एयौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि अफगानिस्तानमा खैलाबैला मच्चिएको छ।
सरकारी अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्, तर एउटा अनुसन्धानका क्रममा यौन दुर्व्यवहारको संस्कृतिबारे महिलाहरूले मुख खोलेका छन्।
राजधानी काबुललाई घेरेका धुलाम्मे पहाडहरू नजिकै रहेको एउटा घरमा मैले एकजना पूर्वसरकारी कर्मचारीलाई भेटेँ।
आफूमाथि आक्रमण हुन सक्ने डरका कारण उनले नाम उल्लेख नगर्न आग्रह गरिन्। तर उनी चाहन्छिन् विश्वले उनको
कथा सुनोस्।
सरकारका वरिष्ठ मन्त्रीसँग काम गर्दा उनले पटक(पटक दुर्व्यवहार सहनुपर्यो। एक दिन कार्यालय पुग्दा उनले शारीरिक रूपमा आक्रमण गर्ने कोशिश समेत गरे।
उनले सिधै मसँग शारीरिक सम्बन्धका लागि प्रस्ताव गरे। मैले उनलाई आफू सक्षम र अनुभवी रहेको भनेँ। उनले मलाई त्यस्तो भन्लान् भन्ने कुरा मैले सोचेकी पनि थिइनँ। म त्यहाँबाट हिँड्नलाई उभिएँ।
उनले मेरो हात समातेर आफ्नो कार्यालय पछाडिको कोठातर्फ लगे। कोठातिर मलाई धकेल्दै उनले भने, चिन्ता नगर केही मिनेट मात्र लाग्छ, मसँग आऊ।
उनले मलाई आफूतिर तान्दै हल्ला नगर भने। मैले उनलाई देखेको त्यो अन्तिम क्षण थियो। म निकै आक्रोशित र निराश थिएँ।
के घटनापछि उनले उजुरी गरिन् तरु होइन, मैले जागिरबाट राजीनामा दिएँ। मलाई सरकारमाथि विश्वास नै छैन। यदि तपाईँ प्रहरीकहाँ जानुहुन्छ भने थाहा पाउनुहुन्छ उनीहरू कति भ्रष्ट हुन्छन्।
आफू गएर उजुरी गर्ने सुरक्षित ठाउँ तपाईँले भेटाउनुहुन्न। यदि तपाईँ सार्वजनिक रूपमा बोल्नुहुन्छ भने तपाईँमाथि नै सबैले आरोप लगाउन थाल्छन्, उनले भनिन्।
पूर्वकर्मचारी अन्य दुई महिलाले आफूहरूलाई ती मन्त्रीले बलात्कार गरेको बताएका छन् तर यो आरोपको स्वतन्त्र रूपमा पुष्टि गर्न सक्दैन।
उनी भन्छिन्, सरकारमा प्रभावशाली व्यक्ति भएकाले निर्लज्जतापूर्वक र निडर भई उनले यी सब गरिरहेका छन्।
महिलाका लागि अफगानिस्तान विश्वमै नराम्रामध्येका मुलुकको सूचीमा निरन्तर पर्दै आएको छ।
सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा त्यहाँ यौन अपराध र हिंसाका शिकार भएका महिलाले दबाबका कारण कसरी उजुरी फिर्ता लिन्छन् भन्ने कुरा उल्लेख छ।
यस्तो वातावरणमा शक्तिशाली पुरुषहरूबाट हुने यौन दुराचारबारे बोल्नु सजिलो पक्कै छैन।
यसैकारणले होला हामीसँग कुरा गरेका छजना महिलामध्ये अधिकांशले आफूहरूलाई समाचारमा उद्धृत नगर्न आग्रह गरे।
तर उनीहरूसँगको कुराकानीबाट हामीले के तथ्य सङ्कलन गर्यौ भने अफगानिस्तानमा यौन दुर्व्यवहारको समस्या कोही व्यक्तिविशेष अथवा मन्त्रालयमा सीमित छैन।
त्यो संस्कृतिको एउटा हिस्सा बनिसकेको छ
एउटा सानो पार्कनजिकैको एउटा कार्यालयमा मैले अर्की महिलालाई भेटेँ जो आफ्नो कथा सुनाउन चाहिरहेकी थिइन्।
उनले एउटा सरकारी जागिरका लागि आवेदन दिएकी थिइन् र त्यसका लागि उनीसँग सबै योग्यता थियो।
तर राष्ट्रपति अशरफ गनीका नजिकका एक सहयोगीसँग भेट्ने कुरा भएपछि मात्रै उनी त्यो जागिर पाउने भइन्।
ती मान्छे राष्ट्रपतिसँग तस्बिरमा देखिन्छन्। उनले आफ्नो निजी कार्यालयमा मलाई आउन भने। उनले भने, आऊ र बस। म तिम्रा कागजात हेरिदिन्छु। उनी मेरो नजिक आए र मलाई रक्सी खाऊँ र शारीरिक सम्बन्ध बनाऊँ भने, उनले भनिन्।
मसँग दुइटा विकल्प थिएः कि उनको प्रस्ताव मान्ने कि जागिर छाड्ने। मैले मानेको भए उनीसँग मात्रै नभई अरू कैयौँले पनि मसँग त्यस्तो सम्बन्ध बनाउन भन्थे। म डराएँ र त्यहाँबाट हिँडे।
जागिर चाहिँ के भयो, मैले सोधेँ।
उनले सरकारी निकायलाई त्यसबारे फोन गरेपछि जवाफ पाइन्, सोच्नूस् तपाईँको ब्याङ्क खातामा कतैबाट रकम हालिदिन प्रस्ताव आउँछ र तपाईँ त्यसलाई अस्वीकार गरिदिनुहुन्छ। यो त्यस्तै हो।
कुराकानीका क्रममा उनी रुन थालिन्। र, यी कुराले आफूलाई रातभरि सुत्न गाह्रो भएको उनले बताइन्।
यदि तपाईँ न्यायाधीश, प्रहरी, अभियोजकर्ता वा यिनीहरूमध्ये कसैसमक्ष पनि उजुरी गर्न जानुभयो भने उनीहरूले शारीरिक सम्बन्ध बनाउन भन्नेछन्।
यो संस्कृतिको एउटा हिस्साजस्तै भइसकेको छ कि तपाईँ वरपरका सबै पुरुष तपाईँसँग शारीरिक सम्बन्ध राख्न चाहन्छन्।
यी कथाहरू या त भनिएका छैन् या त गत मेमा राष्ट्रपतिका पूर्वसल्लाहकार जनरल हबिबुल्लाह अहमदजाईले एउटा अफगान टेलिभिजनसँगको अन्तर्वार्तामा त्यसबारे बोल्नुअघि गुपचुप रूपमा कुरा गरिन्थ्यो।
अन्तर्वार्तामा उनले वरिष्ठ अधिकारी तथा राजनीतिज्ञहरूले वेश्यावृत्तिलाई प्रवर्द्धनु गरिरहेको आरोप लगाएका थिए।
यस सम्बन्धमा अन्तर्वार्ताका लागि गरिएको आग्रह राष्ट्रपतिको कार्यालयले अस्वीकार गरिदियो भने इमेलमार्फत् सोधिएका प्रश्नको पनि जवाफ दिएन।
उनीहरूले जनरल अहमदजाईले झूट बोलेको र व्यक्तिगत स्वार्थले अभिप्रेरित आरोप भएको भन्ने पुरानो भनाइलाई दोहोर्याए।
एकजना मन्त्री नर्गिस नेहानले सामाजिक सञ्जाल ट्विटरमा लेखिन्, राष्ट्रिय एकताको सरकारको एक मन्त्रीको हैसियतमा म यो कुरा ढुक्क भएर भन्न सक्छु कि ती आरोपहरू आधारहीन छन्।
तर केही समय अघिसम्म सांसद रहेकी चर्चित महिला अधिकारवादी फौजिया कूफी आफूले वर्तमान सरकारमा रहेका कैयौँ पुरुषविरुद्ध यौन दुर्व्यवहारको उजुरी पाएको बताउँछिन्।
सरकारको जवाफ रक्षात्मक हुन्छ। उनीहरूले यसलाई एउटा राजनीतिक मुद्दाको रूपमा लिइरहेका छन् जबकि यो अफगानिस्तानका सबै महिलासँग सम्बन्धित विषय हो।
यो दण्डहीनताको एउटा संस्कृति हो। पीडकहरू सरकारभित्र रही आफूलाई सुरक्षित ठान्छन् र त्यस्ता अपराध गर्न उनीहरू झन् प्रोत्साहित हुन्छन्।
सरकारले यौन दुर्व्यवहारका आरोपहरूबारे एउटा छानबिन गर्न निर्देशन दिएको छ।
महान्यायाधिवक्ताको कार्यालयद्वारा छानबिन गरिँदैछ र छानबिनकर्तामा राष्ट्रपतिद्वारा नियुक्त पुरुष छन्।
काबुलस्थित कार्यालयका प्रवक्ता जमशिद रसूललाई भेटेर मैले छानबिन निष्पक्ष हुन्छ भन्ने कुरा मानिसहरूले पत्याउनुपर्ने आधार के छ भनेर सोधेँ।
जवाफमा उनले भने, संविधानले महान्यायाधिवक्तालाई स्वतन्त्र हुने अधिकार दिएको छ। हामीले छानबिन निष्पक्ष होस् भनेर त्यसको हिस्सा बन्न अधिकारकर्मी, धर्मगुरु तथा मानव अधिकारवादी संस्थाहरूलाई आग्रह गरेका छौँ।
अफगानिस्तानमा महिलाहरूका लागि खतरनाक समय छ। संयुक्त राज्य अमेरिका र तालिबानबीच जारी शान्तिवार्तामा आफ्ना कुरा राख्न महिलाहरू दृढ देखिन्छन्।
सन् २००१ मा तालिबान सत्ता ढलेपछि कम्तीमा देशका केही भागमा महिलाहरूले प्रगति गरिरहेका छन्।
तर सरकार भित्रबाटै हुने यौन दुराचारका घटनामा दोषीहरूलाई सजाय नदिइए ती सब ओझेलमा पर्नेछन्।
अन्तर्वार्ता दिने एक महिलाले भन्छिन्, म राष्ट्रपतिलाई भन्न चाहन्छु कि महिलाहरूका आवाज सुन्ने र तिनीहरूलाई मान्ने जिम्मेवारी तपाईँको हो।
यदि उनले यो देशलाई सुरक्षित बनाउने कोशिश गरिरहेका छन् भने यो समस्यालाई सम्बोधन गर्नैपर्छ। एक दिन सत्य उजागर हुनेछ, तर अहिलेका लागि त्यो टाढाको सपनाजस्तै छ। बीबीसी
प्रतिकृया लेख्नुहोस्: