काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंलाई सुन्दर सहर बनाउनेगरि आफूहरुले काम गरिरहेको पनि विश्वास दिलाएका छन् । राजधानीमा अायाेजित साक्षातकार कार्यक्रममा बाेल्दै उनले कोटेश्वर, गौशला, थापाथली लगायतमा ‘ओभरहेड ब्रिज’ बनाउन लागिएको पनि बताए। त्यस्तै, उनले काठमाडौंमा स्मार्ट ट्राफिक लाईटहरु राख्ने पनि जनाए । यो वर्ष सरकारको पहिलो आधार वर्ष भएकोले जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको उनले स्विकारे । तर, विकास निर्माणलगायत पूर्वाधार विकासमा सरकारले रेकर्ड नै कायम गरेको उनको दाबी छ ।
मन्त्री महासेठले यो आर्थिक वर्षको अन्तिमतिर अर्थात ११ महिनापछि काठमाडौंवासीले सुन्दर काठमाडौं उपहार पाउने बताए । काठमाडौंमा भएका पुलहरुलाई व्युटिफिकेशन गर्ने, सिग्नेचर ब्रिजहरु बनाउनेलगायतका काम हुने उनले जनाएका हुन् । त्यस्तै, रिङ–रोड विस्तारको कामपनि यही वर्षभित्र हुने महासेठको भनाई छ । देश समृद्ध रातारात नहुने बताउँदै सिंगापुर, चीनलगायतका देशलाई पनि अहिलेको अवस्थामा आईपुग्न दशकौं समय लागेको उनले स्मरण गराए ।
महासेठले वर्तमान सरकार पाँच वर्षसम्मको लागि भएकोले यो अवधिभित्र देशलाई समृद्ध बनाउनेगरि काम गर्ने स्पष्ट पारे । विकास निर्माण र पूर्वाधार विकासमा विशेष योजनाका साथ काम भैरहेको उनको भनाई छ । त्यस्तै, उनले आगामी दुई वर्षभित्र आफ्नै झण्डा र लोगो भएको पानीजहाजपनि सञ्चालनमा ल्याईने दाबी गरे । क्रस–बोर्डर रेलहरुपनि छिट्टै सञ्चालनमा ल्याईने उनले बताए ।
मन्त्री महासेठले यही वर्षको फागुनबाट विराटनगरबाट क्रसबोर्डर रेल सञ्चालनमा आउने जनाए । जयनगर–जनकपुर–बर्दिवासको ५२ किलोमिटर रेलपनि छिट्टै सञ्चालनमा आउने उनको विश्वास छ । उनले भने,‘भारत सरकारसँग भएको सम्झौतअनुसार ६० दिनभित्रै दुई वटा रेल (डेमो) रेल प्राप्त गर्छौं ।’ यो बीचमा सडक सुरक्षा, यातायात प्राधिकरणलगायतका ऐनहरु संसदमा पेश गरिएको पनि उनले सुनाए ।
उनले वर्तमान सरकारले कृषि क्षेत्रमा पनि उल्लेखनीय काम गरेको दाबी गरे । उनले भारत, चीन, ईजरायलसँग कृषिसम्बन्धी विशेष सम्झौता भएकोले नेपालको कृषि क्षेत्रले पनि अब फड्को मार्ने बताए । उनले भने,‘कृषिमा अब उत्पादन बढ्छ ।’
बाढि, पहिरो र डुवानको समस्याको सवालमा पनि सरकार बेलैमा सचेत रहेकोले पूर्वाधारको क्षेत्रमा कम क्षति भएको उनको दाबी छ । उनले भने,‘हामी सचेत थियौं, त्यही भएर दुई दिनभन्दा बढि कतैपनि सडक अर्थात यातायात आवागमन अवरुद्ध भएन् । पोखरा, हेटौंडा, ईटहरी, वीरगन्जमा बेली ब्रिज बनाएका थियौं । पोखरामा त हामीले दुई लेनको बेली ब्रिज सञ्चालनमा ल्यायौं ।’ पहिरोको कारण खुर्कोट–घुर्मी सडक खण्डमा केही समस्या भएपनि त्यहाँपनि दुई दिनभन्दा बढि सडक अवरुद्ध नभएको उनको स्पष्टोक्ति थियो ।
वर्तमान सरकारले प्रत्येक मोर्चामा सफल भएको दाबी गर्दै उनले प्रधानमन्त्री ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराअनुसार नै द्रुत गतिमा काम भैरहेको सुनाए । देशमा अब राजनीतिक एजेण्डा नै समाप्त भएकोले अब आर्थिक समृद्धिको एजेण्डामा सबै दलहरुबीच सहमति, सहकार्य र एकता हुनुपर्ने उनको जोड छ । उनले भने,‘हामी त प्रतिपक्षीलाई पनि सहमति र विश्वासमा लिएर अघि बढिरहेका छौं ।’
उनले सरकारले गरेका राम्रा कामको सबैले समर्थन र सहयोग गर्नुपर्ने बताए । तर, गलत गरे त्यसको विरोध र आलोचना गर्दा आफुहरुलाई स्विकार्य हुने उनको भनाई छ । उनले भने,‘अहिले कांग्रेससँग राजनीतिक एजेण्डा छैन । सरकारले संसदीय समितिमा छलफल गरेर ल्याएका विद्येयकहरुमा पनि कांग्रेसले विरोध गर्यो।’ उनले सरकारका राम्रा काममा प्रतिपक्षीले पनि रचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे ।
उनले आफूहरुले देश बनाउनको लागि दश वर्ष समय मागेको सुनाए । वर्तमान सरकार जनमैत्री र विकासमैत्री रहेको उनको भनाई छ ।
यातायात क्षेत्रमा पनि धेरै सुधारका काम भएको उनको दाबी छ । यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रुपमा अन्त्य भएको र अहिले संघ, संस्थाहरु कम्पनीमा आईसकेको महासेठले बताए ।
उनले भने,‘अहिले उहाँहरु करको दायरामा आउनुभएको छ । अब हामी यो क्षेत्रलाई सुधार गर्दै अघि बढाउँछौं ।’ उनले यात्रा, अपांग, ज्येष्ठ नागरिक, बालमैत्री बस सञ्चालन गर्न लागिएको सुनाए । त्यसको लागि तीन सय वटा विद्युतीय बस खरिद गर्न लागिएको र साझा यातायातलाई तीन सय करोड भुक्तानी दिईसकिएको पनि उनले जानकारी दिए । उनले सरकारले नाफामूलक रुपमा सब सञ्चालन नगर्ने स्पष्ट पारे ।
नेपालको अवस्था अहिले अत्यन्तै राम्रो भएको सुनाए । उनले भने,‘नेपालमा लगानी गर्न अहिले लाईन लागेको छ । हामी देश र जनतामा समृद्धि हाँसिल गर्नेगरि काम गरिरहेका छौं ।’
प्रतिकृया लेख्नुहोस्: