जापान । अघिपछि उनीहरुबीच चिनजान त के सामान्य बोलचाल पनि थिएन । भाइटीकापछि जापानी हारुका ताकेउची बहिनी बनिन् । उनले टीका लगाइदिएर गलामा माला पहिराएपछि नेपाली दाइ बने । प्रायः चलचित्रमा देखिने यस्ता दृष्य तपाईँ हामीले यथार्थ जीवनमा कमै देखेका छौँ । यो दृष्य जापानको राजधानी टोकियोमा शनिवार देखिएको हो ।
दीर्घायुको कामनाका साथ दानदक्षिणा र उपहार आदानप्रदान गरेर मनाइने भाइटीका पर्वमा एकापसमा परिचित नभएका उनीहरु टीका र माला लगाएर दाइ र बहिनी बनेको यो दृष्य जापानका नेपालीमाझ पनि नौलो भयोे । दिदीबहिनी नहुनेले अर्कैलाई दिदीबहिनी बनाएर टीका लगाउने चलन नेपालमा सीमित यो चलन जापानमा पनि देखिएको हो ।
नेपाली कलासस्ंकृतिप्रतिको मायाले नेपाली हिन्दूको चाड तिहारमा जापानीले केटालाई दाइ र आफू बहिनी बनेर टीका लगाउने काम मात्र भएन, यहाँका नेपाली महिलालाई दिदी र बहिनी बनाएर र बनेर टीका लगाउने पनि देखिएका थिए । देउसीभैलोमा पनि सहभागिता जनाएका उनीहरुले नेपालीसरह नगद, फलफूल र मीठा परिकार बनाएर लक्ष्मीको पनि पूजा गरे ।
नेपाली छोरी बन्न पाएकामा ताकेउची खुशी थिइन् । उनले स्थानीय नेपाली पसलबाट कुर्ता, सुरुवाल र पछ्यौरी पनि किनेकी थिइन् । उनले अरु जापानी साथीलाई साडी र ब्लाउजमा टीका लगाउने व्यवस्था मिलाएकी थिइन् । टोकियोमा युका चुचुई र ताकेउचीलगायतले टीका थापेका थिए ।
टोकियो बाहिर सेन्डाइ र होक्काइदोमा पनि जापानीले नेपालीलाई दाइभाइको नाता लगाएर सप्तरंगी टीका र माला लगाएका छन् । उनीहरु टीका र माला लगाएर दाइभाइ र दिदीबहिनी बनेका दृष्य अनौठा थिए । भाइटीकामा गरिएको यस कार्यलाई उनीहरुले नेपाल र नेपालीको माया, सद्भाव तथा विविधतामा एकता भएको बताएका छन् ।
कुकुरलाई माला लगाएर तिहार भित्र्याएका नेपालीले सेल रोटी, फिनी, लड्डु, रसबरीलगायत मीठा परिकार बनाएको र मादल, गीतारमा भट्याएर नाचेको परम्परागत देउसीभैलोमा पनि जापानीले उत्साहित भएर अवलोकन गरेका थिए । भाइटीका लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसगैं अन्य विदेशी घोरिएका हुन्थे ।
कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपालीले टीका थापेर तिहारलाई बिदाइ गरेका छन् । बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका, नागोया ,फुकुओकालगायत स्थानका नेपालीले भने पञ्चांग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभसाइत(जापानी समयानुसार ३ बजेर ५ मिनेट)मा टीका लगाएका थिए ।
टोकियोका धेरै स्थानमा सामूहिक रुपमा खेलिएको देउसीभैलोमा तडकभडक र बढ्दो बिकृति हटाउन पछिल्ला दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरिएको थिएन ।
प्रतिकृया लेख्नुहोस्: