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाणित गर्छ। विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा छौ। मेरा प्यारा युवा साथीहरु चुनाव कसैको हार जित होइन। यो त लोकतन्त्र र सुशासन जिताउने अभियान हो। तपाईहरुले चाहेको भ्रष्टाचार मुक्त समाज र सुशासन युक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो चुनाव नै हो। म विशेष गरी हाम्रा जेन्जी युवाहरुलाई भन्न चाहन्छु तपाईहरुको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्। सडकको आन्दोलनले प्रश्न उठाउँछ तर मतपत्रले समाधान दिन्छ। तपाईको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ।

आज भन्दा १०० दिन अघि देशको अवस्था के थियो र अहिले के छ भनेर तुलना गरी हेर्न पनि म सबै राजनीतिक पक्षहरुलाई विनम्र अनुरोध गर्दछु। असामान्य परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन मेरो मन्त्रिपरिषदका सदस्य, सुरक्षा निकाय राष्ट्र सेवक र नागरिक समाजका सदस्यहरुले अथक प्रयास गर्नुभएको छ। फलस्वरुप मुलुकमा शान्ति स्थापना गरी स्थितिको सामान्यीकरण र कानुनको शासन बहालीमा सफलता मिलेको छ। खासगरी सुरक्षा निकायको मनोबल अहिले र आजका लागि मात्र होइन दीर्घकालसम्म बढाउने काम गर्दछौ। विगतमा शक्तिको आडमा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणहरुमा अनुसन्धान गर्ने निकायहरुले हाल पूर्ण व्यवसायिक स्वतन्त्रताका साथ कारवाही अघि बढाएका छन्। यी कारवाहीले जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानुनले उन्मुक्ति दिदैन भन्ने मान्यता स्थापित गरेको छ। कुनै पद वा शक्तिको निकटता नहेरी प्राप्त उजुरी र गुनासाका आधारमा अनुसन्धान अघि बढाइएको छ। मिलोमतोमा ठेक्का हात पार्ने विकास आयोजनाहरुको कामै नगर्ने र राज्यको स्रोत साधन दुरुपयोग गर्नेहरुको माखेसाङ्लो तोड्न पनि सरकार लागि परेको छ। यस १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ। पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवांछित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगिएको छ। मापदण्ड विपरित खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधनहरु फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ। अनावश्यक ३८ वटा कार्यालयहरु खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाएको छ। १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट पुन प्राथमिकीकरण गरी विकासका ठुला आयोजनामा स्थानान्तरण गरिएको छ। थलिएका व्यवसायीहरुका लागि एकीकृत व्यवसायी पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ। हेलो सरकार मार्फत ५० हजार भन्दा बढी गुनासाहरु सम्बोधन गरिएको छ। काठमाडौंमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको छ र राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत थपिएको छ।

जेन्जी आन्दोलनको भावना अनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ। म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा राष्ट्रिय एकताका लागि आह्वान गर्दछु। चुनावमा कसले जित्छ वा कसले हार्छ त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठूलो कुरा हो। अराजकताले कसैलाई खुशी दिदैन केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ। हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन। यो त एउटा लामो र अभिराम यात्रा हो। यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न हामी सबैबाट अथक पसिना र समयको माग गर्ने धैर्यको थाचो छ। आउनुहोस् हामी फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रुपमा सम्पन्न गरौं। राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔं। यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्नेछ।

धन्यवाद।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा

इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरका...

लुम्बिनी प्रदेश सभाले निकाल्यो सांसद रेखा कुमारी शर्मा पक्राउको सूचना

रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...

मनमोहन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, नयाँलाई अभिमुखीकरणसहित स्वागत

विराटनगर  । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...

उच्च अदालतमा मुद्दा विचाराधीन भएकै कारण बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालतको अस्वीकार

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...

संविधान संशोधनका लागि सरकारले कार्यदल गठन गर्ने

काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...

बाँदर आतंक नियन्त्रण गर्न जनप्रतिनिधिका बाचा

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते...

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending