पौष ५ गते, २०७५ बिहिवार 20th December, 2018 Thu०९:२१:५५ मा प्रकाशित
चिनियाँ सांस्कृतिक क्रान्तिले चीनलाई शिक्षा, कृषि, उद्योग, विज्ञान र प्रविधिका अनेक क्षेत्रमा भयानक क्षति पुर्यायोकाठमाडौँ । सन् १९७९ मा चीनले पहिलो खेपमा ५२ जना विद्यार्थीलाई अध्यनका लागि अमेरिका पठायो । विज्ञान तथा प्रविधि, अर्थशास्त्र र वाणिज्य शास्त्रलगायत विविध विधामा तिनले अमेरिकी विश्वविद्यालयमा गएर सिक्नेछन् र फर्केपछि चीनको आधुनिकीकरणमा सहयोग गर्नेछन् भन्ने चिनियाँ सरकारको अपेक्षा थियो । त्यही समूहमा अमेरिका गएका साइन्सका एकजना विद्यार्थी थिए, यान दा चुन ।
आजको नया पत्रिका दैनिकमा खबर छ - तिनले साउथ चाइना मर्निङ पोस्टका लागि दिएको भिडियो अन्तर्वार्तामा एउटा महत्वपूर्ण कुरा भनेका छन्– ‘मान्छेहरू भन्छन् कि विज्ञानको कुनै सिमाना हुँदैन । वास्तवमा यो अवधारणा गलत छ । वैज्ञानिकहरू राष्ट्रिय सीमामा बसेका हुन्छन् । त्यसो भएपछि विज्ञानको पनि निश्चितै रूपमा राष्ट्रिय सीमा हुन्छ ।’
यसमा केही गम्भीर अवधारणा निहित छन् । विज्ञान र विचारहरूको अनुसन्धान, विकास र प्रयोगका निम्ति निश्चित राष्ट्रिय अर्थराजनीतिक र ऐतिहासिक अवस्थाको प्रभाव रहन्छ । विज्ञान र विचारको प्रयोगका सीमालाई पनि राष्ट्रिय राजनीतिका सापेक्षताले प्रभावित गर्छन् । अन्यथा दुनियाँ अहिलेको जस्तो असमान विकासको सिकार हुने थिएन ।
यान दा चुन र उनको समूह अमेरिका जाँदै गर्दा बन्द समाज रहेको र आफ्नै समाजवादी अभ्यास गरिआएको चीनमा मात्र होइन, विश्वभर नै देङले थालेको सुधार प्रक्रियाले चीनलाई पुँजीवादी बनाउला कि समाजवाद कायमै रहला भन्ने विषयमा भिन्न मत थिए । गम्भीर बहस थिए । त्यसको प्रभाव हाम्रो देशको कम्युनिस्ट आन्दोलनमा पनि थियो ।
वास्तवमा देङकै विचारको पछि हिँड्दै जाँदा मालेले आफूलाई शान्तिपूर्ण उदारवादी बाटोमा लाने आधार तयार पारेको थियो । र, देङको विरोध गर्दै सांस्कृतिक क्रान्तिको समर्थन गर्दै जाने तत्कालीन नेकपा चौम, पछि नेकपा मशाल जनयुद्धमा पुगेको थियो । अहिले यी दुवैको फ्युजनका रूपमा नेकपा बनेको छ र सत्ता चलाइरहेको छ । नेपालमा भएका यी प्रयोग बाहिरी प्रभावका सिकार अवश्य छन्, तर तिनका राष्ट्रिय सीमा पनि थिए र छन् भन्ने पनि प्रस्ट छ ।
कम्युनिस्ट पार्टीकै नाममा (उसको कम्युनिस्ट तत्वबारे विमति अवश्य छन्) उदारवादी राज्य प्रणालीअन्तर्गत निर्वाचन लडेर सहज बहुमत ल्याई सरकार बनाउने अवस्था आउनु पनि मार्क्सवादको प्रयोगको राष्ट्रिय सीमाकै एउटा उदाहरण हो ।
सन् १९७८ डिसेम्बरमा भएको ११औँ पार्टी केन्द्रीय कमिटीको तेस्रो विस्तारित बैठकमा देङ सियाओ पिङ पार्टीमा पूर्ण रूपमा हाबी भएका थिए । पार्टी अध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष र प्रधानमन्त्रीका रूपमा हुवा को फेङ रहेको भए पनि उपप्रधानमन्त्री देङ र उनको समूह निर्णय प्रक्रियामा पूर्ण रूपमा प्रभावशाली हुँदै गएपछि सुधार र खुलापनलाई पार्टीको तात्कालिक कार्यभार बनाइयो ।
यसअघि चाउएन लाईले अघि सारेको चार आधुनिकीकरणको सिद्धान्तलाई मुख्य कार्यसूची बनाइयो । यो खुलापन र सुधारले समग्र संरचनागत परिवर्तनको माग गर्थ्याे। चीनलाई एउटा पछौटे समाजबाट आधुनिक अर्थतन्त्र, आधुनिक संस्कृति, विकसित उद्योग र सैन्य क्षमतासहितको विकसित देश बनाउने उद्देश्य राख्थ्यो । अन्तर्राष्ट्रवादी कम्युनिस्टले आफ्नै देशमा समाजवाद विकास गर्ने र बलियो चीन बनाउने दिशामा जानुलाई विचारको राष्ट्रिय सीमा हुनुको अर्थमा लिनुपर्छ ।
सन् १९४९ मा जनवादी क्रान्ति भएलगत्तै चिकपामा चीनलाई कुन बाटोमा लाने भन्ने विषयमा बहस थिए । माओको प्रभाव यति जबर्जस्त थियो कि उनले पार्टी संरचनालाई बेवास्ता गरेर आमजनतामा अपिल गर्दासमेत उनी नै माथि पर्थे । उनले जे भने त्यही लागूू हुँदै जाँदा तीनवटा प्रयोग भए ।
पहिलो चरणमा भूमिसुधार लागू गरियो र भूमि सम्बन्धमा सामन्तवाद उन्मूलन गरियो । उद्योगमा दलाल पुँजीलाई निषेध गरियो । दोस्रो चरणमा भूमि र उद्योगमा समेत निजी पुँजी निषेध गर्ने बाटो अवलम्बन गरियो । कम्युनहरू बने । महान् फड्को अर्थात् ‘ग्रेट लिप फरवार्ड’का नाममा तत्काल समाजवादमा जाने बाटो हिँड्न भनियो ।
माओ छिटोछिटो समाजवादतिर जान चाहन्थे । तर, पार्टी नेता तथा राष्ट्रपति ल्यु साओ ची र महासचिव देङ बजारको भूमिका कायम राख्दै पुँजीवादी जनवादी विकासको बाटो हिँडेर समाजवादका लागि आधार तयार पार्नुपर्छ भन्थे । यो बहसकै बीच महान् फड्को असफल भयो । माओले पार्टीभित्रका दक्षिणपन्थीले समस्या सिर्जना गरेको भन्दै सांस्कृतिक क्रान्तिको आह्वान गरे ।
सन् १९६६ देखि १९७६ सम्म भएको सांस्कृतिक क्रान्तिले, जसलाई चिकपाको १२औँ महाधिवेशनले गडबडीका १० वर्ष भनेर मूल्यांकन गरेको थियो, चीनलाई शिक्षा, कृषि, उद्योग, विज्ञान र प्रविधिका अनेक क्षेत्रमा भयानक क्षति पुर्यायो । सेप्टेम्बर १९७६ मा माओको मृत्यु हुने वेला चीन विश्वका पिछडिएका अर्थतन्त्रमध्ये एउटामा दरिन्थ्यो । झन्डै ८० प्रतिशत जनता गरिबीको रेखामुनि थिए । जताततै अस्तव्यस्तता थियो ।
राजनीतिक रूपले उत्थान र पतनका अनेक शृंखला पार गरेका, फोर्थ जनवादी क्रान्तिका समयमा आर्मीको कमान्डिङ गरेका देङ जीवित नेतामध्ये सबैभन्दा सिनियर तथा तीक्ष्ण बौद्धिक क्षमता र दूरदृष्टि भएका नेता थिए । उनले पार्टीका नीतिमाथि प्रभावशाली हस्तक्षेप गरे र विश्वको समाजवादी आन्दोलनमा त्यतिवेलासम्म प्रयोग नभएको आर्थिक राजनीतिक सुधारका काम अघि बढाए ।
विज्ञान र विचारको प्रयोगका सीमालाई पनि राष्ट्रिय राजनीतिका सापेक्षताले प्रभावित नगर्ने भए दुनियाँ अहिलेको जस्तो असमान विकासको सिकार हुने थिएन
उनको सुधारको मुख्य मन्त्र थियो : राजनीतिमा कम्युनिस्ट पार्टीको नेतृत्वमा प्रश्न उठ्न नदिने, अर्थतन्त्रमा बजारको भूमिकालाई प्रभावकारी ढंगले प्रयोग गर्ने । समाजवादी बजार अर्थतन्त्र नाम दिइएको सो सुधारलाई चिनियाँ समाजले यति छिटो अंगीकार गर्यो कि चीन यी ४० वर्षमा अजंगका उपलब्धि हासिल गर्दै विश्वको नम्बर दुई अर्थतन्त्रमा फड्को मार्न सफल भयो ।
वास्तवमा जनवादी क्रान्तिपछि साँच्चैको ग्रेट लिप फरवार्ड यिनै चालीस वर्षमा सम्भव भयो । गरिबीलाई ८० प्रतिशतबाट एक प्रतिशतमा झारियो । ग्रामीण जीवनको प्रधानता रहेको चीन अब सहरमा बस्ने मानिसको बहुलतामा फेरियो । अन्तरिक्ष विज्ञानदेखि नयाँ सिल्क रुटसम्म उसले पाएका सफलताले चीन विश्वको अग्रणी शक्तिका रूपमा स्थापित हुँदै गएको छ ।
१९७९ मा अमेरिकामा विज्ञान र प्रविधि पढ्न छनोट गरिएका विद्यार्थी फर्केर चिन आए र तिनले अर्थशास्त्र, वाणिज्य शास्त्र, विज्ञानका अनेक शाखा र प्रविधिमा चिनियाँका नयाँ पुस्ता हुर्काउन सहयोग गरे । त्यसपछि त लाखौँ चिनियाँले अमेरिका र युरोपका विश्वविद्यालयबाट ज्ञान आर्जन गरेर फर्केका छन् । अहिले समाजका हरेक क्षेत्रमा अमेरिकासँग प्रतिस्पर्धा गर्ने हैसियतमा चीन पुगेको छ ।
र, त्यसका राजनीतिक सीमा अमेरिकासँग सीधा टकराउन थालेका छन् । चीनको प्रतिस्पर्धी क्षमतालाई ध्वस्त पार्ने र उसलाई नम्बर वान हुन नदिने उद्देश्यले हालै अमेरिकाले चीनमाथि व्यापारिक युद्ध थोपरेको छ । पछिल्लो समय चीनको मोबाइल तथा दूरसञ्चार क्षेत्रको बहुराष्ट्रिय कम्पनी हुवावेकी वित्तीय प्रमुखलाई अमेरिकाको दबाबमा क्यानडामा गरिएको गिरफ्तारी सो संघर्षको विशिष्ट अभिव्यक्ति हो ।
यसबीच पहिले निजी सम्पत्ति उन्मूलनका क्रममा स्थापित समाजवादी अर्थतन्त्रका केही आधार ध्वस्त पारिए । शिक्षा र स्वास्थ्य सेवामा रहेको पहुँच र रोजगारीमा एकप्रकारले रहेको निश्चितता समाप्त पारियो । एकपटक कुनै उद्योगमा प्रवेश गर्नेको आजीवन सामाजिक सुरक्षा हुने अवस्था समाप्त पारियो । एउटा विशाल मध्यम वर्गको उदय भयो ।
अरबपति धनिमानीको संख्या उल्लेख्य रूपमा बढ्यो । सामूहिक हितहरूलाई व्यक्तिगत हितले जित्दै थिच्दै लैजाँदा व्यक्तिवाद हाबी हुँदै गयो । भ्रष्टाचार एउटा महारोग बन्यो । यसको प्रभावस्वरूप चिनियाँमा सुधारको विरोध गर्ने र उग्र सुधारको माग गर्नेहरूबीच टक्कर सिर्जना भयो ।
केही पुरानै माओकालीन समातवादी समाजमा फर्कनु उचित हो भन्थे । केही चीनले समाजवाद छाडेर पश्चिमा उदारवाद अँगाल्नुपर्छ भन्थे । यसको परिणाम थियो सन् १९८९ मा तियनमेन स्क्वायरमा भएको प्रदर्शन र दमन । उदारवादीको उक्त प्रदर्शनलाई सुधारवादी देङले नै दमन गरेर किनारा लगाए ।
देङदेखि हु याओ वाङ, चियाङ जेमिन, हु जिन्ताओ, चु रोङ ची र सि जिन पिङलगायत नेताले समाजवादी ध्येयलाई पछ्याउँदै चीनमा गतिशील शासन सञ्चालन गरिरहे । कम्युनिस्ट पार्टीले समाजमा उत्पन्न अन्तरविरोधलाई समाधान गर्ने, चिनियाँ समाजलाई आर्थिक तथा सांस्कृतिक रूपमा सम्पन्न बनाउने, जनतालाई सुविधा सम्पन्न बनाउने र जनताको हितलाई केन्द्रमा राखेर आफ्ना नीति र व्यवहारमा निरन्तर परिवर्तन ल्याउने प्रक्रियालाई कहिल्यै छाडेन ।
यही एउटा प्रगतिशील तत्व थियो, जसले चिनियाँ कम्युनिस्ट पार्टीको सत्तालाई वैधता दिइरह्यो, दिइरहेको छ । एकपटक बैंककमा भेट भएका चिनियाँ युवा कम्युनिस्ट लिगका महासचिवसँगको कुराकानीको सम्झना हुन्छ । बडो आदर्शवादी हुँदै मैले उनलाई चीनले लिएको बाटो पुँजीवादमै गएर सिद्धिने खतरा रहेको बताएको थिएँ ।
उनले जवाफमा भनेका थिए— जुन व्यवस्था आफ्ना जनतालाई सम्पन्न बनाउन र उनीहरूका आर्थिक सांस्कृतिक माग पूरा गर्न असफल हुन्छ, त्यस्तो व्यवस्था कसैले दाबी गर्दैमा राम्रो हुने होइन । जब बजार समाजवादको बाटोबाट चीन सम्पन्न हुनेछ अनि मात्र हाम्रो समाजवादप्रति जनताले समर्थन जनाउनेछन्, कम्युनिस्ट पार्टीले दाबी गरेर मात्र व्यवस्था राम्रो हुने होइन ।
अहिले हेर्दा चिनियाहरूको पहिलो पुस्ताका देङदेखि पछिल्ला सिसम्म सबै एउटै लयमा हिँडेको देखिन्छ । १८ डिसेम्बरमा खुलापन र सुधारको ४०औँ वर्षगाँठ मनाउँदा पार्टी महासचिव तथा राष्ट्रपति सिले एउटा महत्वपूर्ण वक्तव्य दिएका छन् । खुलापन र सुधारलाई जारी राखिने प्रतिबद्धता जनाउँदै उनले चीनले समाजवादी बाटो कहिल्यै नत्याग्ने कसम खाएका छन् ।
कम्युनिस्ट पार्टीको शासनबाट हट्नु भनेको अनेक विपत्तिको सामना गर्नु हो भन्ने दाबी गरेका छन् । अमेरिकाप्रति लक्षित गर्दै चीनले उदारवादी बाटो नहिँड्ने, आफ्ना लागि के उचित हुन्छ भन्ने आफैँ निर्णय गर्ने कसम खाए । उनको यो वक्तव्य चीनलाई अमेरिकी उदारवादी व्यवस्था र नवउदारवादी अर्थतन्त्रका नियम पालना गर्न दबाब दिने उद्देश्यले अमेरिका र उसका मित्र राष्ट्रहरूले थालेको अभियानको जवाफ थियो ।
यो ४० वर्षपहिले अमेरिकाको पनि सहयोग लिएर थालनी गरिएको सुधार र खुलापनको बाटो हिँडेर आर्जन गरेको आर्थिक उन्नति र विश्व शक्तिको पोजिसनमा उभिएर गरिएको महत्वपूर्ण राजनीतिक घोषणा हो, जसले साम्यवाद र पुँजीवादबीचको लडाइँ नसकिएको बरु अब समाजवाद मजबुत हुँदै गएकाले पुँजीवादसँग टक्कर लिन सक्छ भन्ने दाबी गर्छ । यसका तरंगले वर्षौंसम्म विश्वलाई प्रभावित गरिरहनेछन् ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: