फाल्गुन १२ गते, २०७३ बिहिवार 23rd February, 2017 Thu०८:०३:३७ मा प्रकाशित
राष्ट्रकवि माधवप्रसाद घिमिरे उमेरले ९७ वर्ष नाघिसके । तर, अझै पनि सिर्जनाकर्ममा तल्लीन छन् । आजभोलि पनि उनी कार्यक्रमहरूमा उत्तिकै देखिन्छन्, नयाँ कविका कविता पनि पढिरहेको बताउँछन् । पछिल्लो समय महाकाव्यको तयारी गरिरहेका घिमिरेबारे पढ्न रुचाउनेको संख्या उत्तिकै बढिरहेको छ । पूरै जीवन सिर्जनात्मक भएर बिताएका घिमिरे रचना र साहित्य, कविता र देश, विकास र अध्यात्मलाई यो उमेरमा कसरी परिभाषित गर्छन् त ?
जहाँ संघर्ष छ, संघर्षका कुरा आउँछन्, मानिसहरू त्यसलाई चाख दिएर पढ्छन् । राजनेताहरूको जीवनमा बाहिर देख्ने किसिमको जेल पर्ने, निस्किने संघर्ष हुन्छ । तर, साहित्यकारहरूको संघर्ष आन्तरिक हुन्छ । कविको जीवनमा अर्कै किसिमको संघर्ष हुन्छ । समाज एकातिर छ, कमाएर खाने समाजमा त्यही किसिमको नबनूँ भने पनि समाजमा जीवन निर्वाह गर्न सकिँदैन । कविहरूको लेखनकार्य भने कमाएर आर्थिक लाभ लिन नसकिने हुन्छ । हाम्रो पालामा लेखनकार्यबाट आर्थिक लाभ लिन सकिन्छ भन्ने कुनै बाटो थिएन । कतै छापिहाल्छ कि भन्ने आशामा लेख्ने प्रचलन थियो । पत्रपत्रिकामा छापियो भने दंग पर्ने समय थियो । अब त लेखन पनि एउटा पेसा बनिसकेको छ । जुन कुरा आफूले उत्पादन गरिन्छ, त्यही कुराको धनी आफू हुन सकिन्छ भन्ने मैले केही समययता सुन्दै आएको छु । मलाई यो कुराले निकै खुसी लागेको छ ।
कविताप्रतिको रुचि
अरू विषयप्रतिको रुचि कसरी हुन्छ, मलाई थाहा छैन । तर, कला र साहित्यप्रतिको रुचि अनौठो हुन्छ । कसैले मुरली बजाउँछ, त्यसको धुन सबैलाई मीठो लाग्छ । तर, अर्कोले तुरुन्तै उस्तै बजाउन सक्दैन । निकै मिहिनेत गरेपछि मात्रै अर्को व्यक्तिले पनि सबैलाई मोहित बनाउने गरी मुरली बजाउन सक्छ । मेरो पिताजीको मुखबाट ‘उपदेश’ भन्ने किताबको कविता सुनेँ ।
म त्यो कविताको अर्थ होइन, त्यसको भाकातर्फ आकर्षित भएँ । पछि, लेखनाथ पौडेलको कविता सुनेँ । त्यहाँ लेखनाथको भाका थिएन, तर कवित्व थियो, आकर्षित गर्ने तत्व थियो । कविताको अर्थले पनि मलाई तान्यो । त्यसपछि मैले कविता लेख्न सुरु गरेँ । मुख्य कुरा जसले कसैको करकापमा नपरी नयाँ कुराको थालनी गर्छ, प्रशंसा गर्नेहरूले प्रशंसा गरिदिए भने त्यो अगाडि जान्छ । तर, कसैले प्रशंसा गरिदिएन र उल्टै निन्दा गरिदियो भने त्यो त्यहीँ अड्किन्छ । कला, साहित्य र संगीतको साधना भनेको सुकुमार चिजहरूको साधना हो । प्राप्ति छ भने त्यसलाई समाजले रुचाइदिनुपर्छ । त्यति हुनासाथ माथि जान्छ ।
मैले छन्दमा लेखेको कविता पनि मलाई गुरुहरूले बयान गरिदिनुभयो, त्यसले मलाई अरू कविता लेख्न प्रेरणा दिएको थियो । पछि, काठमाडाैँमा आएर लेखेका पछिल्ला कविताहरू बढो होसपूर्ण ढंगले रचना गरेको थिएँ । आफूलाई चित्त नबुझेका कविताहरू मैले प्रकाशित गरेकै छैन । यो दौरानमा एउटा कविता बनाउन पनि मलाई धेरै समय लागेको छ ।
कविता यसरी लेख्छु
कतिपयले राष्ट्रकविले कविता बाहिर ल्याउन किन ढिलो गरेको होला भन्छन्, कविता भनेको पहिले नभएको कुरा ल्याउने हो । पहिले कल्पना गरियो अथवा अद्भुत कुराको आभास आयो, त्यसलाई पक्रौँ पक्रौँ जस्तो लाग्छ, नपक्रौँ जस्तो पनि लाग्छ, अचम्म लाग्छ, त्यही वेलामा त्यसलाई ध्यानमग्न भएर चिन्तन गर्दै गयो भने त्यो कविता बन्छ । जस्तोः इन्द्रेणी परिरहेको वेला मानिसहरूले यहाँ आओ त, हेर इन्द्रेणी परेको भन्दा पछि आएर हेरौँला नि भन्नेहरूले पछि इन्द्रेणी देख्न पाउँदैनन् । त्यो त हराइसकेको हुन्छ । समयमा त्यसलाई पक्रन सकेर शब्द छानीछानी दियो भने आफूले सोचेजस्तो कविता बन्छ ।
त्यसमा पनि श्रोताको मनलाई सम्बोधन गर्छ कि गर्दैन, त्यसलाई ध्यान दिएर मात्रै मैले अहिलेसम्मका कविता बाहिर ल्याएको हुँ । जस्तोः कुखुरीले फूल पार्न समय चाहिन्छ र बच्चा कोरल्न झनै समय लाग्छ । लोकदोहोरीमा जस्तो तुरुन्तको तुरुन्तै जवाफ दिनेजस्तो कविता होइन । एउटाले प्रश्न सोध्यो, अर्कोले जवाफ दिने भनेको सवालजवाफमा हुन्छ । वास्तविक रचना गर्नलाई त सुर पक्रन नै गाह्रो हुन्छ । यसको सुरु र अन्त्य थाहै हुँदैन । रचना पक्रिनलाई सचेत हुनुपर्यो, आइसकेपछि झनै समाप्ति भद्रगोल हुन सक्छ । त्यसलाई झनै ध्यान दिनुपर्छ ।
रहरले कवि बनिँदैन
मप्रति कवित्व रहेछ भन्ने थाहै हुँदैन । अरूले बयान गर्नुपर्छ । रहर गर्दैमा कवि हुन सक्ने कुरा होइन । उसको भित्री हृदयबाट नै जागरण हुनुपर्छ । कहिलेकाहीँ पहिलोचोटि नै राम्रो चिज आउँछ र ऊ आफैँलाई गाइरहूँ जस्तो लाग्छ । त्यो परमेश्वरको वरदान हो कि, केही भन्न सकिन्न । कसैसँग प्रेम बसेको थियो, पछि बिछोड भयो भने उसले बिछोडका शोककाव्य लेख्छ । तर, भित्र भएको क्षमतालाई चिन्न र कोट्याउन सक्नुपर्छ ।
व्यवस्था परिवर्तनले कविता मर्नुहुन्न
कविता, संगीत, चित्रकला वा नृत्य जो हो, यसलाई कुनै समय चाहिँदैन । कालिदासको कविता त्यो वेला पनि मानिसलाई मन परेको थियो । व्यवस्था र सामाजिक नियम अलग थियो । तर कवित्व मात्रै मानिसले पक्रिए । विभिन्न राजाको बयान छ, कालिदासकै कवितामा पनि । हामी लोकतन्त्रमा आइसक्यौँ, त्यो राजाको बयान भएको किन पढ्ने भनेर भएन । त्यो वेलामा त्यही थियो, त्यो व्यवस्थाको प्रतीक हो भन्ने सम्झेर हामी पढ्छौँ । कालिदास, वाल्मीकि,लक्ष्मीप्रसाद देवकोटा सबैको कवित्व नै थियो । तर, कहिलेकाहीँ समयको प्रभाव पर्छ । जस्तोः एक सय वर्षअघि दलित समुदायकी केटीसँग विवाह गरियो भने जेल जानुपथ्र्यो । अहिले त विवाह गरेर घरभित्र ल्याए पुरस्कार दिन्छन् । त्यसैले कुसंस्कारहरू क्रमशः मेटिँदै जान्छन् । मेटिसकेपछि त्यसवेलाको समयको व्यवस्था नै अलग हुन्छ । केही रचना समयसापेक्ष र केही निरपेक्ष छन् । महाकवि देवकोटाको एउटा पंक्ति– सिर्जना भित्र रचना राम्रा नजरका जुहार ईश्वरको हाँसो पाएका फूल छोएर नमार
यो चार हजार वर्षअघि गाएको भए पनि उत्ति नै मीठो हुन्थ्यो, अहिले पनि त्यति नै मीठो छ ।
अनि लेखनाथ पौडेलका केही पंक्ति–कोइलीको कुहुँकार सुन्यो राति जति जति उति उति नयाँ लाग्छ यो सारा सृष्टि पद्धति
यसलाई समय चाहिँदैन । जुनसुकै वेला पढे पनि मीठो हुन्छ । राम्रो कुरालाई भाषाले छेक्दैन । देश वा सिमानाले छेक्दैन । राम्रो कुरालाई अनुवाद गरेर मानिसहरूले पढेकै हुन्छन् । सत्य र सौन्दर्य भनेको सार्वभौमिक हुन्छ । समाज जति विकसित हुँदै गयो, त्यो चिजमा त्यति नै बानी पर्दै जाने कुरा हो । पहिले संगीतलाई मानिसले हाँसेर उडाउँथे, तर त्यसलाई बुझिसकेपछि वाह ! गर्छन् ।
साहित्य, कला र संगीतलाई बुझ्न सक्ने समाज हुनुपर्यो । समाजको उन्नति हामी चाहन्छौँ । संविधानमा व्यवस्था भएको छ, त्यो राम्रो हो । त्यति हुँदाहुँदै पनि संस्कार बदल्न र खबरदारी गर्न साहित्यकार चाहिन्छ । राजनेता तथा समाजसेवीहरूले सेवा गरेका हुन्छन् र त अरूको हृदय परिवर्तन हुन्छ ।
देश बनाउन भनेर कविता लेखिनँ
संविधान आयो भन्दैमा अब हामी बदलियौँ नभनौँ, त्यसका निम्ति हाम्रा रचना चाहियो । हाम्रा संस्कार र राजनीतिक चेतना माथि हुनुपर्यो । अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकन १७ वर्षभन्दा बढी हारेर अन्त्यमा जितेर आए । जितेपछि दासत्व विमोचन गरे । मान्छेलाई मान्छेले पशुजस्तो बनाउँदा उनको कति चित्त दुखेको थियो होला, तर त्यसविरुद्ध उनले धेरै संघर्षपछि मात्रै सफलता पाए । जसले गर्दा उनी इतिहासमा अमर बने ।
त्यसकारण मान्छेलाई उठाउन मान्छे नै चाहिन्छ । देशलाई उन्नतिमा लैजान काम गर्नुपर्छ । यस्तो देशमा के बस्नु भन्दै अरू देशमा जानु राम्रो होइन । देश बनाउने त आखिर तिनीहरूकै जिम्मा थियो, जो भागेर गए । तर, बाँकी रहेका मान्छेको होस आउनुप¥यो । मैले त देश बनाउन भनेर कविता लेखेको होइन । मुरली बजाएको सुन्दा मुरली बजाउन सिकेजस्तो मैले पनि अरूले साहित्य पढेको सुनेर लागेँ । पछि, मेरा सिर्जनाले राष्ट्रलाई हित भयो । अहिले आउँदा आफँै दंग पर्छु ।
मुलुक यसरी बनाऔँ
सूचना प्रविधिको विकासले विश्व एक भएको छ । यसको मतलब अरूको राम्रो कुरा तुरुन्तै देख्नु हो । त्यो राम्रो वा नराम्रो जे चिज भए पनि देख्नेको मन त्यतै जान्छ । प्रविधिको विकासले हामीलाई काम छिटो गर्न चेतना दिएको छ । अब अलमलिने समय छैन । अमेरिकाजस्ता विकसित देशहरू ऊर्जाको विकासले अगाडि आएका हुन् । पहिले कोइलाको ऊर्जा पायो, त्यसले रेल चलायो ।
अहिले अणुशक्तिको ऊर्जा पायो, अहिले ग्रहहरूको पनि पछिल्लो ग्रहको सूचना उनीहरूले लिन्छन् । त्यसैले हाम्रो नेपालको पनि विकास छिटो गर्नु छ भने ऊर्जाको विकास गर्नुपर्छ । किनकि, पहिले हाम्रो मस्तिष्कले मात्रै काम गथ्र्यो । मस्तिष्कको वेगभन्दा तीव्र हामीलाई थाहै थिएन । अहिले बिजुलीको वेग मानिसको मस्तिष्कको वेगभन्दा बढी छ । त्यसको माध्यमले अरू भौतिक चिजको मात्रै होइन, बौद्धिक र मानसिक चिजको विकासमा विद्युत्को आविष्कारले प्रभाव पारिरहेको छ । जस्तोः विद्युत्ले हुत्याउँदैनथ्यो भने चन्द्रमामा मानिस कसरी पुग्थ्यो ? कसरी मौसम तथा अरू कुराको पूर्वानुमान गर्न सकिन्थ्यो ? त्यसैले विज्ञानकै हातमा धेरै शक्ति छ । हरेक क्षेत्रको विशेषज्ञ तयार पार्न राज्य लाग्नुपर्छ । सूचना, प्रविधि, विज्ञानको विकास देख्दा मलाई खुसी लाग्छ ।
विलाप गर्ने समय होइन
मानिसले दरिद्र बन्नु आवश्यक छैन । मानिसले मानिसलाई भेदभाव गर्नु आवश्यक छैन । विज्ञानको प्रयोग गर्दै कमाउने, नयाँ प्रविधिको प्रयोगबाट आफ्ना सन्तानलाई शिक्षित बनाउने अवसरहरू छन् । केही पनि भएन भनेर विलाप गर्ने समय छैन । त्यसैले गरिबी, कष्ट र अशिक्षाबाट समाजलाई माथि उठाउन विज्ञानको विकासले धेरै सहयोग पुर्याएको छ । चेतनाको पत्र उघारेर हेर्ने हो भने विद्युत्शक्ति अथवा अणुशक्ति केही पनि होइन । चेतनाको पत्र उघारेर हेर्ने हो भने अझै धेरै चमत्कार संसारभित्र छन् । त्यसैले मानिस प्रबुद्ध बन्दै जानुपर्यो । मानिसमा गरिबी छ ।
मरुभूमिको पनि विकास गर्न सकिन्छ । मानिस बस्तीविहीन ठाउँमा बस्ती बसाल्न लागे हुन्छ । हामी दरिद्र भएर व्यवस्थाका निम्ति हाम्रो कुरा नमाने हान्छौँ भनेर तर्साएर के काम ? बिहान–बेलुका काम गरेर कतिले छाक टारेका छन् । कोही अपार धनी भएर विश्वकै धनी भइसके । त्यसैले मानव जाति दरिद्र बन्न आवश्यक छैन । अर्काको दुःख बुझ्न सके मात्र जीवनले सार्थकता पाउँछ ।
अज्ञानी र प्रबुद्धहरू
मानिस आध्यात्मिक हुन्छ नै । अध्यात्मको पत्रमा छिरिसकेपछि मानिसलाई जति भित्र गयो, उति अचम्म र आनन्द लाग्छ । चुरोट र रक्सी खाएर एकैछिन झमझमाएर आनन्द प्राप्त गरेजस्तो होइन, अध्यात्मको आनन्द । यो त अपार हुन्छ । सधैँ भारी बोकेको छ, दुःख पाएको छ, कैयौँ पुस्ता त्यस्तै भयो । अब त्यसले मोक्षका लागि कहाँ जाने, कहाँ अध्यात्ममा जाने ? प्रशासन केका लागि ? राज्य केका लागि ? दुरुपयोग नगर भन्नाका लागि हो । एउटाले थुपार्ने र अरूले खान नपाउने भन्नका लागि होइन । सुरक्षा दिनका लागि हो ।
अहिलेको प्रशासनको काम–कारबाही धेरैतिर रुमल्लिएको छ । प्रबुद्ध वर्ग भए पनि अज्ञानीहरू उत्तिकै छन् अहिलेको जमानामा । विश्वमा अहिले भइरहेको विकासबाट हामीले पाठ सिक्नुपर्छ । यो विश्वमा भएको वैज्ञानिक विकासलाई हामीले गुमाउनुहुन्न । हामी पनि सधैँ गरिबीमा नबाचौँ, विकास गरौँ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: