काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ भोलीदेखि दुई दिने राजकीय भ्रमणको शिलशिलामा नेपाल आउन लागेका छन् । करिब २३ वर्षको अन्तरालमा उच्च चिनियाँ नेतृत्वको रुपमा आउन लागेका सीले नेपाल–चीनसम्बन्धलाई प्रगाढ बनाउन केहि कुरा सुझाएका छन् । उनले नेपाल र चीन दुवैको उज्जल भविष्यको लागि केहि कुरालाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका छन् ।
नेपाल आउनुअघि नेपाली सञ्चार माध्यममार्फत राष्ट्रपति सीले लेख प्रकाशित गरि नेपाल–चीन सम्बन्धलाई प्रगाढ पार्ने आधारहरु प्रस्तुत गरेका छन् । सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकमार्फत सीले नेपाल–चीनसम्बन्धबारे चार आधार पेश गरेका छन् । चिनियाँ राष्ट्रपतिले गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरेको नेपाल–चीनसम्बन्ध बारेको चार आधार यस्ता छन् :
१. रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु
नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु-याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्दछ । यसका लागि उच्चस्तरीय आदान–प्रदान कायम गर्नुपर्छ । आपसी राजनीतिक विश्वास बढाउनु पर्दछ, एकअर्काको मुख्य चासोका विषयहरूमा आपसी सहयोगलाई अझै सुदृढताका साथ जारी राख्नुपर्दछ । देशको सुशासन तथा विकासको अनुभवसम्बन्धी आदान–प्रदानलाई बढाई दुवै देशका जनतालाई अझ बढी फाइदा प्रदान गर्नुपर्दछ ।
२. व्यावहारिक सहयोगको विस्तार गर्नु
दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणलाई सक्रिय रूपमा अगाडि बढाउनु पर्दछ । चीनले चिनियाँ उद्यमीहरूलाई नेपालमा मुख्यतः व्यापार र लगानी, पुनःनिर्माण, ऊर्जा, पर्यटन यी चार क्षेत्रमा लगानी गर्न प्रेरित गरेको छ । दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिई नेपालका विशिष्ट उत्पादनहरूलाई चीनमा निर्यात गर्न चीन नेपाललाई स्वागत गर्दछ, चीनले नेपाललाई पुनःनिर्माणका लागि सहयोगलाई निरन्तरता दिनेछ र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्नेछ ।
३. जनस्तरीय आदान–प्रदानलाई व्यापक पार्नु
दुवै पक्षले शिक्षा, युवा, पर्यटन र अन्य क्षेत्रहरूका आदान–प्रदान र सहयोगलाई प्रवद्र्धन गर्नुपर्दछ, दुवै देशका एयरलाइन्सका सीधा उडानहरू बढाई जनताको आवत–जावत बढाउन सहयोग पु–याउनु पर्छ । चीन नेपालको ‘२०२० नेपाल पर्यटन वर्ष’को पूर्ण समर्थन गर्दछ र अझ बढी चिनियाँ नागरिकलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्नेछ । चीनले नेपालका उत्कृष्ट युवाका लागि बढी सरकारी छात्रवृत्ति प्रदान गर्नेछ र नेपालको निर्माणका लागि बढी सङ्ख्यामा प्रतिभाशाली व्यक्तिहरूलाई प्रशिक्षण दिनेछ । चीन अझ बढी नेपाली विद्यार्थीलाई चीनमा अध्ययन गर्न आउन स्वागत गर्दछ ।
४. सुरक्षासम्बन्धी सहयोगलाई सुदृढ पार्नु
चीनले कानुनको कार्यान्वयन गर्ने क्षमताको निर्माणका लागि नेपाललाई सहयोग गर्नेछ र कानुनको कार्यान्वयन गर्ने प्रशिक्षण कार्यमा नेपाललाई सहयोग दिनेछ । सीमा वारपारका आपराधिक गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र दुवै देशका नागरिकको सुरक्षा, आर्थिक तथा व्यापारिक आदान–प्रदान सुचारु बनाउनका लागि दुवै पक्षले सीमा रक्षाका लागि आपसी सम्पर्कलाई सुदृढ पार्नुपर्दछ । त्यसबाहेक हामीले सेनाको पारस्परिक भ्रमण, कर्मचारीको तालिम र उपकरण प्रविधिको क्षेत्रमा पनि व्यावहारिक सहयोगलाई सुदृढ पार्नुपर्छ ।
नेपालीमा एउटा भनाइ छ, ‘थोपा–थोपा मिलेर समुद्र बन्दछ’, चिनियाँमा पनि यस्तै भनाइ छ, ‘सबैले दाउरा थप्दै गएमा आगोको ज्वाला अझै ठूलो हुँदै जानेछ ।’ जबसम्म दुवै देशले मैत्रीपूर्ण परम्परालाई अगाडि बढाउने र निरन्तर रूपमा आदान–प्रदान र सहयोगलाई विस्तार गर्दै जानेछ, मलाई विश्वास छ– चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु-याउन सक्दछौँ ।
प्रतिकृया लेख्नुहोस्: