काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडालिटी बनाउनेतर्फ प्रवेश गरेका छन् । बिहीबार साढे दुई घण्टा वार्तामा बसेका उनीहरूले नयाँ दल र शक्तिबिच समायोजन, चुनावमा सिट बाँडफाँटदेखि सत्ता सहकार्यसम्मको मोडालिटी बनाउन दुवैतर्फका दोस्रो तहका नेतालाई जिम्मेवारी दिएका छन् ।
बालेनका प्रमुख सल्लाहकार कुमार बेनको ललितपुर ज्वागलस्थित घरमा दुई नेता एक्ला–एक्लै वार्तामा बसेका थिए । रास्वपाका एक नेताका अनुसार मोडालिटी बनाउन रास्वपाका तर्फबाट नेता शिशिर खनाल र बालेनका तर्फबाट कुमार बेनलगायतलाई जिम्मेवारी दिइएको छ ।
‘सहकार्य गरेर जाने विषयमा दुई नेताबिच अझ सघन सहमति भएको छ । त्यसका लागि मोडालिटी बनाएर अरू पक्षलाई पनि मिलाउनुपर्नेछ । मोडालिटी बनाउन रास्वपाबाट शिशिर खनाल र बालेनको तर्फबाट कुमार बेनलगायतलाई जिम्मेवारी दिइएको छ । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीसम्मको खाका बनाएर पेस गरेपछि रवि–बालेन फेरि निर्णायक वार्तामा बस्नेछन्,’ ती नेताले भने, ‘आजको वार्तामा भने पावर सेयरिङमा कुनै ठोस कुरा भएन । अब दोस्रो तहबाट खाका आएपछि मात्रै त्यसमा निर्णय हुन्छ । मिलेरै अगाडि बढ्नेमा द्विविधा छैन ।’
ती नेताका अनुसार मोडालिटीका लागि दुवै पक्षले आ–आफ्नो पार्टी र समूहमा छलफल गर्नुपर्नेछ । बालेन पक्षले कुलमान घिसिङको उज्यालो नेपाल र देश विकास पार्टी तथा विभिन्न जेन–जी समूहसँग छलफल गर्नेछ । त्यसपछि दुवै पक्ष बसेर मोलालिटी तयार गरी शीर्ष तहमा बुझाउनेछन् । सहकार्यको खाका आएपछि रवि–बालेन वार्तामा बसेर अन्तिम निर्णय गर्ने उनले बताए ।
रास्वपा नेता खनालले दुई शीर्ष नेताको निर्देशनअनुसार सहकार्यको मोडालिटी बनाउन जिम्मेवारी आएको र पार्टीमा छलफल थालिसकेको बताए । ‘दुई नेताको भेट सकारात्मक भयो । सहकार्यको मोडल टुंग्याउन हामीले पार्टीमा छलफल सुरु गरिसक्यौँ । दोस्रो तहका साथीहरू बसेर एउटा खाका तयार पार्छौँ । उहाँहरू (बालेन पक्ष)ले पनि गर्नुहुन्छ होला । दुवै पक्षबाट समेटेर विभिन्न विकल्पसहितको संयुक्त खाका शीर्ष तहमा बुझाउँछौँ,’ उनले भने ।
रवि र बालेनलाई वार्ता गराउन समन्वयकारी भूमिका खेलेका रास्वपा नेता एवं विघटित प्रतिनिधिसभा सांसद असिम शाहले अब फेरि तयारी गरेर दुई नेताबिच छलफल हुने बताए ।
‘छलफल राजनीतिक चरणमा प्रवेश गरेको छ । कतिपय चिजहरूमा समय लाग्छ, सबैसँग सल्लाह गर्नुपर्यो । मिल्ने कुराहरूमा मिल्ने, बाँकी मिलाउँदै जाने हो,’ उनले भने, ‘रास्वपाको चुनाव चिह्नमा समाहित हुने कुराहरूमा छलफल भएको छ, तर केही पनि टुंगिएको छैन । ठोस निष्कर्षको प्रस्ताव बनाएर फेरि छलफलमा बस्छौँ ।’ शुक्रबारै पनि रवि–बालेन वार्तामा बस्ने सक्ने उनले बताए ।
बालेननिकट एक सदस्यले रविसँग अब अन्तिम चरणको छलफल हुने बताए । ‘भोलि (शुक्रबार) महानगरको नगरसभा छ । त्यो सकाएर भोलि नै बस्न सक्नुहुन्छ वा पर्सि हुन सक्छ । त्यसवेलासम्म सहकार्यको खाका पनि आइसक्छ,’ उनले भने ।
बालेनसँगको भेटमा लामिछानेले देशलाई सही दिशा दिन मिल्नुको विकल्प नरहेको भन्दै जसरी पनि मिल्नुपर्ने प्रस्ताव राखेको उनीनिकट स्रोतले बतायो । ‘हामी मिल्नुको अर्काे उपाय नै छैन । के गरेर जाने हो जाऊँ । देशलाई ड्राइभ गर्ने कुरा हो । एउटा समयको कुरा होइन, युगको कुरा हो । यत्रा जनताको कुरा छ । त्यसकारण मिलौँ,’ लामिछानेलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
बालेनसँग वार्ता गरेर निस्किने क्रममा लामिछानेले परिणाम सकारात्मक रहेको जानकारी गराएका थिए । उनले आफ्नो हाउभाउबाट पनि सन्देश बुझ्न पत्रकारहरूलाई भनेका थिए । चुनाव चिह्न घन्टी कि लौरो भन्ने प्रश्नमा लामिछानेले केही समय प्रतीक्षा गर्नुपर्ने बताए ।
यसअघि गत सोमबार (७ पुस) रवि र बालेनबिच ६ घण्टा छलफल चलेको थियो । त्यसै दिन बिहान पनि पनि उनीहरूबिच भेटवार्ता भएको थियो । उक्त बसाइमा राजनीतिक सहकार्यको मनस्थिति बनाएर उठेका दुई नेताले त्यसलाई सार्थक रूप दिन बिहीबार वार्ता गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: