Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

‘बा’ र बालेनको पर्खाइमा झापा

खबरडबली संवाददाता

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उनको प्रश्नले नै हामीलाई बुझायो, झापामा बालेन्द्र शाहप्रति चासो कति छ । मतदाताको मुड बुझ्न बालेन्द्र र सिंगो रास्वपाका तर्फबाट भइरहेको ‘फिल्ड भिजिट’ ले पनि स्थानीयको चासो झन् बढाएको छ । यसबीचमा धेरै सर्वेक्षण भएका छन् । 

‘चहलपहल बुझ्न भन्दै कापी–कलम, कम्प्युटर (ट्याब) बोकेर आउँछन्, धेरैजसोले पहिले अनेक कुरा गरेर अन्तिममा कसलाई भोट दिने हो भन्दै सोध्छन्,’ धिमालले कान्तिपुरसँग भनिन्, ‘तपाईंले पनि त्यही सोध्ने हो ?’

पार्टीकै कार्यकर्तासँग बोल्दा कसले के भन्ने हुन् भन्ने संकोच उनलाई लाग्छ । तर हामी पत्रकार हौं भनेपछि उनले यसपालि नयाँलाई छान्ने कि भन्ने सोचिरहेको बताइन् । कुरा गर्दै गएपछि अझै खुलेर भनिन्, ‘बालेनलाई धेरैले राम्रो उम्मेदवार भनिरहेका छन्, काठमाडौंको फोहोर ठाउँलाई राम्रो बनाए रे, यहाँ कसो नबनाउलान् ? मेरो परिवारका सबैले उनलाई नै भोट दिने सोचेका छौं ।’

कतिपय आफन्तले भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भोट दिनुपर्छ भन्दै आफूलाई फकाउने गरेको उनी बताउँछिन् । ‘मेरै परिवारमा पनि बा (ओली) लाई नै दिनुपर्छ भन्छन्,’ उनले भनिन्, ‘मैलेचाहिँ नयाँलाई दिइहेर्ने कि भनेकी छु ।’

तीन वर्षअघि भएको संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओलीले देशभरकै सर्वाधिक मत ल्याएका थिए । उनी ५२ हजार ३ सय १९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीको २३ हजार ७ सय ४३ मत थियो । २८ हजार ५ सय ७६ मतान्तरले जितेका ओलीसँग आसन्न प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह आउने चर्चाले माघको ठिहीमा पनि झापा रनक्क तातेको छ ।

झापा–५ लाई आफ्नो सर्वाधिक बलियो गढ मान्ने एमाले चुनावतर्फ मोडिएको मात्र छ, तर बालेन्द्र र रास्वपाले भने अनेक टोली पठाइसकेका छन् । अहिले पनि बालेन्द्रका सहायक स्वकीय सचिव नवीन भण्डारीसहितको टोली झापा–५ मा छ । रास्वपाले चुनावी अभियानका लागि दमक–३ मा घर भाडामा लिएको छ ।

‘हाम्रा वरिष्ठ नेता बालेन्द्र शाहज्यूको चुनावी तयारीका लागि कम्तीमा ४५ जना निरन्तर यहीँ बस्ने भएकाले तीन वटा घर खोजिरहेका छौं,’ रास्वपा झापाका सभापति प्रकाश पाठक भन्छन्, ‘त्योमध्ये एउटा घर टुंगो लागेको छ, त्यसमा १५ जनाजति साथी बस्नुहुन्छ । बाँकी त्यही हिसाबले घर खोज्दै छौं ।’

बालेन्द्रलाई भेट्न पाठकसहितको टोली २७ पुसमा काठमाडौं आएको थियो । ज्वागलमा भएको भेटको प्रसंग सुनाउँदै उनले भने, ‘त्यो भेटमै उहाँले झापा–५ बाट पूर्वप्रधानमन्त्री ओलीविरुद्ध चुनाव लड्ने स्पष्ट बताउनुभएको थियो, त्यहीअनुसार तयारी तीव्र भइरहेको छ ।’

बालेन्द्रले ३ माघमा मेयरबाट राजीनामा दिने र दुई दिनपछि जनकपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उम्मेदवारी दर्ताका लागि उनी झापा–५ पुग्नेछन् । काठमाडौंका मेयर चुनाव लड्न आफ्नो पुस्तौनी जिल्ला महोत्तरीसमेत नाघेर सुदूरपूर्व झापा किन पुग्दै छन् ? बालेन्द्रका पूर्वस्वकीय सचिव एवं रास्वपाका सहमहामन्त्री भूपदेव शाह भन्छन्, ‘जेन–जी आन्दोलनमा जसले दमन गरेर कलिला युवाको ज्यान लियो, उसलाई सम्बन्धित निर्वाचन क्षेत्रमै हराएर परिवर्तनको एजेन्डा स्थापित गर्न खोजेका हौं ।’

प्रजातन्त्र पुनर्बहालीपछि २०४८ मा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री, कांग्रेस कार्यवाहक सभापति तथा प्रधानमन्त्रीका सम्भावित उम्मेदवारसमेत रहेका कृष्णप्रसाद भट्टराईलाई काठमाडौं–१ मा पराजित गरेर एमालेका युवा महासचिव मदन भण्डारीले आफ्नो र पार्टीको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याएका थिए ।

बालेन्द्र अहिले त्यस्तै इतिहास दोहोर्‍याउन, आफूलाई निर्विकल्प राष्ट्रिय नेताका रूपमा स्थापित गर्न र झापाको चुनावले देशभरि पार्टीका पक्षमा ध्यान खिच्न त्यहाँ पुग्दै छन् । उबेला भण्डारी ३९ वर्षका मात्र थिए भने भट्टराई ६७ वर्षका । अहिले बालेन्द्र ३६ वर्ष पुग्दै छन् भने ओली दोब्बरभन्दा दुई वर्ष बढी ।

रास्वपाका जिल्ला सचिव शम्भुप्रसाद ढकाल पनि काठमाडौं आएर बालेन्द्रलाई भेट्ने टोलीमा थिए । बालेन्द्र पछिल्लो नेपाली राजनीति र सम्भावनाको एउटा ‘ब्रान्ड’ भएकाले मतदाताले जिताउने दाबी गर्छन् उनी । बालेन्द्र मेयर बनेपछि काठमाडौंमा नागरिकले नाक थुन्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘बालेनले उतै सम्भावना देखाइसक्नुभएको छ । उहाँलाई देशको भूगोल थाहा छ, सम्भावना पनि थाहा छ । यो कुरा मतदाताले राम्ररी बुझेका छन् । त्यसमाथि झापा चितवनपछि रास्वपाको सबैभन्दा धेरै सक्रिय सदस्य भएको जिल्ला पनि हो ।’

सधैं चुनावअघि नै ओलीको विजय निश्चित भएको बताउने मतदाता यसपालि फरक नतिजा आउन सक्ने विश्लेषण गर्न थालेका छन् । ‘ओली यहाँ निकै बलिया छन् । उनलाई पुराना नेता कसैले हराउन सक्दैनन्,’ दमक चोकमा भेटिएका दमक–९ का मतदाता रामप्रसाद कोइरालाले भने, ‘तर, बालेनजस्ता नयाँ पुस्ताका नेताले उनलाई हराइदिन सक्छन्, उथलपुथल ल्याइदिन सक्छन् । यति भन्न धक मान्नु पर्दैन ।’

ओली झापामा अविजित भने होइनन् । २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा गरी ६ पटक उनले संसद्मा झापाको प्रतिनिधित्व गरेका छन् । २०६४ मा भने माओवादी उम्मेदवार विश्वदीप लिङ्देनले उनलाई करिब १२ सय मतान्तरले हराएका थिए ।

२०७९ को निर्वाचनमा भन्दा पनि २०७४ मा उनले अझ धेरै मत र मतान्तरले विजयी भएका थिए । ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदा कांग्रेसका अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । गत निर्वाचनमा ओलीले २८ हजार ८ सय ४२ मतान्तरले जित्दा रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएर तेस्रो भएका थिए ।

समानुपातिकतर्फ भने रास्वपाले १८ हजार २ सय ५ मत पाएको थियो । तर बालेन्द्रले उम्मेदवारी दिने चर्चाले अहिल्यै पुराना उम्मेदवारलाई रक्षात्मक बनाइसकेको कोइराला जिकिर गर्छन् । ‘अहिलेसम्म बालेन यता आएका छैनन्, मतदाताले मिडियामा मात्र उनलाई सुनेका हुन् । यत्तिकैमा उत्साह छ, झन् उनी भोलि घरघरमा हिँड्न थालेपछि माहोल कस्तो होला ?’ उनी भन्छन्, ‘अहिले घरघरमा बालेनकै विषयमा कुराकानी भइरहेको छ ।’

कुल मतदाता १ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेको झापा–५ मा करिब १० हजार मतदाता नयाँ हुन् । हामीले भेटेका अधिकांश युवा मतदाता ओलीको पक्षमा खुलेर बोलेनन् । पाका मतदाता भने पूर्वप्रधानमन्त्री ओलीलाई मत दिने बताउँछन् । ‘हामीलाई विकास गर्ने, देश बचाउने र जिल्लालाई माया गर्ने नेता चाहिएको छ । अस्तिको आन्दोलन विदेशीको चलखेल हो, हामीलाई देशको पुत्र चाहिएको हो,’ दमक ट्याक्सी स्ट्यान्डमा भेटिएका तुलाराम बाँस्तोला (७२) ले भने, ‘उम्मेदवारी दिन त जसले पनि पायो तर जित्नेचाहिँ ओलीले नै हो ।’

दमक नगरपालिका–८, किरात चोकका ८७ वर्षीय तारानिधि सापकोटाले त स्थानीय क्षेत्रभन्दा बाहिरबाट आउने उम्मेदवारले जिते पनि केही काम नगर्ने ठोकुवा गरे । ‘धेरै वटा चुनावमा भोट हालेको छु, बाहिरका मान्छेले केही गर्न सक्दैनन् भन्ने बुझेको छु,’ उनले भने, ‘बरु धेरैले ओलीलाई चाहिँ बुझ्न सकेनन् । बच्चाबच्चीको ज्यान गयो, त्यसमा साह्रै दुःख लागेको छ तर प्रधानमन्त्रीले मारेको हो त ?’

बुधबार र बिहीबार झापा–५ का विभिन्न स्थानमा भेटिएका १८ देखि ३५ वर्षसम्मका अधिकांश मतदाता यसपालि केही नयाँ गर्ने मुडमा देखिए । यद्यपि कतिपय भने बालेन्द्रले जित्नेमा शंका गर्छन् । ‘जित्न त केपी बाले नै जित्लान् तर मचाहिँ यसपालि बालेन्द्र शाहलाई मत दिने मात्र होइन, भोट माग्दै घरघरमा पनि निस्किन्छु,’ सम्झना बराल (३३) भन्छिन्, ‘म कांग्रेसको समर्थक थिएँ तर प्रधानमन्त्रीको उम्मेदवार भनेर ओलीलाई भोट हाल्दै आएकी थिएँ । यसपालि मेरो भोट बालेनलाई हुन्छ ।’

ओलीलाई पटक–पटक मत हालेर जिताए पनि केही काम नभएको बरालको गुनासो छ । ‘भ्युटावर र दुई/तीन ठाउँ सडक बने होलान् तर त्यही भ्युटावरमा सपिङ सेन्टर खुल्यो भने सामान किन्ने पैसा कहाँबाट आउँछ ?’ उनी भन्छिन्, ‘रोजगारीको केही अवसर छैन, बाले फेरि पनि जितेर केही हुँदैन ।’

कमल गाउँपालिका–२ का ईश्वरी गौतमले भने फरक मत सुनाए । ‘म सधैं एमालेको छत्रछायामा हुर्किएको मान्छे हुँ । तर यसपालि म भोट नहाल्ने गरी बसेको छु । तर बाहिरका उम्मेदवारलाई भेट्नसमेत गाह्रो छ, त्यहीँको मान्छेले स्थानीय समस्या बुझेका हुन्छन् । त्यसैले बालेनलाई कठिन हुने देख्छु,’ उनले भने, ‘बालेनलाई पनि जनताले चिनेका छन्, काठमाडौंमा मेयर भएपछि जनतालाई भेटघाटमा समेत निषेध गरे । त्यसैले ओलीका लागि परिस्थिति असहज छैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending