काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो ।
यति एयरलाइन्सको विमानमार्फत चन्द्रगढी ओर्लिएका ओलीले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने,‘चुनावी सुरक्षा अझै चित्तबुझ्दो छैन ।’
विमानस्थलबाट दमक पुगेपछि प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उनले उही मुद्दा दोहोर्याए, ‘प्रधानन्यायाधीशलाईसमेत धम्की आइरहेको बेला निर्वाचन कसरी होला ?’ उनले पुस १० मा काठमाडौंको एउटा सभामा समेत चुनावी सुरक्षामै चासो व्यक्त गरेका थिए ।
उनले लगातार सुरक्षा–सम्बन्धी टिप्पणी गरिरहनु संयोग मात्रै होइन । झापा–५ मा चुनावी वातावरण तातिएको, नयाँ प्रतिस्पर्धीको प्रवेशले समीकरण बद्लिएको र आन्दोलनपछिको मनोविज्ञानले शीर्ष नेताहरूलाई अधिक सतर्क बनाएको सुरक्षा स्रोत तथा विश्लेषकहरूको बुझाइ छ ।
झापा–५ ओलीको परम्परागत निर्वाचन क्षेत्र हो । झण्डै ३० वर्षदेखि एमालेको प्रभाव लगभग निर्विवाद देखिँदै आएको यो क्षेत्रमा यसपटक सत्ता–विरुद्ध बहस र नयाँ नेतृत्वप्रतिको आकर्षण समानान्तर उक्लिरहेको छ ।
काठमाडौं महानगरका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएपछि स्थिति बदलिएको स्थानीय मतदाताहरुको भनाई छ । स्थानीय मतदाताहरु भन्छन्, ‘युवापुस्ताको चासो बालेन्द्रतर्फ तीव्र छ । पुरानो नेतृत्वविरुद्ध पुस्तान्तरणको बहस खुलेर उठेको छ र एमालेभित्र पनि अघिल्लोजस्तो सहज वातावरण छैन ।’
यही परिस्थितिमा ओलीले सुरक्षा प्रसंग एकपछि अर्को पटक उठाउनु राजनीतिक संकेतका रूपमा पनि व्याख्या गरिएको छ । दमकका मतदाता रमेश चम्लागाई अनुमान गर्छन्, ‘ओलीको भाषणमा सुरक्षा–बहस बढ्नु झापा–५ मा अप्रत्यासित चुनौती देखिन थाल्नुको कारण पनि हुनसक्छ ।’
जेनजी आन्दोलनका क्रममा एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरूलाई सडकमा व्यापक प्रतिरोधको सामना गर्नुपर्यो । त्यही समय ओलीमाथि उपत्यकाबाट बाहिर निस्कन नपाउने स्थानहद जारी गरिएको थियो । छानबिन आयोगले गुन्डुस्थित ओली निवास पुगेरै बयान लिएपछि गत पुस २१ मा स्थानहद फुकुवा गरिएको थियो।
राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्,‘जेनेजी आन्दोलनपछि पुराना दलका नेताहरूमा एक किसिमको गहिरो मनोवैज्ञानिक दबाब बनेको छ । आलोचना, प्रतिरोध र चुनौतीलाई अब उनीहरूले पहिलेभन्दा संवेदनशील रूपमा बुझिरहेका छन् ।’
ओली झापा आइपुगेका दिन आएको भीड र स्वागत पुरानै थियो, तर आन्दोलनपछिको स्थानीय भावनामा आएको परिवर्तनले उनलाई सुरक्षा विषयमा बढी सतर्क बनाएको देखिन्छ । ओली निकट एक नेताले भने,‘उहाँ अब भीडभाड र चुनावी प्रतिस्पर्धालाई पहिलेभन्दा अलग ढंगले हेर्नु हुन्छ । आन्दोलनपछिको वातावरण पूर्ण रूपमा शान्त छैन भन्ने अनुभूति उहाँमा देखिन्छ ।’
गत पुस १६ मा भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा समेत चुनावी सुरक्षाबारे गम्भीर छलफल भएको थियो । त्यो बेला सहभागी एक सुरक्षा अधिकारीले भनेका थिए, ‘चुनावी प्रतिस्पर्धा यसपाली पुरानाविरुद्ध नयाँबीचको हुने संकेत देखिन्छ ।’
सुरक्षा अधिकारीहरुका अनुसार बालेन्द्रको झापा आगमनले राजनीतिक संवेदनशीलता बढेको छ । प्रभाव क्षेक्र त्रस हुने भएकाले अवस्थालाई व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन सक्ने ती अधिकारीको भनाई छ ।
झापा–५ मा बालेन्द्रको टिकट टुंगो लागेसँगै एमाले, रास्वपा, स्थानीय स्वयंसेवी समूह र विभिन्न स्वतन्त्र अभियानकर्ताहरूको सक्रियता बढ्दै गएको छ। सुरक्षा निकायले यस्तै भीडभाड, जुलुस र भावनात्मक ध्रुवीकरणलाई चुनावअगाडि जोखिमपूर्ण मान्ने गरेको बताइन्छ । यो समाचार आजका्े कान्तिपुर दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: