काठमाडाैं । मानिसलाई कुनै खतरा महसुस भयो भने शरीरले एक किसिमको प्रतिक्रिया देखाउँछ । त्यतिवेला मन आत्तिनुका साथै डर लाग्न सक्छ । यस अवस्थालाई सामान्य मान्न सकिन्छ । तर, सामान्य अवस्थाभन्दा बढी र कुनै प्राकृतिक कारण विना नै डर लाग्छ र त्यसले हाम्रो दैनिक क्रियाकलापलाई असन्तुलिन बनाएको छ भने डिसअर्डरको रूप लिन सक्छ । जसलाई एन्जाइटी डिसअर्डर भनिन्छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - एन्जाइटी डिसअर्डर विभिन्न प्रकारका हुन्छन् । जसमा जेनरलाइज्ड, सोसल, सेपेरेसन, एगोराफोबिया र प्यानिक डिसअर्डर आदि हुन् । यो समस्या कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ ।
लक्षण
-एन्जाइटी डिसअर्डर भएमा मुटुको धड्कन बढ्ने, श्वासप्रश्वास छिटो–छिटो हुने हुन्छ । यस्ता लक्षण देखेर मुटुमा ठूलो समस्या भएको ठानेर धेरै मानिस आत्तिन्छन् । तर, मानसिक रोगको लक्षण हो भनेर थाहा नहुन सक्छ ।
-एन्जाइटी डिसअर्डर भएपछि सुरुमा निद्रा नलाग्ने र लागिहाले पनि बीचमा ब्युँझिएपछि फेरि निद्रा लाग्न गाह्रो हुने गर्छ ।
-पुराना पीडादायी घटनाको अनुभवले फेरि त्यस्ता घटना दोहोरिएलान् कि भनेर डर लाग्न सक्छ । जसलाई पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर भनिन्छ । यसको कारणले पनि एन्जाइटी बढ्छ ।
-त्यस्तै, हातखुट्टा काम्नु, पसिना आउनु, टाउको दुख्नु, छटपटी हुनु, ग्यास्ट्रिक बढ्नु वा पेटमा असहज अनुभव हुनु । साथै, बेहोस होला जस्तो हुनु, आत्तिनुका साथै आत्मविश्वास घट्नु, अत्यन्त थाक्नु, कमजोर महसुस हुनु र पटक–पटक पिसाब गर्न मन लाग्नु आदि पनि यो समस्याका लक्षण हुन् ।
कारण
-एन्जाइटी डिसअर्डर यही नै कारणले हुन्छ भन्न सकिन्न । तर, जीवनमा घटेका पीडादायी घटनाले भने एन्जाइटीलाई बढाउन ठूलो भूमिका खेल्छ । वंशाणुगत कारणले पनि एन्जाइटी डिसअर्डर हुने गरेको पाइएको छ ।
-केही मानिसमा भने शारीरिक रोगका कारण पनि एन्जाइटी बढ्ने गर्छ । एन्जाइटीको लक्षणलाई कतिपय अवस्थामा चिकित्सकले मेडिकल रोगको पहिलो संकेतको रूपमा लिने गर्छन् । मेडिकल कारणले एन्जाइटी बढेको छ भने चिकित्सकले विभिन्न रोगका लक्षणलाई हेर्ने गर्छन् ।
-मुटु रोग, मधुमेह , थाइराइड तथा ध्रूमपान, मद्यपान र लागूपदार्थ सेवनको लत जस्ता कारणले पनि एन्जाइटी हुन्छ । साथै, दम, श्वासप्रश्वाससम्बन्धी र पुरानो दुखाइको समस्या समेतका कारण पनि यो रोग हुने गर्छ ।
रोकथाम
-सामान्य एन्जाइटी मनोविज्ञसँगको नियमित परामर्शले निको हुन्छ । मनोविज्ञले कग्निटिभ बिहेबिएर थेरापीलगायत साइकोथेरापीबाट उपचार गर्छन् । तर, बिरामीलाई असाध्यै कठिन महसुस भएको छ भने मनोचिकित्सकसँगको सल्लाहबाट औषधिसमेत लिनुपर्ने हुन सक्छ । यसलाई सामान्य ठानेर बस्नु भने हुँदैन । कालान्तरमा यसले गम्भीर समस्यासमेत निम्त्याउन सक्छ ।
-एन्जाइटीको मात्रा केही कम भइसकेपछि बिस्तारै योग, ध्यान र प्राणायाम गर्नु लाभप्रद हुन्छ । नियमित ध्यानले नकरात्मक सोचलाई कम गर्नुका साथै प्रतिकूल अवस्था आउँदा पनि नआत्तिने हुन थाल्छ ।
-विश्राम र योग निद्राको नियमित अभ्यासले शरीर, मन, भावनामा भएको तनावलाई कम गरेर ताजा बनाउँछ ।
-साथै, भोजनमा विशेष ख्याल राख्नुपर्छ । सन्तुलित भोजन लिनुपर्छ । रक्सी, चुरोट, सुर्ती तथा लागूपदार्थबाट टाढा रहनुपर्छ ।
प्रतिकृया लेख्नुहोस्: