डा. राजेश अहिराज मधेस विज्ञ हुन् । उनि मधेसको राजनीतिको विषयमा तिखो आलोचना गर्छन् अनि सत्य बोल्छन् । तराई मधेसमा विभेद भो भनेर क्षेत्रियताको राजनीति चर्किरहँदा अहिराज मुलुकभित्रको सबै विभेदलाई अन्त्य गर्नेगरि राजनीति हुनुपर्ने धारणा राख्छन् । पछिल्लो समय तराई मधेसमा विकसित राजनीतिक घटनाक्रम र एकाएक मधेश राजनीतिको मुलधारमा आएका सिके राउतबारे अन्तर्यका कुरा खोतल्ने प्रयास गरेका छौं । के हो त मधेसको राजनीति ? मधेस विज्ञडा. राजेश अहिराजसँग खबर डबलीको तर्फबाट सन्देश अर्यालले गरेको कुराकानी आजको डबली संवादमा ।
मधेस केन्द्रित दल र उनीहरुको पछिल्लो राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
वैधानिकता कायम रहेको तर सामाजिक स्वीकृति गुम्दै गएको अवस्थामा मधेस केन्द्रित दलका राजनीति अहिले अगाडि बढेको छ । निश्चित रुपमा उनीहरु डिजिट छन् । स्वीकारुक्तीको पक्षबाट उनीहरु कमजोर हुँदै गएका छन् । मुद्दाको उचाई बढ्दै गएको छ । नेताको औकात घट्दै गएको छ । मधेसका समस्याहरु राष्ट्रिय चिन्तनका विषय हुन् । राष्ट्रिय समस्या हुन् । सबैको साझा समस्या हो भन्ने रुपमा स्थापित हुनुपथ्र्यो । तर नेताका कार्यशैली र मुद्दालाई सम्बोधन गर्ने तौरतरिकाले गर्दा बदनाम हुँदै गएको अवस्था छ ।
सत्ताको निमित्त यिनिहरु अत्यन्तै स्वार्थी देखिए । जुन पार्टीको विरुद्धमा यिनीहरुले चुनाव लडे, अनौठो विषय पछि तिनै पार्टीलाई समर्थन दिए । कांग्रेशीले मधेसी जनतालाई अपमान गर्यो भनेर चुनावमा मत मागे, पछि तिनैले कांग्रेसलाई समर्थन गरे । त्यहि कांग्रेससँग मिलेर सरकारमा गए । एमाले मधेस विरोधी हो भनेर नारा लगाउने पछि जितेपछि एमालेलाई नै समर्थन गर्ने । माओवादी मधेशी विरोधी हो भन्ने पछि उनैलाई समर्थन गर्ने र सरकारमा जाने ।
यस्ता खालका कर्म गरे र यिनैलाई राजनीतिको रंग दिए । यो वास्तवमा राजनीति होइन । यो त राजनीतिक विचौलियाको भूमिका हो । राजनीतिको लागि अलग धार र अलग कार्यशैलि हुनुपथ्र्यो । उहि कांग्रेस एमालेसँगै मिलेर जानुपथ्र्यो भने किन छुट्टै पार्टीको आवश्यकता थियो र ? यिनले त मधेसी मतको मानमर्दन गरेका छन् । मधेशका मुद्दालाई आयआर्जनको विषय बनाएका छन् । शक्ति प्राप्तिको साधनको रुपमा मधेशी जनमतलाई लिएका छन् ।
भनेपछि यी दलहरु मधेसीको नाममा राजनीतिको रोटी सेक्ने मात्रै हुन् ?
प्रधानमन्त्री केपि शर्मा ओलीले भनेको जस्तो राजनीतिको रोटी सेक्ने चाहीँ यिनीहरु होइनन् । यी त मधेसीको नाममा स्वार्थ सिद्ध गर्ने हुन् । रोटी सेकेको भए त कसैको पेटमा जान्थ्यो । कोही न कोही जनताले पनि पाउँथे । तर यिनीहरु मुद्दालाई अगाडि सारेर निजि फाइदा लिने मात्रै भूमिकामा छन् ।
जस्तो मधेसलाई हुलाकी सडक भएन भनेर आन्दोलन भईराख्दा, थुप्रै भौतिक योजना तथा निर्माण मन्त्री बने । मधेसमा स्वास्थ्यको स्थिति विकराल छ भनेर भनिरहँदा यहाँका मुख्य नेता जस्तो : राजेन्द्र महतो, उपेन्द्र यादव स्वास्थ्य मन्त्री बने । प्रहरीमा समावेशी भएन भनेर भनिरहँदा, विजय गच्छदार नै गृहमन्त्री भएका थिए ।
०६३/०६४ पछाडिको समयलाई नियाल्दा, मधेसको नाममा जति पनि मुद्दा उठाइए ति सबै मुद्दा सम्बोधन गर्न सक्ने गरि मधेस केन्द्रित दलबाट मन्त्रीहरु भएका थिए । सञ्चारमाध्यममा मधेसी पहुँच भएन भनेर मधेसमा आन्दोलन गरिरहँदा जयप्रकाश गुप्ता, राजकिशोर यादव, सुजिता शाह सञ्चारमन्त्रीको जिम्मेवारीमा गए । मधेसले के पायो ?
उद्योग क्षेत्रको कुरा गर्दा, थुप्रै मधेसी हुम भन्नेले उद्योग मन्त्रालय सम्हाले । शिक्षाको अवसर खस्कदैं छ भनिरहँदा, रेणु यादव शिक्षा मन्त्री भईन् । के पायो मधेसले ? यसले के देखाउँछ भने, मधेस केन्द्रित नेताहरुले मधेसको मुद्दालाई राजनीतिको माध्यम मात्रै बनाए । मधेसी जनताको लागि राजनीति होइन मधेसी जनताको नाममा मात्रै राजनीति गरे ।
कस्तो मुद्दा उठाएको भए यिनीहरु साँच्चिकै राजनीतिक पार्टी जस्ता हुन्थ्ये ?
खुला सिमानाले गर्दा बढेको तस्करी, अपराध, जनताले पाउने दुःखको विषयमा यि नेताले चर्चा गर्दैनन् । मधेसमा बढ्दै गएको राज्यप्रतिको घृणा, सामुदायिक दुरीको विषयमा कुरा गर्दैनन् । मधेशका युवाहरु पलायन हुँदै जाँदा मधेसमा देखिएको समस्याको यिनिहरु कहिल्यै चर्चा गर्दैनन् । यिनिहरु राजनीतिको लागि सरकारले जे गर्छ त्यसको प्रतिक्रिया मात्रै दिन्छन् ।
विभेद भनेर धेरै चर्चा गरिन्छ । विभेद कहाँ छैन् ? के विभेदको समस्या तराई मधेसको मात्रै हो ? हेर्नुस विभेद जहाँतहिँ छ । मधेस तराईमा बढि छ सुदुरपश्चिममा छैन भन्न मिल्दैन । हिमाल पनि उस्तै छ । बिरामी त नेपालभर नै छन् । मधेसमा समस्या छन् तर त्यसलाई राष्ट्रिय राजनीतिबाट हल खोज्नुपर्छ । मधेसीको नाममा राजनीति गर्नेले यहाँको समस्यालाई उठान गर्ने मात्रै होइन समाधान पनि दिनुपर्छ । तर यिनिहरु मधेसको नाममा भएका मुद्दालाई भजाएर आर्थिक लाभको राजनीति गरेका छन् । यिनिहरुसँग कुनै मुद्दा नै छैन् भन्दा अतियुक्ति हुँदैन ।
कहिलेकाहिँ चर्चा चल्छ, कतैबाट प्रभाव भन्ने, मधेस केन्द्रित दलहरु कतैबाट प्रभावित हुँदा मुद्दा र कार्यशैलीमा भिन्नता आएको हो कि ?
हो यहाँ पनि त्यस्तै देखिएको छ । यी किन चुकेका छन् प्रश्न त्यहाँ पनि हो । दलित, जनजाति, मधेस तथा अन्य पछाडि पारिएका वर्ग, समुदायका समस्याहरु आन्तरिक समस्या हुन् । हाम्रा साझा समस्या पनि हुन् । यी मुद्दामा हुने राजनीति नेपालको घरेलु राजनीति हो । यो अन्तराष्ट्रिय राजनीतिको विषयवस्तु होइन् । घरेलु राजनीतिमा अन्तराष्ट्रिय रुपबाट चिन्ता र चाँसो हुनु राम्रो कुरा होइन । मुख्य कुरा मधेस केन्द्रित नेताहरु यहाँ चुकेका छन् । उनीहरु घरेलु मुद्दालाई विदेशीका चिन्ता र चाँसोका विषय बनाउँदै लगेका छन् । यसले त आफैंलाई समस्यामा पार्छ त ।
मधेस मुद्दामा केन्द्रिय राजनीति कस्तो देखिन्छ ?
मधेश राजनीतिको खुल्ला ठाउँ हो । यहाँ देशका ठूला मानिएका दलले आफ्ना शक्तिलाई यहिं आएर प्रयोग गर्दै यहिं आएर सिंचित गराउने गरेका छन् । पछिल्लो समयमा पनि सत्तारुढ दल नेकपाले मधेस केन्द्रित कार्यक्रम गरिरहेको छ । विपक्षी कांग्रेस पनि मधेशमै छ । पूर्वराजा ज्ञानेन्द्र पनि मधेसमै छन् । देशी विदेशी शक्तिको ध्यान पनि सबैभन्दा बढि मधेसमै छ । भर्खरै जसो सिके राउत पनि विभिन्न अभियानमा छन् । तर समस्या, सबैले एकै खालको बाजा बजाए जस्तो देखिन्छ । मुद्दालाई सम्बोधन गर्ने खालको भन्दा पनि अनेक रुपबाट मुद्दामा राजनीति गर्ने गरेको देखिन्छ ।
सबैको राजनीतिको केन्द्र मधेस भईरहँदा भर्खरै उदाएको सिके राउतको पार्टी र व्यक्तिगत रुपमा राउतलाई कसरी हेर्नुहुन्छ ?
सिके राउत एक अध्ययनशिल, देश बुझेको, विश्व घुमेको मान्छे हो । तर राजनीतिमा उनको उदयसँगै देखिएका गतिविधिले खास नयाँपन दिएको जस्तो लाग्दैन । उनी क्षेत्रिय राजनीतिको नारा फाल्दै हिंडेका छन् । उनी जत्तिको मान्छेबाट राष्ट्रले नै फाइदा लिनुपर्ने थियो तर त्यस्तो देखिएको छैन् । सिके राउतको हैसियतअनुसार जुम्लाका जनता अनि जनकपुरका जनता पनि लाभान्वित हुनुपर्ने हो । तर उहाँको राजनीति त्यतातिर देखिएको छैन । राजपा र फोरमलाई लेखेट्ने वा उनीहरुको विकल्पमा उठ्ने राजनीति गर्न खोजे जस्तो देखिन्छ ।
मुलधारको राजनीतिमा इनसँगै राउतले उठाएको मुद्दा र गतिविधिलाई कसरी नियाल्नु भएको छ ?
सिके राउत पहिला एक्सन ओरियन्टेड लिडर थिए । अहिले रिएक्सन ओरियन्टेड लिडर भएका छन् । उनको आफ्नै धार, कार्यशैली, आफ्नै एजेण्डा अनि आफ्नै किसिमको बहस थियो । अहिले रिएक्सनमा बाँचीरहेको जस्तो लाग्छ । मधेश केन्द्रित दललाई देखाइदिन्छु भन्ने, मधेशी नेतासँग प्रतिस्पर्धा गर्ने । यसले उनलाई एक्सन होइन रिएक्सन ओरियन्टेड भएकोमा कुनै संकोच देखिएन ।
सामान्य गरि नियाल्दा, पछिल्ला गतिविधि अन्य दलको भन्दा भिन्न छैन् । ड्युटीलेस पोलिटिक्स गर्ने लिडर अगाडि बढ्छ । डिमान्डलेस पोलिटिक्स गर्ने लिडर अगाडि बढ्दैनन् । मधेस केन्द्रित नेताहरु अगाडि बढ्न नसक्नुको कारण पनि यिनिहरु दायित्व निर्वाह गर्दैनन् अधिकारको कुरा मात्रै गर्छन् । आफ्नो माग मात्रै सार्ने गरेको भेटिन्छ । त्यही समस्या आज सिके राउतमा पनि देखिएको छ । गाली गर्ने राजनीति मधेशमा मात्रै होइन देशमै चाहिएको छैन् । अहिले राउतको गतिविधि पनि अरुको जस्तै छ । एजेण्डा तथा गतिविधि खास फरक देखिंदैन ।
भनेपछि मुद्दा तथा कार्यशैलीको कारण मधेसको राजनीतिमा राउतको उदयले प्रभाव पार्दैन् ?
होइन त्यसो होइन् । प्रभाव पार्छ । तर सामान्य प्रभाव मात्रै पार्ने देखिन्छ । किनकी राउतले गरेको राजनीतिलाई हेर्दा त्यस्तै देखिन्छ । उनका एजेण्डा अनि गतिविधि अन्य क्षेत्रिय दलको विकल्प जस्तो मात्रै छ । जसले सामान्य प्रभाव के हुन्छ भने उनीहरुको कार्यकर्ता तान्ने र नेतृत्वमा केहि दबाब छोड्ने । अरु सबै टेस्टेड भइसकेका हुनाले पनि उनलाई यो खालको अवसर छ । किनकी उनी नयाँ हुन् । सबै टेस्टेड हुँदा अनि ट्रस्डेट नहुँदा पनि अरुबाट फाइदा मिल्न सक्छ । यसले तराई केन्द्रित दललाई घाटा पुर्याउने विषय सामान्य नियम नै हो । तर समग्र क्षेत्रीय राजनीतिमा ठूलो प्रभाव पार्ने देखिन्न ।
यहि शैलीमा राउतको क्षेत्रीय राजनीतिक उदय त्यति राम्रो हुँदैन भन्न खोज्नुभएको हो ?
हो केहि समयको लागि चाहिं हुनसक्छ । उनी क्षेत्रीय राजनीतिमा दरिलो गरि आउन सक्छन् । तर उनी राष्ट्रिय राजनीतिमा आउने सोंच राख्दैनन् भने क्षेत्रिय राजनीतिमा पनि टिक्दैनन् । उनीसँग राजनीतिलाई दिगो बनाउने सोंच राखिएको जस्तो देखिंदैन । उनि एक्सन होइन रिएक्सनमा रम्न खोजेजस्तो देखिन्छ । तर नियम रिएक्सन ओटिण्टेड फोर्स भनेको अन्ततः आफैंमा सिमित भएर सिध्यिने हो । रिएक्सन गर्ने फोर्सले अरुलाई हानी पुर्याउँछ तर आफैंलाई स्थापित गर्न सक्दैन । सिके राउतको बढ्दो लोकप्रियताले राजपा या फोरमलाई क्षति पुर्याउन सक्ला । तर उसको कार्यशैलिले राउतको पार्टीलाई संस्थागत गर्न भने सक्दैन ।
राउत मधेश राजनीतिमै सिमित रहने सोंच बनाउने हो भने केहि समयमै सिध्यिने अवस्था आउँछ । यहाँ भएका सबै व्यक्ति टेस्टेड भइसकेका छन् तर सिके राउत टेस्टेड थिएनन् । उनी ट्रस्टेड पनि हुन सक्ने स्थिति देखिएको छैन । उनले राखेको विचार, लेखेका डकुमेन्ट राजपा या फोरमको भन्दा फरक छैनन् ।
अन्त्यमा, मधेसको राजनीति कस्तो हुनुपर्ला ?
नेपालको भूगोलका कारणले मधेसीहरु उत्पीडित भएको होइन । नेताका कारण, राज्य सञ्चालका कारण, राज्यका अंगका कारण भएका हुन् । जुम्लाले गर्दा जनकपुर पछाडि परेको त होइन नि । जब भूगोलले गर्दा समस्या होइन भने भूगोल खण्डित गरेर समाधान भन्ने पनि हुँदैन । त्यै भएर नेपालको विकल्प नेपाल नै हो । मातृभूमिको विकल्प अरु केहि होइन ।
मधेसका समस्यालाई उठाउने यहाँ धेरै छन् । तर सबैले मुद्दालाई उठाएर आफैंले मात्र लाभ लिएका छन् । तर समस्या मधेशको मात्रै होइन् । मधेसका नाममा मात्रै राजनीति गरेर हुँदैन । माथि उठ्नुपर्छ । नेपालका सबै समस्यालाई लिएर राजनीति गर्ने गतिलो नेतृत्वको आवश्यकता छ । सबै मधेशी नेतादेखि भर्खरै मुलधारको राजनीतिमा आएका सिके राउत जीहरुलाई मेरो आग्रह उहाँहरुले खोजेको स्वराज, खोजेको सम्पन्नता र समृद्धि सिंगो देशले पाउनेगरि राजनीति गर्नुस् । देशलाई केन्द्रलाई राखेर राजनीति गर्नुपर्यो । यस्तो राजनीतिले घृणा र विकृति मात्रै ल्याउँछ । देश अनि जनताको हितमा हुँदैन ।
प्रतिकृया लेख्नुहोस्: