काठमाडौँ । सरकारले सन् २०२५ लाई नेपाल पर्यटनको निर्णायक वर्षका रूपमा अघि सारे पनि वर्षको अन्त्यमा नतिजा भने मिश्रित देखिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि डिसेम्बरसम्म कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा थोरै मात्र बढी हो, जसले पर्यटन पुनरुत्थान अपेक्षाअनुसार तीव्र हुन नसकेको संकेत गर्छ ।
सन् २०२४ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ११ लाख ४७ हजार ५६७ थियो । एक वर्षको अन्तरालमा पर्यटक सङ्ख्या स्थिर जस्तै देखिनुको पछाडि मुख्य सिजनमै परेको सामाजिक–राजनीतिक अवरोधलाई प्रमुख कारणका रूपमा हेरिएको छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण नेपालको बाह्य पर्यटकीय बजारमा नकारात्मक सन्देश गएको र त्यसको असर करिब एक महिनासम्म महसुस भएको पर्यटन क्षेत्रका सरोकारवालाहरू बताउँछन् ।
यद्यपि, कोभिड–१९ महामारीअघिको सन् २०१९ सँग तुलना गर्दा नेपाल पर्यटन करिब ९७ प्रतिशतसम्म पुनरुत्थान भइसकेको देखिन्छ । पूर्ण पुनरागमनको नजिक पुगे पनि सरकारले राखेको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भने पूरा हुन सकेन ।
वर्षको अन्त्यतिर भने केही सकारात्मक संकेत देखिएका छन् । डिसेम्बर महिनामा मात्रै ९८ हजार १९० जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७ प्रतिशत बढी हो । अझ, सन् २०१९ को डिसेम्बर महिनासँग तुलना गर्दा पनि आगमन दर करिब समान देखिनु ले जाडो मौसमजस्तो अफ–सिजनमा समेत नेपालप्रति पर्यटकको चासो बढ्दै गएको संकेत गर्छ ।
पर्यटक आगमनको स्रोत मुलुक हेर्दा छिमेकी राष्ट्र भारत अझै पनि नेपालको प्रमुख बजार बनेको छ । सन् २०२५ मा आएका कुल पर्यटकमध्ये २५.२ प्रतिशत, अर्थात् २ लाख ९२ हजार ४३८ जना भारतीय नागरिक रहेका छन् । त्यसपछि संयुक्त राज्य अमेरिका बाट १ लाख १२ हजार ३१६ जना (९.७ प्रतिशत) र चीन बाट ९५ हजार ४८० जना (८.२ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।
यसैगरी, परम्परागत युरोपेली बजारमध्ये संयुक्त अधिराज्य (यूके) बाट ५.१ प्रतिशत र अर्को छिमेकी मुलुक बङ्गलादेश बाट ५ प्रतिशत पर्यटक नेपाल आएको तथ्याङ्कले देखाउँछ । क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरूको योगदान सबैभन्दा बढी ३५.२ प्रतिशत रहेको छ भने अन्य एसियाली मुलुकहरूबाट २१.९ प्रतिशत, युरोपबाट १९.१ प्रतिशत र अमेरिकाबाट ११.७ प्रतिशत पर्यटक नेपाल आएका छन् । ओशिनिया, मध्यपूर्व र अफ्रिकी मुलुकहरूको हिस्सा तुलनात्मक रूपमा न्यून छ ।
पर्यटक सङ्ख्या अपेक्षाभन्दा कम भए पनि आर्थिक प्रभाव भने उल्लेख्य देखिएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामै नेपालले पर्यटन क्षेत्रबाट २७ अर्ब १५ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गरेको छ ।
त्यस्तै, पर्यटन क्षेत्रमा वैदेशिक लगानीको आकर्षण पनि बढ्दो छ । साउनदेखि मङ्सिरसम्मको अवधिमा मात्रै ४७६ वटा परियोजनामार्फत ३० अर्ब २६ करोड ३० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
समग्रमा, सन् २०२५ मा नेपाल पर्यटनले महामारीपछिको चरण पार गरिसकेको देखिए पनि राजनीतिक–सामाजिक स्थिरता, बजार विविधीकरण र दीर्घकालीन रणनीति बिना ठूला लक्ष्य हासिल गर्न अझै चुनौती कायम रहेको छ ।
प्रतिकृया लेख्नुहोस्: