वार्षिक प्रतिवेदनअनुसार इकाईमा प्राप्त हुने शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा इकाईले आठ हजार ५६५ वटा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।
प्रतिवेदनमा इकाईले प्राप्त गरेका सूचनाको विश्लेषण, त्यसको आधारमा सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायमा सम्प्रेषित तथ्याङ्क, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयका प्रयास र आगामी रणनीतिक प्राथमिकतासमेत समावेश गरिएको छ ।
इकाईले आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता र प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको जनाएको छ । साथै ‘गो–एएमएल अपरेसन गाइडलाइन’ जारी तथा अद्यावधिक गर्ने, शङ्कास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन परिमार्जन गर्ने जस्ता महत्वपूर्ण कार्य सम्पन्न गरिएको उल्लेख छ । वर्षभरि सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थालाई लक्षित गर्दै क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा जनाइएको छ ।
गो–एएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलनमा उल्लेख्य वृद्धि भएको प्रतिवेदनले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा गो–एएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या एक हजार ६३८ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या तीन हजार ४८७ पुगेको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा इकाईले प्राप्त गरेका प्रतिवेदनहरूको विश्लेषण करिब ४० प्रतिशतले वृद्धि भएको छ । विश्लेषणपछि ८४५ वटा शङ्कास्पद कारोबार तथा गतिविधिसम्बन्धी वित्तीय जानकारी नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरूमा पठाइएको छ । यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको विश्वास इकाईले व्यक्त गरेको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ । यसले सीमापार वित्तीय कारोबारबाट उत्पन्न जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका वित्तीय अपराधविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाएको प्रतिवेदनमा उल्लेख छ ।
एसिया प्यासिफिक ग्रुप (एपीजी) ले सन् २०२३ मा गरेको नेपालको पारस्परिक मूल्याङ्कनपछि नेपाल ग्रे–लिस्टमा परेपछि इकाईमार्फत गरिएका समन्वयात्मक प्रयासहरूलाई पनि प्रतिवेदनमा समेटिएको छ ।
वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण अवलम्बन, प्रविधिमा आधारित विश्लेषण प्रणालीको विकास, अन्तरनिकाय समन्वय सुदृढीकरण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधारका प्रयासलाई आगामी प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको छ । वित्तीय सूचनाको विश्लेषणको गुणस्तर अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा इकाईको आगामी कार्यदिशा केन्द्रित रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: